काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले दलाल पुँजिपति र साम्राज्यवादीहरुलाई पछार्न र युद्ध जित्नै बाँकी रहेको बताएका छन् । सार्वजनिक नीति तथा रणनीतिक अध्ययन केन्द्र, नेपालले बिहीबार प्रज्ञा भवनमा गरेको ‘माओ दिवस र वर्तमान नेपाली राजनीति’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले यस्तो बताएका हुन् ।
महासचिव विप्लव सीले देश दलाल पुँजिपतिहरुको हैकमभित्र छट्पटाइरहेको बताउदै माओवादीले सामन्तवादलाई पछारेपनि दलाल पुँजिपति र साम्राज्यवादीहरुलाई पछार्न बाँकी नै रहेको र माओवादीले युद्ध जित्नै बाँकी रहेको बताए ।
महासचिव विप्लवले राज्यसत्तामा ढेडु बाँदरहरूको मारामार रहेको छ तर देशकाे बारेमा केही चिन्ता नभएको बताएका छन् । लङ्का जित्ने हनुमान भएपनि जस ढेडु बाँदरले लिन खोजेको र सत्ताका लागि उनीहरूबिच नै मारामार रहेको उनलेे बताए । ‘नेपालको राज्यसत्ता उदेक लाग्दो अवस्थामा छ । कहिले हाँसाे पनि उठ्छ । नेपालीमा एउटा उखान छ ‘लङ्का जित्ने हनुमान पगरी गुथ्ने ढेडु’ जस्तो भएको छ । राज्यसत्तामा ढेडुहरूको मारामार छन् । ढेडुहरूको ठुलो जमात खडा भएका छन् । कोही रिसाएका छन् । कोही हाँसिरहेका छन्’, उनले भने ।
राज्यसत्तामा राजकाज चलाइरहेकाहरूले विभिन्न मोर्चाबाट जनयुद्धमाथि हमला गर्ने काम भइरहेकोमा उनले असन्तुष्टि पोखे । ‘जसलाई जनयुद्धको ‘ज’ पनि थाहा छैन उसले हमला गर्ने प्रयास भइराखेको छ’, विप्लवले भने, ‘हामीले समाजवादमा लैजान लडाइँ लडेका थियौँ तर आज भयंकर विपत्तिको सामना गर्नुपर्ने स्थिति छ ।’
अहिले कम्युनिस्ट आन्दोलनमा दुईवटा समस्या रहेको पनि विप्लवले औँल्याए । पहिलो वर्गीय मोर्चा छाडेर भाग्ने । अर्को विचार, सिद्धान्त बिग्रिन्छ भन्दै जडसूत्रीय प्रवृत्ति बन्द कोठाको कुनामा गएर सिद्धिने प्रवृत्तिले समस्या देखिएको उनको भनाइ छ ।
महासचिव विप्लव सीले अहिले माओवादीविरुद्ध भयङ्कर गोलावारीहरु चलिरहेको बताउदै भने- ‘जनयुद्ध के थियो भन्नेबारेमा त्यसलाई विषयान्तर गर्ने, तोडमोड गर्ने, जनयुद्धलाई लागेपुगेसम्म जनताको हातबाट खोस्ने र जनयुद्धमाथि हमला बोल्ने लडाइँ चलिरहेको छ । ‘जसलाई जनयुद्धको ज पनि थाहा छैन । ती मान्छेहरुले जनयुद्धको बारेमा भयाङ्कर ठूलो हमला बोलिरहेको बेलामा हाम्रो कलमको मोर्चालाई अझ सशक्त बनाउनुपर्ने अवस्था छ ।’
महासचिव विप्लव सीले माओवादी जनयुद्ध सुन्नै नचाहनेहरुले अहिले संसद्देखि न्यायलयसम्म खिसिट्यूरी गरिरहेको बताउदै भने- ‘माओवादी जनयुद्धलाई सुन्नै नचाहने वा त्यसलाई खिसीट्यूरी गर्ने काम संसद्मा पनि चलिरहेको छ । त्यो कुरा अन्यत्र पनि चलिरहेको छ र विभिन्न क्षेत्रबाट न्यायलयमा पनि पुगेको छ । अस्तीमात्रै जनयुद्ध नभन्नु भनेर प्रतिबन्ध लगाएको कुरा पनि हामीले सुन्यौं । जनयुद्ध नभएर के हो त यो ? अरु त ठीक छ, तर सपना मल्ल प्रधानलाई एउटा कुरा सोध्न मन लागेको छ । सपना मल्लको हात काक्यो कि कामेन ? जनयुद्ध होइन भनेर भन्दा त्यहाँ कसले पुर्यायो ? नेपालमा महिलाहरुलाई, श्रमिकहरुलाई सत्ताको मालिक बन्ने ठाउँमा, फैसला गर्ने ठाउँमा कसले पुर्यायो । महिलाहरु योग्य छन् भन्ने कुरा कसले स्थापित गरायो ?’
