शुरविर सी
नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशनको बन्द सत्रको हलबाट उद्घोष गरेको थियो कि आगामी ८० को दशक क्रान्तिको दशक हुनेछ । नेपाल कम्युनिस्ट पार्टीले आज भन्दा १० वर्ष अघि सु-स्पष्ट रुपमा भनेको थियो कि यो व्यवस्थाबाट आजको नेपालको कुनैपनि समस्या हल गर्न सम्भव छैन । त्यसकारण नेकपाले आजसम्म निरन्तर रुपमा संघर्ष गरिरहेको छ । नेकपा आज आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता र आत्मनिर्भर देश र जनताको नारा अघि सारेर आज देशव्यापी रुपमा नेकपा कृषि उत्पादनको महासंग्राममा जुटिरहेको छ । नेकपाका महासचिव विप्लवले गत वर्षको धान रोपाई कार्यक्रममा भन्नुभयो कि कृषि भनेको आमा अर्थतन्त्र हो यसको कुनै मुल्य छैन भनेर उहाँले पटक-पटक भनिराख्नुभएको छ । नेकपाको सु-स्पस्ट तर्क यो छ कि नेपालको आत्मनिर्भरताको निम्ति कृषि र समृद्धिको निम्ति उद्योग/व्यापार हो । नेपालमा आज सर्वत्र रुपमा नेपालको राजनीतिक पार्टीको र नेताको हरेक जनताको मुखबाट आलोचना, गाली गलौज गरेको पाइन्छ । आखिरीमा देश र जनताको निम्ति ज्यानको बाजी थापेर हिडेको नेताको त्यत्रो आलोचना किन भइराखेको छ त यो कुरा गम्भिर ढङ्गले सोच्नुपर्ने बेला भएको छ आज । वास्तवमा नेपालमा हरेक समय राजनीतिक परिवर्तनको आन्दोलन भयो तर उक्त आन्दोलनको मूल एजेण्डालाई संस्थागत गर्न सकिएन र जनताको जिवनमा कुनै आर्थिक परिवर्तनको सुचाङ्क देख्न सकिएन । त्यसकारण नेपालमा पटक-पटक आफ्नो राजनीतिक अधिकारसहितको आर्थिक उन्नति र प्रगतिको निम्ति नेपाली जनताले ठुला-ठुला विद्रोह गरे तर कुनैपनि विद्रोहबाट वास्तविक नेपाली जनताको जीवनमा नयाँ परिवर्तन आउन सकेन । पछिल्लो समय नेपालमा नेकपा मआवादीको नेतृत्वमा निरङ्कुश राजतन्त्रको विरुद्धमा भिषण जनयुद्ध भयो । १० वर्षको भिषण लडाईबाट नेपालमा २४० वर्षदेखि निरन्तर रुपमा एकलौटी निरङ्कुश शासन गरिरहेको शाही शासनको अन्त्य भइ राजनीतिक रुपमा ठुलो परिवर्तन भइ नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र त आयो तर नेपाली जनताको आर्थिक जिवनमा कुनै सार्थक परिवर्तन हुन सकेन । त्यसकारण आज पनि नेपाली जनता कैयौँ समस्याले आक्रान्त छ । यो समस्याको समाधान अब अहिलेको संसदिय सत्तामा भाग लिइ सरकारको बागडोर पटक-पटक सम्हालेको राजनीतिक पार्टी र तिनको नेताबाट सम्भव छैन भन्ने निष्कर्षमा आम नेपाली जनता एकमत भइसकेको छ ।
नेपालमा अहिले बर्षातको मनसुन सुरु भएको छ र आम जनता माना खाएर मुरी उब्जनी गर्ने ठुलो किसानी मोर्चामा लडिरहेको छ तर यस्तो नेपालको अर्थतन्त्रको मेरुदण्ड कृषि कर्म गरि बर्षभरिको अन्नपानी जोहो गर्नुपर्ने बेलामा हाम्रोे देशका ठुला भनौदा पार्टीका नेताहरु सरकार परिवर्तनको गाईजात्रामा लागेका छन् ।
