३१ भाद्र २०८१, सोमबार

यो व्यवस्थामा बहुमत ल्याएपनि स्थिरता हुँदैन, यो व्यवस्थाकाे विकल्प समाजवाद हो : सविन

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सविन सीले संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनि स्थिरता नहुने ठाेकुवा गरेका छन् ।
शनिबार तुलसीपुरमा पार्टीको तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पूर्ण बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै नेता सविनले यस्तो बताएका हुन् ।

बैठकमा बोल्दै नेता सविनले भने– ‘ हामीले पहिलेदेखि भनेको कुरा हो कि संसदीय व्यवस्थामा दुई तिहाई बहुमत ल्याएपनि स्थिरता हुँदैन भन्ने कुरा पटकपटक प्रमाणिभएको त भइसकेको छ । ०४८ सालमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेकै हो, के त्यतिबेला स्थिरता भयो त? केही समयअघि माओवादी-एमाले एकता भई दुई तिहाई बहुमत संसदमा भएकै हो अनि किन टिकेन त्यो सरकार ? सरकारको कुरा छोड्नुस् एमाले-माओवादीले त्यतिबेला पार्टी एकता समेत जोगाउन सकेनन् । त्यसैले अब यो व्यवस्था टिक्दैन, यो व्यवस्था नै फेल भइसकेको छ । यसको विकल्पका विषयमा थुप्रै विकल्प आइरहेका छन् । कतिपयले ०४७ सालको संविधान फर्काउने कुरा गरेका छन्, कतिपयले राजसंस्था फर्काएर पश्चगामी धाराको नेतृत्व गरिरहेका छन् । यी कुनैपनि विकल्प सहि विकल्प होइनन् । जनता सधैं अग्रगमनको पक्षमा हुन्छन्, यसको अग्रगामी निकास भनेको नेपाली जनतालाई समाजवादी व्यवस्थाबाट देश र जनताको जीवनलाई समृद्ध बनाउने गरि सोच्नुपर्छ । हाम्रो पार्टीले अहिलेको व्यवस्थाको संकटलाई नेपाली विशेषताको समाजवादबाट हल गरौं भन्ने प्रस्ताव गरेका छौँ । यो नै अहिलेको वस्तुवादी र अग्रगामी निकास हो ।’

माओवादी केन्द्रसंग पार्टी एकता गर्ने भनेको दुईवटा बैंक मर्ज भएको जस्तो कुरा होइन ।’, बैठकमा उनले थप स्पष्ट पार्दै भने, ‘ हामीले माओवादी केन्द्रसंग एकता गर्ने भनेका छौँ, यो कुनै लुकाउने कुरा होइन । हिजो जनयुद्धमा योगदान गरेका नेताकार्यकर्ता, सहिद परिवार, बेपत्ता योद्धाका परिवार एवम घाइते योद्धाहरु सबैले माओवादीहरुको एकता चाहिरहेका छन् । हामीले माओवादी धाराहरु सबैसंग एकता गर्ने भनेका छौँ तर यहाँ प्रचण्डहरुसंगको एकताका बारेमा चर्चा बढी भएका छन् । एकता सबैसंग गर्ने हो तर क्रान्ती पूरा गर्ने सर्तमा मात्रै एकता गर्ने हो । हामी प्रचण्डहरु जस्तो यहीँ संसदीय भाषमा डुब्नलाई एकता गर्दैनौं । पहिले विचारको विमर्श गरौं, हामीले नयाँ विचारको विकास गरेका छौँ त्यो हो एकीकृत जनक्रान्ति यसको बहस गरौं । हाम्रो कुरा एकीकृत जनक्रान्तिबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ । यदि कसैले हाम्रो नीति, कार्यक्रम र नेतृत्व स्वीकार गर्न तयार हुन्छन् भने एकता गर्ने नै हो । हामीले एजेन्डा, मुद्दा  मिल्नेहरुसंग पनि कार्यगत एकता, सहकार्य तथा संयुक्त मोर्चा बनाएर लड्ने नीति बनाएका छौं । नेपालका सबै इमानदार माओवादीहरु, क्रान्तिकारीहरु, देशभक्त, प्रगतिशील, समाजवादी एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग पनि सहकार्य हुन्छ ।’

