३१ भाद्र २०८१, सोमबार

विप्लवका कारणले प्रचण्ड सुरक्षित छन् : भेषराज सी

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीले प्रचण्ड विप्लवका कारणले सुरक्षित रहेको ठोकुवा गरेका छन् ।
बिहीबार दाङमा पार्टीको राप्ती क्षेत्रको स्कुलिङ कार्यक्रमको समापन सत्रमा बोल्दै उनलेे नेकपाका महासचिव विप्लव सीका कारणले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड सुरक्षित रहेको बताएका हुन् ।

माध्यामिक तहको स्कुलिङ कार्यक्रमको समापन सत्रमा बोल्दै प्रशिक्षक भेषराज सीले भने – ‘ आजभोलि प्रचण्डलाई आक्रमण गर्दा विप्लव बोलिदिनु परेको छ । संसदमा माओवादीलाई हिंसावादी भनिरहँदा प्रचण्डका कार्यकर्ताहरु चुपचाप छन् । प्रचण्डलाई मुद्दा लाग्दा हामीले खबरदारी गरिरहेका छौँ तर उनकै कार्यकर्ता बोल्न सक्दैनन् । यो जे भइरहेको छ क्रान्ति पूरा नहुनुको परिणाम हो , क्रान्ति प्रतिक्रान्तिमा बदलिनुको मुख्य कारण हो । आज प्रचण्डहरु सुरक्षित छन् भने हाम्रो कारणले छन् । हामीले प्रचण्डका विरुद्ध नबोल भनेर खबरदारी गरिरहेका छौँ तर उनका मान्छेहरु चुपचाप छन् ।’

खरानीमा फालेको झण्डालाई विप्लवले उठाएका छन्, त्यो गर्वको बिषय हो, उनले भने, ‘ विप्लवले रक्षात्मक अवस्थामा पुगेको विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ एकीकृत जनक्रान्तिको स्कुलले प्रज्वलित गरिरहेका छन् । नेपालमा खरानीमा फ्याकिएको रातो झण्डालाई विप्लवले सचेतताका साथ उठाएका छन्, यो बिषय गौरवको बिषय हो ।’

एकीकृत जनक्रान्तिको स्कुल विश्व कम्युनिस्ट आन्दोलनको नयाँ स्कुल हो ।’, समापन सत्रमा बोल्दै उनले भने , ‘ वैचारिक श्रेष्ठता बिना क्रान्ति सम्पन्न गर्न सकिदैन त्यसैले यो स्कुलको महत्व दूरगामी एवम महत्वपूर्ण छ । विचारमा परिपक्वता भएन भने क्रान्ति जटिल बनिदिन्छ । विचारमा एकरुपता भएन भने योजनामा एकरुपता हुँदैन, योजनामा एकरुपता भएन भने कार्यक्रममा एकरुपता हुँदैन । त्यसैले कम्युनिस्ट पार्टीमा स्कुलिङ महत्वपूर्ण पाटो हो, यसलाई गम्भीर बोध गर्नुपर्दछ ।’

नेता भेषराज सीले पार्टीले चलाएको कम्युनिस्ट स्कुलिङले संगठनमा गति पैदा भएपछि मात्रै सफल भएको मानिने बताए ।

एक अर्को प्रसंगमा बोल्दै नेता भेषराज सीले नेपालका सबै सच्चा इमानदार , क्रान्तिकारी , कम्युनिस्ट एवम माओवादीहरु एकताबद्ध हुन आवश्यकता रहेको बताए ।

अहिले माओवादी एकताको चर्चा अलि बढि चलेको छ त्यो सत्य कुरा नै हो’, उनले थप भने, ‘हाम्रो पार्टीको निर्णय माओवादीहरुका बिचमा एकता गर्ने नै भएको छ। तर एकता नयाँ प्रस्तावमा गर्ने कुरा हो । नयाँ विचार, नयाँ राजनीति, नयाँ कार्यक्रम र नयाँ नेतृत्वमा एकता गर्ने हो । माओवादीलाई हिंसावादी भन्ने बुर्जुवा सुंगुरको खोरमा जानलाई एकता गर्ने होइन । समाजवादमा जान तयार हुने सबै शक्तिसंग नेकपाले सहकार्य गर्ने नीति बनाएको छ । संसदीय माओवादीहरु समाजवादमा रुपान्तरित हुन तयार हुन्छन् भने एकता सामान्य विषय हो । हामीले नेपालका सच्चा, इमानदार, देशभक्त, प्रगतिशील, बामपंथी, बुद्धिजीवी, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग समेत सहकार्य गर्ने सोचेका छौँ ।’

नेता भेषराजले सांसद योगेश भट्टराईलाई नेपाली जनताको महान जनयुद्धलाई अपमानित नगर्न सुझाव समेत दिएका थिए ।

नेकपा राप्ती क्षेत्रको माध्यामिक तहको स्कुलिङ भदौ ५ गतेदेखि १३ गतेसम्म सञ्चालन भएको हो ।

बिहीबार पार्टीका पिबिएम आदर्श सीको अध्यक्षता एवम पार्टीका पिबिएम एवम स्कुलिङ विभाग प्रमुख भेषराज सीको प्रमुख आतिथ्यतामा स्कुलिङ सम्पन्न भएको छ ।

पार्टीका पिबिएम असल सी, पार्टीका केन्द्रीय सदस्यद्वय प्रयास सी, तिर्थ सी लगाएतको आतिथ्यता रहेको थियो भने पार्टीका राप्ती क्षेत्र अन्तर्गतका केन्द्रीय सदस्यहरुको समेत आतिथ्यता रहेको थियो ।

समापन कार्यक्रममा प्रशिक्षकहरुलाई बधाई मन्तव्य पार्टीका केन्द्रीय सल्लाहकार सुन्दर सीले व्यक्त गरेका थिए ।

सोही अवसरमा स्कुलिङका प्रशिक्षकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

पार्टीको ५ दिने स्कुलिङमा दर्शनशास्त्र, भौतिक विज्ञान, समाज विज्ञान, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका विषयमा करिब ५० जना जिल्ला स्तरका माथिल्लो तहका नेताकार्यकर्तालाई प्रशिक्षित गरिएको थियो ।

माध्यामिक तह स्कुलिङ कार्यक्रमको समापन सत्रको सञ्चालन पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।