कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका -९ शिवगढीमा नेपाल कम्युनिस्ट पार्टीको जनस्वास्थ्य सेवा केन्द्र भवन निर्माणाधीन आस्थामा छ ।
करिब २ बिघा क्षेत्रफलमा रहेको जनस्वास्थ्य सेवा केन्द्रलाई वरिपरिबाट तारबार गरिएको छ भने आसपासमा वृक्षारोपण गरिएको छ ।
अस्पतालको अगाडिपट्टी नेकपाको स्वास्थ्य विभागले आलु खेती, तरकारी खेती गरेको छ ।
अस्पतालको दक्षिणको भागमा रेखदेख गर्ने पार्टीका केन्द्रीय प्रतिनिधि समितिका सदस्य कञ्चन सीको परिवारका लागि २ कोठाको कच्चीघर पार्टीले बनाइदिएको छ ।
उक्त घरमा कञ्चन सीकी पत्नीसहित २ छोराहरु त्यहाँ बस्ने गर्दछन् । उनीहरुको पालनपोषण, भरणपोषण सबै पार्टीले गरिरहेको छ ।
तर कञ्चनको परिवारले पार्टीको नीति अनुसार जनस्वास्थ्य सेवा केन्द्रको खाली जमिनमा तरकारी, आलु खेती, प्याज खेती गरेर आत्मनिर्भर हुने प्रक्रियामा छ ।
जनस्वास्थ्य सेवा केन्द्रको गेट निर्माणमा शिवराज नगरपालिकाले डेढ लाख रुपैयाँ सहयोग गरेको छ । जसमा १५ हजार रुपैयाँ जनसहभागिताबाट बेहोर्ने बताइएको छ ।
यस्तै ५ कोठाको आल्मुनियम पाटेसन गरेर एउटा पक्की भवन निर्माण गरिएको छ जुन जनस्वास्थ्य सेवा केन्द्रको मुख्य भवन हो ।
जनस्वास्थ्य सेवा केन्द्रमा हालसम्म ६५ लाख बराबर लगानी भएको निर्माण समितिका अध्यक्ष पाबेल सीले बताए ।
उनले भने– ‘श्रमदान बाहेक हालसम्म ६५ लाख लगानी भएको छ । यसमा जनताबाट ५ लाख रुपैयाँ बराबरको श्रमदान भएको छ । भवन निर्माणका लागि पार्टीबाट २२ लाख रुपैयाँ लगानी भएको छ भने शिवराज नगरपालिकासहित अन्य ५ स्थानीय तहहरुबाट सहयोग प्राप्त भएको छ । निर्माण प्रक्रिया छिट्टै सक्नेगरी योजना बनाएका छौँ । जनतालाई जतिसक्दो चाँडो सुविधा दिन पाए हुन्थ्यो भन्ने सोचाई छ ।’
यसैबिच मंसिर ६ गते निर्माणाधिन जनस्वास्थ्य सेवा केन्द्रमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
उक्त शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका मेसुको नेतृत्वमा गाइनो विशेषज्ञ, अर्थोपेडिक्स, रेडियोलोजी, जनरल फिजिसिएनसहितको सेवामा करिव २५० जनाले भिडियो एक्सरे, ५ लाख बराबरको औषधी वितरण गरिएको निर्माण समितिका अध्यक्ष पाबेल सीले जानकारी दिएका छन् ।
साथै निशुल्क शिविर नेकपाको पार्टी पुनर्गठन दिवसको अवसरमा पार्टीका महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।
शिविरमा शिवराज नगरपालिकाका मेयर अजय थापा, विभिन्न राजनीतिक दल, स्थानीय जनसमुदायको उल्लेख्य सहभागिता रहेको बताइएको छ ।
एकदिने बृहत् शिविरबाट करिव ७०० जना स्थानीयले निशुल्क स्वास्थ्य सेवा पाएका थिए ।
हामीले अस्पतालको काम रिकभरी सेन्टरको रुपमा सुरु गरेका हौं, अध्यक्ष पाबेल सीले भने, ‘कोभिड-१९ को दोस्रो लहरले नागरिकमा बेचैनी थियो । कोरोना कहरले हामीलाई पनि हैरान नपार्ने कुरै भएन । हामीले त्यतिबेला नजिकैको सुन्दरीडाँडा विद्यालयमा क्वारेन्टाइन सुरु गरेका थियौं तर केहि समयपछि क्वारेन्टाइनका कारणले विद्यालयमा पठनपाठन अस्तव्यस्त हुने देखिएपछि वैकल्पिक संरचना चाहिने महसुस गरेर जनस्वास्थ्य सेवा केन्द्र भन्दापनि यसलाई रिकभरी सेन्टरको रुपमा १ महिनाभित्र गर्नेगरी कामको थालनी गरेका थियौं । त्यतिबेला नै पार्टीका महासचिव विप्लवको दिमागमा जनस्वास्थ्य सेवा केन्द्रको योजना फुरेको थियो । काम गर्दै जाँदा जनस्वास्थ्य सेवा केन्द्र अब १५ शैय्याको अस्पतालमा विकास हुँदै गएको छ । यसले पार्टीको योजनाको स्प्रीड र जनताको आवश्यकताको बोध गहिरोगरि गरेको छ ।’
