३१ भाद्र २०८१, सोमबार

बंगलादेशबाट नेपालले कस्तो पाठ सिक्ने ? यस्तो भन्छन् विशेष अन्तर्वार्तामा विप्लव

0

काठमाडौं – नेपालमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा नेतृत्वको सरकार बनेको छ । संसदका दुई ठूला दलहरु मिलेर सरकार बनेपछि थरिथरीका विश्लेषणहरु भइरहेका छन् । कसैले कांग्रेस एमाले मिलेर संविधान संशोधन गर्दै देशलाई प्रतिगमनको दिशातिर धकेल्न खोजेको आरोप लगाएका छन् भने कसैले देशमा स्थायित्व र विकासका लागि ठूला पार्टीहरु मिलेर स्थिरता कायम गर्न खोजेको बताउने गरेका छन् । बंगलादेशमा विद्यार्थीको आवरणमा भएको आन्दोलनका कारण निर्वाचित प्रधानमन्त्री शेख हसिनाले देश छोडेर भाग्नुपरेको छ । देशभित्र र बाहिर भएका राजनीतिक फेरबदलका बिचमा नेकपाको स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा बसेको थियो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा मसिनोगरी छलफल भएको बताइएको छ । पहिल्लो राजनीतिक घटनाक्रम, नेकपा स्थायी समिति बैठक, नेपालमा बढेको वैदेशिक हस्तक्षेप लगायतका विषयमा केन्द्रीत रहेर जनपत्रकार शोभराज बरालले नेकपा महासचिव विप्लव सीसँग कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

१) महासचिव कमरेड यहाँलाई जनपत्रिका अनलाइनमा स्वागत छ ।
– धन्यवाद !

२) देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नु भएको छ ?

– यसबारेमा भर्खरै सम्पन्न पार्टीको स्थायी समिति बैठकले केही निर्णय गरेको छ । खासमा हामीले ५ वटा बुँदाहरुमा यसलाई संश्लेषण गरेका छौं । पहिलो नम्बरमा नेपाल दलाल पुँजीवाद र पुँजीवाद संसदीय व्यवस्था असफल भइराखेकै छ । संकटग्रस्त छ । जसले बेलाबेलामा विभिन्न खालका समस्याहरु ल्याउँछ । दोश्रो, नेपालको राजनीतिमा दलाल प्रवृत्ति हाबी हुँदै जाँदा साम्राज्यवादी हस्तक्षेप, विशेषत अमेरिकी साम्राज्यवादी हस्तक्षेप दिनानुदिन बढ्दै गइरहेको छ । त्यसले ठूलाठूला समस्याहरु निम्त्याइरहेको छ ।

तेश्रो कुरा, अन्य शक्तिहरु पनि नेपालमा सक्रिय भइरहेका छन् । चौथो, नेपालमा सत्ताका लागि जे पनि गर्ने स्वार्थी, सत्तावादी प्रवृत्ति देखापरेको छ । पाँचौंमा, नेपाल कम्युनिस्ट पार्टीको दायित्व बढेको छ । नेपाली जनताको बिचमा देखिएको अग्रगामी शक्तिहरु र पश्चगामी शक्तिहरु बिचको जुन धुव्रिकरण छ । त्यसमा नेकपाले अग्रगामी धारको नेतृत्व गर्दै देशलाई निकासतिर लैजानुपर्छ भन्ने हाम्रो निश्कर्ष छ ।

३) पार्टीको स्थायी समितिको बैठक हालै सम्पन्न भएको खबर छ । बैठक बस्नुपर्ने कारण के थियो ?
– देशमा बदलिएको राजनीतिक सन्दर्भको विश्लेषण गर्नु, त्यसको बारेमा जनतालाई पार्टीको धारणा स्पष्ट पार्नु, जनता र देशलाई अग्रगामी आन्दोलनतिर लिएर नेतृत्व गर्नुसँग सम्बन्धीत छ ।

४) नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वको वामपन्थी सरकार ढलेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कांग्रेससहितको अर्को सरकार बनेको छ । एउटा सरकार ढलेर अर्को सरकार बन्नुमा विदेशी शक्तिको हात रहेको भन्ने गरिन्छ । यसको केही आधार देख्नुभएको छ ?
– प्रचण्डको सरकार ढल्नुमा विदेशीको हात पनि छ तर नेपाल भित्रकै शक्ति संघर्षको मुख्य प्रभाव छ । खासगरी एउटा वामपन्थी गठबन्धनको सरकारलाई हामीले पनि प्रगतिशील सरकार भनेका थियौं । त्यो चाँहि ढल्यो र वामपन्थी मध्येकै एमालेको नेतृत्वमा कांग्रेस सम्मिलित सरकार बनेको छ । वामपन्थीको तुलनामा हामीले यसलाई पश्चगामी सरकार भनेका छौं । नयाँ सरकार बनेको विषयमा तीन वटा तर्क आएका छन् । माओवादीको दृष्टिकोणमा प्रतिक थापा र वेचन झा समातेपछि, सुशासनको लडाई अगाडि बढाएपछि सरकार ढल्यो भन्ने छ । प्रचण्ड इण्डिया गएर मोदीसँगको छलफलमा काँग्रेससँग नयाँ गठबन्धनको सरकार र राष्ट्रिय सहमतिको सरकारको बारेमा छलफल गरेपछि प्रचण्डभन्दा पहिला आफूले कदम चालेको हो भनेर एमालेले भनेको छ । कांग्रेसले चाँहि व्यवस्थामै शंकट पैदा हुन थालेपछि स्थिरताको लागि, संविधानको रक्षाका लागि एमालेसँग मिलेर जानुपर्ने भयो भन्ने तर्क गरेको छ । यी तीनवटै तर्कहरु आंशिक सत्य हुन् । नेपालमा मुख्य संसदीय व्यवस्थाको संकट हो, सत्तालिप्साका निम्ति जे पनि गर्ने दोश्रो कारण हो, साम्राज्यवादी विदेशीहरुको चलखेल तेश्रो कारण हो । यो पटकको सरकार ढल्ने र बन्नेमा स्वभाविक रुपमा अमेरिकनहरुको प्रभाव बढी देखिन्छ । यसलाई हामीले स्पष्ट रुपमा भनेकै छौं । जनता यसमा सचेत हुन जरुरी छ ।

५) यो सरकारले जनताका आशा र अपेक्षाहरु पुरा गर्ने सम्भावना कत्तिको देख्नुभएको छ ?
– नेपालमा सत्ता नै आजका समस्याहरुको श्रोत हो । जनताको सत्ता बनेको छैन, श्रमिक जनताहरुले अपनत्व फिल गरेका छैनन् । नेपालमा मेहनेति जनता छन्, जाति छन्, वर्ग छन्, लिङ्ग छन्, क्षेत्र छ यी कसैले पनि आफ्नो सत्ता छ भनेर महशुस गरेका छैनन् । यो सत्ता रहेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बनेपनि एउटा निश्चित समयपछि यो क्षतविच्छेद हुन्छ । विकृति निम्त्याउन बाध्य छ ।

६) भारतबाट भएको विदेश सचिवको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । अमेरिकी उच्च अधिकारीहरूको गुपचुप भ्रमणको तयारी भइरहेको बजार हल्ला पनि छ । नेपालमा अप्रत्यासित घटनाको सम्भावना देख्नु हुन्छ ?
– विश्वव्यापी राजनीतिक ध्रुवीकरणको प्रभाव नेपालमा एकदमै छ । हामीले पहिला पनि दस्तावेजमा लेखेका छौं, ‘ध्रुवीकृत विश्वको प्रभाव नेपालमा तिब्र छ ।’ त्यसको कारण के छ भने नेपालका राजनीतिक पार्टीहरुको सत्ताको/कुर्सीको चाहना त छ तर देश र जनताको चाहना अनुकुल सत्ता संचालन गर्ने, नेतृत्व गर्ने क्षमतामा कमि छ । यसले गर्दा उनीहरु सत्तामा पुग्नका लागि र टिक्नका लागि विदेशी शक्तिलाई आड बनाउने वा भित्र्याउने गरेका छन् । त्यसले देशलाई झन् कमजोर बनाएको छ । मैले अघिपनि भने नेपालमा विदेशीको प्रभाव त छ तर नेपाली राजनीतिमा देखिएको दलाल प्रवृत्ति डरलाग्दो छ । आफू चल्नका लागि, सत्तामा पुग्नका लागि र टिक्नका लागि वाह्य शत्तिलाई आमन्त्रीत गर्ने र उसैको भरोसामा चल्ने जुन दलाल प्रवृत्ति छ त्यो पनि त्यत्तिकै जिम्मेवार छ । यदि नेपालका दलालहरुले विदेशी शक्तिलाई आमन्त्रीत नगर्ने स्थिति हुँदा, नेपाली जनताको फैसलालाई सर्वस्वीकार्य बनाउने स्थिति रहँदा यो अवस्था आउने थिएन ।

फोटो : शाहस भट्ट 

जहाँसम्म तपाईंले राखेको प्रश्नमा भारतीय विदेश सचिव, एमसीसीका प्रबन्ध–निर्देशक केभिन मिचेलको भ्रमण जुन छ, यो देखिएको मात्र हो । यहाँ कोठा–कोठामा, नेताहरुको घर–घरमा क्याम्पियनहरु, विभिन्न खालका भेटघाटहरु चलिरहेको कुरा हामीलाई राम्ररी जानकारी छ । यहाँको कर्मचारी, प्रशासक, व्यापारी, नेता, न्यायधीश, सबै कमाण्डरहरुलाई भेट्ने, प्रभावित पार्ने, प्रलोभित बनाउने र विचलित गर्ने काम निकै तिव्र रुपमा भइरहेको छ । योप्रति जनता एकदमै सचेत हुन जरुरी छ ।