२०७९ मंसिर ४ गते नेपालमा २०७२ को संविधानत दोस्रो आवधिक निर्वाचन भयो । उक्त निर्वाचन नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन गरी चुनाव लडेको थियो तर चुनाव लगत्तै नेकपा (माओवादी केन्द्र) ले चुनावी गठबन्धन तोड्दै नेकपा एमालेसंग गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री बन्नुभयो । बितेको १८ महिनामा क. प्रचण्डले पटक-पटक गठबन्धन तोड्दै कहिले एमाले त कहिले काङ्ग्रेससंग ३ पटक गठबन्धन फेरि आफुसंग म्याजिक नम्बर रहेको भन्दै काङ्ग्रेस एमालेलाई दबाब दिई साइजमा राखि नै रह्यो । पछिल्लो पटक भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा क. प्रचण्ड भारत भ्रमणमा गए । उक्त भ्रमणको क्रममा क. प्रचण्डले एमालेसंगको सहकार्य तोडि काङ्ग्रेस सभापति शेर बहादुर देउवासंग सहकार्य गर्ने भन्ने मोदीको सन्देश बोकेर प्रचण्ड नेपाल फर्केका थिए । किनभने भारतीयहरु केपीसंगको गठबन्धनलाई रुचाइरहेका थिएनन् । भारतबाट फर्केपछि क. प्रचण्ड कसरी मोदीसंग भएको सहमतिलाई कार्यन्वयन गर्ने भन्ने तनावमा बेचैन भएका थिए । त्यही कोर्षको पहिलो स्टेप थियो भुटानी शरणार्थी काण्डमा फरार अभियुक्त बेचन झाको गिरफ्तारी । त्यसपछि शेर बहादुर पत्नी आरजु राणालाई तर्साउने र त्यसपछाडि शेरबहादुर देउवा सजिलै हारगुहारमा आउछन् र छलफलको विषय अगाडि बढ्छ भन्ने प्रचण्ड विश्लेषण थियो । त्यो कार्यपनि प्रचण्डले गृहमन्त्री रवि लामिछानेलाई प्रयोग गरी तर्साउने काम भयो । त्यसपछाडि यो समग्र योजनाको सुइको समेत नपाएका देउवा प्रचण्डतिर होइन कि केपीतिर चाही असार १५ गते पत्नी आरजुलाई लिएर अब सिद्ध्याउने भो भन्ने मनोभावबाट त्रसित भएर बाल्कोट पुगि हारगुहार गरी केपी ओलीलाई प्रधानमन्त्री बनी आफ्नो पत्नीको रक्षा गरिदिन भेटी चढाउन पुगे । शेरबहादुर देउवाले त्यहाँ सम्म बिन्ति गर्दासम्म पनि केपी ओली विश्वस्त भएको थिएन । तर भयो के भन्नु हुन्छ भने चतुर प्रचण्डले त्यो कुरा थाहा पाएर हत्त न पत्त आफ्नो विश्वास पात्र नारायण दाहाललाई शेरबहादुर कहाँ पठाई पछिल्लो शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव लिएर गए । यता प्रचण्डले केपी ओलीसंग ३ घन्टा छलफल गरी ओलीलाई नै प्रधानमन्त्री बन्न आग्रह गरे तर जवाफमा ओलीले आफु प्रधानमन्त्रीको लागी नभइ नीति, विधि, सु-शासन, समृद्धि र विकासको पक्षमा रहेको जवाफ दिदै स्वर्ग गएपनि नर्क गएपनि सँगै जाने प्रतिबद्वता व्यक्त गर्दै त्यस दिन बिदा भए । तर शेरबहादुरले आफुसंग प्रचण्डले राष्ट्रिय सहमतिको सरकार बनाउने प्रस्ताव गरेको कुरा शेर बहादुरले केपी कहाँ पुर्याइदिए । त्यो कुरा थाहाँ पाएपछि केपी ओलीले दोस्रो तहका नेता संकर पोख्रेललाई गृहकार्य गर्न खटाए । उहीँ साझ प्रचण्डले भारतीय राजदुतमार्फत केपीसंग होइन प्रचण्डसंगै सहकार्य गर्नु केही समय कुर्नु भन्ने सन्देश शेर बहादुर कहाँ पुर्याउन लगाए । त्यसपछि भारतीयहरु मुभ भइसकेछन् अब ढिलोे गर्नु हुन्न भन्ने निष्कर्षमा शेरबहादुर देउवा पुगि तुरुन्तै रमेश लेखक र ज्ञानेन्द्र बहादुर कार्कीलाई सहमतिको खाका तयार पार्न खटाए । ललितपुरको झम्सीखेलस्थित भिभान्ता होटेलमा एमाले महासचिव संकर पाख्रेल र काङ्ग्रेस नेता रमेश लेखक बीचमा सहमतिको खाका तयार भयो । उही साझ असार १७ गते सोमबार राति १२ बजे काङ्ग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिकाे सरकार बनाउने र पहिलो चरणमा