विप्लव सी
हामीले क्रान्ति र उत्पादनसँगै चलाउने संश्लेषण गरेका छौं । यो पनि एकीकृत जनक्रान्तिमा हामीले प्राप्त गरेको नयाँ ज्ञान हो । यसको प्रयोगमा मौलिकता छ । यसलाई नेकपाको पङ्क्तिले गहिरोगरी बोध गर्दैछ दह्रोसँग प्रयोग गर्दैछ । क्रान्ति र उत्पादन नेकपाका नेता–कार्यकर्ताको जीवन पद्धति बन्दैछ । यसलाई सचेत नागरिकले सही ठानेका छन् र समर्थन गरिरहेका छन् । यो सफलतातिर जाँदैछ । यसले निजी जीवन, पार्र्टी र क्रान्तिलाई आफ्नै मौलिकतासहित सुनिश्चित गर्नेछ भन्ने हाम्रो विश्वास छ ।
क्रान्ति र उत्पादनको ज्ञान
क्रान्ति र उत्पादनलाई जोडनुपर्छ, अनिवार्य जोडनुपर्छ भन्ने ज्ञान कसरी आयो र सही सावित भयो भन्ने विषय पनि निकै रोचक छ । हामी साम्यवादीहरूलाई राम्रोे जानकारी छ कि ज्ञान व्यवहारबाट आउँछ । त्यो पनि श्रम, सङ्घर्ष र अनुसन्धानका क्रममा आउँछ । क्रान्ति र उत्पादनलाई जोड्ने हाम्रो ज्ञान पनि यसरी नै प्राप्त भएको हो ।
साँचो कुरा हो कि जनयुद्धलाई विसर्जन गरेपछि हामीले नयाँ तरिकाले क्रान्ति गर्नुपर्छ भनेर एकीकृत जनक्रान्तिको संश्लेषण ग¥यौं । जनक्रान्तिका लागि मुख्य पाँच आधारहरू आवश्यक छ भन्यौं । त्यसमा आर्थिक आधार पनि थियो । क्रान्तिका लागि आर्थिक एक महत्वपूर्ण आधार त हो तर कसरी तयार गर्ने भन्ने विषयमा भने मेसो खुलिसकेको थिएन । बहस गर्दागर्दै दलाल पुँजीवादी सत्तासँग सङ्घर्ष चर्कियो र हामीमाथि प्रतिबन्ध थोपरियो । हामीले प्रतिरोधको मार्ग अख्तियार ग¥यौं । जनक्रान्ति अगाडि बढ्यो । क्रान्तिमा आर्थिक आवश्यकता निकै बढेर गयो । कसरी समाधान गर्ने ? हाम्रा छलफल भए । हामीले अध्ययनलाई एकदमै व्यवहारिक र जीवन्तप्रकारले अगाडि बढायौं ।
हामीले एकीकृत जनक्रान्ति सुरु गरेपछि पार्टीलाई चाहिने आर्थिक आपूर्ति चन्दा र सहयोगबाट नै ग¥यौं । मित्रहरूले माया गरेर सहयोग गरे, केहीले तर्सिएर पनि गरे होलान् । तर त्यो हाम्रो संख्या र आवश्यकताको तुलनामा कम थियो । उता जनतामा जनयुद्धको तरिकाले मागेर खाने तरिका पनि व्यवहारिक र सरल भएन । जनताले नै गुनासो र असहमति राख्न थाले । केवल भाषण, सङ्गठन र भोलीका कुराबाट मात्र जनता सन्तुष्ट र खुसी हुने स्थिति भएन । त्यसपछि नै हामीले आर्थिकरुपले टिक्ने र क्रान्तिलाई अगाडि बढाउने कसरी हो भन्ने अध्ययन ग¥यौं । समस्याहरूको अध्ययन गर्दै र कामहरू बढाउँदै जाँदा क्रान्तिसँग उत्पादनलाई जोड्ने निष्कर्षमा पुग्यौं । पार्टीमा व्यापक छलफल गरेर औपचारिक निस्कर्ष निकाल्यौं । निष्कर्ष अनुरुप जब जनतासँग मिलेर, आफ्नै जमिन लिएर उत्पादन गर्न थाल्यौं, जनता खुसीमात्र भएनन् सहयोगी पनि भए । हामीले जब देशभरी नेता—कार्यकर्तालाई उत्पादनमा जोड्यौं, केही जिम्मेवार कमरेडहरूलाई नै जिम्मा दिएर मेहनत गर्न थाल्यौं तब हाम्रो पार्टीको प्रभाव नयाँ भयो र राजनीतिले नै नयाँ गति पकड्यो । प्रयोगसहितले स्पष्ट ग¥यो कि क्रान्तिलाई उत्पादनसँग जोड्ने हाम्रो विचार वैज्ञानिक छ । यसरी क्रान्तिलाई उत्पादनसँग जोड्ने ज्ञानको स्रोत श्रम व्यवहार नै हो ।
