सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले आर्थिक उत्पादन क्रान्ति र चुनावी क्रान्तिलाई सँगसँगै लिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सुर्खेतको वीरेन्द्रनगरमा आइतबार सम्बाेधन गर्दै महासचिव विप्लवले यस्तो निर्देशन दिएका हुन् ।
उनले उत्पादन क्रान्ति विना कुनै पनि कम्युनिष्ट पार्टी सफल नहुने उद्घोष गरे । उनले भने, ‘उत्पादन क्रान्ति जरुरी छ, आगामी वर्षमा तराईका जिल्लामा अढाई सय विगाह जमिनमा धानखेति गर्ने र हिमाली तथा पहाडी जिल्लामा फलफुल खेति गर्ने गरी तयारी गर्न विशेष निर्देशन दिन्छु ।’
‘उत्पादनको काम मात्र होइन हामीले राजनीतिक काम पनि गर्नु पर्छ’, महासचिव विप्लवले भने, ‘चुनावी क्रान्तिलाई पनि एकीकृत जनक्रान्तिको एउटा मोर्चाको रुपमा प्रयोग गर्नु पर्छ, सिंगो पार्टी चुनावी तयारीमा लाग्न पनि आग्रह गर्छुु ।’
उनले नेपालको मुख्य समस्या दलाल पुँजीवादको भएको भन्दै त्यसको अन्त्यको लागि नेपाली विशेषताको समाजवादमा जानुको विकल्प नभएको बताए ।
यसैबिच आजै साँझ भएको एक अर्को बुद्धिजीविसंगको कार्यक्रममा महासचिव विप्लवले नेकपाको आर्थिक क्रान्तिमा साथ दिन बुद्धिजीविहरुलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्