
काठमाडौँ /भारतको ओडिसास्थित केआईआईटी कलेजमा भएको नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युको छानबिनको माग गरिरहेका नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले दुर्व्यवहार गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नेपाली विद्यार्थीलाई अपमान र दुर्व्यवहार गरेकोले त्यस विरुद्ध प्रदर्शन गरेको अखिल (समाजवादी)का उपाध्यक्ष ललित सीले जानकारी दिएका छन् ।
अखिल (समाजवादी) ले उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थीले घटनाको छानवीनको माग गर्नु स्वभाविक अधिकार भएको भन्दै उनीहरुलाई निस्कासन गर्नु गम्भीर विषय भएको जनाएको छ ।
विराेध प्रदर्शनमा अखिल (समाजवादी)का उपाध्यक्ष ललित सीले घटनाको निष्पक्ष छानबिन गरी दाेषीलाई कडा कारबाही हुनुपर्ने, नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कार्वाही हुनुपर्ने र होस्टेलबाट अपमानजनक व्यवहार गर्दै निष्कासन गरिएका सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई स-सम्मान होस्टेल फिर्ता गराई पठनपाठनको व्यवस्था गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।
कार्यक्रममा बोल्दै अखिल (समाजवादी) का सचिवालय सदस्य तारा सञ्ज्यालले संसारभर नेपाली छात्राहरु असुरक्षित रहेकोले राज्यले गम्भीरतापूर्वक समस्या समाधान गर्न पहल गर्नुपर्ने बताइन् ।