११ श्रावण २०८१, शनिबार

जनक्रान्ति छाडेर चुनावमा जाने कुरा सत्य होइन, समाजवादी लक्ष्य विनाको पार्टीसँग एकता हुँदैन : शितल

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य शितल सीले जनक्रान्ति छाडेर चुनावमा जाने कुरा सत्य नभएको बताएका छन् ।

आइतबार घोराहीमा नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता शितलले उक्त कुरा बताएका हुन् ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै नेता शितलले भने– ‘ हामीले केन्द्रीय समितिको बैठकबाट ०८४ को निर्वाचनलाई उपयोग  गर्ने निर्णय गरेर आएका छौँ । निर्वाचनको विषयमा हामीले निर्णय गरेलगत्तै प्रतिक्रियावादीहरुले जनतामा अनावश्यक भ्रम छरिरहेका छन् तर त्यो कुरा सत्य होइन । हामीलाई जनताबाट कटाउने रणनीति  यहाँका संसदवादी र प्रतिक्रियावादीहरुले लिएका छन् । नेकपा एकीकृत जाक्रान्ति छाडेर चुनावमा जाने कुरा सत्य होइन ।’

एकीकृत जनक्रान्ति विश्वको तेस्रो कार्यदिशा हो, नेता शितलले भने ‘ एकीकृत जनक्रान्ति नेपालको मौलिक कार्यदिशा हो । यो दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको हुबहु कार्यदिशा होइन । यो हामीले नेपाली विशेषता र विश्वको अहिलेको चरित्रलाई गहिरो अध्ययन गरि संश्लेषण गरेको कार्यदिशा हो । हामी हाम्रो तरिकाले लडिरहेका छौँ । हाम्रो पार्टीको अहिलेको लाइन समाजवादका लागि फराकिलो मोर्चा निर्माण गर्ने कार्यनीति हो । हाम्रा विषयमा जनता स्पष्ट नै छन् तर प्रतिक्रियावादीहरु र विदेशी साम्राज्यवादीहरुले रणनीतिक ढंगले नेकपालाई जनताबाट कटाउने नीति अख्तियार गरेका छन्, यो रणनीति हामी कुनै हालतमा सफल हुन दिदैनौँ ।’

हामी अहिलेको संसदीय राज्यव्यवस्थाको रुपान्तरण चाहेका छौं , उनले फेरि भने – ‘ हामी अहिलेका राज्यव्यवस्थाका सञ्चालकहरुलाई भनिरहेका छौँ कि यो राज्यव्यवस्था सफल हुन सकेन । यो जनता विरोधी व्यवस्था पटकपटक सावित भइसकेको स्पष्ट नै छ तर यहाँका संसदवादी दलालहरुले ढल्दै गरेको यो व्यवस्थालाई टेको लगाइरहेका छन् । यो व्यवस्था रुपान्तरणका विषयमा हामीले जनमतसंग्रहको कुरा उठाइरहेका छौं तर जनतालाई यो अधिकार दिन राज्यका ठेकदारहरु तयार छैनन् । जनसंघर्ष , जनमतसंग्रह , संविधान संशोधन वा चुनाव जेसुकै गरेर होस् यो व्यवस्थालाई बदल्नैपर्छ त्यसको लागि नेकपा कहिकतै चुक्ने छैन ।’

नेता शितलले समाजवादी लक्ष्य विनाका पार्टीसंग एकता नहुने समेत बताए ।

समाजवादी लक्ष्य विनाको पार्टी एकता हुँदैन , उनले भने– ‘ हाम्रो पार्टीको कुरा माओवादी धारका बिचमा पार्टी एकता गर्नेपनि छ तर एउटै सर्तमा एकता गर्दा समाजवादी लक्ष्य विनाको एकता हुँदैन । त्यो मात्रै कुरा होइन एकता गर्दा हाम्रो वैचारिक हतियार एकीकृत जनक्रान्तिलाई स्वीकार गर्नुपर्दछ । एकीकृत जनक्रान्ति केवल नेकपाको मामिला मात्रै होइन यो तीन करोड नेपाली जनतालाई समृद्ध बनाउने कार्यदिशा हो । नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थालाई निस्तेज पार्दै नेपाली जनतालाई समाजवादमा रुपान्तरण गर्ने कार्यदिशा हो, यो विनाको एकता सम्भव छैन । माओवादी धाराको मात्रै कुरा होइन साम्राज्यवादका विरुद्ध बृहत् कम्युनिस्ट, वामपन्थी, देशभक्त, क्रान्तिकारी, प्रगतिशील, सच्चा गणतन्त्रवादी एवम लोकतान्त्रिक शक्तिबिच पनि सहकार्यको आवश्यकता छ ।’
नेता शितलले राजावादी र धर्मवादीहरुका कारण प्रतिगमनको खतरा रहेको समेत बताएका थिए भने समाजवादका लागि मजबुत संगठन निर्माणमा जुट्न नेताकार्यकर्तालाई निर्देशन समेत दिएका थिए ।

