दिनेश सारु मगर
नेपाल सदियौदेखि सामन्ती निरङ्कुश राजतन्त्रात्मक शासन व्यवस्था चल्दै आएको मुलुक हो । त्यसमा पनि १०४ वर्षसम्म राणाहरूले जहानिया शासन सञ्चालन गरेपछि नेपाली जनताको स्वतन्त्रताको चाहनाहरू झन कुन्ठित भएर जनताले लामो समय कठोरतापूर्वक जीवन जिउन बाध्य भए । जब २००७ सालमा नेपालमा नाम मात्रको भए पनि प्रजातन्त्र प्राप्त भएको घोषणा त गरियो, तर जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न पाएनन् । यिनै सङक्रमणकालीन किचलो र राजा महेन्द्रको महत्वाकाङ्क्षि सत्ताभोगको कारण २०१७ साल पुस १ गते नाममात्रको प्रजातन्त्रको पनि अपहरण भयो । २०१७ सालदेखि २०४६ सालसम्म नेपालमा राजा र पञ्चको गठजोडमा ३० वर्ष निरङ्कुश पञ्चायती व्यवस्था लादियो । ३० वर्षे पञ्चायत कालभरी कम्युनिस्ट पार्टी र अन्य गैर कम्युनिस्ट पार्टीहरूले भूमिगत शैलीमा अनेक सङ्घर्षहरू गरे । त्यसको प्रतिफल स्वरुप २०४६ सालमा जनआन्दोलन सफल भयो र नेपालमा बहुदलीय व्यवस्था पुनस्र्थापना भयो ।
बहुदल पुनस्र्थापना त भयो तर नेपाली जनताको लामो समयदेखिको मुक्तिको सपना यथावतै रह्यो । झन उही पञ्चायती कालरात्रीभन्दा पनि चर्को रुपमा बहुदलीय शासक जनदमनमा उत्रियो । त्यसपछि नेपाली जनताले पुनः आ–आफ्नै क्षेत्रबाट विद्रोह सुरु गर्नथाल्यो । यही विद्रोहको प्रतिफलस्वरुप नेकपा (माओवादी)को नेतृत्वमा २०५२ साल फागुन १ गतेबाट नेपालमा सामन्ती निरङ्कुश राजतन्त्र र संसदीय व्यवस्थाको विरुद्व जनयुद्व सुरु भएको थियो । त्यो जनयुद्वको राप–ताप देशैभरी फैलियो । माओवादीले पहिलो चोटी नेपाली धर्तीमा आफ्नै जनमुक्ति सेना, आफ्नै जनसत्ता, आफ्नै जनअदालत, आफ्नै जनप्रशासन निर्माण गरी प्रतिक्रियावादी राज्यसत्ताको विरुद्व समानान्तर सत्ता निर्माण गर्दै देशको ८० प्रतिसत भूभागमा माओवादीले आफ्नो राजनीतिक तथा फौजी प्रभाव पार्न सफल भयो ।
२०५२ साल फागुन १ गतेबाट प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै जनवादी राज्यसत्ता निर्माणको निम्ति सुरु गरेको दिर्घकालीन जनयुद्व २०६१÷६२ सालसम्म पुग्दा विजयको सन्निकट पुगेको थियो । त्यतिबेला वैचारिक तथा राजनीतिक दृष्टिले, सैन्य दृष्टिकोणले, प्राविधिक हिसाबले र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन मिलाउँदै विजयको सुनिस्चिततातर्फ उन्मुख गराउनुको सट्टा तत्कालीन मूल नेतृत्व प्रचण्ड–बाबुरामहरू साम्राज्यवादको आतङ्कबाट त्रसित भएर जीवन रक्षाको निम्ति सिङ्गो क्रान्तिकारी युद्वको कार्यनीति बदल्न पुगे । त्यसैको उपज थियो चुनवाङ बैठक । त्यही बैठकबाट माओवादी जनयुद्वको मूल भावनामा स्खलनका दुर्गन्धी भ्रुणहरूले जन्म लिनपुग्यो । चुनवाङ बैठकको सार स्वरुप नै १२ बुँदे हँुदै ७ राजनीतिक दलसँगको सहकार्यबाट २०६२÷६३ सालको दोस्रो जनआन्दोलन भएको थियो । जनआन्दोलन भएपश्चात् अन्तरिम सरकार, अन्तरिम संविधान, संविधान सभाको चुनाव हुँदै पहिलो संविधान सभाको पहिलो बैठकबाट २०६५ साल जेष्ठ १५ गते नेपालमा औपचारिक रुपमा साढे ३ हजार वर्षको सामन्ती निरङ्कुशताको अन्त्य भयो ।
