
राजकुमारी सी
म सानो छँदा मेरो आमाले तिमी स्कुल जाऊ भन्नुहुन्थ्यो तर म र बहिनी स्कुल भन्दा दाउरा ल्याउँन वनतिर जान मन गथ्र्यौं । हामी सानै उमेरमा घाँस दाउरा ल्याउँन नसकेपनि आमा दिदीबहिनीको साथी हुने र लेकबाट बेल्यामा महि र दही बाेक्नमा नै रमाउँथ्यौं । विहान उठ्ने आमाहरुसँग मेलापात गर्न धेरै नै मन लाग्थ्यो । भाईहरु स्कुले पोशाक लगाएर स्कुल जाँदै गर्दा हामीलाई पनि स्कुल जाने रहर त लाग्थ्यो तर पढ्ने हामीले होइन भाईहरुले हो जस्तो लाग्थ्यो । यो लाग्नुपनि स्वभाविक थियो हाम्रो मुमा पनि अनपढ हुनुहुन्थ्यो उहाँले घर राम्रैसित चलाईरहनु भएको थियो । छोरी भएर जन्मेपछि घर राम्रोसित समाल्नु पर्छ घरका वा आमा र श्रीमानले प्रसंशा गर्ने काम गर्नु पर्छ छोरीको जीवनमा यो नै सबैथोक हो जस्तो लाग्थ्यो । यो सबै हुनुमा मेरो समाजको पृतिसत्तावादी सँस्कार दोषी थियो । मेरो फुपुले त्यतिवेला एसएलसी दिनु भएको थियो । हाम्रो गाउँका जम्मै पुरुषहरु नै एसएलसी सहभागी नभएको बेला महिलाले एसएलसी दिने कुरा सानसानो युद्ध जिते जतिकै थियो तर फुपुले मलाई पढ्नु पर्छ भनिरहनु हुन्थ्यो । फुपुले पढ्नु पर्छ भन्दा अरु महिलाले अंह महिला पढी क्या हुँदो भयो भन्ने थेगोले जितिरहेको थियो । मेरो बाबा सामान्य लेखपढ गर्न जान्ने र सरकारी जागिरे हुनुहुन्थ्यो मेरो बाजे गाउँकै सबैले मान्ने नेतामा नै गनिनु हुन्थ्यो । बाजेले मलाई अलि ठुलै उमेरमा कोल्लीगाउँ स्कुलमा भर्ना गर्नुभयो र म नियमित स्कुल जान सुरु गरे मसँग पढ्ने भाईहरु सानासाना थिए तर म सबै भन्दा ठुली थिएँ । स्कुलका सरहरुले मलाई पढ्नु पर्छ नानी बढेपछि ठुलो मान्छे भइन्छ भनेर नियमित हौसला हुन्थ्यो । विस्तारै पढाईको बारेमा मलाई इच्छा जागिसकेको थियो म १० कक्षा पढ्ने बेला मेरो ठूलो भाइले बिएड् गर्दै थियो । यसले पनि थाहा हुन्छ की छोरीहरु पढ्नु हुँदैन यी अर्काका घर जाने हुन बरु छोरा पढाउँनु पर्छ भोली काम लाग्छन् भन्ने पुरुवादी सोच जबरजस्त थियो । तर यो सोच गलत सावित हुँदै गईरहेको छ । नेपाली समाजमा आमाबाको बुढेसकालमा छोरीहरु नै बढि सहारा भएको पाइन्छ बरु कैयौं छोराहरुले वृद्धाआश्रम पठाएको हामी देख्न पाउँदछौं । पछि माओवादी जनयुद्ध सुरु भईसकेको थियो हामी पनि विद्यार्थी संगठनमा काम गरिरहेका थियौं त्यसपछि पढ्नु पर्छ भन्ने चेतना हामीमा बसिसकेको थियो । त्यसैले मैले महिलाहरु शिक्षित हुनु नै एउटा घर शिक्षित हुनु हो र घर शिक्षित हुनु समाज र सिंगो देश समृद्ध बन्ने कुरासँग जोडिन्छ भन्ने कुरा राम्रैसित बुझें र आफ्ना पढाईका पाहिलाहरु अगाडि बढाएँ ।
