१ मंसिर २०८१, शनिबार

एकीकृत जनक्रान्ति र उत्पादन नीति

0

                दिनेश सी

 

 

यो लेख नेपालको क्रान्ति र प्रतिक्रान्तिको इतिहास भोगेको र पढेर निरास तथा प्रश्न गरिरहेको पुस्ताका लागि होइन कि नेपालमा नै अध्ययन गरी नेपालमै उज्वल भविष्य सम्भव छ भनी सङ्घर्षरत पछिल्लो युवा पुस्ताको लागि हो ।
वास्तवमा नेपाल आज डरलाग्दो सङ्कटमा फसेको छ । यो भनेको सिधा भाषामा भन्नुपर्दा नेपालमा आज आम जनता, त्यसमा पनि युवाहरूको भविष्य अनिश्चित र अन्यौल छ । आज यो देश रहन्छ कि रहन्न भन्ने गम्भीर परिस्थितिमा पुगेको छ । यस्तो विषम परिस्थितिमा देश पुगेको छ तर यहाँका देश चलाउने शासक भने देश र जनताको भविष्यप्रति बेखबर भएर आफ्नो निजी वैभबको जीवन बिताउन व्यस्त छन् । यो सारा समस्या र सङ्कटको समाधान गर्न नेपाल कम्युनिस्ट पार्टीले आत्मनिर्भर अर्थतन्त्रको लागि उत्पादन नीति अघि सारेको छ र आज आम युवाहरू देशव्यापी रुपमा उत्पादन कार्यमा जुटिरहेका छन् । यो गर्नको पछाडि के नेकपाको नेता-कार्यकर्तालाई भात खान समस्या भएर हो त ? पक्कै होइन, नेकपाको सुस्पष्ट दृष्टिकोण छ कि जुन पार्टीको आफ्नै आत्मनिर्भर अर्थतन्त्रको संरचनासहितको उत्पादन केन्द्रहरू हुँदैनन्, अन्ततः त्यो पार्टी कुनै न कुनै दिन साम्राज्यवादी विदेशी दलालको दास बन्न विवश हुनेछ । आत्मर्भिर अर्थतन्त्रबिनाको सत्ता परनिर्भर बन्न बाध्य हुनेछ ।
यो सारा दृष्टान्तलाई मध्यनजर गर्दै नेकपाले एकीकृत जनक्रान्ति मार्फत् नेपालमा दलाल पुजीवादी संसदीय सत्तालाई अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापनाको निम्ति विगत १ दशकदेखि सङ्घर्ष गरिहेको छ । नेकपाको १ सूत्रीय कार्यसूची छ- नेपालमा दलाल पँुजीवादको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना । यो कार्य पूरा गर्न नेकपाले वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकलगायत अन्य तमाम क्षेत्रमा नवीन विकास गरेको छ । त्यो सँगसँगै पछिल्लो राज्यको प्रतिबन्धकालदेखि नेकपाले आत्मनिर्भर र स्वाधीन देश र जनता निर्माणको लागि आफ्नो निम्ति आफै उत्पादन गर्ने केन्द्रीय नीति अन्तर्गत आत्मनिर्भरताको लागि कृषि र समृद्धिको लागि उद्योग तथा व्यापार भन्ने नीति अख्तियार गरी देशव्यापी रुपमा क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडी बढाइरहेको छ ।