जब २०६५ साल जेठ १५ गते औपचारिक रुपमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा भयो, नेपाली जनताको ७० वर्षभन्दा लामो सङ्गठित विद्रोहको एक अध्याय पुरा भयो । व्यवहारिक रुपमा पूर्णमुक्ति प्राप्त नभए पनि मनोकाङ्क्षा र मनको बहावहरूमा मुक्तिको श्वास–प्रश्वास प्रवाह भयो । नेपाली जनताले सामन्ती निरङ्कुश राजतन्त्रको विरुद्व गरेको त्याग, तपस्या र बलिदानको मर्मबोध भयो । हरेक नागरिकले ७० वर्षको सपनाको तरङगहरू बिपनामा प्रज्वतिल हुने आकाङ्क्षामा रम्न थाले । तर त्यसको ठीक विपरित, नेपालमा २०६५देखि २०७२सम्म जाँदा थुप्रै उथलपुथलहरू भए । २०७२ सालको संविधान निर्माण हुनेबेलासम्म पुग्दा नेपाली जनताका मुक्तिको सपनाहरू हत्या हुन पुग्यो । २०७२ साल असोज ३ गते नेपालमा दोस्रो संविधानसभा मार्फत संविधान बनेपछि आम जनताको आशा थियो कि अब नेपालमा हाम्रो उज्वल भविष्यको सुनिश्चितताको यात्रा सुरु हुनेछ । त्यसैगरी विद्यमान संसदीय व्यवस्थाभित्र रहेको आम पार्टीका नेताहरूको विश्लेषण पनि त्यही थियो कि नेपालले अब चमत्कारिक रुपमा विकासको फड्को मार्नेछ । नेपालको आर्थिक बृद्विदर तीव्र हुनेछ र १० वर्षभित्र नेपाल मध्यम आय भएको देश हुनेछ भन्ने आम नेताहरूको तर्क थियो ।
तर त्यसको ठीक विपरित, आज ९ वर्ष बित्दै गर्दाखेरी आम जनताको अपेक्षा र नेताहरूको विश्लेषण विपरित देश विकराल परिस्थितिबाट गुज्रिन पुगेको छ । नेपाल आज इतिहासकै सर्वाधिक आर्थिक सङ्कट र जनताको अवस्था अत्यन्तै दयनीय अवस्थामा व्यतित गर्न बाध्य भएको छ । आज नेपालमा ठूला–ठूला राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसनखोरी, दलालीकरण, माफियाकरण र व्यथितिले आक्रान्त भएको छ । यस अवस्था कसरी हुनुपुग्यो र अब यसको समाधान के हो त ? भन्ने विषयमा आज नेपालमा व्यापक बहस सुरु भएको छ । नेपालमा आज यो संविधान निर्माण गर्ने मुख्य राजनीतिक पार्टीहरू खासगरी काङग्रेस, एमाले र माओवादी केन्द्र लगायतका शक्तिहरू हिजोदेखि आजसम्म निरन्तर सत्तामा छन् । तिनीहरूले आज पनि अनेकौं तर्क–वितर्क गरेर यो व्यवस्था र नेपालको बारेमा व्याख्या गर्न छाडेका छैनन् । तर परिरिस्थति अर्कै भइसकेको छ । यी ३ वटै ठूला पार्टीका नेताहरूले आज पनि यो व्यवस्था संसारको सर्वोत्कृष्ठ व्यवस्था र अजय छ भनिरहेका छन् । तर आम जनता यो व्यवस्था र यो नेतृत्वबाट अब नेपालको निकास असम्भव छ भन्ने निश्कर्षमा पुगिसकेका छन् । त्यसकारण, अब विद्यमान दलाल संसदीय व्यवस्था र प्रमुख पार्टीहरूको मुख्य नेतृत्वहरू अबको विकल्प हुन सकिँदैन र त्यसको ठाउँमा नयाँ प्रवृति, नयाँ पात्र, नयाँ नेतृत्व र नयाँ व्यवस्थाको बहस व्यापक रुपमा सुरु भएको छ ।