कतिपय समुदायमा भने अझै पनि बहुसंख्यक अभिभावक छोरीलाई भन्दा छोरालाई शिक्षित बनाउन पाए आफ्नो भविष्य सुखमय बन्छ भन्ठान्छन् । तिनीहरूले छोरालाई काख छोरीलाई पाखा गरी हुर्काई रहेका छन् । जतिसुकै गफ लाएपनि हामी पनि त्यही धरातलबाट उठेको मान्छे नै हो । साथै टोलछिमेकमा समुदायका अधिकांश अभिभावकले छोरीलाई पढाउनु भन्दा चाँडै बिहे गरिदिन पाए हुन्थ्यो भन्ने सोच्दछन् । धेरै छोरीचेली सानैमा घरवार गरि भर्खरकी छोट्टी चालिस वर्षकी बुढी जस्ती देखिन्छन् । हामी त जनयुद्धमा लागेर स्वच्छिक विहे गर्न पाएका हौं नत्र हुने त यहि नै थियो । छोरीलाई पढाउने प्रचलन अहिले आएपनि पहिला कमजोर उपस्थिति थियो । कथंकदाचित छोरीलाई स्कूल पठाइहाले पनि उच्च शिक्षा हासिल गराउनेबारे सोच्न पनि सक्दैनथे । धेरैजसो अभिभावकमा छोरीलाई पढाए पढेकै ज्वाई पढेकै ज्वाई पाइएला भन्ने मान्यता छ । छोरी पढेर आत्मनिर्भर बन्लान् भन्ने होइन की राम्रो पढेको ज्वाई पाउलिन् र उसैको सहारामा बाच्लिन् भन्ने सोच अहिले पनि हाम्रो समाजमा जवरजस्त छ । हाम्रो समाजमा अभिभावकहरु पढाउने आर्थिक भारको कारण सानैमा छोरीको बिहे गरिदिन हतारिएका देखिन्छन् । सहरबजारमा बसोबास गर्ने समुदायमा पनि यो प्रवृत्ति बढी नै देखिन्छ । यस अर्थमा वर्तमान शिक्षाले सबै वर्ग, समुदाय, धर्म र जातजातिका मानिसलाई शिक्षाको महत्त्व बुझाउन सकेको देखिंदैन । पछिल्लो समय शिक्षाले व्यक्ति विशेषलाई मात्र हैन, आफू बस्ने समाजलाई कसरी उत्तम बनाउन सकिन्छ भनेर विकासप्रेमी मानिसहरू लागि परेका छन् । यस्ता विकासप्रेमी मानिसको भिडमा शिक्षित महिलाहरूको अर्थपूर्ण सहभागिता भने हुन सकिरहेको छैन । अर्थात अझै पनि हुनेखाने घरपरिवारका बहुसंख्यक शिक्षित महिलाको बौद्धिकता घरपरिवारभित्रै सिमित देखिन्छ । यस्तै पितृसत्तात्मक समाजको पुरुषमैत्री घरपरिवारमा अझैपनि शिक्षित महिलाले घरपरिवारलाई महिलामैत्री बनाउन सकेका छैनन् । विशेष गरी शिक्षित गृहिणी महिलाको दैनिकी श्रीमान्, ससुरा र छोराहरूको हेरचाहमै सिमित देखिन्छ । हिजो हुनेखाने घरपरिवारका बहुसंख्यक अभिभावकले छोरीलाई शिक्षित बनाउँन सके हुनेखाने घरमै बिहे होला र छोरी सुख पाउली भनेर मात्रै छोरीलाई हुर्काएका थिए भने आज त्यस्तो परिवेशमा हुर्केका अधिकांश शिक्षित छोरीमा आफ्नो स्वार्थ मात्र पूरा गर्ने प्रवृत्ति झाङ्गिएको छ । बहुसंख्यक शिक्षित छोरीका बौद्धिकतालाई आफ्नै अभिभावकहरूले सीमित घेराभित्र पारिदिएपछि तिनले पाएको शिक्षाको दायरा फराकिलो हुन नसकेको राम्रैसित बुझ्न सकिन्छ । जनयुद्धले गरेको वैचारिक चेतनाको विकास अनि अहिले भएको प्रविधिको नयाँ विकासले हरेक क्षेत्रमा शिक्षित महिलाको सहभागिता बढ्दै गएको छ, तर त्यो अर्थपूर्ण भने हुन सकेको छैन । अन्य क्षेत्रमा भन्दा नेपाली राजनीतिमा शिक्षित महिलाको उपस्थितिले सतही रूपमा भए पनि महिलाको खुसी बढाएको देखिन्छ । यद्यपि बहुसंख्याक महिलाहरूको जीवनस्तरमा खासै परिवर्तन भएको देखिदैन । जस्तो मधेश प्रदेशमा प्रदेश सरकारले मा.