१३ पुष २०८१, शनिबार

दलाल पुजिँवादी व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद : शिलु सी

0

पर्वत: नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एवम् गण्डकी प्रदेश इन्चार्ज शिलु सीले दलाल पुजीँवादी व्यवस्थाको विकल्प नेपाली विशेषताको समाजवाद रहेको बताएकी छन् ।

नेपाल कम्युनिष्ट पार्टी पर्वतको जिल्ला बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता शिलुले अब जनस्तरसम्म समाजवादको बहस चलाउनुपर्नेमा जोड दिइन् । उनले समाजवाद स्थापनार्थ बहस चलाउन समाजवादी मोर्चा गठन भएको भन्दै पार्टीले गाउँगाउँमा समाजवादबारे बहस गराउन र जनतालाई जागरुक बनाउन जरुरी रहेको बताइन् । ‘समाजवाद कुनै अरु देशको जस्तो नभएर नितान्त नेपाली मोडेलको हुन्छ, नेपाली माटो सुहाउँदो हुन्छ, त्यसैलाई नेपाली विशेषताको समाजवाद भनिएको हो ।’ नेता शिलुको भनाई थियो ।

त्यस्तै बैठकमा उपस्थित पार्टीका पोलिट ब्युरो सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज राजन सीले दलाल पुजीवादी व्यवस्थाले जनताको अवस्था र जनजीविकामा परिवर्तन हुन नसक्ने र त्यसको समाधान समाजवाद रहेको भन्दै अबको लक्ष्य समाजवाद रहेको बताए । नेता राजनले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका सवालहरुमा पार्टीले गम्भीरताका साथ उठान गर्नुपर्ने समेत बताए । त्यस्तै नेकपाका केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इन्चार्ज सुशिला सीले उत्पादन गर्दै आत्मनिर्भर हुने कुरा कम्युनिष्ट संस्कार रहेको भन्दै पार्टीले उत्पादनमा दिएको प्राथमिकता निकै स्रहानीय भएको बताइन् ।

यस्तै पार्टीका प्रतिनिधि समिति सदस्य एवं मनाङ सेक्रेटरी विजय सीले पार्टीले लिएका उद्देश्य पूरा गर्न एकजुट हुनुपर्ने बेला आएको बताए । पार्टी हिजो पनि जनताकै बिचमा रहेको र जनता र पार्टीबिचको सम्बन्ध अझ मजबुत बनाउनुपर्ने बताए ।
पर्वतको कुस्मामा बसेको बैठकले पर्वत जिल्लामा रहेका विकास निर्माणको अनुगमनदेखि सहकारीका पीडितहरुका समस्या, लघुवित्तसम्बन्धी समस्या, मिटरव्याजी लगायत जनतासँग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै पार्टीले लागूऔषध दुर्ब्यसनीको नियन्त्रणको लागि समेत कदम चाल्ने निर्णय गरेको छ । पार्टी संगठनलाई पालिकादेखि वडास्तरसम्म विस्तार गर्ने, विभिन्न्न जनवर्गीय सङ्गठन विस्तार गर्ने, अन्तरक्रिया र बहसका कार्यक्रमहरु गर्ने निर्णय पनि गरेको छ ।
पर्वत जिल्ला सेक्रेटरी किरण सीको अध्यक्षतामा बसेको बैठकले विभिन्न पालिकाका जिम्मेवारीहरु समेत विभाजन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।