१) रवि प्रवृत्ति
नेपालमा महान् जनयुद्वको उत्कर्षको रुप निरङ्कुश राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना पश्चात् नेपाल स्थायित्व, सम्वृद्वि र शान्तिको बाटोमा जान्छ भन्ने आम जनताको अपेक्षा थियो । तर ठीक विपरित, नेपालको राजनीतिक दलका नेताहरूले त्यो जनताको जीवन र राष्ट्रलाई रुपान्तरण गर्नुको सट्टा आफ्नो निजित्व निर्माणको बाटोमा लागेपछि आम जनताको सपना हत्या भएको छ । यहाँका मुख्य राजनीतिक पार्टीहरूले जनताको जीवनसँग नीजि स्वार्थ साटेपछि आज आम जनता निराशाको भेलमा तड्पिरहेका छन् । यसै परिस्थितिलाई मसिनो ढङ्गले अध्ययन गरी अमेरिकन साम्राज्यवादले नेपालमा पुःन अस्थिरता निम्त्याएर आफ्नो रणनीतिक स्वार्थ सिद्व गर्नको निम्ति र यो मुलुकलाई एक्काइसांै शताब्दीको पराधीन मुलुक बनाई उपनिवेस बनाउनको निम्ति खडा गरिएको पात्र हो रवि ।
आज रविहरूले नेपालको विद्यमान संसदीय राजनीतिक पार्टी र नेताहरूप्रतिको जनताको वितृष्णालाई आफ्नो स्वार्थपूर्तिको लागि अनेक हर्कत र प्रपञ्चहरू देखाइरहेका छन् । रविहरूको एउटै तर्क छ कि नेपालको पुरानो राजनीतिक पार्टी र ती पार्टीका नेताहरू असफल भए । त्यसकारण अब हामी हो विकल्प, हामी देश चलाउछौं भनिरहेका छन् । यसो सुन्दा त यो कुरा हो जस्तो पनि लाग्नेछ, तर सही कुरा त्यो होइन । सही कुरा यो होकी पुरानो राजनीतिक पार्टी र तिनका नेताहरू असफल भएको कुरा पनि सत्य हो । तर त्योभन्दा मुख्य कुरा नेपालको विद्यमान संसदीय व्यवस्था नै असफल हो र यो असफलताको सम्पूर्ण कारक तत्व नै नेपालको दलाल पँुजीवादी संसदीय व्यवस्था हो । त्यसकारण रविले भने जस्तो पार्टी र नेताहरू बदलेर नेपालको परिवर्तन असम्भव छ । नेपालको रुपान्तरण र प्रगतिको निम्ति दलाल संसदीय व्यवस्थाको अन्त्य गरेर नेपाली विशेषताको समाजवाद नै आजको सही समाधान हो । यदि अन्यथा यो बाटोमा देश नजाने हो भने निकट भविष्यमा देश दुर्घटनामा जानेछ । नेपाल २०औं वर्षको लागि अमेरिकीहरूको आफ्नो स्वार्थ सिद्व गर्ने युद्वको क्रिडास्थल हुनेछ । यसैको अभ्यास हो पछिल्लो एमसीसी प्रकरण । नेपालमा पुराना अमेरिकी दलालहरूबाट अब अमेरिकाको नयाँ रणनीति पुरा हुन नसक्ने भएपछि खडा गरिएको नयाँ दलाल हो रवि । यदि नेपाली विशेषताको समाजवादमा देशलाई लैजान नसक्ने हो भने अब रविहरूको एजेण्डामा देश जानेछ । यसलाई कुनै काङग्रेस, एमाले, माओवादीका बहादुरहरूले रोकेर रोकिने छैन । त्यसकारण यो देशलाई २१औं शताब्दीको आधुनिक उपनिवेश हुनबाट बचाउन सबै आम देशभक्त, राष्ट्रवादी, मुक्तिकामी, न्यायप्रेमी नेपालीहरू एकजुट भएर स्वाधीनताको लडाइमा सामेल हुन जरुरी छ ।
