
गण्डकी/ म्याग्दीमा नेकपा र माओवादी केन्द्रले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका छन् । फागुन १ गते बिहिबारको ३० औँ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाएका हुन् ।
म्यादीको बेनी बजार माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट ब्युरो सदस्य राजन सीले जनयुद्दका उपलब्धीहरु रक्षार्थ सबै माओवादीहरु मोर्चाबन्दी हुनुपर्ने बताए । उनले केही व्यक्तिहरुले जनयुद्दलाई जनयुद्दको रुपमा नमान्दैमा त्यसको महत्व कम नहुने बताउदै माओवादीसहित विचार मिल्नेहरुलाई एक हुने सन्देश जनयुद्द दिवसले दिएको पनि बताए ।
यस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले जनयुद्द देशको राजनीतिक परिवर्तनको सबैभन्दा महत्वपूर्ण कडी भएको भन्दै अब सम्पूर्ण माओवादीहरु एक हुन जरुरी रहेको बताए ।
कार्यक्रममा सहिद परिवार गणेश शर्मा, जनप्रतिनिधिको तर्फबाट बेनी उपप्रमुख ज्योति लामिछाने, म्याग्दीको प्रदेश सांसद हरि भण्डारी, माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार चन्द्रबहादुर घिमिरे, नेकपाका केन्द्रीय सल्लाहकार धुब्रलाल सी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेकपाका जिल्ला सेक्रेटरी गोविन्द सीले सन्चालन गरेको कार्यक्रम माओवादी केन्द्रका जिल्ला सचिव कुशल अध्यक्षता गरेका थिए भने स्वागत नेकपाका केन्द्रीय सदस्य दीपा सीले गरेका थिए ।
जनयुद्ध दिवसको अवसरमा बेनी बजारमा दीप प्रज्वलन पनि गरिएको थियो ।
तत्कालीन नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मुद्दासहित वि.सं. २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् । माओवादी घटकहरुलाई एक हुन दबाब र सन्देश दिनका लागि जिल्ला स्तरमा दुईवटा दलले संयुक्त रुपमा जनयुद्ध दिवस मनाएका नेताहरुले बताएका छन् ।