(७) विदेशी हस्तक्षेप रोक्नेबारे पार्टीका कार्यक्रमहरु के छन् ? जनतालाई अपिल पनि गर्नुहुन्छ कि ?
– पहिलो कुरा हामीले एकदमै बुझ्नु पर्ने र जनतालाई बुझाउनु पर्ने कुरा के हो भने ‘हाम्रो देशमा साम्राज्यवादीको घुसपैठ एकदमै छ ।’ बाहिर देखिने बेलामा हाहा र हुहु, हावाका लहरा जस्ता जुन देखा पर्छन्, कसैलाई राम्रो भनेको छ, कसैलाई रातारात माथि पु¥याएको छ, कसैलाई तल झारेको छ, कसैलाई जेल हालेको छ, यी सबै घटनाक्रमहरुमा साम्राज्यवादीहरुको चलखेल तिव्र छ र नेपाली जनतालाई निर्णयविहिन बनाउने, अन्यौलतामा फसाउने, भ्रमित पार्ने र आफ्नो स्वार्थसिद्ध पार्ने साम्रज्यवादीको खेल तिव्र छ । त्यसैले हाम्रो पार्टीले तीन वटा उपायहरु अगाडि सारेको छ ।

नम्बर १ – बाहिर देखिने कुरा र भित्र छिपेका सत्य कुरा जनतालाई भन्नुपर्छ । देखिने विभिन्न हल्लाहरु यहाँ चल्छन् : एकचोटी रवि, रवि, रवि भनेर आयो, एकचोटी बालेन बालेन बालेन भनेर आयो, एकचोटी को स्वतन्त्र व्यक्तित्व, को वैज्ञानिक, को बुद्धिजिवि, को को को को….। यी सबै सत्य होइनन् । अलि–अलि सत्य हुन् तर नेपाललाई विचलित गर्ने प्रचारवाजी हुन् । अहिलेको सूचना माध्ययमलाई प्रयोग गरेर नेपालमा जसले दुःख गरेको हो, जसले लडेको हो, जसले जनताको लागि रातदिन मेहनत गरेको छ, जेल, नेल सहेको छ, जसले अहिले पनि संघर्ष गरेको छ त्यसलाई छोडेर जुन हल्ला गरिदैछ यो चाँहि नयाँ युनेश (बंगलादेशमा विद्यार्थी आन्दोलनको नेतृत्व गर्ने व्यक्ति) जन्माउने खेल हो । दलालहरु खडा गर्ने योजना हो । त्यसका विरुद्धमा हामीले भण्डाफोर गर्नुपर्छ । हामीले के भनेका छौं भने, ‘आजको दिनमा अमेरिकी हस्तक्षेप र उसले चालिरहेका कदमहरुलाई सर्वाधिक जोखिमपूर्ण, खतरायुक्त कदमहरु छन् ।’ यस्ता कुराहरु नेपाली जनताले बुझ्नुपर्छ । बाहिर चलाइएको हल्लाहरु कृतिम हल्लाहरु हुन् । यो कुरा नेपाली जनताले बुझ्न र ग्रहण गर्न जरुरी छ ।

नम्बर २ – नेकपालाई कुनै पनि मुल्यमा विदेशी हस्तक्षेप र उनीहरुको दवाव स्वीकार्य हुँदैन । जनतालाई हामी सचेत गर्छौं । यदि कसैले हाम्रो देशमाथि सैन्य अखडा खडा गर्ने, हस्तक्षेप गर्ने, आफ्नो स्वार्थ अनुकुल देशलाई चलाउने खेल हुन्छ भने त्यसको प्रतिरोध नेकपाको नेतृत्वमा हुन्छ । पार्टीले गर्छ भनेर हामी जनतालाई भन्न चाहन्छौं ।
नम्बर ३ – आजको विश्वमा एक ध्रुवीयता सम्भव पनि छैन, कुनै पनि विदेशीले शक्तिको इसारामा चल्न सम्भव पनि छैन । जहिलेसम्म नेपालका शासकहरु अरुको इसारामा चल्छन् त्यहिलेसम्म नेपाल अस्थिरता, अराजकता, संकटबाट मुक्त हुन सम्भव छैन । देश झन् ठूलो भड्खालोमा, झन् ठूलो संकटमा जाकिन अनिवार्य छ । त्यसकारण नेपाललाई आत्मनिर्भर ढंगले संचालन गर्ने, नेपाललाई स्वाधिन प्रकारले अगाडि बढाउने आँट हामीले गर्नुपर्छ । यसका लागि हामी सम्पूर्ण जनता र आउँदै गरेको नयाँ पुस्तालाई अपिल गर्ने र जनतामा जाने सोचेका छौं ।