नेपालमा वैदेशिक हस्तक्षेप तिब्र भएको छ ’, नेता सविनले भने , ‘ नेपालमा विदेशीहरुले आफ्ना चलखेलहरु तिब्र बनाइरहेका छन् । अहिले नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप मुख्य बनेको छ । अमेरिकाले नेपालमा एमसिसी प्रोजेक्टमार्फत यो देशलाई जबर्जस्त लडाईमा धकेल्न खोज्दैछ । यसमा सबै नेपाली जनताहरुलाई सचेत बनाउदै कुनैपनि मूल्य चुकाएर अमेरिकाको एमसीसी परियोजना रोक्नुपर्छ । चिनको बिआरआई प्रोजेक्ट सैन्य प्रोजेक्ट नभएकाले यो देशको हितमा रहेकाले यसलाई अगाडि बढाउनुपर्छ । हामी स्पष्ट छौँ बिना कुनै सर्त नराखेर नेपालको विकासका लागि कुनै मुलुकले सहयोग गर्छ भने त्यो स्वीकार गर्नुपर्दछ तर नेपाललाई जबर्जस्त युद्धमा धकेल्ने, सहयोग नाममा राइफल बोकेर आउने सहयोग खारेज गर्नुपर्छ । हामी छिट्टै एमसीसीका विरुद्ध देशव्यापी आन्दोलन गर्छौं ।’

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले पार्टीका नेताकार्यकर्ताहरुले आफ्ना आचरण , सांस्कृतिक पक्षमा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका थिए ।

उनले कम्युनिस्ट पार्टीका नेताकार्यकर्ताहरु समाजमा क्रान्तिकारी आचरणमा सदैब रहनुपर्ने बताए ।

यस्तै बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै पार्टीका केन्द्रीय सदस्य एवम ३ नं.निर्वाचन क्षेत्र इन्चार्ज प्रदिप सीले जनताले अब नेकपा बाहेक अर्को विकल्प नदेखेकाले संगठनमा विशाल पंक्तिलाई जोड्दै जनताको सेवामा अहोरात्र खट्न निर्देशन दिए ।

 बैठकमा जिल्लाको समग्र नीति, योजनाका बारेमा प्रष्ट पार्दै जिल्ला सेक्रेटरी तिलक सीले पार्टीमा ध्रुवीकरण अभियानले व्यापकता पाएको बताए ।

उनले जिल्लामा पार्टीप्रति जनआकर्षण बढ्दो क्रममा रहेकाले जनतालाई गाउँगाउँमा पुगेर समाजवादी चेतना फैलाउनुपर्ने आवश्यकता रहेकाले पालिका कमिटीलाई सुदृढ गर्न निर्देशन दिए ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पूर्ण बैठकबाट नेता रुद्र सीलाई कमिटीको सेक्रेटरी चयन गरिएको छ ।

यस्तै शनिबार तुलसीपुरमा बसेको बैठकले जिल्ला समितिको बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने, तुलसीपुरमा राजनीतिक अन्तरक्रियाको आयोजना गर्ने, पार्टीका वडा कमिटी तथा सेल कमिटीहरु पुनर्गठन गर्ने, पालिकामा राजनीतिक ध्रुवीकरण अभियानलाई तिब्रता दिने निर्णय गरेको छ ।

यस्तै बैठकले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माणका लागि पार्टी जिल्ला कार्यालयलाई सहयोग गर्ने, तुलसीपुरमा क्रान्तिकारी, प्रगतिशील, देशभक्त, समाजवादीहरु एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

बैठकले सामाजिक विभेद, विकृति, विसंगतिका विरुद्ध जनपरिचालन गर्ने, लघुवित्तीय संस्थाहरुको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने, एमसीसी परियोजनाका विरुद्धमा विरोध प्रदर्शन गर्ने लगाएतका निर्णयहरु गरिएको नेकपा तुलसीपुरले जनाएको छ ।

पार्टीले चलाएको आत्मनिर्भर उत्पादन कार्यले पार्टी जनताका बिचमा आकर्षणको केन्द्र बन्दै गइरहेकाले यसलाई अझै व्यवस्थित गर्दै जाने समेत बैठकबाट निर्णय गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सी, पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जिवनी सी, पार्टीका जिल्ला कार्यालय सदस्य भुवन सी, पार्टीका जिल्ला सल्लाहकारहरु वंशिधर सी, टंक सीको आतिथ्यता रहेको थियो ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीको दोस्रो पूर्ण बैठकको अध्यक्षता एवम सहजीकरण कमिटीका सेक्रेटरी रुद्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।