हाम्रो फरक दृष्टिकोण
क्रान्ति र उत्पादनलाई अलग–अलग होइन सँगसँगै चलाउनु पर्छ भन्ने हाम्रो दृष्टिकोण छ । क्रान्ति साररुपले पुरानो आर्थिक सम्बन्धको विच्छेद र नयाँ आर्थिक सम्बन्धको निर्माण हो । त्यस्तै आर्थिक सम्बन्धको विषय पनि सारतः कस्तो क्रान्तिको विकास र कस्तो क्रान्तिको निर्माण भन्ने हो । किनकि आर्थिक सम्बन्ध नै समाज र सभ्यताको मुख्य आधार हो । तर क्रान्ति र उत्पादनलाई कसरी ग्रहण गर्ने र लागु गर्ने भन्ने विषय कम्युनिस्ट आन्दोलनमा निकै कम जानकारी छ । धेरैको धारणा छ कि दुईमा एउटा प्रधान हुन्छ र एउटा सहायक । उत्पादन र क्रान्तिमा मुख्य के हो ? उत्पादन कि क्रान्ति ? अक्सर जवाफ बनिबनाउ नै पाइन्छ– प्रधान क्रान्ति नै हो । प्रधान क्रान्ति भएपछि उत्पादन त छायाँमा परिहाल्छ नि । उत्पादनमा नेता–कार्यकर्ता लागेर कहाँ हुन्छ । नेता–कार्यकर्ताको काम त वैचारिक, राजनीतिक जागरण ल्याउने, मीठामीठा, ठर्रागर्रा तर्क गरेर पुष्टि गर्ने पो हो । चल्तिमा रहेका सरदर मान्छेहरूलाई यो बुटी जस्तो लाग्छ । तर त्यसरी सोच्ने र हिड्ने मान्छेहरूको अवस्था कसरी पातलिंदै, निरीह बन्दै, क्रान्तिको कुरा छोडौं, समाज र परिवारबाट पनि परपर भाग्दै गइरहेको छ; बुझ्न कुनै गाह्रो छैन ।
हामीले क्रान्तिका असफलता र सफलताका धेरै सन्दर्भहरूको अध्ययन ग¥यौं । साथै, नेपाली क्रान्तिका अनुभवहरूको अध्ययनपछि निष्कर्ष निकाल्यौं । क्रान्तिको असफलता र सफलतासँग आर्थिक कार्य अर्थात् उत्पादन कार्यको महत्व निकै उच्च छ । यदि क्रान्तिभित्र आर्थिक कार्यलाई ठिक तरिकाले बुझिंदैन या सञ्चालन गरिंदैन भने हाम्रो जस्तो देशमा क्रान्ति, त्यसमा पनि समाजवादी—साम्यवादी क्रान्ति, धेरै गाह्रो हुन्छ ।
दोस्रो कुरा आर्थिक कार्य राजनीतिक कार्यको अभिन्न पक्ष हो । समाजवादको गुदी तत्व भनेकै आर्थिक प्रणाली हो । तर कम्युनिस्ट आन्दोलनमा विशेषतः नेपालमा आर्थिक कार्य र राजनीतिक कार्यलाई एकीकृत गरेर नबुझ्ने रह्यो र छ । यो फैलिंदै कतिसम्म पुग्यो भने राजनीति गर्नेले आर्थिक कार्य गर्नु हुँदैन, आर्थिक कार्य या पढ्न–लेख्न नजानेकाले गर्ने हो या त व्यवसाय नै गर्दै आएकाले गर्ने हो, राजनीति गर्नेको त केही किताव बाकेर, झोला भिरेर प्रवचन र भाषण दिंदै हिड्ने हो भन्ने भयो । यसले पार्टी, नेता र कार्यकर्तालाई अनुत्पादक शक्ति र परनिर्भर तुल्यायो । कुरा ठूला गरे पनि विस्तारै मालिकहरूको खेलौंनामा बदलिदियो । क्रान्तिको कुरै नगरौं, बाँच्नका लागि पनि मालिकको भर पर्नुपर्ने, उनीहरूकै दयामा चल्नु पर्ने बनाइदियो । राजनीतिक कार्यलाई आर्थिक कार्यसँग जोडिंदैन भने राजनीति गफमा परिणत हुन्छ । गफको राजनीति केही दिन चले पनि अन्ततः जग नभएको घरजस्तो सानो धक्काले पनि डङ्रङ्ग ढल्छ भन्ने देखियो ।