२) दुर्गा प्रसाई प्रवृत्ति
नेपालमा २०६५ साल जेठ १५ गते औपचारिक रुपमा संविधानसभाको पहिलो बैठकबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेपश्चात् २३८ वर्षको इतिहास बोकेको शाही निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य भयो । राजतन्त्रको अन्त्य भए पनि राजतन्त्र समर्पित राजनीतिक दलहरू नेपालमा पुरानो गुमेको सत्ता पुनः फर्काउने झिनो आशाको त्यान्द्रोमा रुमल्लिराखेका थिए । तिनै राप्रपा लगायतको राजा समर्थित दलहरूलाई पनि राजा फर्कन्छ भन्नेमा १ प्रतिशत पनि विश्वास थिएन । तर नेपाली जनताको धार्मिक आस्थालाई प्रयोग गरी हिन्दु धर्म र राजसंस्थाको नाम बेचेर केही मान्छेहरू सत्तामा पुग्ने र जीवन गुजार्ने भ¥याङ बनाएका थिए । तर आज एकाएक तिनै पुरानो राजसंस्थाप्रति समर्थित पार्टीभन्दा फरक पृष्ठभूमिको व्यक्ति राजा र हिन्दु धर्म भन्दै नागरिक बचाउ अभियानको नाममा अगाडि आएको छ दुर्गा प्रसाईं ।
दुर्गा प्रसाईं को हो र के हो ? भन्ने विषयमा प्रायजसो नेपालको राजनीतिक चेत भएको तप्का प्रस्ट नै छ । तर ऊ फेरी एउटा तप्कालाई भ्रममा पार्न सफल नै भएको छ । आखिर को हुन् त दुर्गा प्रसाईं ? वास्तवमा दुर्गा प्रसाईं एक औषधी व्यवसायी (माफिया) हुन् । तिनी पूर्वी क्षेत्रमा स्वास्थ्य कलेज खोली आफ्नो पेसा व्यावसाय सञ्चालन गरिरहेका एक व्यापारी हुन् । तिनी आफ्नो व्यवसायिक फाइदाको लागि जोसँग जे पनि गर्न तयार हुने पात्र हुन् । कहिले माओवादी, कहिले एमाले त यिनको व्यवसायिक चरित्र नै हो । तर उनले हाल एकाएक राजसंस्था, हिन्दु धर्म र नागरिक बचाऊ अभियानको नाममा जनता भेला गरिरहेका छन् । खासमा यसको अन्तर्य के हो त ?
अमेरिका र भारत नेपालमा कुनै न कुनै प्रतिगामी यथास्थितिवादी तत्वलाई प्रयोग गरी नेपाललाई सदाबहार पराधीन र अस्थिर बनाउन चाहन्छ । खासगरी अमेरिकाले चीनलाई घेर्नको निम्ति नेपालको हिमालय पर्वत प्रयोग गर्न चाहन्छ ; त्यसको लागि अमेरिका नेपालमा आफ्नो सेना राख्न चाहन्छ । त्यसैगरी भारत तराईको समथर भू–भाग आफ्नो बनाउन चाहन्छ र नेपाललाई उसको छत्रछायाभित्र राखी आफ्नो अनुकूल चलाउन चाहन्छ । यी दुई वटा शक्ति राष्ट्रको स्वार्थ साँध्ने थलोको रुपमा नेपाल पुगेको छ । खासगरी भारत नेपाललाई राजसंस्थासहितको हिन्दु राष्ट्र बनाउन चाहन्छ । अमेरिका नेपालमा क्रिश्चियन धर्मलाई व्यापक विस्तार गरी क्रिस्चियन राष्ट्र बनाउन चाहन्छ । यी दुई मध्ये पछिल्लो समय भारतले राजसंस्थासहितको हिन्दु राष्ट्र बनाउन दुर्गा प्रसाईंलाई प्रयोग गरिराखेको छ । यदि भारत र अमेरिका दुवै मिले नेपालमा राजसंस्था र हिन्दु राज्य फर्किंदैन भन्न सकिने स्थिति छैन । तर आजको दिनमा भारत र अमेरिका मिल्ले सम्भावना भने निकै कम छ । किनभने अमेरिका हिन्दु राज्य होइन,