केपी ओली प्रधानमन्त्री बन्ने सहमतिसहित संविधान संशाेधन गरी उही पुरानो राजाको पालाको पश्चगामी संविधान ब्युताउने जनघाती सहमतिमा बासबारीस्थित अन्नपुर्ण पोष्टका मालिक रामेश्वर खनालको घरमा हस्ताक्षर गरेको छ । आखिर किन उहीँ रामेश्वर खनालको निवासमा नै हस्ताक्षर गर्नुपर्ने बाध्यता आइ लाग्यो त यसको सिधा उत्तर यो गठबन्धन युरोपियन र अमेरिकनहरुको इन्ट्रेष्टमा नेपालमा MCC कार्यन्वयन गरी नेपाललाई युक्रेनको हालतमा पुर्याउने राष्ट्रघाती षड्यन्त्र हो यो ।
अबको निकास
यी एवम् प्रकारको षड्यन्त्रहरु चलिराखेकै बेलामा संयोग बस नेकपा (एकिकृत समाजवादी) को १० औँ राष्ट्रिय महाधिवेशन कमलादीको सभाहलमा असार १६ गते उद्घाटन समारोह थियो । उक्त कार्यक्रममा केपी ओली बाहेक नेपालको शिर्षस्थ नेतृत्वहरुकाे उपस्थिति थियो । त्यहाँ शुभकामना मन्तव्य दिन पुगेका ४ पात्रको मन्तव्य रोचक छ । नेकपाका महासचिव क. विप्लव सीले अहिले नेपालको राष्ट्रिय परिस्थिति असाध्यै जटिल, पेचिलो र विषम परिस्थितिमा गुज्रिरहेकोले अब यसको समाधान यो विद्यमान दलाल पुजिवादी संसदीय व्यवस्थाबाट असम्भव रहेकोले अब सबै राजनीतिक पार्टीका नेताहरुले गम्भिर भएर नेपाली विशेषताको समाजवादको विषयमा छलफल गर्नुपर्ने धारणा राख्नु भयो । त्यसैगरी जसपाका अध्यक्ष उपेन्द्र यादवले यो व्यवस्थामाथि खतरा रहको र अहिलेको संघियता पनि नरहन सक्ने धारणा राख्नु भयो । त्यसपछि रास्वपाका सभापति रवि लामिछानेले अधिकाङ्श समय विप्लव र उपेन्द्रको धारणामाथि प्रतिवाद गरेर समय ब्यतित गरे । रविको धारणा थियो कि नेपालको व्यवस्थामाथि कुनै कतैबाट पनि खतरा नरहेको र नेपाल अहिले कुनैपनि विषम परिस्थितिमा नभई सहज र सरल परिस्थितिमा रहेको धारणा राख्नु भयो । रवि लामिछानेको भनाइको सिधा अर्थ छ यही व्यवस्था ठिक छ समाजवाद केहि पनि चाहिदैन भन्नुको मतलब दलाल पुजिवादी लुटेरा व्यवस्था नै ठिक छ भन्नु सिधा अमेरिकनहरुको गुलाम बन्ने कुरा हो । व्यवहारबाटै पुष्टि हुन्छ कि रविहरु खुलेआम अमेरिकनको निर्देशनमा नेपाललाई युक्रेन बनाउन चाहन्छन् भन्ने कुरा । अतिथि दिर्घको अन्तिम वक्ता थियो प्रधानमन्त्री प्रचण्ड । उहाँले माधव कुमाार नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा माओवादी केन्द्रलाई अस्थिर भनेकोमा आपत्ति जनाउदै आफु अस्थिर नभई गतिशिल र डाइनामिक भएको प्रस्टोक्ती दिदै फेरि पनि आउदो समाजवादी आन्दोलनको पनि नेतृत्व आफै गर्ने बकवास गर्दै विप्लवको नेपाली विशेषताको समाजवादी धारणाको माहोललाई किच्नु अनेक टिकदम गरे तर जे गर्दा पनि विप्लवको संयमतासहितको आक्रोशपूर्ण नेपाली विशेषताको समाजवादी प्रस्तावलाई किच्न नसकि अन्तत: लुत्रुक्क परेर आफ्नो भनाई अन्त्य गर्न विवस भए । सम्भत एउटै मञ्चमा बसेर विप्लवको हुङकारलाई जित्न नसकि विप्लवको एकछत्र राष्ट्रिय माहोलको सामु प्रचण्ड आत्मसमर्पण यो नै पहिलो होला ।