यस्तै बैठकमा प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्दै पार्टीका जिल्ला इन्चार्ज सविन सीले क्रान्तिकारी नेताकार्यकर्ताहरुले परिस्थिति र आफ्नो जिम्मेवारीको गम्भीर बोध गर्नुपर्ने बताए ।

चुनाव सम्बन्धि कम्युनिस्ट पार्टीका परम्परागत मान्यता छन् ,नेता सविनले भने– ‘ हाम्रो पार्टी चुनाव सम्बन्धिका परम्परागत मान्यताबाट माथी उठेको छ । चुनावबारे केही कम्युनिस्टहरु चुनाव प्रयोग गर्दै संशाेधनवादी बाटो हुँदै विसर्जन हुने खालको छ भने अर्को तरिका क्रान्तिका चर्काचर्का कुरा गर्ने चुनावलाई खारेज गर्ने तर जनताबाट कट्दै जाने खालको पनि छ । तर हाम्रो पार्टीले चुनाव सम्बन्धिका यी मान्यताबाट माथी उठेको छ । चुनावलाई एकीकृत जनक्रान्तिको मोर्चाको रुपमा बुझ्नुपर्छ ।’

नेता सविनले नेकपाप्रति जनताको अटुट माया र अगाध विश्वास भएकाले नेताकार्यकर्ताहरु जनताको सुखदुःखमा हमेशा साथमा रहन निर्देशन दिएका छन् ।

यस्तै नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पूर्ण बैठकले जेठ १२ गतेभित्र सबै पालिकाको बैठक बसिसक्ने, सबै वडा कमिटी गठन/पुनर्गठन गर्ने, क्षेत्रीय स्तरमा पार्टी सदस्यसम्मको प्रशिक्षण कार्यक्रम गर्ने, प्रत्येक वडामा अन्तरक्रिया गर्ने, पार्टीको कार्यालय बनाउने, पालिका स्तरका पार्टी कार्यालयहरु व्यवस्थित गर्ने, समाजवाद सम्बन्धि नाराहरु वालिङ गर्ने, अवैध नदिजन्य पदार्थको उत्खनन विरुद्ध संघर्ष गर्ने, किसानलाई मल, बीउबिजन सहज उपलब्धताका लागि पहल गर्ने, जिल्लामा शान्ति र्यालीको आयोजना गर्ने, मिटरव्याज, लघुवित्त पिडितका पक्षमा संघर्ष गर्ने, जनप्रतिनिधिहरुले गरेको व्यथिती विरुद्ध संघर्ष गर्ने, तुलसीपुरको एयरपोर्ट स्तरउन्नतीका लागि मागपत्र बुझाउने, गुठी एवम सुकुम्बासीको पक्षमा ऐक्यबद्धतासहित संघर्षमा सहभागी हुने, जिल्लामा विभिन्न आर्थिक कोषहरु खडा गर्ने, जिल्लाका सबै पालिकामा एकीकृत स्वामित्वका आधरमा उत्पादनलाई व्यवस्थित गर्ने, घोराहीमा सी फिनाइल उद्योग सञ्चालनमा ल्याउने, एकीकृत जनक्रान्तिका सहिद महानको स्मृतिमा शालिक निर्माण गर्ने लगाएतका निर्णयहरु गरेको छ ।

यस्तै बैठकले १२१ सदस्यीय जिल्ला समिति, १६ सदस्यीय कार्यालय समिति र ३९ सदस्यीय जिल्ला सचिवालय समितिको गठन गरेको छ ।

बैठकले दाङको बबई गाउँपालिकाको इन्चार्ज एवम् सेक्रेटरीमा उज्वल सी, शान्तिनगर गाउँपालिकाको इन्चार्जमा जनक सी र सेक्रेटरीमा मनोज सी, दंगिशरण गाउँपालिकाको इन्चार्जमा जिवनी सी, तुलसीपुर उपमहानगरपालिकाको इन्चार्जमा तिलक सी, सेक्रेटरीमा विजय सी, घोराही उपमहानगरपालिकाको इन्चार्जमा विकास सी र सेक्रेटरी महान सी, लमही नगरपालिकाको सेक्रेटरीमा पुर्ण खनाल, राजपुर गाउँपालिकाको सेक्रेटरीमा सुर्य सी, गढवा गाउँपालिकाको इन्चार्जमा गणेश सी र सेक्रेटरीमा ओम सी, बंगलाचुली गाउँपालिकाको सेक्रेटरीमा भिम सी र राप्ती गाउँपालिकाको इन्चार्जमा सुरज सी र सेक्रेटरीमा अदिप सीलाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ ।

