७ फाल्गुन २०८१, बुधबार

कसैलाई ठूलो भाग दिन होइन, समाजवाद ल्याउन संविधान संशोधन गरौं : विप्लव

विपिन भण्डारी मेमोरीयल पार्क उद्घाटन तथा बेपत्ता योद्धा विपिन भण्डारीको सालिक अनावरण

0

सल्यान । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताएका छन् ।
३० औं जनयुद्ध दिवसका अवसरमा विपिन भण्डारी फाउण्डेसनले सल्यानको बागचौरमा आयोजना गरेको जनसभा कार्यक्रमलाई सम्बाेधन गर्दै महासचिव विप्लव सीले नेपाली जनतालाई अधिकार सम्पन्न गर्न संविधान संशोधन आवश्यक भएको बताएका हुन् ।
उनले कुनै राजनीतिक पार्टी कांग्रेस, एमाले, माओवादीलाई ठूलो भाग दिनको लागि संविधान संशोधन होइन नेपालमा समाजवाद वा जनताको गणतन्त्र बनाउनका लागि संविधान संशोधन जरुरी छ भने ।
‘एमाले, कांग्रेस, माओवादीलाई ठुलो भाग दिन होइन, समाजवादका लागि संविधान संशोधन गरौं’ महासचिव विप्लवले भने, ‘जनताको गणतन्ब बनाउन संविधान संशोधन गरौं, कसैले संविधान संशोधन गरौं भन्ने कसैले गर्न हुदैन भन्ने बहस गर्नु भन्दा जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँ ।’
महासचिव विप्लवले जनयुद्ध भनेको जनताको न्यायपूर्ण युद्ध भएको टिप्पणी गर्दै इतिहासप्रति इमान्दार नहुनेहरुले जनयुद्धको विरोध गरेको बताए ।
उनले जनयुद्धलाई हिंसा भन्ने बादलको बाेलीप्रति संकेत गर्दै इतिहासप्रति इमान्दार नहुने नेता ठग र बेइमानको बताए । महासचिव विप्लवले भने, ‘यो अपराधी कर्म हो । सत्य कुरा जनताको बिचमा भन्न नचाहने भनेको अपराध हो ।’
उनले जनयुद्धको समयमा आधार क्षेत्र राप्तीमा २३ वटा स्कुल, ५ वटा हस्पिटल,१९ वटा सहकारी, १ वटा बैङक, कम्युनहरु राम्रोसंग चलेको स्मरण गर्दै ती कोही पनि असफल नभएको दाबी गरे । उनले जनयुद्धको बेला जनसत्ताले रजिष्ट्रेसन पास गरेका घर जग्गाहरु गणतन्त्र नामको व्यवस्थामा उल्ट्याइएकोमा विरोध गरे ।
उनले अहिले कसैले जनयुद्धको बेला चलेका सहकारी स्कुलहरु असफल भएका थिए भनेर भ्रम छरिरहेका भन्दै त्यो कुरा सत्य भएको ठोकुवा गरे ।
उनले माओवादी भित्रका केही नेताहरु शान्ति प्रक्रियापछि सम्पति थुपार्ने र पैसा लुकाउने ठाउँमा पुगेर बिग्रेएको आफ्नै आँखाले देखेपछि उनीहरु नसच्चिदा आफूहरु नमिलेर अलग भएको बताए ।
जनयुद्धको सपना विपरित माओवादी बिग्रिनु नेपाली जनताका लागि धोका थियो महासचिव विप्लवले भने ।
‘जनयुद्धको समयमा विदेशीयका युवाहरु समेत नेपाल आउने अवस्था थियो, रोल्पाको सहिद मार्ग बनाउदा विदेशी समेत बाटो खन्न आएका थिए’ महासविच विप्लवले भने, ‘अहिले देशमा उल्टो भयो, सबै युवाहरु विदेशीन थाले, गाउँमा बुढाबुढी मात्र छन्, विदेशमा गएर अर्काको झाडु पुछा लगाउन तयार हुने तर नेपालमा श्रम गर्न नचाहने अवस्था भयो । यो बदल्नु पर्छ । यो राष्ट्रिय बहसको विषय बनाउनु पर्छ ।’
उनले चुनावमा भोटको व्यापार गर्ने र जनतालाई झुट्टा आश्वासन दिने नेता र पार्टीहरुप्रति जनता विश्वास गर्ने अवस्था नभएको बताए ।
उनले जनताले नयाँ तरिकाले सोच्ने बेला आएको भन्दै आफू झापादेखि सल्यानसम्म पुग्दा जनतामा एउटै पार्टी समातेर बस्ने अवस्था नभएको बताए ।
महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादको अन्त्य गरी नेपाली विशेषताको समाजवाद विना कुनैपनि समस्या समाधान नहुने जिकिर गरे ।
समाजवाद ल्याउने र जनताको व्यवस्था ल्याउने अभियानमा महासचिव विप्लवले एकपटक नेकपालाई विश्वास गरी साथ दिनसमेत अपिल गरे ।

३० औँ जनयुद्ध दिवसको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा  विपिन भण्डारी मेमोरीयल पार्क उद्घाटन तथा बेपत्ता योद्धा विपिन भण्डारीको सालिक अनावरण गरिएको छ । नेकपा महासचिव विप्लव र बेपत्ता याेद्धा विपिन भण्डारीका आमाबुवालगायत अन्य अतिथिहरुले शालिकमा माल्यार्पण गरेेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।