१६ बैशाख २०८१, आईतवार

समाजवादी व्यवस्थाभित्र हुने समाजवादी शिक्षाले मात्र सारा समास्याकाे हल गर्छ : मदन सी

0

(अखिल (क्रान्तिकारी) काे २३ औं राष्ट्रिय सम्मेलन यही  फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुन गइरहेको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगिरहेकाे छ ।  यसैक्रममा सम्मेलनकाे तयारी, संगठनकाे आगामी नीति, याेजना बारे अनेरास्ववियू (क्रान्तिकारी) का बागमती कमाण्ड इन्चार्ज मदन सीसँग जनपत्रिका डट्कमले गरेको संक्षिप्त कुराकानी ।)

 

१. मदनज्यू तपाई नेतृत्वमा रहेको स्थानमा नै अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन हुँदैछ, तयारी कस्तो भइरहेको छ त ?

हजुर हो सर्वप्रथम यो अवसर प्रदान गर्ने सम्मेलन आयोजक समितिका संयोजक र केन्द्रिय समितिलाई विशेष धन्यवाद दिन चाहन्छु! गौरवशाली संगठनको २३ औं राष्ट्रिय सम्मेलन ११ वर्ष पछाडि काठमाडौं हुँदैछ, यो हाम्रा लागि ठूलो अवसरको विषय पनि हो जस्तो लाग्छ । यसको तयारी सबै हिसाबले उत्साहपूवर्क ढंगले भइरहेको छ, हाम्रो सन्दर्भमा भन्दा हामीले बागमति कमाण्ड अन्तर्गतका १७ जिल्ला मध्य १३ जिल्लाको सम्मेलन र २ वटा जिल्लाहरुको भेला भव्यतापूवर्क सम्पन्न गरेका छौं बाँकी रहेका जिल्लाहरुको पनि सम्मेलन अगाडि नै हुँदैछ, उद्घाटनका लागि मासको उपस्थितिदेखि व्यवस्थापनलगाएत अन्य जिम्मेवारी पनि रहेकाले कामको अलि चाप नै छ समग्र भन्दा सम्मेलनको तयारी राम्रो हुँदैछ भन्नु पर्छ ।

२. उद्घाटन कहाँ कति बेला हुँदैछ ?

सम्मेलनको उद्घाटन प्रदर्शनी मार्गमा रहेको बालमिकी क्याम्पसको प्राङ्गणमा दिउँसो १ बजे गर्दैछौं ।

३. स्वदेशको को को र विदेशबाट पनि अतिथिहरु आमन्त्रण गर्नु भएको छ ?

हजुर हो हामीले सम्मेलनको उद्घाटनमा सत्रमा शुभकामना दिनका लागि मित्र संगठनका अध्यक्षहरुलाई निमन्त्रणा गरेका छौं भने विदेशमा पनि हाम्रो संगठनहरुलाई शुभकामनाका लागि आमन्त्रण गरेका छौं हेरौं सबैले शुभकामना दिन आउने कुरा जनाउनु भएको छ ।

४. सम्मेलनमा प्रतिनिधि पर्यवेक्षक कति भाग लिने छन् ?

हामीेले संगठनको सातौं पूर्ण बैठकबाट जिल्लाहरुको वर्गीकरण गरेर पठाएका छौं त्यसै अनुसार हिसाव गर्दा करिब ४०० प्रतिनिधि र २०० परिवेक्षक गरी ६०० जना विद्यार्थी नेताहरुको सहभागिता रहने छ ।

५. सम्मेलन कति दिन चल्छ ? बन्द सत्र कहाँ गर्दै हुनुहुन्छ ? 

सम्मेलन फाल्गुन ६ देखि ९ गते­सम्म ४ दिन चल्छ उद्घाटन बाहेक बन्द सत्र ३ दिन हुने छ यो नेपालको पुरानो त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा हुनेछ ।

६. जुलुस र सभा पनि हुन्छ कि हुँदैन ? जुलुस हुने भए कहाँबाट हुन्छ ?

हो जुलुस र सभा हामी दशौं हजार विद्यार्थीहरुको सहभागितामा गर्दैछौं, हाम्रो जुलुस प्रर्दशनसहित त्रिपुरेश्वर र सुन्धाराबाट गर्ने तयारीमा छौं ।

७. प्रतिनिधि, परिवेक्षकको बासको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ?

सम्मेलनको सम्पूर्ण व्यवस्थापन हामीले विभिन्न विभागहरु बनाएर गरेका छौं त्यस अन्तर्गतको व्यवस्थापन उपसमितिले आवास लगाएतका महत्वपूर्ण कामहरुमा प्रत्यक्ष जोडिएर व्यवस्थापन सम्बन्धी पाटो मिलाइएको छ ।

८. विधान र प्रतिवेदन लेखनको काम सम्पन्न भयो त ? 

हजुर विधान प्रतिवेदन लेखनको काममा संगठनका सम्मेलन आयोजक समितिका संयोजकको नेतृत्वमा बनेको उपसमितिले सम्पन्न गरेको छ त्यो उपसमितिमा रहेर हामीले महत्वपूर्ण सल्लाह सुझावहरुसहित छलफल गरिरहेका छौं ।

९. जिल्ला सम्मेलनहरु कति वटा जिल्लाहरुमा सम्पन्न भए त ? 