महासचिव विप्लव सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनयुद्धले लगाइदिएको ताज फुकालेर हस्तान्तरण गर्न चेतावनी दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रकाश सपुतको गीत स्मरण गराउँदै भने, ‘प्रकाश सपुतले लेखेको गीतको याद आउँछ– रातो स्कुटर कसले किन्दियो ? केपी जीलाई सोध्नुपर्ने भएको छ– केपी जी तपाईँलाई ताज कसले पहिराइदियो, तपाईलाई कुर्सी कसले पहिराइदियो ? तपाईँलाई राज कसले ल्याइदियो ?’ तपाईँले लाएको ताज, तपाईँले चलाएको राज, तपाईँको कुर्सी, तपाईँको झुर्की सबै कसले खडा गर्दियो ? उसो हो भने सबै ताज फुकालेर हामीलाई हस्तान्तरण गर । जनयुद्धले ल्याइदिएको ताज तिमी लाउने पाउँदैनौं भन्नुपर्छ कि पर्दैन । हामीले पाउनुपर्यो नि । तिमीले अहिले भनेको गणतन्त्र के कारणले आएको ? गणतन्त्रको संस्थापक को हो ? यो कुरा सत्य बोल्नुपर्छ कि पर्दैन ?’
यसैगरी, महासचिव विप्लव सीले नेकपा माओवादीसँग एकता गर्न नचाहेको हल्ला सत्य नभएको बताए । उनले भने- ‘एकताका लागि हामी सबै सकारात्मक छौँ । हाम्रो केन्द्रीय समिति बैठकको निर्णयले नेकपा एकतामा॥ज्ञ नआउने हल्ला भयो । त्यो कुरा सत्य होइन । एकता हामी सबैको चाहना हो । आज पनि नेकपा माओवादी, समाजवादीसहित सबैको एकता र ध्रुवीकरण आवश्यक छ । ’
महासचिव विप्लव सीले माओवादीका उपमहासचिव जनार्दन शर्मा र आफूबिच कुनै असमझदारी नभएको बताउदै दुवै जना एउटै मोर्चाका दुई सिपाही भएकाले केही समय टाढा भएपनि अहिले एकै ठाउँमा उभिएको बताए । उनले भने- ‘हामी एउटै मोर्चामा लडेका दुई सिपाही हौँ । केही समय टाढा बसेर फेरि एक ठाउँमा उभिएका छौँ । हामीबिच केही समस्या छैन । बिचमा भिन्नभिन्न मोर्चाबाट लडाइँ लडियो अहिले समीक्षा चल्दैछ। जनयुद्धलाई नयाँ उचाइमा पुराउन नयाँ पुस्ताबिच प्रतिस्पर्धा थियो । माओवादीको मन शान्त छैन । मन शान्त नभइ दिमाग स्थिर छैन । फुट्दा फुट्दा २० वटा घटक भइसक्यो । हरेक माओवादी घटकमा यसबारे बहस हुन्छ । हामी शान्त भएर बस्ने मान्छे होइन । हामी सबै मिलेर समाजवाद ल्याउन चाहन्छौँ ।’
यसैगरी, उक्त कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेकपाका महासचिव विप्लवलाई नेकपा माओवादीमा ल्याउन आफू बाधक नभएको बताए । उनले विप्लव र आफूबिच फाटो ल्याउन विभिन्न भ्रम छरिएको प्रष्टयाउदै पार्टीले २०६६ तिर विद्रोह र चुनावको दुई धारे नीति अवलम्बन गर्नु कमजोरी भएको बताए । उनले भने- ‘२०६६ सालतिर पार्टीले विद्रोह र चुनावको कार्यनीति अगाडि सार्नु कमजोरी थियो । त्यतिबेला विद्रोह बुझ्नेले विद्रोह बुझ्यो । चुनाव बुझ्नेले चुनाव बुझ्यो । विप्लवजीले विद्रोह बुझ्नुभयो र आफ्नो बाटो लाग्नुभयो । हाम्रो बिचमा कालोबादल लगाउने विषयमा प्रयत्न गरिएको थियो । त्यो सही होइन । माओवादी पुनर्गठनको अभियान आफैँले थालेको हुँ । विप्लव र मेरोबिचमा राम्रो सम्बन्ध छ । विप्लव र माओवादी एकताबिच बाधकका रूपमा पनि चर्चा गरियो । ती सबै कुरालाई कपिलवस्तु र हरिसिद्धिमा पुगेर खारेज गरिसकेको छ ।’