३ आश्विन २०८१, बिहीबार

नेकपाद्वारा हस्तक्षेपकारी अमेरिकी चलखेलविरुद्ध लुम्बिनी प्रदेशव्यापी विरोध प्रदर्शन सम्पन्न

0

दाङ । नेपाल कम्युनिस्ट पार्टीले हस्तक्षेपकारी अमेरिकी चलखेलविरुद्ध लुम्बिनी प्रदेशभरी विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार नेकपा लुम्बिनी प्रदेशको कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लाहरुमा एमसीसी सम्झौताविरुद्ध विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।

नेकपाका स्थायी कमिटी सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले पार्टीले सुरुदेखि नै राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध संघर्ष चलाइरहेको बताउदै पछिल्लो समय एमसीसी संसदबाट लागू गर्ने सन्दर्भमा अमेरिकी सैन्य चलखेल छर्लङ्ग हुने गरि देखिएकाले पार्टीले एमसीसी परियोजनालाई कुनैपनि हालतमा रोक्ने उदेश्यसहित संघर्षलाई पुनः उठान गरेको बताए ।

यस्तै पार्टीको लुम्बिनी प्रदेश कमिटीको निर्णय अनुसार तय गरिएको संघर्षको कार्यक्रमलाई प्रदेश अन्तर्गतका सबै जिल्लाले कार्यान्वयन गरेको नेता विषम सीले जानकारी दिए ।

यस्तै नेकपा दाङले पनि जिल्लाका तुलसीपुर, घोराही, भालुबाङ र गढवामा हस्तक्षेपकारी अमेरिकी चलखेल विरुद्ध विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा तुलसीपुर उपमहानगर समितिको आयोजनामा आयोजित विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले अमेरिकाले एमसीसीमार्फत यो मुलुकलाई बर्बाद बनाउन खोजेको स्पष्ट भएको ठोकुवा गरे ।

उनले भने – ‘ एमसीसी सम्झौता राष्ट्रघाती हो भन्ने कुरा पटकपटक पुष्ठि भइरहेको छ । हामीले पहिलेदेखि भन्दै आएका हौं कि यो सम्झौता देश र जनताको पक्षमा छैन । अमेरिकाले अहिले एमसीसीको नाममा हाम्रो देशका हवाई अड्डामा ठुलाठुला विमानमा सैन्य खरखजना ओसारपसार गरिरहेको छ । नेपालको अहिलेको यो दलाल पुजीवादी संसदीय व्यवस्थाका चाटुकारहरुले अमेरिकाको गुलाम बन्दै बिना चेकजाँच अमेरिकन जहाँजमा आएका शंकास्पद सामानलाई निर्वाध अमेरिकी दूतावासमा प्रवेश गराइरहेका छन् । एमसीसी सम्झौता सहयोगको नाममा गुलियो बिष हो भन्ने कुरा प्रमाणित भएको छ । नेपाली जनताले एमसीसी सम्झौताको खारेजी चाहेका छन् , हामीले त्यसको अगुवाइ अन्तिमसम्म गर्छौं जबसम्म यो परियोजना पूर्ण रुपले खारेज हुदैन ।’

नेता प्रदिपले एमसिसी सम्झौता लागू गर्ने अमेरिकाले कुचेस्टा गरे नेपालमा नेकपाले भयानक प्रतिरोध गर्ने समेत बताएका हुन् ।

यस्तै विरोध प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सीले संसदीय व्यवस्थाका दलालहरुका कारणले वैदेशिक हस्तक्षेप बढेकाले नेपाली जनतालाई समाजवाद प्राप्तिका लागि पार्टीले संगठित गरिरहेको बताए ।

उनले नेपालको संसदीय सत्ताको संकट नेपाली विशेषताको समाजवादले मात्रै हल गर्ने भएकाले पार्टीले समाजवादको प्रस्तावसहित राजनीतिक कार्यक्रम अघि बढाएको दाबी गरे ।

विरोध प्रदर्शनपछिको कोणसभाको सहजीकरण नेकपा दाङका कार्यालय सदस्य एवम तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।