तेस्रो कुरा कम्युनिस्टहरू संसार बदल्ने उत्पादक शक्ति हुन् । उनीहरूले मानसिक, शारीरिक जुनसुकै श्रम पनि गर्नु पर्दछ । तर नेपाल जस्तो देशमा कस्तो संस्कार बन्यो भने नेता भएपछि श्रममा जानु हुँदैन । मुखले श्रमको कुरा गरे पनि आफूले होइन; कार्यकर्ताले, अरुले गर्नुपर्छ जस्तो व्यवहार देखाउने भयो । मुखले श्रम भन्ने कर्मले भ्रम गर्ने भयो । यस्तो विद्यालयबाट हुर्केका अनुयायीहरूको कस्तो देखा पर्छ भने काम नै गर्ने भएपछि पार्टीको किन गर्ने, आफ्नै गरिन्थ्यो नी ! हामीले आधारभूतरुपले बुझ्नु पर्छ कम्युनिस्टहरूको गुण नै श्रम, उत्पादन र समृद्धि हो । श्रमविना बाँच्न खोज्ने अझ सुखभोग गर्न खोज्ने प्रवृत्ति कम्युनिस्ट प्रवृत्ति होइन; शोषक, ठग प्रवृत्ति हो ।
राजनीतिक कार्य र आर्थिक कार्यलाई जोड्ने हाम्रो दृष्टिकोण एकदमै नयाँ होइन, केही सतही मान्छेले त यो के नयाँ हो र, गरिंदै आएको सामान्य कुरा त हो भने जसरी तर्क गर्छन् तर नेपाली कम्युनिस्ट आन्दोलनमा हामीले प्रयोग गरेको उत्पादन कार्य उनीहरूले सोचेजस्तो सामान्य र पुरानै होइन । यो क्रान्तिभित्र भोगेका कठिन दिन, आवश्यकताका बिचबाट संश्लेषण गरिएको मौलिक विचार हो । क्रान्तिभित्र या क्रान्तिका लागि आर्थिक कार्यलाई जीवन पद्धतिमा बदल्नु वास्तवमै नयाँ र मौलिक हो । यसलाई हामीले मात्र होइन नेपालका सबै सचेत नागरिकले स्वीकार गरेका छन् । जसले यसको वैज्ञानिकता, महत्व र सफलतालाई बुझेका छैनन्, उनीहरू हाम्रो स्तरमा आउन कैयौं वर्ष लाग्ने छ ।
हाम्रो नीतिको प्रयोग
विचार र नीतिलाई सुन्दर कागजका फूल बन्न नदिने हो भने तिनको जीवन्त प्रयोग अपरिहार्य छ । यसर्थ क्रान्ति र उत्पादनलाई जोडने कार्य हाम्रा लागि ज्यादा जरुरी थियो र छ । अर्को विषय– नीति निर्माण गर्नेले नै त्यसलाई लागु गरेर सफल गर्नु पर्दथ्यो । अर्थ–राजनीतिमा भनेर मात्र छोडिदिनुको खासै अर्थ छैन । त्यसमा पनि क्रान्तिले धक्का खाएको हाम्रो जस्तो देश र पार्टीमा छैन । त्यसैले क्रान्तिसँग उत्पदनलाई जोड्न हामीले पार्टीको माथिल्लो तहबाट व्यवस्था ग¥यौं । केही कमरेडहरूले खुसीका साथ पार्टीको जिम्मालाई स्वीकार गर्नुभयो र तनमन दिएर काममा डट्नु भयो । केन्द्रका उत्पादनहरू सफल हुँदै गएपछि ती लोकप्रिय मात्र भएनन्, तिनलाई अनुशरण गर्ने कार्य पनि अगाडि बढ्यो । यो वर्ष उत्पादन कार्य केन्द्रदेखि क्रमशः जिल्ला, विभाग, जवससम्म सफलतापूर्वक पुगेको छ । पार्टी मूलभूतरुपले सफल भएको छ । पार्टी आफ्नो खुट्टा उभिन खोज्दै छ ।
