२० बैशाख २०८१, बिहीबार

कपिलवस्तुको चैते धान रोपाइँमा व्यस्त विप्लव

0

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यालय उत्पादन शाखा शिवगढी कपिलवस्तु १० कठ्ठा खेतमा धान रोपाइँ सुरु गरेको छ । पार्टीको महासचिव विप्लव सीको विशेष उपस्थितिमा कपिलवस्तुको उत्पादन क्षेत्रमा धान रोप्दै रोपाइँको उद्घाटन गरेको हो ।

उद्घाटनको पहिलो चरणमा बोल्दै महासचिव विप्लव सीले शिवगढीमा चैते धान रोपाई जिल्लाकै पहिलो परिक्षण भएको बताए । उनलेे भने, “अहिले परिक्षणकालमा छौँ यसले कस्तो प्रतिफल दिन्छ र परिक्षण सफल भएको खण्डमा आगामी वर्षहरुमा पनि हामी यो कामलाई अझ बढी मात्रामा निरन्तरता दिनेछौँ र अन्य यहाँका किसानहरुलाई पनि सिकाइ हुनेछ ।”

चैतमा रोपेर असारमा भित्र्याउने यो धानलाई किसानले चैते धान भन्ने गर्छन् । फागुन अन्तिम सातादेखि सुरु भएको रोपाइँ चैत महिनाको अन्त्यसम्म जारी रहन्छ ।

पार्टीको नवौं महाधिवेशनले पारित गरेको कम्युनिष्ट अर्थ दृष्टिकोणको दस्तावेजमा आधारित रहेर आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्य अनुसार कृषि र उद्योगमा संलग्न भएर अगाडि बढ्ने कार्यक्रम अनुसार महासचिव विप्लव आफैं खेतबारीमा पुग्ने गर्छन् । कृषि उत्पादनलाई जोड दिएर पार्टी सामूहिक उत्पादनमा जोडिएको छ । यतिबेला देशैभरी विभिन्न खेतीहरु लगाएर बाँझो जमिनलाई हराभरा पारी उत्पादनलाई अगाडि बढाइरहेको छ ।

पार्टीकै केन्द्रीय कार्यालय शिवगढी कपिलवस्तुमा पनि, मकै, तरकारी, तोरी, आलु, मौरी, माछापालन, पशुपंक्षी, फलफुल लगायत अन्य मौसमी बेमौसमी क्षेत्रमा पनि उत्पादन रहेको छ ।

धान रोपाइँमा कार्यक्रममा महासचिव विप्लव सीको विशेष उपस्थितिमा पार्टीका पिबिएम पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज सञ्जिव सी, केन्द्रीय कार्यलय सचिव तथा पिबिएम विजय सी, जिल्ला इन्चार्ज हेमन्त सी, केन्द्रीय सदस्य शाेभा सी, पार्टीका सल्लाहकार सन्तोषी सी लगायत केन्द्रीय कार्यलयको टोली, जिल्लाका नेताकार्यकर्ताहरु, पत्रकार तथा स्थानीयहरुको विशेष उपस्थिति रहेको छ । सबैजना आज बिहानैदेखि खेतमा उत्साहित भएर काम गरिरहेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चाका संयोजक विप्लव सी यतिखेर कपिलवस्तुको जनकम्युनमा चैते रोपाइँमा व्यस्त रहेका छन् । काठमाडौँमा तिब्र राजनीतिक भेटघाट र समाजवादी मोर्चाको बृहत अन्तरक्रिया कार्यक्रम सकेर विप्लव बुधबार पार्टी केन्द्रीय कार्यलय रहेको शिवराज नगरपालिका ९ शिवगढी पुगेका हुन् ।
बुधबार अबेर कपिलवस्तु पुगेका महासचिव विप्लव नेता कार्यकर्ता र सचिवालय टिमसहित धानको बिउ काढ्न खेतमा पुगेका थिए । बिहीबार दिउँसो स्थानीय नेता कार्यकर्ता र जनकम्युनका कार्यकर्ताहरुसङ्गै चैते धान रोपिरहेका छन् ।
महासचिव सचिवालयका अनुसार विप्लव चैते धान रोप्ने कार्यक्रममा अन्तर्गत बिहानैदेखि खेतमा खटिएको बताए । संसदीय पार्टीका नेता कार्यकर्ता सत्ता चलखेल र सरकारी योजना तथा बजेटमा सिंहदरबार आसपास रमाइरहेका बेला महासचिव धान रोप्न कपिलवस्तु पुगेका हुन् ।

महासचिव विप्लव फाल्गुन अन्तिम हप्ता जुम्ला र कालिकोट पुगेर स्याउ रोपेका थिए । जुम्ला र कालिकोटमा झण्डै १५ सय स्याउको बिरुवा रोपेर काठमाडौं फर्किएका थिए ।
नेकपा देशभर उत्पादन लगायतका क्षेत्रमा नेता कार्यकर्तालाई आत्मनिर्भर बनाउने अभियानमा लागिरहेको छ । देशलाई कृषि र उत्पादनमार्फत आत्मनिर्भर बनाउदै अर्थतन्त्र बलियो बनाउन जोड दिएका विप्लवले सबै पार्टीले पार्टी नीति नै बनाएर उत्पादनमा लाग्नुपर्ने बताउदै आएका छन् ।
विप्लवले पार्टी सबै तहका नेता कार्यकर्ताहरुलाई एकल तथा सामूहिक वा संस्थागत ढङ्गले उत्पादनमा जोडिने केन्द्रीय नीति अन्तर्गतचितवन, बर्दिया, कपिलवस्तु, मोरङ, धनुषा लगायतका जिल्लामा उत्पादनमा लागिरहेका छन् ।
बिहीबार कपिलवस्तुमा झण्डै ५ कठ्ठामा रोपाइँ भइरहेको र बाँकी जग्गामा समेत चैत्र भित्र रोपाइँ सक्ने कार्यक्रम रहेको महासचिव सचिवालयले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।