
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पार्टीले कसैलाई पनि अन्याय नगर्ने बताएका छन् । पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनको बन्द सत्रमा प्रशिक्षण मन्तव्य राख्दै विप्लवले पार्टीले कसैलाई अन्याय नगरेर सबैलाई न्याय गर्ने बताएका हुन् ।
‘विगतका सम्मेलनहरुको अनुभव हामीसँग छ । त्यतिबेला पद पाउनेले राम्रो भनेर नेतृत्वको बचाउ गर्ने र पद नपाएर विदाई भएकाहरुले पार्टीले अन्याय गर्यो भनेर भड्किएको पाइएको छ ।’, उनले भने, ‘पार्टीले कसैलाई पनि अन्याय गर्दैन । विद्यार्थीमा समेट्न सकिएन भने पार्टीमा काम गर्ने अवसर छ । कुरो एउटै त हो । कहाँ अन्याय गर्छ त पार्टीले । तपाईंहरुलाई विद्यार्थीमा काम गर्नु र पार्टीमा काम गर्नु उस्तै होइन र ?’
उनले आफ्नो विद्यार्थी राजनीतिक जीवनको उदाहरण दिदै विद्यार्थीको नेतृत्वमा नजाँदैमा केही फरक नपर्ने बताए । ‘म पनि विद्यार्थीबाटै आएको हो । म विद्यार्थीबाट बाहिरिएको बेलामा नेतृत्वमा आएका साथीहरु कहाँ छन् ? विद्यार्थीबाट बाहिरिएर म जिल्ला सेक्रेटरी भएर गएँ । सेक्रेटरी हुँदा सिधै व्युरो सदस्य भइहालियो । व्युरो सदस्य भएपछि केन्द्रीय सदस्य हुन कति बेर लाग्यो र । काम गर्ने व्यक्तिले जहाँ पनि राम्रो गर्छ । अझ विद्यार्थीमा भन्दा पार्टीको काममा जोडिदा तुलनात्मक रुपमा राजनीतिक फाइदा बढी हुन्छ ।’
बुधबार काठमाडौंस्थित त्रिभूवन विश्वविद्यालयको हलमा प्रतिनिधि परिवेक्षकलाई प्रशिक्षण दिदै उनले निर्वाचित भएर आउने नेतृत्वको काँधमा ठूलो जिम्मेवारी हुने बताए । पार्टीले संचालन गरेको एकीकृत जनक्रान्तिलाई जनजनमा पु¥याउन अखिल (क्रान्तिकारी)को भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
‘विद्यार्थी एक प्रकारको कार्यकर्ता उत्पादन गर्ने थलो पनि हो । हामीलाई थुप्रै जनशक्ति चाहिएको छ, यो विद्यार्थीबाट पूर्ति गर्ने हो ।’, उनले भने, ‘यसका लागि अब आउने नेतृत्वको भूमिका महत्वपूर्ण हुन्छ । जो आएपनि हामीले स्वीकार्नुपर्छ । यहाँ ठाउँ नभएका साथीहरुलाई काम गर्ने थुप्रै ठाउँ छ । धेरै जिल्लाको सेक्रटरी बनाएर पठाउन सकिन्छ । स्थानीय तहमा गएर काम गर्न सकिन्छ । पद पाइएन भनेर आत्तिन पर्दैन ।’
उनले पार्टीले लिएको उत्पादनकाे नीतिमा जोडिएर सामाजवादको अभ्यास गर्न विद्यार्थीलाई प्रेरित गरे । ‘विद्यार्थीले गार्मेन्ट उद्योग चलाइरहेको छ । अहिले तपाईंहरुले लगाएको टोपी आफैले बनाएको हो भनेर प्रचार गरिरहनु भएको छैन । यसलाई व्यापक बनाउनु होस् । विभिन्न विभाग बनाएर कृषिमा जोडिनुहोस् । खानाका लागि विद्यार्थी संगठनले कसैसँग माग्न परेन भने त्यहाँ देखिन्छ समाजवाद । समाजवादको रटान लगाएर मात्र पुग्दैन, अहिले काम गरेर देखाउन पर्छ ।’, उनले भने, ‘अहिले पार्टी हेडक्वाटरमा खानाको चिन्ता छैन । हामीले उत्पादन गरेको चामल, दाल, तरकारीले खान पुगेको छ । तपाईंहरु पनि त्यसरी आत्मनिर्भर हुनुहोस् ।’
फागुन ६ गतेदेखि चलेको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आज सकिदैछ । हिजो संगठनको विधान र प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको थियो । सम्मेलनले संगठनको नाम फेरेर अखिल (समाजवादी) राख्ने निर्णय गरेको छ ।