हाम्रो जस्तो समाज र देशमा श्रमलाई या महत्व दिइदैन या त हेला गरिन्छ । त्यसमा पनि राजनीतिक पार्टीका नेता–कार्यकर्ताले श्रम गरेर पार्टी चलाउने, क्रान्ति हाँक्ने विषय कल्पनाभन्दा बाहिर छ । नेता भनेको अतिथि बन्ने, लेख लेख्ने, प्रवचन दिने, भाषण गर्ने, नीति दिने, कुर्चिमा बस्ने, च्याटचुट पर्ने, पैसा बाँड्ने व्यक्तित्व हो भन्ने छ । अन्य कम्युनिस्ट नेताहरूले जीवनलाई केही सरल र मेहनतसँग जोडे पनि सरदर उस्तै छ । हामीले यसको ठिक विपरीत श्रम नै धेरै चीजको स्रोत हो भन्ने बुझ्यौं र त्यसलाई आत्मासाथ ग¥यौं । पार्टीका लागि त श्रममा नै पार्टी नीतिको प्राण अडेको छ । प्रयोगविनाको नीति प्राणहीन शरीर जस्तै हुन्छ । हामीले पार्टीलाई उत्पादनमा लगेर प्राणसहितको गतिशील पार्टी बनाएका छौं ।
सुरुमा पार्टीका नेताहरू योजनावद्धरुपले उत्पादनमा सहभागि भए । नेताहरू प्रयोगमा बढेपछि कार्यकर्ताहरू उत्साहका साथ भाग लिए । यतिबेला श्रम नेकपाका नेता–कार्यकर्ताका लागि गर्वको विषय बनेको छ । उनीहरूसँग अनुसन्धान गर्दै गरेका सामाग्री, दस्तावेज, पुस्तक मात्र छैनन्, हिलाले लत्पतिएका हात र पसिनाले भिजेका शरीर देख्न सकिन्छ । नेकपा नीतिको पार्टी मात्र होइन, प्रयोगसहितको पार्टी बन्दै गएको छ । क्रान्तिसँग उत्पादनलाई व्यवहारिकरुपमा जोडिएको छ ।
प्रयोग र परिणाम
हाम्रो नीतिको प्रयोगबाट दुई खालका परिणाम देखिएका छन् । पहिलो धारणागत दोस्रो परिमाणजन्य । पहिलो परिणाम पार्टी पंक्ति, बुद्धिजीवी, व्यवसायि, राजनीतिक व्यक्ति, श्रमिकवर्ग, सचेत नागरिकको धारणा र प्रतिक्रियामा व्यक्त भएको छ । हामीले उत्पादन गर्ने र आत्मनिर्भर बन्ने धारणा राख्दा उनीहरूमा स्वभाविक प्रतिक्रिया थिए । यो राम्रो, सही हो भन्ने तर सँगै के सफल हुन्छ र भन्ने अविश्वास ! किनकि प्रायले भन्दै आएको तर प्रयोगमा सावित गर्न नसकेको विषय थियो । तर जब हामीले यो कुनै देखावटी एवं प्रचारात्मक उद्देश्यका लागि नभई प्रयोगमा लैजानका लागि हो र प्रयोग गर्न सकिन्छ भनेर व्यवहारमा व्यक्त ग¥यौं, तब सबैको सोच र धारणा सकारात्मक बन्यो भन्ने एउटा, गर्ने अर्को परेको कम्युनिस्ट आन्दोलनको लामो गोलचक्कर टुटेको छ । आशङ्का र प्रश्नहरू विश्वास र जवाफमा बदलिएका छन् ।
दोस्रो परिमााणजन्य परिणाम पार्टीको उत्पादन, उपभोग र बचतमा देखिएको छ । सुरुमा हामीसँग शून्य जमिन, उद्योग, व्यवसाय थिए । माओवादीबाट अलग हुँदै नेकपा र एकीकृत जनक्रान्तिमा पुग्दा हामीसँग विचार, नीति, योजना र आत्मविश्वास मात्र थिए । तर हामीले आर्थिक क्षेत्रमा लगातार अन्य पार्टीको भन्दा फरक र नयाँ गर्ने सोच राख्यौं । पहिलो थियो आर्थिकमा संस्थागत प्रणाली र बचत प्रणाली । हाम्रो सोच र नीति साँच्चै वस्तुवादी, व्यवहारिक र प्रभावकारी सावित भयो । हामीले युद्धको दबाव पनि झेल्यौं, शान्तिपूर्ण देखिने उथलपुथलकारी समय पनि बितायौं । तर हामी कहिल्यै पनि खाली र टाट पल्टिएनौं । बरु पार्टीको आर्थिक र भौतिक सम्पत्ति वृद्धि गर्दै यहाँसम्म आइपुगेका छौं ।
