१५ बैशाख २०८१, शनिबार

उत्पादन अभियान: श्रम, संघर्ष र हाम्रो सपना

0

 

यतिबेला हाम्रो पार्टी र पार्टीका विभिन्न समितिहरु उत्पादन अभियानमा जुटिरहेका छौं । हामीले शुरुआत गरेको सामुहिक उत्पादन सम्बन्धि जुन योजनाहरु छन्, त्यसलाई दुई/तीन ओटा हिसाबले हेर्न र बुझ्न् जरुरी छ । सर्वप्रथम श्रम के हो ? यसको महत्त्व के छ ? समाज र सभ्यताहरुको विकासक्रममा श्रमको योगदान के थियो भन्ने कुरालाई ठिक ढङ्गले जान्न र बोध गर्न आवश्यक छ । अथवा श्रमसम्बन्धी सैद्धान्तिक मान्यता के हो भन्नेबारे स्पस्ट हुनुपर्दछ । मान्छे अहिले जुन अवस्थामा आइपुगेको छ, जुन प्रगति र उन्नति हुँदै आएका छन्, जुन ज्ञान र अनुभवको आधारमा मान्छेले प्रकृतिमाथि बिजय हासिल गरिरहेको छ, त्यसको प्रमुख कारण श्रम नै हो । तथापि समाजमा वर्ग विभाजन भयो र समाजको उत्पादन सम्बन्धको विकासक्रममा हामी अहिले पुँजीवादी चरणमा छौं । यसले श्रमलाई हेर्ने दृष्टिकोण र श्रमिकलाई बुझ्नेमा घृणाको भावना पैदा गरेको छ । यो सङ्गै श्रमलाई बुझ्ने अर्को दृष्टिकोण पनि छ, त्यसलाई श्रमसम्बन्धी कम्युनिस्ट दृष्टिकोण भन्न सकिन्छ । यसले श्रम संस्कृतिको पक्षपोषण गर्दछ । श्रम गरेर बाच्नेहरुप्रति सम्मान व्यक्त गर्दछ । यो श्रमजीवी जनताप्रति विश्वास र भरोसा गर्नुपर्छ भन्ने सोच हो ।