हाम्रो कमाण्डको सम्मेलनहरुको विषयमा मैले अघि नै बताइसकेको छु जहाँसम्म देशभर कति भए भन्नु भएको हो भने हिजो मात्र हाम्रो तयारी बैठक बसेको थियो, बैठकको जानकारी अनुसार देशभर उत्साहपूर्वक ७० भन्दा बढि जिल्लाहरुमा सम्मेलनहरु सम्पन्न भएका छन् र यो क्रम ४ गतेसम्म जारी रहने छ यसरी हेर्दा हाम्रो सम्मेलन भेलाहरु करिब सबै जसो जिल्लाहरुमा हुने देखिएको छ ।

१०. सम्मेलनको उद्घाटन कसले गर्दै हुनुहुन्छ ?

सम्मेलनको उद्घाटन नेपाली यूवा विद्यार्थीहरुले अत्यन्तै आशा र भरोसा गरेको हामी यूवा विद्यार्थीहरुलाई उर्जा भर्ने नेपाली क्रान्तिका नायक, एकिकृत जनक्रान्तिका प्रस्तावक नेपाली विशेषताका परिकल्पनाकार नेपाल कम्यूनिस्ट पार्टीका आदरणीय महासचिव कमरेड विप्लवबाट हुँदैछ ।

११. अहिलेको शिक्षा क्षेत्रको समस्या के हो ? र यसलाई कसरी हल गर्न सकिन्छ ?

निकै महत्वपूर्ण प्रश्नका लागि धन्यवाद हजुरलाई मुख्यत: आजको शिक्षा क्षेत्रको समस्या भनेको शिक्षामा भएको निजीकरण र व्यापारीकरणको समस्या नै मुख्य हो, नेपालको संविधानले नै शिक्षालाई मौलिक अधिकार भनेको छ तर साम्राज्यवादीहरुको डिजाइनमा नेपालका दलाल शासकहरुले यो क्षेत्रलाई भाडाका मान्छे तयार गर्ने र केहि मुठ्ठीभर शैक्षिक माफियाहरुलाई लुटको स्वर्ग बनाउने गरि खुल्ला छोडिदिदा आज क्षेत्र निकै विकृत जस्तो भएको छ जुन हाम्रा लागि दुखद छ यसको समाधान भनेको अहिलेको दलाल सत्ताको उन्मुलन गर्नु हो जसका लागि हामी थप संगठित भएर यो बेथितिका विरुद्ध संघर्ष गर्दै आइरहेका छौं यो निरन्तर जारी छ, हामीले भन्दै आइरहेका छौं कि यो सत्ता र शिक्षा रहेसम्म नेपाली यूवा विद्यार्थीहरुले निकास पाउन सक्दैनन् त्यस कारण अहिलेको सत्ताको विकल्प वैज्ञानिक समाजवाद र त्यो समाजवादी व्यवस्थाभित्र हुने समाजवादी शिक्षाले मात्र यो सारा समास्या हल गर्न सकिने हुदाँ यसको लागि संगठित र संघर्ष गर्नु हाम्रो मुख्य काम हो ।

१२. नेपालबाट विदेश पढ्न जानेको संख्या धेरै छन् यसलाई रोक्न तपाई संगठनको नीति के रहेको छ ? 

यूवा विद्यार्थी विदेशीनु निकै पिडादायिक कुरा हो , हाम्रो संगठन यो विषयमा निकै गम्भिर पनि छ हामीले भन्दै आइरहेका छौं कि यो शिक्षा नीति रहेसम्म हाम्रो यो अवस्था रहिरहने छ त्यसकारण अहिलेको विद्यमान अवस्थालाई बदल्नका लागि हामीले सबै क्षेत्रको सहभागितामा सबै माेर्चा प्रयोग गरेर लड्नु पर्ने देखिन्छ, त्यसका लागि हाम्रो संगठनले चौतर्फी पहल लिइरहेको छ, हामीले सडकदेखि सदनको शिक्षा समितिसम्ममा हस्तक्षेप गरेर बोलिरहेको छौं, हामी सबै क्षेत्रबाट पहल लिनेबेला भएको छ, त्यसैले सबै यूवा विद्यार्थीहरु पलायन भएर होइन यहि आफ्नै माटोमा पसिना बगाएर काम गर्ने र अहिलेको बेथिति विरुद्ध लड्ने गरि सोच्नु पर्दछ भन्ने लाग्छ, हामी त्यही दिशामा काम गरिरहेका छौैं ।

१३. आम विद्यार्थीहरुलाई जनपत्रिकामार्फत केहि अपिल गर्न चाहनु हुन्छ ?

पक्कै पनि हामी हाम्रो सम्मेलनमार्फत देशका सम्पूर्ण यूवा विद्यार्थीहरुलाई अपिल गर्दैछौं, आजको सबै क्षेत्रको संकटको समाधान पलायन भएर होइन बरु संगठित भएर यथास्थिति विरुद्ध विद्रोह गर्नु र आजको शिक्षाको विकल्प समाजवादी शिक्षाको लागि बहस गर्नु हाम्रो मुख्य दायित्व हो, जनपत्रिका परिवारलाई विशेष धन्यवाद !


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।