अहिले नेपालको राजनीति आवधिक संसदीय निर्वाचनको हल्लाखल्ला र चर्चापरिचर्चाले तातेको छ । संसदीय राजनीतिक पार्टीहरु र तीनका नेताहरु चुनावी जोडघटाउमा व्यस्त छन् । राजनीतिक विश्लेषक र विश्वविद्यालयका प्राडाहरुलाईपनि गठबन्धन, टुक्रे गठबन्धन, महागठबन्धन र एन्टिगठबन्धनका कारण आउन सक्ने काल्पनिक चुनावी परिणामको व्याख्या र विश्लेषण गर्न भ्याईनभ्याई छ । प्रदेश र संघमा पार्टीबाट टिकट पाएकाहरु पmेरी बनावटी कथा र झुटका पुलिन्दा बोकेर गाउँ पसेका छन् भने टिकट नपाएकाहरुको रुवाबासी, छटपटी, पार्टीप्रतिको घातप्रतिघातको विचित्रको चित्र देखापरिरहेका छन् । आफ्नाले आफ्नालाई हराउने, नेताकार्यकर्ता किनबेच, सोझा जनताको जनमतको मोलमोलाई जस्ता शृङ्खलाहरु देखिन त अझै बाँकि नै छ । एकातिर संसदीय राजनीति यस्ता प्रक्रियाबाट गुज्रिरहेको सन्दर्भमा दलाल पुँजीवादी संसदीय व्यवस्थाको विरुद्धमा विद्रोह गरिरहेको नेपाल कम्युनिष्ट पार्टी भने आफ्नो नवौं महाधिवेशनमा केन्द्रीत रह्यो ।
देशै भरीबाट करिब ७०० को हाराहारीमा प्रतिनिधि, पर्यवेक्षक सहभागि भएको ऐतिहासिक नवौं महाधिवेशन देश विदेशमा रहेको सबै श्रमजीवि, क्रान्तिकारीहरुको लागि त महत्वको विषय नै हुनेभयो । प्रतिक्रियावादी शक्ति र यथास्थितिवादीहरुले समेत रामैसँग नियालेको हुनुपर्दछ । महाधिवेशनमा रणनीतिक संयुक्त मोर्चामा रहेका मित्रशक्तिहरु नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, नेकपा माओवादी (समाजवादी) का शीर्षस्थ नेताहरुले गरेको शुभकामना सम्बोधन, अन्तराष्ट्रिय भाइचाराहरु चिनियाँ कम्युनिष्ट पार्टी, इटालियन कम्युनिष्ट पार्टी, जर्मन कम्युनिष्ट पार्टी, फिलिपिनी कम्युनिष्ट पार्टी र बङ्गलादेशको कम्युनिष्ट पार्टीले पठाएको शुभकामना सन्देशले पनि महाधिबेशनको सौन्दर्य र ओज बढाउने काम गर्यो ।
प्रतिनिधि पर्यवेक्षकहरुलाई विभिन्न २० वटा समुहमा विभाजन गरेर महाधिवेशन आयोजक समितिका तर्फबाट महासचिव कमरेड विप्लवले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, विद्यान र आयोजक कै तर्फबाट कमरेड विषमले प्रस्तुत गरेको जातिय मुक्तिको प्रश्न सम्बन्धि प्रस्तावमा उच्च जनवादी अभ्यास गर्नुले पार्टीले आन्तरिक जनवाद÷लोकतन्त्र÷प्रजातन्त्रको बलियो दलिल प्रस्तुत गरेको छ । असोज २५ देखि कात्तिक २ गतेसम्म चलेको महाधिवेशनले आम बामपन्थी, कम्युनिष्ट क्रान्तिकारी, राष्ट्रवादी र सबै श्रमजीवि उत्पिडित समुदायमा महत्वपूर्ण सन्देशहरु प्रवाह गरेको छ ।
१. आत्मनिर्भरता
नेकपाले ९ दिनसम्म चलेको आफ्नो नवौं महाधिवेशन आफ्नै केन्द्रीय कार्यालमा भव्य र शानदार रुपमा सम्पन्न गर्यो । महाधिबेशनमा प्रयोग भएका विज्ञान, प्रविधि देखि लिएर सुरक्षा, स्वयम्सेवक, अतिथि व्यवस्थापन देखि मेशसम्म आउँदा सबै आफ्ना जनशक्तिहरु मात्र परिचालित भए । करिब ८०० जनालाई ९ दिनसम्मको कार्यक्रममा पाँच वटा मेसमा आफ्नै कम्युनले उत्पादन गरेको खसी, बुङ्गुर, माछा कुखुराको मासु र अन्य तरकारीको व्यवस्थापन भयो । जुन अहिलेको अवस्थामा नेपालको कुनै पनि पार्टीले गर्न नसकेको कार्य हो । पार्टीले लगाएको धान खेतीको केही अंश महाधिवेशनको क्रममा काट्ने कार्य समेत भएको छ । यसले श्रमप्रति पार्टीको दृष्टिकोण के हो भन्ने कुरा प्रष्ट पारेको छ ।