हाम्रो पार्टीले सञ्चालन गरेको उत्पादन अभियान केवल आफ्नो जीविकोपार्जनका लागि मात्रै होइन, उत्पादन सम्बन्धि  राजनीति, वैचारिक स्पष्टता र दृष्टिकोणसहित  हामी अगाडि जान खोजेका हौं ।पार्टीको नवौं महाधिवेशनपछि  सम्पन्न केन्द्रिय समितिको तेस्रो बैठकले उत्पादन सम्बन्धि कामलाई ठोस गरेको थियो । यो हाम्रो पार्टीले कम्युनिस्ट आन्दोलन, समाजवादको निर्माण र क्रान्ति सम्बन्धि अगाडि सारेको विचार, राजनीति र आर्थिक दृष्टिकोणसङ्ग जोडिएको विषय हो । नेपालको अहिलेको प्रमुख समस्याको रूपमा रहेको दलाल पुँजीवाद विरुद्ध जसरी हामीले संघर्ष गरिरहेका छौं अथवा एउटा क्रान्ति गरिरहेका छौं, त्यसलाई विचार र राजनीतिक हिसाबले मात्रै होइन, नयाँ खालको उत्पादन सम्बन्धसहित अगाडि बढाउन चाहन्छौँ । कुनैपनि समाजव्यवस्थाको नेतृत्व कुन वर्गको हातमा छ भन्ने कुरा उत्पादन सम्बन्धले नै निर्धारण गरिरहेको हुन्छ । यसक्रममा हामीले विगतको कम्युनिस्ट आन्दोलन सत्तामा पुगेपछि किन फेरि असफल भयो र कम्युनिस्ट पार्टीभित्र नै नयाँ वर्ग किन र कसरी जन्मियो भन्ने प्रश्नलाई पनि मसिनो ढङ्गले विचार गरेका छौं । कुनै पनि विचार र राजनीतिको आधारस्तम्भ भनेकै आर्थिक आधार हो भन्ने कुरालाई विचार गरेका छौं । त्यसैले अहिले क्रान्तिकारी विचार  र राजनीति सङ्गसङ्गै नयाँ खाले उत्पादन प्रणालीको पनि विकास गर्दै जाने हाम्रो पार्टीको सोचाइ हो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा समाजवादी व्यवस्थाहरु स्थापना भएरपनि समयक्रममा ती व्यवस्थाहरु प्रतिक्रान्तिमा परिणत भए । समाजवादी व्यवस्थाभित्रै नयाँ शासक वर्ग पैदा भए । त्यसको कारण र आर्थिक धरातल के थियो भन्ने कुरालाई पनि विचार गर्न जरुरी छ । हामीले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सबै सकारात्मक-नकारात्मक पक्षहरुलाई ठिक ढंगले अध्ययन, बहस र संश्लेषण गर्दै अगाडि बढ्ने निर्णय गरेका छौं । उत्पादन सम्बन्ध अथवा आर्थिक उत्पादन आफैमा  एउटा सत्ता पनि हो । यसलाई हामीले उत्पादन अभियान मात्रै भनेर बुझ्यौँ भने त्यो साँघुरो बुझाइ हुन्छ । हामीले शुरुआत गरेको उत्पादन सम्बन्धि काम आफैमा समाजवादी सत्ताको भ्रुण पनि हो । अहिले हामीले पार्टी र क्रान्तिको आत्मनिर्भरताका लागि काम गरिरहेका छौं भने भोलि यो जनता र देशकै आत्मनिर्भरताको अभियानमा बदलिने छ । यो समाजको पुजी निर्माणका लागि समेत महत्त्वपूर्ण शुरुआत हुनेछ ।तत्कालका लागि हाम्रो यो अभियान आफ्नै पार्टी र आन्दोलनका आर्थिक आवश्यकताका लागि भएपनि अन्ततः यो समाजवादी अर्थप्रणालीको व्यवहारिक प्रयोग नै हुनेछ ।

हामी माओवादी जनयुद्धको पृष्ठभुमिबाट जसरी आयौं, माओवादी संस्कार, संस्कृति र मुल्यहरुको जुन प्रयोग र परिकल्पना गरेका थियौं, ती कैयौं मान्यताहरु कार्यान्वयन हुन सकेनन् । ती कमजोरीलाई पनि सहि रूपमा अध्ययन गर्दै क्रान्तिलाई श्रम र उत्पादनसङ्ग जोड्नु जरुरी देखिन्छ । यो हामीले आन्दोलनका जीवन्त अनुभवबाट सिकेको कुरा हो । पार्टी, पार्टीका नेताकार्यकर्ताहरुलाई आत्मनिर्भर बनाएर नै हामीले हाम्रा विचार र आदर्शहरुलाई स्वतन्त्र रूपमा लागू गर्न सक्छौं ।त्यसो नहुने हो भने विचार र राजनीतिमा समेत नेताकार्यकर्ताहरु परनिर्भर हुनुपर्ने हुन्छ । कम्युनिस्ट आन्दोलनका विगतका यी कमजोरी र सिमाहरुबाट समेत सिक्दै अगाडि जानुपर्ने हुन्छ ।