‘जनस्वास्थ्य सेवा केन्द्र पालिकाबाट दर्ता हुने प्रक्रियामा छ । हामीले केन्द्रलाई १५ शैय्याको अस्पतालको रुपमा विकास गर्ने सोचेका छौँ । हाम्रो उद्देश्य पश्चिम कपिलवस्तुका ग्रामीण जनतालाई आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्नु हो । सञ्चालनको विषयमा केहि सन्दर्भहरु छन् । दर्ता सम्पन्न भएपछि गाउँ भेला गरेर कम्युनिटी हस्पिटलको रुपमा अगाडि बढाउने हो । समुदाय स्तरमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर छलफल गर्ने सोच बनाएका छौँ । सरकारसंग पनि हामी छलफल गर्छौं ,’ निर्माण समितिका अध्यक्ष पाबेल सीले भने ।
‘जनहस्पिटलले केही गर्ला भन्ने आशामा नागरिक छन् । यसको रेखदेख गर्दा आनन्दको अनुभूति हुने गर्दछ । जनतालाई छिट्टै सेवा दिन पाए हुन्थ्यो जस्तो लाग्छ । हामी पार्टीको भरोसामा छौँ,’ जनस्वास्थ्य सेवा केन्द्रको रेखेदेखको जिम्मेवारी पाएकी कुसुम सीले भनिन् ।
हामीसंग कुरा गर्दै कुसुमले थन भनिन्– ‘अस्पतालप्रति जनताको प्रतिक्रिया राम्रो छ । छिटो अस्पताल बनोस् भन्ने नै छ । यो हस्पिटल खुल्यो भने राम्रो हुन्छ भनेर भन्नुहुन्छ । कहिले हस्पिटल खुल्छ भनेर सोधिरहनुहुन्छ ।
यहाँ आउँदा हामीले उत्पादन गरेका तरकारी टिपेर दिन्छु।
जनतासंग हाम्रो सम्बन्ध राम्रो छ । निशुल्क शिविरमा मान्छे धेरै आउनुभएको थियो । सबैको आशा अस्पताल खुलोस् भन्नेछ ।’
यता नेकपाले पार्टीको केन्द्रीय कार्यालय नै कपिलवस्तुको शिवगढीमा बनाएको छ । पार्टीले शिवगढी आसपासका क्षेत्रमा उत्पादन, नमुना निर्माण कार्यका कामहरुलाई प्राथमिकता दिएको छ ।
पार्टीले छाडा पशु चौपाया संरक्षण केन्द्र, जनस्वास्थ्य सेवा केन्द्र, सामना परिवारका लागि आवास भवन, कृषि उत्पादन लगाएतका कार्यलाई व्यवस्थित गरेको छ ।
यस्तै केन्द्रीय कार्यालयमा नेकपाले सी गार्मेन्ट उद्योग, विरजंग स्मृति पुस्तकालय सञ्चालन गरेको छ ।
सी गार्मेन्टको रेखदेखको जिम्मेवारी नेकपाका केन्द्रीय सदस्य संगम सीले गरिरहेका छन् । करिब ७ लाखको लागतमा पार्टीले गार्मेन्ट चलाइरहेको छ । यो गार्मेन्ट पनि पार्टीको आत्मनिर्भर उत्पादनको नीतिसंग जोडिएको छ । गार्मेन्टमा पार्टीका ९ जना नेताकार्यकर्ताले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नेकपाले भर्खरै सम्पन्न पार्टीको नवौं केन्द्रिय समितिको छैठौं बैठकमा आफ्नै गार्मेन्टको उत्पादन कोट पाइन्ट ड्रेसकोड केन्द्रीय समितिलाई अनिवार्य गरेको थियो ।
यता विरजंग स्मृति पुस्तकालय पनि करिब ५-७ लाख लगानीबाट सुरु गरिएको पार्टीका केन्द्रीय सदस्य एवम पुस्तकालयका सचिव सुन्दर सीले बताए ।
उनले भने– ‘यसको उद्देश्य पठन संस्कृतिको विकास गरि निष्ठावान, इमानदार नागरिक निर्माण गर्नु हो । हामीले सबै प्रकारका पुस्तकहरु राखेका छौँ । हामीसंग सौजन्य गरेका र आँफै खरिद गरेका पुस्तकहरु छन् । राजनीतिक, शैक्षिक, कृषि, उत्पादन, समाज विज्ञान, दर्शनशास्त्र, जिवनी, प्रकृति विज्ञान, जीव विज्ञान, मनोपरामर्श लगाएतका असंख्य पुस्तकहरु छन् ।’
पुस्तकालयका सचिव सुन्दर सीले पुस्तकालयलाई विकास गरि आम नागरिकले पढ्न पाउनेगरी सोचिएको समेत बताए ।
उनले पुस्तक सबै पढ्नुपर्ने तर सत्य र सहि जे हो त्यही गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् ।
नेता सुन्दरले पुस्तकालयका लागि पुस्तकहरु सौजन्य गर्न सबैलाई आग्रह गर्दै अब पुस्तकालयको आँफ्नै भवन निर्माण गर्ने सोचिएको बताए ।
विरजंग पुस्तकालयमा आजिवन सदस्यताका लागि १ हजार र साधारण सदस्यका लागि १ सय ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
विरजंग नेकपाका महासचिव विप्लव सीका सहोदर जेठा दाई हुनुहुन्छ । उहाँ तत्कालीन शिवगढी गाविसका अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको निधन नेकपा प्रतिबन्धित हुँदा जेल जीवनपछि उपचारको क्रममा भएको हो ।
यसरी विप्लव सी नेतृत्वको नेकपाले राजनीतिलाई उत्पादन, श्रम, संघर्ष र अनुसन्धानको स्कुलबाट परिचालन गरेको छ ।