क्रिस्चियन धर्म व्यापक बनाउन चाहन्छ । पछिल्लो चरण अमेरिका र भारत को हावी हुने भन्ने टकराब चलिरहेको छ । यदि कालान्तरमा दुवैको स्वार्थ मिले नेपालमा राजसंस्था फर्कने सम्भावना पनि छ । त्यसकारण बेलैमा सचेत भई नेपाली विशेषताको समाजवादको लागि व्यापक बहस गरांै र पश्चगामी यथास्थितिवादी तत्वलाई परास्त गरौं ।
दुर्गा प्रसाईंलाई आज जुन शक्तिले जुन मात्रामा लगानी गरेको छ, तिनले खुलम्खुल्ला जुन प्रकारको अभिव्यक्ति दिएका छन्, यसको सारत्वमा भन्न सकिन्छ कि नेपाल असाध्यै जोखिम र जटिल परिस्थितिमा पुगेको छ । यदि दुर्गेहरूको आन्दोलन बिस्तार हुने र त्यसको विरुद्व समाजवादी आन्दोलन पनि अघि बढ्ने हो भने नेपाल निकट भविष्यमा नै भिषण लडाइँको रङ्गमञ्चमा बदलिने निश्चित् छ ।
३) नेकपा
नेपालमा माओवादी आन्दोलन (जनयुद्व) सुरु भएपछि नेपालको सम्पूर्ण उत्पीडनमा परेका जनता इतिहासकै सर्वाधिक खुसी र आशावादी थिए । तर विजयको सन्निकट पुगेको जनयुद्वलाई प्रचण्ड–बाबुरामले आफ्नो पद, पैसा र कुर्चिको लागि जनयुद्वमा उठाएको सम्पर्ण विषय छोडेपछि जनयुद्वको उद्देश्य अधुरो नै रह्यो । तिनै अधुरो सपनालाई पुरा गर्नुको खातिर नेकपाका महासचिव क. विप्लवको नेतृत्वमा आजभन्दा १० वर्ष अगाडी यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निम्ति सु–स्पष्ट दृष्टिकोणसहित सशक्त सङ्घर्ष गर्दै आएको छ । यदि क. विप्लवले १० वर्ष अगाडि तत्कालीन मूल नेतृत्वको विरुद्व विद्रोह नगरी माओवादी पार्टी पुनर्गठन गरेको थिएन भने आज माओवादी आन्दोलनमा लागेको प्रत्येक व्यक्तिलाई अपराधी साबित गरी साम्राज्यवादी दलालहरूले जेलको चिसोमा कोचिसक्ने थिए । क. विप्लवको सु–स्पष्ट एकीकृत जनक्रान्तिको दृष्टिकोणसहितको पार्टी पुनर्गठनको देन नै आज माओवादी आन्दोलनमा लागेको हरेक व्यक्तिको जीवन रक्षा भएको छ ।
आज सिधा रुपमा अमेरिकी साम्राज्यवादको विरुद्व राष्ट्रिय स्वाधीनताको निम्ति कोही सतीसालझंै उभिएको छ भने त्यो विप्लवको नेतृत्वमा रहेको नेकपा छ । यदि नेकपा थिएन भने आज अमेरिकाले एमसीसी परियोजनाको नाममा नेपालको डाँडा–डाँडामा अमेरिकी ब्यारेक खडा गरी सैनिक मार्चपास गरिसक्ने थियो । तर आज नेकपाको कारण अमेरिकी साम्राज्यवाद पछि हट्न बाध्य भएको छ । यदि अमेरिका जबरजस्त एमसीसी परियोजना कार्यान्वयन गर्न आइहाल्यो भने त्यसको विरुद्व सिधा सामना गर्नसक्ने ताकत नेकपासँग बाहेक नेपाली धर्तीमा आज कोहीसँग छैन । त्यसकारण नेकपा भनेको स्वाधीनताको सम्वाहकको रुपमा स्थापित भएको छ ।