वि. तह पढ्दै गरेका छात्राहरूलाई साइकल वितरण गर्ने लगायत, कतिपय स्थानीय तहले दोस्रो सन्तानका रूपमा छोरी नै जन्मिए केही रकम बैंकमा जम्मा गरिदिने कार्यक्रम अघि सारेका छन् । विकट र दुर्गममा जन्मिएका नानीहरुलाई छात्रवृत्ति, तेल तथा खाजा समेत दिएर पहिलाहरुको शिक्षाग्रहण गर्ने प्रेरित गर्न धेरै प्रयास गरेको देखिन्छ तर जति गर्नुपर्ने हो त्यति हुन सकेको छैन । तीनै तहका सरकारमा आवद्ध महिला राजनीतिकर्मीले महिला र बालिका शिक्षासम्बन्धी उल्लेखनीय र प्रभावकारी कार्यक्रम अघि सार्न खासै पहल गरेको देखिदैन । यसो हुनुमा उनीहरूको शैक्षिक योग्यता र पृष्ठभूमिको महत्वपूर्ण भूमिका छ । किनभने बहुसंख्यक महिला जनप्रतिनिधि आफ्नो शैक्षिक योग्यता वा अनुभवभन्दा पनि दलमा आवद्ध भएकै कारण महिला सदस्यको कोटाबाट जनप्रतिनिधि बनेका छन् । अध्ययन पनि गर्न चाहदैनन्, राजनीति स्कुल बाहेक अरु विज्ञान प्रविधिको अध्ययन गर्नुपर्छ भन्ने पनि छैन पढ्न पनि अल्छी गरेको पाइन्छ । यस्तै कारणले पनि उनीहरूले विकास–निर्माण लगायतका स्थानीय समस्या पहिचान गर्न सकेका छैनन् । जनप्रतिनिधि भएर पनि स्थानीय समस्या छुट्याउन नसक्ने भएपछि संख्यात्मक रूपमा महिलाहरूको राम्रो उपस्थिति भएपनि उपलब्धि शुन्य हुन पुगेको छ । यसरी महिला जनप्रतिनिधिले विकास–निर्माणमा खासै चासो–चिन्ता नलिएपछि पुरुष प्रतिनिधिहरूलाई हाइसन्चो जस्तै भएको छ । कतिपय स्थानीय तहमा विकास निर्माणसम्बन्धी काममा महिला जनप्रतिनिधिहरूले चासो चिन्ता लिएपनि पुरुष जनप्रतिनिधिहरूले सहभागी नगराएको कुरा बेलाबेला सञ्चारमाध्यममा आउने गरेको छ । यतिसम्म की पालिका भवन बनाउँदा उपप्रमुख महिलाको नाम शिलालेखमा नराख्ने र महिलाहरुलाई वाईपास गरेको देखेर पालिका अध्यक्षको शिलामा लेखेको नाम तोड्ने समेत रमाइला घटना हामीले सामाजिक सन्जालमा देख्न पाउँदछौं । कतिपय सामाजिक संघसस्थाले महिला जनप्रतिनिधिलाई सशक्तीकरणसम्बन्धी प्रशिक्षण र तालिम दिएपनि व्यवहारमा शासन व्यवस्था र पहलकदमीमा उनीहरूको भूमिका प्राय न्युन देखिन्छ । यसरी संघीय सरकारमा शिक्षित र प्रशिक्षित महिला जनप्रतिनिधिहरूको अर्थपूर्ण सहभागिता नभएपछि प्रदेश र स्थानीय तहहरूमा आबद्ध महिला जनप्रतिनिधिहरूमा यसको प्रभाव पर्नु स्वाभाविकै हुने भइहाल्यो ।
तथ्यांकमा जाँदा २०७८ सालको जनगणना अनुसार, नेपालको साक्षरता दर ७६.२ प्रतिशत रहेकोमा पुरुष साक्षरता दर ८३.६ प्रतिशत र महिला साक्षरता दर ६९.४ प्रतिशत छ । अर्थात्, सयमा ३१ महिला अझै निरक्षर छन् । महिला साक्षरता दर पनि मधेश प्रदेशमा ५४ र सुदूरपश्चिम र कर्णलीमा ६८.२ प्रतिशत छ । नेपालमा अझै पनि ५ वर्षमाथिका साढे ६३ लाख मानिस निरक्षर छन् र त्यसमा ठूलो हिस्सा महिलाकै छ । (जनगणना २०७८ को तथ्यांकबाट)