भौतिक परिमाणका दृष्टिले हामीसँग १८ वटाभन्दा बढी भौतिक संरचनाहरू छन् । उत्पादन पहिले हामीसँग शून्य थियो यतिवेला पार्टीसँग आफ्नै ३०० रोपनीभन्दा बढी जमिन छ भने सातवटा ठूला उत्पादन केन्द्र र दर्जनौं साना उत्पादन शाखाहरू छन् । सुरुमा नेताहरूबाट सुरु गरिएको उत्पादन कार्य यतिबेला जिल्ला, जवस, विभागसम्म पुगेको छ । २०८१ मा अइपुग्दा एउटा लहरकै रुपमा अगाडि बढेको छ । २०८० सालमा ११० बिघा रहेको उत्पादन यो वर्ष १२० बिघाभन्दा माथि पुगेको छ । १२० बिघामा सरदर ३० क्विन्टल मात्र जोड्यो भने पनि ३६०० सय क्विन्टल बाली उत्पादन हुन्छ । यो वर्षबाट गाइ फार्म र घरेलु उद्योगहरू पनि खडा गरिएका छन् । सयौं कमरेडहरू श्रममा सहभागि बनिरहनु भएको छ । राजनीतिक पार्टीले आफ्नै जनशक्ति र साधन–स्रोतबाट प्राप्त गरेको अभूतपूर्व परिणाम हो । नगदमा काग्रेस, एमालेसँग बढी भए पनि त्यो राज्यसत्ताको सुविधाबाट खडागरिएको छ । त्यसमा विदेशीहरूको निगाह पनि छ । तर हाम्रो आर्थिक परिणाम बढी आफ्नो श्रमबाट नै उत्पादन गरिएको छ । आर्थिक क्षेत्रको हाम्रो यो परिमाणले पार्टीलाई आत्मनिर्भर त बनाउँछ नै, रास्ट्रिय अर्थतन्त्रमै सहयोग पुग्न जान्छ ।
निष्कर्ष
राज्य रुपान्तरणका लागि पुरानो ज्ञानले पुग्दैन भने नयाँ ज्ञान आवश्यक पर्छ । इमान्दार भएर खोज गरियो भने नयाँ ज्ञान पाउन सकिन्छ ।
अत्याचार र असमानताका बावजुद विश्वमा पुँजीवाद बाँचेको छ । केही पुँजीवादी बौद्धिकहरूले त पुँजीवाद नै अन्तिम व्यवस्था हो जसरी ‘दैवी दुत’ले झै दावि गर्छन । सत्य यत्ति हो कि हामी साम्यवादीहरूलाई केही नयाँ ज्ञान चाहिएको छ । २१ औं शताब्दीको पुँजीवादलाई समाधान गर्ने ज्ञान, पुँजीवादलाई परास्त गर्ने क्रान्तिको ज्ञान । नेपालजस्तो देशमा क्रान्ति र उत्पादनलाई जोडने विचार यही आवश्यकताको खोज हो ।
निर्धारणवादी धारणा कस्तो छ भने एकदिन पुँजीवाद ढल्छ र साम्यवाद आउँछ । धर्मभिरुहरूले एक दिन परमेश्वर, देवदुत, अल्लाह आएर पाप हरण गर्छन भनेभन्दा कम रमाइलो र उदेकलाग्दो छैन ! वैज्ञानिक समाजवाद—साम्यवाद स्वस्फूर्तताको परिणाम होइन । यो सचेतना र पहलको परिणाम पनि हो । हामी क्रान्तिलाई सुदुर भविष्यको जिम्मा लगाउन चाहँदैनौं भने तत्काल चाहिने नीति र तिनको प्रयोगलाई व्यवस्थित गर्नै पर्छ । अन्यथा क्रान्तिका चर्का कुरा गर्दै कोठामा खुम्चिएर समाप्त हुनु, सत्तामा पुगेर ऐस आराममा लठ्ठिंदै बद्नाम भएर सकिनु, क्रान्तिका उडन्ते कुरामा बरालिएर आकाशमा बादल हराए जस्तो हराउनु व्यवहारतः पुँजीवादी—साम्राज्यवादीलाई ठाउँ खालि गरिदिनु अवश्यमभावि छ । यसको समाधान पनि क्रान्ति र उत्पादनलाई सँगसँगै अगाडि बढाउने हाम्रो ज्ञानले दिन्छ । जसले जे तर्क गरे पनि, नयाँ र वैज्ञानिक ज्ञानले नै अज्ञानताका समस्यालाई परास्त गर्छ ।
स्रोत : जनक्रान्ति–८