
तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम दाङ शाखा तुलसीपुरमा फलफुल वितरण गरिएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर नगर कमिटीले नेकपाको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा आश्रममा फलफूल वितरण गरेको हो ।
नेकपाका केन्द्रीय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा आश्रममा बसिरहेका करिव ६० जनालाई ५ हजार रुपैयाँ बराबरको फलफूल वितरण गरिएको हो ।
फलफूल वितरण कार्यक्रममा बोल्दै नेता प्रदिप सीले जनताको आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले लिनुपर्ने बताए ।
उनले भने – ‘ यो आश्रम राज्यले चलाउनुपर्ने हो । मान्छेको सम्पूर्ण आधारभुत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी राज्यले लिनुपर्दछ । अहिले यो दलाल पुजीवादी सत्ताले नागरिकको आवश्यकता पूरा गर्न सक्दैन । हामीले यो सत्तालाई बदलेर समाजवादी सत्तामा रुपान्तरण गर्न आवश्यक छ । हामी कम्युनिस्टहरु हौं । आज नेकपा स्थापना दिवसको सन्दर्भ हो । हाम्रो पार्टी कम्युनिस्ट पार्टी स्थापना दिवसको सपना लक्ष्य पूरा गर्ने अभियानमा छ ।
कतिपय कम्युनिस्टहरु झुट, ढाँट, छल गरेर जनतालाई भ्रम छरेका छन् । मानिसको गाँस, बास, कपासको ग्यारेन्टी राज्यले गर्नुपर्दछ तर विडम्बना मानव सेवा आश्रम व्यक्तिले चलाउनुपरेको छ । यो नियति समाजवादले हल गर्दछ ।’
यस्तै नेता प्रदिपले नेपालको संकटपूर्ण राजनीतिक निकास केवल समाजवादले गर्ने भएकाले समाजका सबै तह र तप्का समाजवादको बहसमा भाग लिन अपिल गरेका थिए ।
उनले लेनिनको १५६औँ जन्म जयन्तीको सन्दर्भमा लेनिनको क्रान्तिकारी जिवन एवम योगदानहरुको चर्चा गरेका थिए ।
फलफुल वितरण कार्यक्रममा मानवसेवा आश्रम दाङका संयोजक हिरु जोशी, आश्रमका तुलसीपुर सचिव बिष्णुप्रसाद आचार्य, नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी, नेकपाका जिल्ला सचिवालय सदस्य दिपेन्द्र सी, बिष्णु सी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य एवम तुलसीपुरका सेक्रेटरी रुद्र सीले गरेका हुन् ।