सिन्धुली – नेपाल कम्युनिस्ट पार्टी (माओवादी)काे “समाजवादी युवा जागरण अभियान २०८२” देशभर चलिरहेको छ । पुस २० गते काठमाडौं, पूर्वकाे काकडभिट्टा र पश्चिमकाे कन्चनपुरबाट अभियान सुरु भएकाे थियाे ।
काठमाडौँबाट सुरू भएकाे अभियान ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दाेलखा, रामेछाप हुँदै सिन्धुली आइपुगेको छ । अभियानले जिल्ला सदरमुकाम तथा सहरी क्षेत्रमा नेकपा माओवादीले देखेकाे पछिल्लो राजनीतिक संकट र समाधानका विषय, भ्रष्टाचार नियन्त्रणका लागि चाल्नुपर्ने कदम लगायतलाई समेटेर तयार पारेकाे समाजवादी जागरण अभियान किन ? शीर्षकका पर्चाहरू वितरण गर्दै, काेणसभा गर्दै अगाडि बढिरहेको छ ।
शुक्रबार अभियान टाेलीले दाेलखाकाे कालिन्चोक डाँडामा पुगेर स्थानीय तथा भक्तजनलाई पर्चा वितरण गरेकाे थियाे । स्थानीयले पार्टीकाे नीतिलाई स्वागत गर्दै नेकपा माओवादीलाई एकपटक जनताले हेर्न चाहेकाे प्रतिक्रिया दिएका थिए । दाेलखा जिल्ला सेक्रेटरी राजकुमार सीसहित कालिन्चोक डाँडामा पुगेकाे टाेलीले समुन्द्री सतहदेखि ३८ सय मिटर उचाईंबाट समाजवादी सन्देश प्रवाह गरेकाे थियाे । कालिन्चोकबाट फर्किएकाे अभियान टाेलीले रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा पर्चा वितरण गर्दै काेणसभा गरेकाे थियाे । मन्थली बजार सुनकोसी किनारमै छ ।
काेणसभालाई सम्बाेधन गर्दै अभियान टाेली कमाण्डर सम्झना सीले आगामी निर्वाचनमा माओवादीलाई सहयाेग गर्न अपिल गरेकी थिइन् । विप्लव नेतृत्वको माओवादी आजसम्म परीक्षण नभएकाे, जनताकै आग्रहमा संघर्षकाे माेर्चाकाे रूपमा चुनाव प्रयोग गर्न लागेकाे बताउँदै एक पटक माओवादीलाई गुलाफ चिन्हमा मतदान गरेर जिताउन अपिल गरेकी थिइन् ।
अमेरिकी साम्राज्यवाद विभिन्न तरिकाले नेपालमा आइरहेको बताउँदै उसकाे पन्जाबाट देशलाई मुक्त गर्न, एमसीसी खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न माओवादीलाई याे पटककाे चुनाव जित्नुपर्ने उनको तर्क थियो । उनले चुनाव नजिते पनि माओवादी अरू पार्टी जस्ताे निराश नहुने बताउँदै देश जित्नका लागि संघर्ष जारी रहने उद्घोष गरिन् । उनले नेकपा माओवादी आत्मनिर्भर पार्टी, आत्मनिर्भर नेता/कार्यकर्ता, आत्मनिर्भर देश बनाउने अभियानमा जुटेको स्मरण गर्दै चुनाव जित्नु माओवादीका लागि मुख्य विषय नभएकाे बताइन् ।
काेणसभाकाे संचालन अभियान टाेलीका सदस्य पदम सीले गरेका थिए भने कार्यक्रमकाे समापन रामेछाप जिल्लाका नेता तिर्थ सीले गरेका थिए । अभियान टाेलीमा सम्झनासहित काजी सी, प्रकाश सी, अनिल सी, पदम सी, दिनेश सी, विनिता सी, तारा सी, ओजन सी र शाेभराज सी रहेका छन् ।