नेकपाले विगत १० वर्षअघि आजको नेपालको बारेमा गरेको संश्लेषण सही साबित भएको छ । नेकपाले १० वर्षअघि नेपालमा संविधान निर्माणको पूर्वसन्ध्यामा भनेको थियो कि यो संविधान जनताको हुन सक्दैन । यो मुठ्ठिभर दलाल पुँजीपती वर्गलाई पक्षपोषण गरी तिनको भुँडि भर्ने संविधान बन्छ भनेको थियो । यो संविधानले श्रमजीवी जनताको जीवनमा कुनै परिवर्तन गर्न सक्दैन, केवल मुठ्ठिभर दलाल नेताहरू अरबपति हुनेछ भनेको थियो । यो संविधानले अन्तत नेपाली जनताको जीवन इतिहासकै दर्दनाक स्थितिमा पु¥याएको छ र देशको अर्थतन्त्र टाट पल्टाएको छ । यो संविधानले देश र जनताको मुक्ति होइन केवल राष्ट्रघात, जनघात, भ्रष्टाचारमात्र गरेको छ । अन्तत यो संविधान बनाउने महोदयहरूको लागि पनि भालुको कम्पड सरह भएको छ । त्यसकारण यसको सही समाधान भनेको ढिला नगरी नेपाली विशेषताको समाजवादमा लैजानु नै नेपाल र नेपाली जनताको लागि हितकर हुनेछ ।
अन्त्यमा नेपालमा अहिले खडा भएको ३ वटा धार रवि, दुर्गे र विप्लवमध्ये यो देशलाई कुन धारमा लैजाने भन्ने बहस आज जताततै तातेको छ । रविहरूले भनेको सुन्दा राम्रो लागे पनि यो दुनियाँमा ५०० वर्ष चलिसकेको र फेल भइसकेको उही पुरानै सडेगलेको शोषणकारी पुँजीवादी संसदीय व्यवस्था हो । त्यसकारण संसदीय व्यवस्थामा जति पात्र र पार्टी फेरे पनि परिणाम उही हो । त्यसैले रविहरूको तर्क अबको विकल्प हुनैसक्दैन । अर्को छ दुर्गेहरूले भनेको गणतन्त्रमा नेताहरूले देशलाई टाट पल्टायो ; अब त्यसको विकल्प राजा । एउटा कुरा हेक्का रहोस् कि राजावादी महोदयहरूलाई नेपालमा गणतन्त्र आएको मात्र १५ वर्ष भयो । त्यो भन्दा अगाडी २३८ वर्ष त शाही राजतन्त्र नै त थियो । राजावादी महोदय, ती २३८ वर्षमा राजाले गरेको चाहीं के हो त ? राजाले केवल जनताको रगत र पसिना शोषण गरेर आफ्नो जीवन बिताएको होइन र ? राजाले केवल सुरा–सुन्दरीहरूसँग रोमान्स गरी जीवन बिताएको होइन र ? धेरै अगाडि नजाउँ, पूर्वराजा ज्ञानेन्द्रका छोरा पारसहरू त्यसको जिउँदो इतिहास छँदैछ त । राजतन्त्र भनेको श्रमजिवी जनतालाई शोषण गरी आफूमात्र मोजमस्ती गर्ने निरङ्कुश शोषणकारी, दमनकारी, बिभेदकारी, नकचरा, अन्यायपूर्ण प्रणाली हो । राजाले लाखाैँ नेपाली जनताको हत्या गरेको छ । लाखौ जनतालाई घरवारविहिन बनाएको छ । यो हत्यारा निरङ्कुश सामन्ती प्रणाली हो । त्यसकारण नेपाली जनता के तपाई फेरी त्यस्तो रक्तपिपासु हत्यारा शासक चाहनुहुन्छ ? यो विल्कुल असम्भव छ । अबको अन्तिम र सही समाधान भनेको क. विप्लवले भनेको नेपाली विशेषताको समाजवाद हो । आजको वैज्ञानिक र वस्तुनिष्ठ समाधान भनेको दलाल पुँजीवादी संसदीय व्यवस्थालाई अन्त्य गरी नेपाली विशेषताको समाजवाद हो । त्यसकारण आम नेपाली न्यायप्रेमी जनसमुदायहरू पुरानो सबैखाले भ्रष्ट जनविरोधी तत्वहरूलाई परास्त गर्दै स्वाधीनतासहितको सम्वृद्व शान्तिप्रिय समाजवादी मुलुक निर्माणको निम्ति क. विप्लवको नेतृतवमा रहेको नेकपाले अघि सारेको एकीकृत जनक्रान्तिको बाटोमार्फत वैज्ञानिक समाजवादको यात्रामा अघि बढौं ।
स्राेत: जनपत्रिका आठाैँ अङ्क