२. नयाँ पुस्ताको आकर्षण
महाधिवेशनमा सहभागि मध्ये ७५ प्रतिशत बेशी युवाहरुको सहभागिता रहेको थियो । राजनीतिबाट वितृष्णा फैलिएको नेपाली समाजमा, अवसरवादले छपक्क छोपेको समयमा युवाहरु समर्पण भावसहित आन्दोलनको मैदानमा उत्रने कुरा सामान्य होइन । पार्टीमा नयाँ पुस्ताको आकर्षणले क्रान्तिको भविष्यलाई निकट ल्याईदिएको छ । महाधिवेशनले सबैमा आशा र विश्वासको रक्त सञ्चार गरेको छ । राजनीतिको प्रयोगवादी सिद्धान्तलाई माथ खुवाउँदै नेकपाको महाधिवेशनले क्रान्तिकारी उत्तराधिकारीहरुको ठुलो डब्फा तयार पारेको छ ।
३. भ्रमको अबसान
कार्यनीतिक सवाललाई लिएर विप्लवहरु संसदवादी भयो भनेर चिच्याई चिच्याई गित गाउनेहरु, अबत हामै्र लाइनमा आयो नि भनेर गदगद हुने अवसरवादीहरुलाई नवौ महाधिवेशन गतिलो झापड साबित भएको छ । एउटै समयमा पनि दुई कार्यनीति आउन सक्दछ, कार्यनीतिको विषय परिस्थिति अनुसार २४ घण्टा मै परिवर्तन हुन सक्दछ भन्ने कुरा बुझ्न गाह्रो परेर मुर्छित परेकाहरु र अहिलेसम्म पनि नबिउँझिएकाहरुलाई महाधिबेशनले भ्रममुक्त गरिदिएको छ र सुन्दर बिहानिको सचेत विगुल फुकिइदिएको छ ।पार्टी र नेतृत्वप्रति फैलाएका अफबाह र जालीझेली भ्रमका पर्दाहरु एकीकृत जनक्रान्तिको अस्त्रले धुजाधुजा पारिदिएको छ ।सत्यको अगाडि षड्यन्त्र परास्त भएको सन्देश देशभर फैलिएको छ ।
४. नयाँ प्रयोग
पार्टीको नवौं महाधिवेशनमा केही नयाँ प्रयोगहरु भए । जस्तैः समूह निर्माण गर्दा पूर्व—पश्चिम, उत्तर—दक्षिण, प्रवास—युरोप, अन्तराष्ट्र र भुगोल, भुगोल र विभाग आदिको सम्मिश्रण गर्नुले नयाँ अनुभूति र बहस, छलफल, अन्तरक्रियासहित राम्रो प्रभाव परेको छ भने सङ्गठनको क्षेत्रमा क्रमभङ्गता नै भएको छ । केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिमा जिल्लाले सिफारिस गर्ने विधिको महाधिवेशनले नविन अभ्यास गर्यो । जुन परम्परागत साङ्गठनिक विधिको विपरित थियो ।अव दिन गनेर मात्र गरिने मुल्याङ्कन प्रणालीको अन्त्य भएको छ । पार्टीको केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य र केन्द्रीय प्रतिनिधि समितिमा नयाँ युवाहरुको प्रवेशले उत्तराधिकारी दस्ता निर्माणमा पार्टी र नेतृत्व सचेत छ भन्ने कुरा प्रमाणित भएको छ । महाधिबेशनले केन्द्रीय प्रतिनिधि समितिको नयाँ प्रयोगमा पार्टीलाई लगेको छ । जसको मुख्य उद्देश्य क्रान्तिको लागि क्षमताहरुको केन्द्रीकरण गर्नु हो । पार्टीको योजनालाई महासचिव (केन्द्रीय कार्यालय) कै प्रत्यक्ष निर्देशन र अनुगमनमा केन्द्रीय प्रतिनिधिको रुपमा फिल्ड मार्सलको भूमिका पुरा गर्नु हो ।
५. महत्वपुर्ण संश्लेषणहरु
