
घोराही । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल समाजवादी पश्चिम रोल्पाले च्याउ उत्पादन कार्य शुरु गरेको छ । संगठनले पार्टी लिएको उत्पादनको नीतिलाई दृढता पूर्वक लागू गर्न र संगठनलाई आत्मनिर्भर बनाउने उद्देश्यका च्याउ उत्पादन कार्य शुरु गरेको हो ।
पार्टीको केन्द्रीय नीति एक संगठन, एक उत्पादन र आत्मनिर्भर संगठन अनुसार रोल्पाको माडी गाउँपालिका – २ घर्तिगाउँमा (कन्या) च्याउ उत्पादनको तयारी शुरु गरिएको संगठनका केन्द्रीय सदस्य तथा पश्चिम रोल्पाका अध्यक्ष चुडामणि सीले जानकारी दिए ।
`नेपालमा केही पनि हुँदैन र सम्भावना नै छैन् भन्ने भाष्यलाई चिर्न उत्पादनको तयारी थालेका छौं´ उनले भने । विद्यार्थी संगठन भनेका क्यापसमा, विद्यालयमा भाषण गर्ने मात्र हुन् भन्ने भाष्यलाई चिर्दै विद्यार्थी संगठन भनेका श्रम, उत्पादनमा लाग्ने, युवा विद्यार्थीलाई नयाँ भविष्य देखाउने हुनुपर्छ भन्ने भाष्य स्थापित गर्न उत्पादन कार्यलाई जोड दिएको उनको भनाइ छ ।
संगठनले अहिले ३० हजार लगानीमा १ सय कन्या च्याउँको प्याकेटबाट सामूहिक उत्पादनको थालनीलाई अगाडि बढाएको छ । त्यसको लागि पराल उमाल्ने र प्याकिङ गर्ने काम भएको संगठनले जनाएको छ ।
प्याकिङ गरिएको १ सय ३० वटा परालको डल्लाबाट ३ सयदेखि साढे ३ सय किलो च्याउ उत्पादनको लक्ष्य लिएको र लक्ष्य सफल भएमा अर्को पटल ठूलो परिमाणमा च्याउ उत्पादन गरिने संगठनका अध्यक्ष चुडामणि सीले बताए ।
सामूहिक उत्पादन कार्यमा संगठनका जिल्ला कमिटी, इकाई कमिटी र पार्टी सदस्यहरु उत्साहकासाथ सहभागी भएका छन्। जिल्ला अन्य ठाँउमा पनि च्याउ लगायत उत्पादनको बढाउने तयारी भइरहेको संगठनले बताएको छ ।