काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी)सँगै ५ विद्यार्थी संगठनहरु त्रिभूवन विश्वविद्यालयको रेक्टर कार्यालयमा धर्ना बसेका छन् । विभिन्न १० बुँदे माग राख्दै ५ सङ्गठनहरु मंगलबारदेखि त्रिविका शिक्षाध्यक्ष प्रो. डा. खडक केसीको कार्यालयमा धर्ना बसेका हुन् ।
विश्वविद्यालय विगतदेखि दलगत भागबण्डाको चपेटामा परेको, विश्वविद्यालय पटक पटक अनिर्णयको बन्दि हुँदा शैक्षिक क्षेत्रमा अराजकता मौलाउदै आएको लगायतका कारण देखाउँदै नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी), एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियू, राष्ट्रिय जनमोर्चानिकट अखिल (छैटौँ), नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (समाजवादी) र नेपाल समाजवादी पार्टी निकट नेपाल समाजवादी विद्यार्थीले धर्ना दिएका हुन् ।
पाँच संगठनले मंगलबार संयुक्त वक्तव्य जारी गर्दै विभिन्न मागसहित अनसन बसेका हुन् ।
यस्ता छन् विद्यार्थीहरुका मागहरु :
१) मेरिटोकेसिको आधारमा क्याम्पस र विभागीय प्रमुखहरु विनाशर्त नियुक्ति गर्नुपर्ने ।
२) डा. पुष्कर रैखोला नेतृत्वको छानविन समितिको प्रतिवेदनले समकक्षता दिने भनी गरिएको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने र दोषीलाई कारवाही गर्नुपर्ने ।
३) अध्ययन विदा लिई विदेश गएका र स्वदेश नफर्किने प्राध्यापक र कर्मचारीहरुको एकिन विवरण सार्वजनिक गरी उक्त अवधिको सेवा, सुविधा, तलब विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने र सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने ।
४) त्रिताल आयोगले तयार पारेको प्रतिवेदन तत्काल सार्वजनिक गरी विश्वविद्यालयमा हिनामिना भएको जग्गा फिर्ता गरी संलग्न सम्बन्धित व्यक्तिहरुलाई कारवाही गर्नुपर्ने ।
५) आशिक करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रक्रियाबाट स्वतः स्थायी गर्ने प्रक्रिया बन्द गर्नुपर्ने ।
६) वि.वि. केन्द्रीय विभागहरुमा अनिवार्य रुपमा Morning र Evening कक्षाहरु सञ्चालन गर्नुपर्ने ।
७) परीक्षा नियन्त्रण कार्यालयबाट उत्तरपुस्तिका हराउने पदाधिकारी वा कर्मचारीलाई डा. चन्द्रमणि पौडेल नेतृत्वको कमिटिले सिफारिस गरेका व्यक्तिहरुलाई तुरुन्तै कारवाहीको दायरामा ल्याउनुपर्ने ।
८) पढ्दै कमाउँदै कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुलाई अनिवार्य रूपमा संलग्न गराउनुपर्ने ।
९) त्रि.वि. मा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरुको खुल्ला प्रतिस्पर्धा मार्फत पदपुर्ति गर्न तत्काल नयाँ विज्ञापन प्रकाशन गर्नुपर्ने ।
१०) केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीहरुका लागि अनिवार्य रुपमा इन्टर्नशिपको व्यवस्था गराउनु पर्ने ।