नेपालको आजको तमाम समस्यालाई हल गर्दै आजको नेपाललाई विश्व सामु शिर ठाडो पारी २१ औं शताब्दीमा नेपालबाट समाजवादी क्रान्तिको सन्देश दिनसक्ने वैज्ञानिक कार्यदिशा हो एकीकृत जनक्रान्ति । एकीकृत जनक्रान्तिले आफ्नै मौलिकतामा विकास गरेको नीति हो उत्पादन नीति । नेकपाले देशव्यापी रुपमा के के गरिरहेको छ त आज ? यो प्रश्नको जवाफ आज हरेक शिक्षित युवाहरूले नेकपालाई सोधिरहेका छन् । के साँच्चै आज नेकपाले अघि सारेको उत्पादन नीतिले यो देशका लाखौ युवाहरूको भविष्य नेपालमा नै सुनिश्चित गर्न सक्छ त ? अवश्य सकिन्छ । यस लेखको मुख्य विषय वस्तु नै यही हो कि, नेपालमै गर्न सकिन्छ र सम्पूणर् युवाहरूको भविष्य यही देशमा उज्वल छ । हामीले सुरुमा सामान्यरुपबाट सुरु गरेको कृषिकार्य हाल देशको विभिन्न स्थानहरूमा लगभग ३०० बिघा जमिनमा आधुनिक शैलिमा गरिरहेका छौं । हाम्रो हाल हजारौं पूणर्कालीन कार्यकर्ता आफैले उत्पादन गरेको कृषिबाट आत्मनिर्भर भइरहेका छन् । हाम्रो अहिले घोषित नीति छ कि हामी आगामी ३ वर्षभित्रमा हाम्रो पार्टीलाई आर्थिक सहयोग मुक्त पार्टी बनाउने योजना छ । हामी हाल आन्मनिर्भर पार्टी, आत्मनिर्भर नेता-कार्यकर्ता, आत्मनिर्भर देश र जनता बनाउने महाअभियानमा छाैँ । नेपालमा आफ्नो निम्ति आफैले उत्पादन गर्नुपर्छ, अर्काको मुख ताकेर भिख मागेर खानुहुन्न भन्ने पङ्क्ति नेकपाको कार्यकर्ता मात्र हुन् । नेपालमा के हामीले विशुद्ध बाँच्नको लागि मात्र यो सबै गरिहेका छौं ? अवश्य होइन । हामीले सोचेका छौं कि यो ८० को दशक नेपालमा हामी पुरानो सत्तालाई खरानी बनाएर ‘नेपाली विशेषताको समाजवाद’ स्थापना गरिछाड्न चाहन्छौ । त्यसको आधारभूत संरचना हो हामीले बनाएको । हामी समाजबाट बहिस्कृत भएर ज्यान पाल्ने मेसोकोे निम्ति या त केहि कमाउँला भन्ने हिसाबले कदापी यो गरिरहेका छैनौं । यदि हामी साँच्चिकै समाजवादी सत्ता स्थापना गर्न चाहन्छौं भने, हामीसँग आफ्नै समाजवादी संरचना हुन जरुरी छ, नत्र दलाल पँुजीवादी सत्ता संरचनामा हाम्रो समाजवादी सत्ता सम्भव छैन ।
आजभन्दा तीन दशक अघि नेपालमा माओवादी आन्दोलन सुरुभयो । उक्त आन्दोलनबाट विक्षिप्त जमातले अब नेपालमा क्रान्ति पनि हँुदैन, विकास पनि हँुदैन, केहि पनि हँुदैन भन्ने भाष्यबाट दीक्षित नेपाली जमात ठूलो छ । वास्तवमा नेपाल नै त्यस्तो देश होला संसारमा, जसले जहानियाँ पञ्चायती निरङ्कुशता पनि देख्यो, जनयुद्ध पनि देख्यो, गणतन्त्र पनि देख्यो, गणतन्त्रको लाचार शासक पनि देख्यो । त्यसकारण पनि नेपालमा ठूलो जमात ‘केहि हुन्न’ भन्ने भाष्यबाट भ्रमित भएको छ । यस्तो जटिल परिवेशमा देश पुगेको छ । यो गम्भीर परिस्थितिको समाधान गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्ने अस्त्र हो एकीकृत जनक्रान्ति ।