नेकपाको नवौं महाधिवेशनले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद तीनवटै क्षेत्रमा नयाँ संश्लेषणहरु गरेको छ । पुँजीवादको आजको चरित्र, नेपाली समाजको वर्ग चरित्रजस्ता विषयहरुमा पनि महाधिवेशनले संश्लेषण गरेको छ । आजको पुँजीवादको मुल चरित्र भुमण्डलिकृत र साम्राज्यवादी रहेकाले भुमण्डलीकृत पुँजीवाद पदावली सही रहेको महाधिबेशनको निस्कर्ष रहेको छ । दर्शनमा अनिश्चय, रक्षा र रुपान्तरणको संश्लेषण महाधिबेशनले गरेको छ भने एकीकृत स्वामित्व र एकीकृत निर्वाचन प्रणालीको संक्रमणकालीन व्यवस्था,सङ्गठनमा मास र क्याडरको संयोजनजस्ता महत्वपूर्ण सावालहरु महाधिवेशनले पारित गरेको छ । त्यस्तै गरी तथ्यद्वारा सत्य पत्ता लगाउने विधिबाट पार्टीमा र आन्दोलनमा नेताकार्यकताको रुपान्तरण गर्ने निस्कर्ष महाधिवेशनले दिएको छ भने पुँजीवाद साम्राज्यवाद विरोधी शक्तिहरुको बलियो कम्युनिष्ट अन्तराष्ट्रिय गठनको विषयमा महाधिवेशनले महत्वपुर्ण निर्णय गरेको छ । नेपालमा समाजवादी क्रान्तिका लागि एकीकृत जनक्रान्तिको कार्यदिशा, वैज्ञानिक समाजवादी राजनीतिक कार्यक्रम नै वस्तुवादी रहेको महाधिबेशनको निस्कर्ष छ ।
६. पार्टीले गरेका महत्वपुर्ण घोषणाहरु
नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिबेशनले केही महत्वपूर्ण प्रतिबद्धता र घोषणहरु गरेको छ । व्यापक छलफल र बहस पश्चात महाधिबेशनको समापन सत्रको क्रममा महासचिव विप्लबले गरेका महत्वपूर्ण र समसामयिक प्रस्तावहरु एक मतले पारित भयो । मंसिर ४ गते हुन गईरहेको संसदीय निर्वाचनलाई सशक्त खारेज गर्ने, कम्युनिष्ट पार्टीका सबै नेताकार्यकर्ताहरुले दुई महिनाको एक पटक अनिवार्य भौतिक श्रममा भाग लिनु पर्ने, पार्टी नेताकार्यकर्ताहरुले आफ्नो नामको पछाडि कुनै पनि जात झल्किने गरी थर लेख्न नपाउने र सी अर्थात साम्यवादी लेख्नुपर्ने प्रस्ताव हलले गडगडाहट ताली सहित अनुमोदन गर्यो । पार्टी महाधिबेशनले गरेका यी महत्वपुर्ण घोषणाहरु क्रान्तिकारी आन्दोलनमा दुरगामी महत्वको रहेको छ ।
७. आठौं महाधिबेशनसम्मको सिंहावलोकन
ऐतिहासिक नवौं महाधिवेशनले आठौं महाधिवेशनदेखि नवौं महाधिवेशनसम्मको समिक्षा गरेको छ । यो अवधिमा पार्टीले अङ्गिकार गरेको एकीकृत जनक्रान्तिको कार्यदिशा सफल रहेको, जनसङ्घर्ष र जनप्रतिरोधको कार्यनीतिले राष्ट्रिय स्वाधीनताको आन्दोलनमा पार्टीको मुख्य भूमिका स्थापित भएको, सहि कार्यदिशा, कार्यनीति र नेतृत्वकै कारण पार्टीमाथिको प्रतिबन्दमा विजय हासिल गर्न सफल भएको, पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउन सफल भएको र पार्टी सुदृढिकरणको प्रक्रियामा रहेको महाधिवेशनले निस्कर्ष निकालेको छ । हामीले सरकारी प्रतिबन्ध र हाम्रा कार्यशैलीगत समस्याहरुबाट शिक्षा ग्रहण गर्दै तथ्यद्वारा सत्य पत्ता लगाउने विधिसहित सहयोद्धाहरुलाई रुपान्तरण गर्दै आन्दोलनको नयाँ मोर्चामा हाम फाल्ने प्रण महाधिवेशनले गरेको छ । यसले त्याग, समर्पण, र बलिदानसहितको सङ्घर्षको सन्देश बोकेको छ ।
८. विश्व कम्युनिष्ट आन्दोलन र नेपाली कम्युनिष्ट आन्दोलनको समिक्षा