यसरी निरक्षर मानिसहरूको भीडमा महिलाको संख्या बढी हुनु भनेको समाजलाई अधोगतिमा लानु हो । यस्ता निरक्षर महिलाहरूको भीडमा हामी सबै छोरी बुहारी सासु तथा दिदीबहिनी पर्दछौं । जसमा कतिपय जीवनको उर्जाशील समय समाजमा खर्चे पनि अन्तमा बुद्धाश्रम पुगेका छन् भने कोही अझ समाजमा हेपाईको जीवन बाच्न बाध्य छन् । पछिल्लो समय नेपालमा महिला निरक्षरता घटाउन सरकारीस्तरबाट भन्दा पनि समुदायस्तरबाट महिला विद्यालयहरू स्थापित भएका छन् । ललितपुर, काठमाडौँ र बुटवल लगायतमा गरी झन्डै आधा दर्जन महिला विद्यालयले बाल्यावस्था तथा किशोरावस्थामा स्कुले शिक्षा हासिल गर्न नपाएका गृहिणी युवा किशोरीहरूलाई कलेज शिक्षा दिइरहेका छन् । यता निरक्षरता दर घटाउन सरकारले प्रौढ कक्षा, साक्षरता लगायतका अनौपचारिक कार्यक्रमसमेत सन्चालन गर्दै आएको छ । यस अर्थमा बालिका शिक्षामा लगानी तथा महिला साक्षरता दर बढाउन ७५३ वटै स्थानीय तहले रणनीतिक योजनासहित विशेष कार्यक्रम सञ्चालन गर्न जरुरी छ । यसका लागि महिला विद्यालयहरूको संख्या बढाउनुपर्छ । स्थानीय तहहरूले निजी तथा सामुदायिक विद्यालयहरूसँग समन्वय र सहकार्य गरी महिला सहभागितामा जोड दिन जरुरी छ । केही वर्षअघि गैरसरकारी संस्थाले स्थानीय तह तथा सामाजिक संघसंस्थासँग समन्वय र सहकार्य गरी कतिपय जिल्लामा अभिभावक शिक्षा कार्यक्रम चलाएका थिए । यसरी विगतमा अभिभावक शिक्षा कार्यक्रमले पनि महिला साक्षरता बढाउन केही मात्रामा मद्दत पुगेको देखिन्छ । एनजिओ आईएनजीओ डलरको लागि केही गर्न खोजे पनि त्यो डलर पचाउने नियतमा आएकोले प्राभावकारी हुने कुरै भएन ।
समाजवादी सभ्य समाजको निर्माणमा शिक्षित पुरुषको मात्र हैन, शिक्षित महिलाको पनि उत्तिकै भूमिका हुन्छ । समाज विकासको जति नारा दिएपनि हामीले महिलाहरुको क्षमता राज्यको सहभागिता र राजनीतिक सहभागितामा हल दिन सकेनौं भने हामी समाजवाद त के बुर्जुवा समाज पनि निर्माण गर्न सक्ने छैनौं । बाहिर समाजमा ठुलाठुला भाषण गर्ने छोरी बुहारी र श्रीमतिहरुलाई स्कुल पढ्न नदिने राजनीति गर्न समाजमा जान नदिने । छोरी बुहारीलाई आधारभुत शिक्षा दिने र विदेशीका भाडा माझेरै भएपनि डलर ल्याँउने आस गर्ने प्रचलन रहेसम्म जवरजस्त छ । यसरी यो संस्कारले नेपालको समाजलाई नयाँ ठाउँमा हामीले लिन सक्दैनौं । अझ सत्ता परिवर्तन गर्ने र समाजवाद ल्याउँने कुरा त सम्भव हुने नै भएन । नेपाली समाजलाई विकास र परिवर्तनको आधारमा पुर्याउन दलाल सत्ता फालेर नेपाली विशेषताको समाजवाद ल्याउँन जरुरी छ । यसका लागि शिक्षित महिलाहरूको बौद्धिकतासँगै क्रियाशीलता अपरिहार्य छ भन्ने वास्तविकता पृतिसत्तावादी समाजले बुझ्नुपर्छ ।
धन्यवाद !
२०८० पुस २७ गते