यि माथीको समग्र फेहरिस्तको सारमा हामी भन्न सक्छौँ कि नेपालमा काङ्ग्रेस र एमालेको यथास्थितिवादी पश्चगामी प्रवृति, रास्वपाको अमेरिकन साम्राज्यवादी गोटी बनि नेपाललाई युक्रेन बनाउने प्रवृति, प्रचण्डहरुको आत्मसमर्पणवादी, अवसरवादी प्रवृति यी ३ वटै धारबाट आजको नेपालको निकास सम्भव छैन । त्यसकारण नेकपाले अघि सारेको नेपाली विशेषताको समाजवाद र त्यसको प्रस्तावक क. विप्लव नै आजको सम्पूर्ण समस्याको निकास र यो देशलाई नेतृत्व गर्न सक्ने नेतृत्व हुन सक्छ ।
नेकपा र क. विप्लवको दायित्व
नेकपाले गत बैशाख ४ देखि ९ सम्म कपिलवस्तुको शिवगढीस्थित केन्द्रीय कार्यालयमा नेकपाको ९औं केन्द्रीय समितिको ५ औं पूर्ण बैठक सम्पन्न गरेका थिए । उक्त बैठकबाट माओवादी धार लगाएत कम्युनिस्टहरुसंग एकता गर्ने र ०८४ मा चुनाव नहुन पनि सक्छ यदि भई हालेमा चुनाव प्रयोग गर्ने नीति पास गर्यो । पार्टी एकता अन्तर्गत माओवादी धारसंग उचित समयमा एकता गर्ने र आगामी चुनावमा सम्भव भएसम्म समाजवादी मोर्चामार्फत मोर्चाबन्दी गरेर नभए सिङगल चुनाव लड्ने निर्णग गरेको छ । यि २ निर्णयको प्रभाव अहिले देशव्यापी रुपमा चौतर्फी परेको छ । चुनावको कुरा गर्दाखेरि नेकपाले भनेको कुरा त ठिक हो तर हामी लडाइको मोर्चामा सहभागी हुन सकिदैन भन्ने ठुलो नेपाली मध्यम वर्गको जमातलाई नैतिक संकट परेको छ भने (अब यिनीहरु चुनावमा आउने भए के गर्ने होला भन्ने छलफलमा पुगेको छ) यिनीहरु लडाईमा जान्छन् यिनीहरुको पछि लाग्यो भने अनाहकमा दु:ख पाउछ, ज्यान जान्छ भनि भ्रम प्रचार गरि गर्जो टार्नेहरुको निदहराम भएको छ । नेकपाले भनेको छ कि विद्रोह गर्ने ठेक्का नेकपाको विद्रोहबाट प्राप्त व्यवस्थामा रजाई गर्ने ठेक्का संसदवादीको जस्तो भयो । त्यसकारण यो लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने लडाइमा नेकपाले बलिदान गरेको छ त्यसकारण यसको स्वामित्व पनि नेकपाले लिनु पर्छ र कुनैपनि मोर्चामा संसदवादीलाई एकछत्र सिङगल छोड्नु हुन्न र सम्पूर्ण माेर्चामा चौतर्फी हमला गर्नु पर्छ भन्ने स्पष्ट दृष्टिकोण अघि सारेको छ । कि त जनमत संग्रह गर, कि त संविधान संशाेधन गर या त चुनावमा भोट हालेर देऊ जसरी भएपनि ०८४ आसपाससम्ममा नेकपालाई सत्ता चलाउनु देऊ नत्र लडाइको सामना गर्न तयार होऊ भन्ने नेकपाको स्पष्ट राजनीतिक लाइन छ । यदि नेकपाको हातमा सत्ता नआउने हो भने नेपाल अमेरिकी साम्राज्यवादको एजेण्टहरुको हातमा गई युक्रेनको हालतमा पुगि खरानी हुनेछ त्यसकारण यो सम्पूर्ण हमलाबाट बचाई यो देशको स्वाधिनतासहितको समृद्धि प्राप्त गर्नको निमित्त यस पटक क. विप्लवले यो देशको नेतृत्व लिनुपर्ने ऐतिहासिक दायित्व आएको छ ।
एकताको सन्दर्भमा पहिलो प्राथमिकतामा माओवादी धारको एकता गरी माओवादीलाई ०६४ सालको माओवादी बनाई सिङ्गो कम्युनिस्ट पार्टीलाई २००६ सालको एउटै कम्युनिस्ट पार्टी बनाउने दायित्व क. विप्लवको काँधमा छ । खासगरी क. प्रचण्ड उमेरको हिसाबले पनि विचार दृष्टिकोणको हिसाबले पनि शिथिल भइसकेको हुनाले अब माओवादी आन्दोलनको रक्षार्थ क. प्रचण्डले लाज नमानीकन क. विप्लवलाई सम्पूर्ण जिम्मेवारीसहित नेतृत्व हस्तान्तरण गरी सक्रिय अभिभावकत्व गर्दा जनयुद्धको उपलब्धीको रक्षा र आगामी नेपाली विशेषताको समाजवादको कार्यभार पूरा हुनेछ ।