१९ औ शताब्दीको चालिसको दशकमा माक्र्स एङ्गेल्सले लेखेको कम्युनिष्ट पार्टीको घोषणापत्र, त्यो समयको दर्शन, राजनीतिक कार्यक्रम, सङ्घर्षको तरिकाले मात्र आजको २१ औं शताब्दीको बस्तुस्थिति र विकसित मनोविज्ञानलाई पकड्न नसक्ने ठहर महाधिवेशनले गरेको छ । आजको विज्ञान र प्रविधिले गरेको चामत्कारिक विकास, पुँजीवादी साम्राज्यवादीहरुको विकसित नयाँ रणनीति, हाल विश्वमा देखा परेका समवर्गीय सङ्घर्ष र राजनीतिक सङ्घर्ष, बहुध्रुवको विकास जस्ता विषयहरुले पनि समाजविज्ञानले नयाँनयाँ अनुसन्धानको माग गर्दछ । सोभियत संघको विघटन, चिन, उत्तर कोरिया, क्युवा, भियतनाम, लाओस लगायतका देशहरुले लागु गरेको आफ्नो माटो अनुसारको समाजवाद जस्ता विषयहरुले कम्युनिष्ट अध्येताहरुलाई गम्भिर खोजको प्रक्रियामा अगाडि बढ्नुपर्ने त भएको नै छ विश्वमा समाजवादका असफलताको मुख्य कारण माक्र्सवादलाई जडतामा बुझ्नु र समयानुकुल विकास गर्न नसक्नु रहेको समिक्षा महाधिवेशनले गरेको छ ।
त्यस्तै नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य समस्या आफ्नो जनमतलाई सही ढङ्गले प्रयोग गर्न र सङ्गठित गर्न नसक्नु, दक्षिणपन्थी संसोधनवादी अवसरवादमा आन्दोलनका नेतृत्वहरु नै पुग्नु, चरम निषेधवादी प्रवृत्ति हुनु, कार्यनीतिलाई रणनीतिमा बदल्नु आदि प्रमुख रहेका छन् भने कम्युनिष्टहरुको बलियो जनाधार, लोकप्रियता जस्ता पक्षले एकीकृत कम्युनिष्ट आन्दोलनको सम्भावनालाई जिवितै राखेको छ । पार्टीको नवौं महाधिवेशनले कार्यनीतिक सहकार्य, संयुक्त रणनीतिक मोर्चा र ध्रुवीकरणको ढोकालाई खुला गरेको छ ।
निस्कर्ष
ऐतिहासिक नवौं महाधिवेशनले क्रान्तिकारी पार्टीेको आन्तरिक पंक्तिको सुदृढीकरण गर्नुका साथै सामाजिक अन्तरविरोधहरुको राम्रोसँग चिरफार गरेको छ । आम युवा, विद्यार्थी, श्रमजीवि र उत्पीडित समुदायहरुमा क्रान्तिकारी भावना पैदा गरेको छ । पुँजीवादी संसदीय व्यवस्थाको अन्त्य र समाजवादी व्यवस्था स्थापनाको लागि क्रान्ति अनिवार्य छ र त्यसको नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले गर्छ भन्ने बलियो सन्देश प्रवाह महाधिवेशनले गरेको छ ।
पार्टीमाथिको आन्तरिक र बाह्य सबै आक्रमणहरु फगत साबित भएका छन् । आवेग, इष्र्या, उत्तेजना, महत्वकाङ्क्षा, षड्यन्त्र र हल्लाखल्लाले पार्टी बन्न नसक्ने र क्रान्ति गर्न झनै नसकिने तथ्य नै सत्य हो । तसर्थ नवौं महाधिवेशन सङ्गठन, सङ्घर्ष, प्रतिस्पर्धा, नयाँ शंस्लेषणको हिसाबले क्रान्तिकारी आन्दोलनको लागि एउटा कोसेढुङ्गा साबित भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व वैज्ञानिक समाजवादी क्रान्तिका लागि निर्विकल्प बन्दै गएको छ । हाम्रा नयाँ संश्लेषण र यात्रामा पक्कै थुप्रै चुनौतिहरु आउनेछ । क्रान्तिको दौरानमा हामीलाई सबै खाले चुनौतिहरु स्वीकार्य छ । एकीकृत जनक्रान्तिमार्फत सबै प्रकारका चुनौतिहरुलाई परास्त गर्ने सन्देश ऐतिहासिक नवौं महाधिवेशनले दिएको छ ।
काजी सी
( कास्की जिल्ला सेक्रेटरी)