एकीकृत जनक्रान्तिमा उत्पादन नीति अख्तियार गर्नुको तात्पर्यता के छ त ? एकीकृत जनक्रान्ति आजको नेपालको सम्पूणर् समस्याको समाधान गर्दै २१औं शताब्दीमा समाजवादी क्रान्ति सम्पन्न गर्ने राजनीतिक कार्यदिशा हो । त्यसैले राजनीतिक कार्यदिशा हुनुको नाताले योसँग समग्र राजनीतिक व्यवस्थाको सम्पूणर् अवयवहरूको अपरिहार्य आवश्यकता हुन्छ । राजनीतिक प्रणालीसँगसँगै अविभाज्य रुपमा जोडिएर आउने यसको अभिन्न अङग हो आर्थिक प्रणाली । त्यही अर्थप्रणालीको आधारमा नै उक्त प्रणलीको सम्पूणर् आधार-स्तम्भ खडा भएको हुन्छ । त्यसैले आज हामी समाजवादी सत्ताको समाजवादी अर्थतन्त्र निर्माणका निम्ति उत्पादन कार्य गरिरहेका छौं । समाजवाद सफल हुन्छ कि हँुदैन भन्ने कुरा उक्त व्यवस्थाले अख्तियार गरेको अर्थ नीति र उत्पादन कार्यले नै निर्धारण गर्दछ । त्यसो हो भने आज हामीले ठोस गरेको उत्पादनको स्वामित्व प्रणाली के हो त ?                  वास्तवमा आज संसारभर पुँजीवादले विकास गरेको निजी स्वामित्व र समाजवादले विकास गरेको सामुहिक स्वामित्व दुवै असफल सिद्ध भइसकेका छन् । त्यसैले यसको विकल्पमा हामीले अघि सारेका छाेैँ- एकीकृत स्वामित्व प्रणाली । यो अन्तर्गत हामीले आज देशव्यापी रुपमा उत्पादन कार्य गरिरहेका छौं । यसको मूल आसय भनेको आजको पुँजीवादी निजी स्वामित्वको एकाधिकारबाट आर्थिक जीवन खरानी भएको जनताको जीवनमा आधारभूत समृद्धि खडा गर्नु हो । हाम्रो आधारभूत नियम भनेको अहिले पार्टीमा र भोली राज्य सत्तामा हुँदा हरेक संस्थामा संस्थागत ५१ प्रतिशत र त्यसमा संलग्न श्रमिक वा अन्य बाहिरी जनताको ४९ प्रतिशत शेयर स्वामित्व रहने गरी हामीले समाजवादी अर्थतन्त्रको स्वामित्व प्रणाली ठोस गरेका छौं । यसो गर्नुको कारण के हो ? पहिलो कारण आज संसारमा जति पनि निजी स्वामित्वको उद्योग तथा कलकारखाना छन्, तिनमा काम गर्ने मजदुरहरूले कहिले पनि आफू मालिक भएको अनुभूति गर्न पाएनन् र बाचिञ्जेल कारिन्दा जस्तो तल्लो दर्जाको नागरिकको हैसियतमा अपहेलित जीवन जिउन बाध्य भएको कारणले गर्दा तिनलाई पनि शेयर दिएर मालिक बनाउने यसको उद्देश्य हो । दोस्रो, सबेै स्वामित्व राज्यको हुने र त्यसमा कार्यरत मजदुरको केही नहुने भएपछि सबै राज्यको हुने र जसले जति गरे पनि बरावर हिस्सा हुने भएपछि धेरै क्षमता भएको मजदुरमा उत्साह जागेन र अन्ततः काम धेरै गरे पनि उही, कम गरे पनि उही पारिश्रमिक भएपछि मान्छेका क्षमतामा पनि ह्रास या आलश्यता आयो । त्यसकारण हामीले अहिले आधारभूत आवश्यकतामा समानता र समृद्धिमा प्रतिस्पर्धा भन्ने नीति अघि सारेका छौं । त्यसकारण निजत्व र सामुहिकत्वको असफलताको विकल्पमा हामीले एकीकृत स्वामित्वको व्यवहारिक अभ्यासस्वरुप उत्पादन कार्य गरिरहेका छौं ।
