२० बैशाख २०८१, बिहीबार

युवाशक्तिलाई नेपालमा रोक्न वैज्ञानिक समाजवाद आवश्यक छ : पाटन सी

0

धनगढी । युवा संगठन नेपालका संयोजक पाटन जंगली सीले युवाशक्तिलाई नेपालमा रोक्न वैज्ञानिक समाजवाद आवश्यक भएको बताएका छन् । बिहीबार युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । यही चैत्र २४ गते धनगढीमा हुने युवा संगठन नेपालको पाँचौँ राष्ट्रिय सम्मेलनबारे जानकारी गराउँदै उनले विदेशीदै गएको युवाशक्तिलाई नेपालमा रोक्न नेपाली विशेषताको समाजवाद आवश्यक भएको बताए । पाचौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक पाटन सीले नेपाली विशेषताको वैज्ञानिक समाजवादले देशको अर्थतन्त्र बलियो हुने बताउँदै राजाले मशानघाट पु¥याएको संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद आवश्यक भएको बताए । नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलनको तयारीका विषयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक पाटन सीले यही चैत २४ गते धनगढीमा हुने सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लव सीले गर्ने जानकारी गराए । उनले संसदीय व्यवस्थाले पुँजीपति वर्गको पक्षपोषण गर्दै जाने र देश कंगाल बन्दै जाने भएकाले अहिलेको संसदीय व्यवस्थाले देशको अर्थतन्त्र ओरालो लाग्दै गएको बताए । नेपालमा उत्पादन नहुनु, भएका उद्योग धन्दा निजिकरण हुँदै जानु र युवा शक्ति विदेशीदै जानुले नेपाल परनिर्भरतामा रहेको उनले बताए । विदेशमा रहेको युवाशक्तिले पसिना बगाएर पठाएको रेमिट्यान्सले देश चलिरहेको उनले बताए । पूर्वाग्रही राजनीति र जडसुत्रवादी नेताका कारण देशको अवस्था नाजुक बन्दै गएको बताउदै उनले सबै मिलेर राज्य जोगाउनु पर्ने बेला आएको बताए । सबै युवाहरु मिलेर देश विकासको बहस चलाउन आवश्यक भइसकेकाले सम्मेलनले युवाहरुलाई देशमा रोक्ने नीति लिएको उनले बताए । राजाले २०५८ सालमा मारिसकेको संसदिय व्यवस्थालाई पुनः २०६२/६३ को जनआन्दोलनबाट ब्यूताईएको बताउदै उनले संसदीय व्यवस्था जनताको नभइ पुँजीपति वर्गको भएको बताए । युवाहरुले पार्टीका दास बन्न नहुने बताउदै उनले देश विकासमा हातेमालो गर्दै अघि बढ्नु पर्ने बताए । युवा संगठन नेपालको पाँचौ राष्ट्रिय सम्मेलन धनगढीको खुल्ला मञ्चमा चैत्र २४ गते हुने जानकारी गराउदै उनले सबैलाई उपस्थितिका लागि आग्रह समेत गरेका छन् । बिहीबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा पाँचौ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको उनले जानकारी गराएका छन् । चैत्र २४ गते हुन लागेको सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले गर्ने उनले जानकारी गराएका छन् । जनताको न्यायपूर्ण विकास, राष्ट्रवादी वामपन्थी शक्ति, सम्पूर्ण कम्युनिष्ट घटक र युवाको बारेमा चासो चिन्ता राख्ने हरेक नागरिकसँग नेपाली विशेषताको समाजवादका लागी बहस गर्ने सम्मलेनको मुख्य उदेश्य भएको उनले जानकारी गराए । संसदवादी राजनीतिक पार्टी भित्रका हरेक नेता कार्यकर्ताहरुको उदेश्य स्थानीयदेखि केन्द्रीय सत्तामा पुग्ने र सम्पती कुम्ल्याउने मात्र भएको बताउदै उनले हरेक संघसंगठनमा आबद्ध नेता कार्यकर्ताहरुसंग वैज्ञानिक समाजवादका लागि फराकिलो बहस गर्न सकिने बताउदै उनले देशले संसदीय व्यवस्थाकाे नयाँ विकल्प नेपाली विशेषताको समाजवाद खोजिरहेको बताए ।

पत्रकार सम्मेलनमा उपस्थित  पत्रकारहरुलाई पाचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य दिनेश सीले स्वागत गरेका थिए भने कार्यक्रमबारे जानकारी आयोजक समिति सदस्य विश्लेषण सिले गर्नुका साथै कार्यक्रमको सञ्चालन पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तिलक सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।