२० कार्तिक २०८२, बिहीबार

सर्वपक्षीय सरकार बनाएर संविधान पुनर्लेखन गरी  राज्यका अंगको पुन:सरचना गराैँ : विप्लव

0

काठमाडौंं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकार खारेज गरि तत्काल सर्वपक्षीय अन्तरिम सरकार बनाएर संविधान पुनर्लेखन गरी राज्यका अंगको पुन:सरचना गर्नुपर्ने बताएका छन् ।

समाजवाद र सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै नेकपाले बिहीबार काठमाडौंमा गरेको जनप्रदर्शनपछिको जनसभालाई सम्बाेधन गर्दै विप्लवले यस्तो बताए । उनले सरकारको नेतृत्व गरिरहेकाहरूप्रति आक्रोश व्यक्त गर्दै सर्वपक्षीय अन्तरिम सरकार बनाएर विशेष अधिकार प्रयोग गरेर संविधान पुनर्लेखन गरी राज्यका अंगको पुन:सरचना गर्नुपर्ने माग गरे ।

आफ्नो पार्टी नेकपा १२ वर्षदेखि भ्रष्टाचारविरुद्ध लडेको बताउँदै विप्लवले तर अन्तरिम सरकार गठन गर्दा एक पटक पनि नसोधेको भन्दै आक्रोश पोखे ।
उनले भने, ‘सुशीला जीको नेतृत्वको अन्तरिम सरकारलाई छिटो भन्दा छिटो सर्वपक्षीय अन्तरिम सरकार बदल्न जरुरी छ, यो सरकारमा को आयो ? किन आयो ? कसले ल्यायो ? नेकपा १२ वर्षदेखि भ्रष्टचारका विरुद्ध लड्दै छ नेकपालाई किन सोधिएन ?’
सुशासनका लागि भ्रष्टाचारका विरुद्ध लड्ने अन्य दल, नागरिक अगुवा, पत्रकार कसैसँग पनि अन्तरिम सरकार गठनमा सुझाव नलिइएको भन्दै विप्लवले तत्काल सर्वपक्षीय सरकार बनाउनुपर्ने माग गरे ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले राजनीतिक दलहरूको दलाली र विदेशी हस्तक्षेपका कारण स्वाधीनता संकटमा पुगेको बताए ।

‘हाम्रो स्वाधीनता संकटमा छ । हामी सिरिया हुने, युद्धको मैदान हुने खतरा छ,’ उनले भने, ‘समय छँदै अरु देशको दलाली गर्न दलहरूले बन्द गरेनन् र मित्र हुँ भन्दै हस्तक्षेप गर्ने विदेशीले आफ्नो कदम रोकेनन् भने हामी अप्ठेरो अवस्थामा पुग्नेछौं ।’
उनले नेकपा हुँदासम्म साम्राज्यवादीको घुसपैठ सफल हुन नदिने दाबी पनि गरे । ‘साम्राज्यवादी घुसपैठ हामीलाई स्वीकार्य छैन । मित्र देश हुन भने सहकार्य गर्न तयार छौं । हस्तक्षेपको मनसाय राख्नु हुँदैन भनेर हामी अमेरिका, भारत, चीन सबैसँग हातेमालो गर्न तयार छौं । नभए यो अमर सिंह, भक्ति थापाहरूको देश हो भन्ने सबैले हेक्का राख्न पनि आग्रह गर्दछौं,’ उनले भने ।

महासचिव विप्लव सीले शासकको अहंकारले जेनजी विद्रोह विस्फोट भएको बताउदै भने- ‘भ्रष्टचारहरूले अटेर गर्दै नसुनेपछि, मुर्खता गर्दैगएपछि, जनतालाई यी केही पनि होइनन् जे गरे पनि हुन्छ भन्ने ठान्न थालेपछि, प्रशासन छ, राज्य छ, डण्डा छ, बन्दुक छ, जेल, कानुन छ भनेर मनपरी गरेपछि जेनजी विस्फोट भयो । ’

महासचिव विप्लव सीले जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिने खतरा बढेको बताए । उनले जनताको अवस्था परिवर्तनका लागि जनयुद्ध लडेको तर त्यो पार नलगेको बताउदै जनयुद्ध जस्तै जेनजी विद्रोह पनि तुहिन खतरा बढेको बताए । उनले भने- ‘हामीले जेनजी युवाहरूलाई धन्यवाद दिनुपर्छ, हाम्रो पार्टीले लडेकै हो तर हाम्ले पार लगाउन सकेका थिएनौं, विभिन्न क्षेत्रबाट लडेका थिए जनताहरू तर जनताले पार लगाउन गाह्रो भएको थियो, जनयुद्ध बीचमै तुहिएको थियो त्यसलाई पार लगाउन सकेको थिएन ।’

महासचिव विप्लव सीले निरंकुश बन्दै गएको सत्तालाई जेनजीको बलिदानले खरानी बनाइदिएको बताउँदै भने,–‘जेन–जी आन्दोलनमा बलिदान गर्नेहरूले नेपाललाई कहिल्यै नबिर्सने गुण लगाएर गएका छन् । राज्यसत्ता अन्धो थियो । बहिरो थियो । निरंकुश थियो । मुर्ख बन्दै गएको थियो । जनताविरुद्ध तानाशाही बन्दै गएको थियो । जेन–जीले आफ्नो रगत दिएर, बलिदान गरेर अहंकारी दलालहरूको सत्ता र संसद्लाई थला पारेर आगोमा खरानी बनाइदिए ।’
महासचिव विप्लव सीले रूपान्तरणसहित एकता नभए गणतन्त्र खरानी हुने निश्चित भएको बताए । उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका नौ दलबीचको एकतालाई नवरशको रमाइलो देखिएको भन्दै व्यंग्य गर्दै भने – ‘हिजो यही भृकुटीमण्डपमा रमाइलो पनि देखियो नवरशमा हाम्रो रश मिसिएन। यथास्थितिमा हाम्रो रस मिसाउन मन लागेन । नेपालका कम्युनिष्टहरूबीच एकता आवश्यक छ । हामी पनि एकताको पक्षमा रहँदै आएका छौं । तर, कस्तो एकता? कहाँ पुग्ने एकता? रुपान्तरणसहित एकता गरिएन भने २०६४ मा गणतन्त्र आयो आयो भनेर खुसी मनाएकाहरूले त्यही गणतन्त्र खरानी हुने अवस्थामा पुगेकोमा चिन्ता गर्नु पर्ने अवस्था आएजस्तो हुन्छ।’

उनले आफ्नो पार्टी सधैं सच्चा कम्युनिष्टहरूबीच एकताको पक्षधर रहेको भन्दै अहिले त्यस्तो अवस्था आइनसकेको बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।