सुरुवाती दिनहरूमा हामीमाथि भित्र-बाहिर चौतर्फी रुपमा आलोचना भयो । भित्री रुपमा ‘पार्टीले अब सङ्घर्षको नीति छोड्यो, अब आलु रोपेर कहाँ क्रान्ति हन्छ ? यस्तो गर्नुलाई त किन यहाँ पार्टीमा लाग्नु पथ्र्यो र आफ्नै घरमै गरिहाल्थे नि !’ जस्ता अनेक तर्कहरू गरेर भ्रम फिँजाए । बाहिरी रुपमा ‘यो सबै देखावटी हो, बाहिर एउटा गरेका छन्, भित्रभित्रै अर्कै गरिरहेका छन्’ भनी साम्राज्यवादका नेपाली दलालहरूले जनतालाई भ्रमित पारे, यो तर्कको पछाडि एक मात्र उद्देश्य थियो । जनता र हाम्रो सामिप्यता र देशव्यापी रुपमा हाम्रो बढ्दो लोकप्रियतालाई रोक्नु । आज आइपुग्दा यो दुइवटै तर्कले हावा खाइसकेको छ । सत्य के थियो र अहिले भएको के छ त ? संसारभरको अनुभव र विशेषत नेपालको महान् १० वर्षको जनयुद्ध र नेपालको ७० वर्षको इतिहासलाई गहिरोसँग अध्ययन गरिएको र हाम्रै मूल नेतृत्वको लामो, प्रत्यक्ष अनुभवले यो निष्कर्ष निकालेको थियो कि नेपालमा क्रान्ति गर्ने, देश र जनतालाई स्वाधीनतासहितको समृद्ध बनाउने हो भने आफ्नै आत्मनिर्भर अर्थतन्त्रसहितको आफ्नो निम्ति आफै उत्पादन गर्ने, खानकै निम्ति अर्कासँग भिख माग्नु नपर्ने उत्पादन प्रणाली आवश्यक छ भन्ने निष्कर्षसहित विगत ५ वर्षदेखि निरन्तर हामी ‘आफ्नो निम्ति आफै उत्पादन गर्ने’ उत्पादन कार्यमा जुटिरहेका छौं । अहिले देशैभरी हाम्रो आफ्नो आन्तरिक पार्टी पंक्ति खानलाई आत्मनिर्भर भएको छ र खानकै निम्ति कसैसँग हात थाप्न परेको छैन । सबैलाई ज्ञात नै भएको कुरा हो कि नेपालको कृषिबाट धेरै मात्रामा गर्दा त फाइदा हुन्छ, तर थोरैमा गर्दा खान मात्र ठिक्क हुन्छ । तर फेरी खाएर मात्र भएन, मान्छेको कैयौं अतिरिक्त आवश्यकता पनि हुन्छन्, त्यो सँगसँगै समग्र समाजवादी आन्दोलन सफल बनाउनुको निम्ति आवश्यक सम्पूणर् संरचना निर्माणको निम्ति हामीलाई ठूलो धनरासी चाहिने हुँदा त्यसको निम्ति हामीले उद्योग-व्यापार पनि सुरुगरेका छौं । हामीले कपिलवस्तुको केन्द्रीय कार्यालय र काठमाण्डौको हरिसिद्धीमा ‘सी हाइजिन इन्डष्ट्रिज प्रा. लि.’ सञ्चालन गरी सम्पुर्ण सरसफाइका सामग्रीहरू उत्पादन गरी छोटै समयमा लाखौंको कारोबार गरिसकेका छाेैँ। हाम्रो देशैभरी अन्य स-साना मझौला प्रकारका थुप्रै उद्योगहरू सञ्चालनमा आएका छन् र कैयाेैँ खोल्ने तयारीमा छन् ।
