३१ भाद्र २०८१, सोमबार

अखिल (समाजवादी) द्वारा बागमती प्रदेशमा शिक्षालय सुधार अभियान

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी सम्बद्द अखिल (समाजवादी) ले बागमती प्रदेशमा शिक्षालय सुधार अभियान सञ्चालन गरेको छ । सार्वजनिक शिक्षाको गुणस्तर र नागरिकबीच सरकारी पठनपाठनप्रति प्रश्न उठिरहेको बेला शिक्षालय सुधारमा अभिप्रेरित गर्ने उदेश्यले भाद्र १ गतेबाट अभियानको शुरुआत भएको अखिल (समाजवादी) का प्रदेश सह-इन्चार्ज रमेश सीले जानकारी दिएका छन् ।

संविधानले आधारभूत शिक्षालाई नागरिकको मौलिक अधिकार भनेर शिक्षाको दायित्व लिएको भएपनि पढ्नेलेख्ने कुरा किनबेचको वस्तु जस्तो भएको छ । नीजि स्तरबाट सञ्चालित स्कूलकलेजहरु सरकारी र सामुदायिक भन्दा अब्बल हुन्छन् भन्ने मानक स्थापित हुन थालेको छ । सम्पन्न र मध्यम वर्गिय परिवारका छोराछोरी प्रायः संस्थागत विद्यालयमा पढ्छन् भने विपन्न र कमजोर आर्थिक हैसियत भएका सर्वसाधारणका छोराछोरीले मात्रै सरकारी शिक्षालय पढ्नुपर्ने अवस्था छ । यद्यपि सार्वजनिक शिक्षामा राज्यको ठुलो लगानी छ ।

अखिल (समाजवादी) का अनुसार शिक्षालयमा देखिएका अनियमितता, भौतिक पूर्वाधारको कमी, चुस्त व्यवस्थापनको अभाव, पठनपाठनमा नियमिततको कमी जस्ता कारणले सरकारी शिक्षाको गुणस्तरमा कमी हुन गएको बताइएको छ ।

अखिल (समाजवादी) को देशव्यापी अभियान अन्तर्गत बागमती प्रदेशबाट शुरुआत गरेको अभियानमा सरसफाइ, वृक्षारोपण, विद्यार्थी जागरण, शिक्षक अभिभावक र विद्यार्थीसङ्ग समस्याबारे अन्तर्कृया गर्ने, सरोकारवालाहरुलाई झक्झक्याउने, शैक्षिक सामग्री वितरण गर्ने लगायत रचनात्मक कार्यक्रम रहेका छन् ।

अखिल (समाजवादी) का उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज ललित सी, सह इन्चार्ज रमेश सी, केन्द्रिय सदस्यहरु, जिल्ला अध्यक्ष र इकाई प्रमुखहरु अभियानमा सहभागी रहेको बताइएको छ । अभियान आगामी १ महिनासम्म सञ्चालनमा रहने छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।