३ आश्विन २०८१, बिहीबार

नेकपा दाङले विभिन्न विद्यालयमा सरसफाइ गर्दै मनायो प्रत्येक महिना मनाउने ‘रचनात्मक डे’

0

दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले विभिन्न विद्यालयमा सरसफाइ गर्दै ‘रचनात्मक डे’ मनाएको छ ।
जिल्ला पार्टीको निर्णय अनुसार नेकपाले प्रत्येक महिनाको अन्तिम शुक्रबार रचनात्मक डे मनाउने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेकपा दाङले भदौ महिनाको अन्तिम शुक्रबार आज दाङका विभिन्न पालिकाका सरकारी विद्यालयमा सरसफाइ कार्यक्रमको आयोजना गरि रचनात्मक डे मनाएको हो ।

पार्टीले घोराही -२ को गंगा मा. वि., तुलसीपुर -१८ स्थित जनता संस्कृत माध्यामिक विद्यालय, तुलसीपुर -३ स्थित सरस्वती माध्यमिक विद्यालय दमारगाउँ, राप्ती गाउँपालिका -१ भालुबाङको स्वर्गद्वारी प्रा.वि. तथा गृहणी आदरभुत विद्यालय र शान्तिनगर गाउँपालिकाको बुद्ध मा.वि. शान्तिपुरमा सरसफाइ गर्दै रचनात्मक डे मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिए ।

सरकारी विद्यालयको सरसफाइ कार्यक्रममा पार्टीका सबै तहका नेताकार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

तुलसीपुर -१८ को जनता संस्कृत मा.वि.मा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सीले पार्टीको यो अभियान नौलो र अति उपयोगी रहेको बताए ।

उनले भने– ‘ यो फोहोरको सरसफाइ मात्रै होइन पुरानो सत्ताको सरसफाइ गर्ने अभियान पनि हो । सार्वजनिक स्थल, घरपरिसर सफा गर्दै पर्यावरणीय सुरक्षामा ध्यान दिन सके मात्र सरसफाइ युक्त समाज निर्माण हुन सक्छ । त्यसका साथसाथै हामीले यो बुर्जुवा सत्ताको पनि अन्त्य गर्न आवश्यक छ, यो सत्ता फोहोरको डंगुरभन्दा कम छैन । संसदीय सत्ताले नेपाली जनतालाई रोगी बनाइरहेको छ त्यसकारण यसको सरसफाइ पनि अति आवश्यक बनिरहेको छ । यो सत्ताको विकल्प भनेको समाजवादी सत्ता नै हो ।’

यस्तै कार्यक्रममा बोल्दै विद्यालयका प्रअ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षले नेकपाको यसप्रकारको अभियान सकारात्मक रहेकाले निरन्तरताको कामनासहित धन्यवाद ज्ञापन गरेका थिए ।

सरसफाइ कार्यक्रमको सहजीकरण पार्टीका तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी रुद्र सीले गरेका थिए ।

नेकपा दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबार मनाउने रचनात्मक डे कार्यक्रमलाई निरन्तर कार्यान्वयन गर्दै तेस्रो हप्ताको कार्यक्रम समेत सम्पन्न गरेको छ ।

पार्टीले आगामी असोज महिनाको ‘रचनात्मक डे’ लाई अझ प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।