यो कसरी सम्भव हुन्छ ? विप्लव कमरेड भन्नु हुन्छ, “दलाल पुँजीवादका चाटुकार भरियाहरूले ठेक्का पट्टा पनि गरेका छन्, व्यापार पनि गरेका छन्, राजनीति पनि गरेका छन्, सत्तामा हालीमुहाली पनि गरेका छन् भने हामी वैज्ञानिक दृष्टिकोण बोकी समाजवादी यात्रामा हिंडेका साम्यवादी यात्रीहरूबाट यो सबै गर्नु सम्भव छ ।” त्यसकारण हामीले कृषि पनि गर्ने हो, उद्योग पनि खोल्ने हो, व्यापार पनि गर्ने हो, राजनीति पनि गर्ने हो, विद्रोह पनि गर्ने हो, चुनाव पनि लड्ने हो, दलाल पँुजीवादी सत्तालाई खरानी पनि बनाउने हो र नेपालमा समाजवादी सत्ता स्थापना गरी सत्ता पनि चलाएर छाड्ने हो । यो सबै गर्नका लागि हामीसँग सु-स्पष्ट विचारसहितको कम्युनिस्ट पार्टी, सशक्त, जुझारु र साहसिक नेतृत्व, इमान्दार सशक्त पूणर्कालीन लडाकू कार्यकर्ता र आम मुक्तिकामी परिवर्तनकारी देशभक्त नेपाली जनता छन् ।
यो सबै गरिरहेको के खान र पैसा कमाउनका लागि मात्र हो त ? यो बिल्कुल होइन । हाम्रो सपना छ- हामी एक दिन वर्षौदेखि भूमण्डलीकृत साम्राज्यवाद र तिनको नेपाली दलालहरूको थिचोमिचोमा परी आफ्नो सुन्दर जीवन मरेतुल्य अवस्थामा बाँच्न बिवश आम उत्पीडित नेपाली जनतालाई मुक्त गरी समृद्धि र स्वाधीन नेपाल बनाइछाड्ने छौं । आज देशव्यापी रुपमा हाम्रो उत्पादन कार्यबाट प्रभावित भएर हजारौंको संख्यामा मध्यम वर्ग र राष्ट्रिय पुँजीपति वर्गहरू हामीसँग सहकार्य गर्न आइरहेका छन् । विदेशिएका हजारौं युवाहरू नेपाल फर्कंदैछन् । लाखौंका संख्यामा उत्पीडित वर्ग र समुदायहरू हामीसँग आवद्ध भइरहेका छन् । हजारौं युवाहरू हामीसँग विभिन्न निकायमा प्रत्यक्ष सहकार्य गरिरहेका छन् । हिजो पार्टी पुनर्गठनका सुरुवाती दिनहरूमा हाम्रा नेता-कार्यकर्ताका परिवारजनहरूले भन्ने गर्थे- क्रान्तिमा हिंड्नु राम्रो हो, तर आफ्नो परिवारको लागि पनि केही गर्नु । तर हामी भन्थ्यौं- सबैसमस्या क्रान्तिले समाधान गर्छ, चिन्ता नगर्नू ? जनताले भन्ने गर्थे- तपाईहरूले भनेको ठीक हो, तर यो कहिले हुन्छ ? हामीले भन्थ्यौं- यो सबै हाम्रो सत्ता आएपछि हुन्छ । हामीले भनेको जस्तो परिवारजनको समस्या पनि कहिल्यै समाधान भएन र जनतालाई हामीले भनेको जस्तो सत्ता पनि कहिल्यै आएन, परिवारजन र जनताको आशा र हाम्रो आश्वासनको मिलन नभइकन थुप्रै मानिसहरूका जीवन गइसक्यो । त्यसकारण नै हामीले अहिले यो सबै उत्पादनका कार्य सुरु गरेका छौं र अब क्रान्ति सम्पन्न भएपछि, सत्ता आएपछि होइन कि आज नै हाम्रा परिवारजन र जनताको सबै प्रश्नको जवाफ उत्पादन र क्रान्तिले दिंदै आजका आधारभूत समस्या आजै हल गर्दै, सम्पूर्ण रुपमा सत्ता प्राप्तिका निम्ति उत्पादन कार्य र निरन्तर क्रान्तिमा सक्रिय भएर जोडिन अपिल गर्दै हामीले उत्पादन गरिरहेका छौं । हामीले गर्ने श्रमबाट नै नयाँ युगको सभ्यता निर्माण हुनेछ र कामचोर लुटको शोषणकारी सत्ता अन्त्य भई मानवजातिको नयाँ सभ्यताको निर्माण हुनेछ ।

 

जनपत्रिका मासिक १४ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।