विगतमा समाजवादी व्यवस्था निर्माण भैसकेपछि त्यसले सहि अर्थमा श्रमजीवी जनताको हितमा काम गर्न सकेन । समाजवादी सत्ताभित्रैबाट नयाँ वर्ग जन्मिन पुग्यो, त्यो नयाँ जन्मेको वर्गले देश र जनताको माग अनुसार नेतृत्व गर्न सकेन र सक्ने कुरा पनि थिएन । श्रमजीवी जनताहरु समाजवादी व्यवस्था अन्तर्गत पनि उत्पीडित भएर बस्नुपर्ने, समाज फेरि पछाडि फर्कनु पर्ने स्थिति पैदा भयो । त्यसैले अब राजनीतिक आन्दोलनसङ्गै आर्थिक आन्दोलन र श्रमसंस्कृति पनि निर्माण गर्दै जानुपर्छ । यो नै भविष्यमा श्रमजीवी वर्गको हितमा काम गर्ने कम्युनिस्ट पार्टी, श्रमजीवी नेताकार्यकर्ता र श्रमजीवी जनता बनाउने अभियान पनि हो । हामीले गत एक वर्षमा सञ्चालन गरेको उत्पादन सम्बन्धि काम र त्यसको व्यवहारिक अनुभवले पार्टीका अन्य कामभन्दा बढी यो क्षेत्रमा त्याग, समर्पण र मेहनत आवश्यक पर्छ भन्ने कुरा सिकाएको छ । त्यसो नगर्ने हो भने हामीले राम्रो भन्दा राम्रो प्रतिफल हासिल गर्न सक्तैनौँ । हाम्रो उत्पादन अभियानमा श्रम र संघर्ष मात्रै होइन, समाजवाद, न्याय, स्वतन्त्रता र समृद्धिको सपना पनि छ । त्यसले नै हामीलाई  अगाडि बढ्न प्रेरित गरिरहेको छ । ती जीवन्त सपनाहरुले नै हामीलाई दु:ख कस्ट उठाउन उर्जाशील बनाउँछन् ।

गत आर्थिक वर्षमा सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ४ मा रहेको ४ बिघा क्षेत्रफलमा धान खेती गरेका थियौं । सामुहिक उत्पादनको हिसाबले त्यो हाम्रो  पहिलो प्रयोग थियो । त्यो बेला प्रतिबिघा ७० मन सरदरमा उत्पादन हुन्थ्यो, हाम्रोमा यो प्रतिबिघा १ सय ५ सम्म उत्पादन भएको थियो । यो राम्रो नतिजा हो ।यसपालि तरकारी, आलु, प्याज, लसुन जस्ता चिजहरुको उत्पादन गरिरहेका छौं । यो हाम्रो उत्पादन टिमको आफ्नै उपभोगका लागि हो, बजारका लागि होइन । हिउँदमा तोरी खेती गरेका थियौँ । त्यसमा अपेक्षाकृत नतिजा प्राप्त हुन सकेन । यी कामहरूमा हाम्रा केही अनुभवजन्य कमजोरी र सिकाइहरु पनि छन् । जहाँसम्म बजारको कुरा छ, त्यो त्यस्तो समस्या होइन । हाम्रो सामुहिक कृषि उत्पादनलाई थप व्यवसायिकरण र औधोगिकीकरण गर्नेगरी कामको योजना बनाउन आवश्यक छ । त्यसो गरेर नै हामी मुनाफा लिने ठाँउमा पुग्नेछौँ । बजारका हिसाबले भारतसङ्गको खुला सिमाना र त्यसका कारण आयात गरिने कृषिजन्य वस्तुसङ्ग स्वदेशी उत्पादनले एउटै बजारमा प्रतिस्पर्धा गर्नुपर्ने स्थिति छ । यो हाम्रो कृषि क्षेत्रको प्रमुख चुनौती हो । भारतीय आयातित कृषि वस्तुको तुलनामा हाम्रो प्रति इकाई लागत पनि बढी हुन्छ । त्यसैले राज्यले नेपाली कृषिलाई प्रवर्द्धन गर्ने नीति लिनुपर्छ । माटोको वैज्ञानिक परिक्षणका आधारमा खेती गर्ने, कृषिलाई यान्त्रिकीकरण र वैज्ञानिककरण गर्ने योजना चाहिन्छ ।त्यो वातावरण राज्यले बनाउनु पर्छ । अहिले पनि समाजको ठूलो हिस्सा परम्परागत कृषि प्रविधिमा आधारित छ । यो अवस्थालाई प्रविधिमैत्री बनाउन अपरिहार्य छ ।

               प्रस्तुति : शेरबहादुर विश्वकर्मा 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।