यस्तै बैठकले लिएका महत्त्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न जेठ १ गते नेपाल पत्रकार महासंघको सभाहल घोराहीमा पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएको छ ।

नेकपा दाङका सचिव तिलक सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकको प्रमुख अतिथि नेकपाका पिबिएम शितल सी, पार्टीका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज सविन सी , पार्टीका केन्द्रीय सदस्य विक्रम सी, केन्द्रीय सदस्य प्रदिप सी, केन्द्रीय सदस्य सम्झना सी, केन्द्रीय सदस्य पाटन जंगली सी, पार्टीका जिल्ला सल्लाहकारहरु सुरेश सी र नवराज सीको आतिथ्यता रहेको थियो ।

बैठकमा पार्टीका जिल्ला सचिव तिलक सीले पार्टीको लुम्बिनी प्रदेश कमिटीको प्रथम पूर्ण बैठकको परिपत्र वाचन गरेका थिए ।

नेकपा पुनः नयाँ पुनर्संरचनामा, दाङमा जिल्ला इन्चार्ज र सेक्रेटरी पनि फेरिए

नेपाल कम्युनिस्ट पार्टीले पार्टीलाई पुनः नयाँ पुनर्संरचनामा बदलेको छ ।

नेकपा यसअघि ब्युरो संरचनामा चलिरहेको थियो तर विप्लवले पार्टीको नवौं केन्द्रीय समितिको पाँचौ बैठकबाट पार्टीलाई प्रदेश संरचनामा लग्ने औपचारिक निर्णय गरेका छन् । सोही अनुरुप अहिले नेकपाले ७ वटै प्रदेशमा प्रदेशका कमिटीको बैठक बसि प्रदेश कमिटीको घोषणा गरिसकेको छ ।

यस्तै लुम्बिनी प्रदेशमा पनि नेकपाले प्रथम पुर्ण बैठक बसि समितिको घोषणा एवम कार्यविभाजन टुंग्याएको जानकारी दिएको छ ।

यस्तै नेकपाले यसअघि पार्टीको नवौं महाधिवेशनबाट जिल्ला विभाजनको नीति लिएको थियो । सोही अनुरुप त्यतिबेला नेकपाले दाङलाई तीन जिल्लामा विभाजन गरेको थियो । जस अनुसार तुलसीपुरदेखि पश्चिम दाङलाई एउटा जिल्ला बनाइएको थियो भने पुर्वी दाङ जिल्ला भनेर घोराही उपमहानगरपालिका र बंगलाचुली गाउँपालिकालाई समेटिएको थियो भने समग्र देउखुरीलाई छुट्टै जिल्ला बनाइएको थियो तर नेकपाले पार्टी केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकबाट जिल्ला विभाजनको नीतिलाई समेत अहिले रोकेको छ । यस अनुसार अब तीन क्षेत्रमा विभाजित दाङ जिल्ला एउटै जिल्ला हुनेछ ।

यस्तै नेकपा लुम्बिनी प्रदेशको प्रथम पुर्ण बैठकले प्रदेश अन्तर्गतका सबै जिल्लाका इन्चार्ज र सेक्रेटरीहरु ठोस गरेको जनाएको छ ।

बैठकले दाङ जिल्लाको इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य एवम पार्टीका पुर्व राप्ती ब्युरो इन्चार्ज सविन सीलाई जिम्मेवारी दिएको छ भने जिल्ला सेक्रेटरीमा पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य एवम युवा संगठन नेपालका निवर्तमान महासचिव तिलक सीलाई जिम्मेवारी प्रदान गरेको छ ।

यस्तै दाङका ३ वटै निर्वाचन क्षेत्रमा पनि नेकपाले नेताकार्यकर्ताको जिम्मेवारी ठोस गरेको छ । जसअनुसार दाङ क्षेत्र नं. १ मा पार्टीका केन्द्रीय सदस्य विक्रम सी, दाङ क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य एवम युवा संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष पाटन जंगली सी र दाङ क्षेत्र नं. ३ मा पार्टीका केन्द्रीय सदस्य प्रदिप सीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै नेकपाले दाङका १० वटै पालिकामा पनि नयाँ जिम्मेवारी ठोस गरेको जनाएको छ ।

आइतबार घोराहीमा सम्पन्न नेकपा दाङको तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकले पार्टीको दाङ जिल्ला कार्यसमिति १२१ सदस्यीय पुनर्गठन गरेको छ । जसमा १६ सदस्यीय कार्यालय समिति र ३९ सदस्यीय सचिवालय समिति रहने घोषणा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।