२७ बैशाख २०८१, बिहीबार

राजेन्द्र लिंदेनलाई देश बनाउँछु भन्ने विश्वास छैन, राजा चाहियो भन्दैछन् : पाटन सी

0

काठमाडौं – युवा संगठन नेपालका अध्यक्ष पाटन सीले राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिंदेनलाई देश बनाउछु भन्ने विश्वास नभएको बताएका छन् । युवा संगठन नेपाल, काठमाडौं जिल्ला नम्बर १ को जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै पाटनले लिंदेनलाई आफूले देश बनाउछु भन्ने विश्वास नभएपछि पूर्वराजालाई गुहारेको बताएका हुन् ।

राप्रपा अध्यक्ष लिंदेनलाई देश विकास गर्छु भन्ने विश्वास नभएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई गुहारेको उनको आरोप थियो । उनले पश्चगमन शक्तिहरु देशमा राजा चाहियो भनेर कराइरहेको बताउँदै त्यस्ता कराउनेको विश्वास नगर्न युवाहरुलाई अपिल गरे ।

‘नेपालमा राजा आयो भने विकास हुँन्छ भनेर राप्रपा कराइरहेको छ । २ सय ४० बर्षमा राजाले के हेरेर बसेको थियो ।’, उनले भने, ‘नेपालमा राजतन्त्र हुँदा अमेरिका विकसित बन्यो, जापान, बेलायत, रुस सबै विकसित बने । नेपाल किन बनेन ? त्यतिबेला नेपालमा राजतन्त्र त थियो । राजाले देश बनाउँदैन । राजाले आफ्नो परिवार बनाउने हो ।’

पाटनले गणतन्त्र राजतन्त्र भन्दा एक स्टेप माथि भएको भन्दै देश विकासमा यत्तिले नपुग्ने बताए । ‘जनयुद्धको मुख्य एजेण्डा गणतन्त्र हो, तर अहिलेको जस्तो गणतन्त्र होइन ।’, उनले भने, ‘नेपालको सबैभन्दा ठूलो जनताको सहभागीता भएको आन्दोलन हो जनयुद्ध, त्यसले गणतन्त्रसँगै नेपालका समाजवाद स्थापना गर्ने लक्ष्य बोकेको थियो । तर नेतृत्वले आत्मासमर्पण गर्दा देशले मुक्ति पाएन । नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था चाहिएको छ । हामी त्यसका लागि संघर्षमा छौं । व्यवस्था परिवर्तन नभएको खण्डमा देश विदेशहरूको रणमैदान बन्ने छ ।’

युवाको पाँचौ सम्मेलनले नीतिका बारेमा खुलेर बहस गर्ने योजना रहेको सुनाए । ‘हामीले हाम्रो सम्मेलनमा युवा लक्षित नीतिका बारेमा खुलेर छलफल गर्ने सोचेका छौं । यसमा देशका सम्पूर्ण युवाहरुलाई भेला गर्दै छलफल गरेर एउटा साझा धारण बनाउने तयारीमा छौं ।’, उनले भने, ‘हामी त्यही नीति अनुसार नेपालका युवाहरूलाई देशको मालिक बनाउन चाहन्छौं । नेपालका दलालहरूले विभिन्न देशहरूसँग श्रम सम्झौता गरेर विदेश लखेटिरहेका छन् । त्यसलाई रोक्न चाहन्छौं ।’

सम्मेलनमा नेकपा पोलिटब्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको प्रमुख आतिथ्यता रहेको थियो । सम्मेलनले रबिन सीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सम्मेलनमा नेकपा केन्द्रीय भृकुटी सी, जीनन्त सी, नेृवा मुक्ति मोर्चाका अध्यक्ष सुरेन्द्र सी लगायतको उपस्थिति रहेको थियो । सम्मेलनको संचालन कल्पना सीले गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।