८) बंगलादेशको घटनाले दक्षिण एशिया तरङ्गीत छ । नेपालले त्यसबाट सिक्नुपर्ने पाठ के हो ?
– यसमा दुई वटा पाटाहरु छन्, एउटा आन्तरिक पक्ष र अर्को बाह्य साम्राज्यवादी शक्तिको पक्ष । विश्वमा जतिपनि पुँजीवादी मुलुकहरु छन्, गरिब र अविकशित देशहरु छन्, त्यहाँभित्रका सत्ताहरु आफैंमा कुनै न कुनै देशबाट संचालित या जनताको इच्छा विपरित चल्ने गरेका छन् । र पुँजीवादीहरुको हित अनकुल गएका छन् । त्यहाँका युवा, विद्यार्थी, जागरुक राष्ट्रवादी शक्तिहरूलाई चिड्याउने गरेको छ । उनीहरुका चाहनाहरुलाई सम्बोधन गर्न सकेका छैनन् । आन्तरिक पक्ष यो हो । दोश्रो त्यहाँ हुने असन्तुष्टि र समस्याहरुबाट फाईदा लिएर साम्राज्यवादी शक्तिहरुले चलखेल गर्छन् । बंगलादेशमा अमेरिकाले आइपीएस अन्तरगत नै सामरिक महत्व बोकेको सेण्ट मार्टिन टापुमा आफ्नो सेनाको टुकुटी राख्न चाहेको, शेख हसिनाले अस्वीकार गरेर बिआरआइसँग हात मिलाएपछि उचालिएको हो भने उनले नै मुख खोलिन् । त्यहाँ केही एनजिओ आईएनजिओको हात पनि छ भन्ने कुरा बाहिर आइसकेको छ । यसले के देखाउँछ भने, स्वार्थ नमिल्ने वित्तिकै आफ्नै प्रतिनिधिलाई पनि उलटफेर गर्ने, सत्ताच्युत गर्ने, उस्तै पर्यो भने जेल हाल्ने, समाप्त पारिदिने, मार्नेसम्मको काम साम्राज्यवादले गर्दै आएको हामी देख्छौं । त्यसको एउटा सिकार बंगलादेश पनि भयो भन्ने हामीले बुझेका छौं ।

यसबाट फेरि पनि नेपालीले सिक्नुपर्ने पाठ के हो भने, ‘हाम्रो देशको सु–व्यवस्था, संचालन भित्रैबाट संचालन गर्ने आँट गर्नुपर्छ । नेपाली जनताकै प्रतिनिधि, नेपाली जनताकै स्वच्छ निर्णय र नेपालकै पार्टीहरु जसले नेपालकै माटोमा खुन–पसिना बगाएर काम गरिरहेका छन् । उनीहरुकै बुद्धिविवेकले देश चलाउनेगरी सोच्नुपर्छ, यहाँका विज्ञहरु, बुद्धिजीविहरु, यहाँका युवाहरु, आउँदै गरेको नयाँ पुस्ता, विद्यार्थी सबैले यसरी सोच्नुपर्छ । कुनै पनि विदेशी शक्तिको इसारामा नाच्ने स्थिति बन्न दिनुहुँदैन । अरुको पुरस्कारमा, अरुले पुरस्कृत गरेको तालमा, नचाएको तालमा, डम्फु ठोकेको तालमा नेपालका बुद्धिजीविहरु, जानुहुँदैन हामीले भन्नुपर्छ ।’

दोश्रो कुरा आजको विश्वमा हामीले सहकार्य गर्नुपर्छ । कुनै पनि देशहरुबाट, विश्वबाट अलग भएर बस्छौं, कुनै पनि देशसँग सम्बन्ध राख्दैनौं भन्ने कुरा सहि होइन । तर हाम्रो देशको स्वाधिनता, स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर सहकार्य गर्नुपर्छ । कसैको पनि कट्पुतली बनेर सत्तामा बस्छु भन्ने स्वार्थ हामीले पालेर बस्नु हुँदैन । यो दुईटा कुरा नेपाली जनताले राम्रोसँग बुझेर सहयोग गर्नुपर्छ ।

९) समाजवादी सोर्चाको संयोजक पनि हुनुहुन्छ । वामपन्थी तथा देशभक्त शक्तिहरुको एकता र सहकार्यलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
– हाम्रो एकदमै सु–स्पष्ट नीति छ । पार्टीको स्थायी समितिमा पनि हामीले भन्यौं । विचार मिल्ने, दृष्टिकोण मिल्ने, कार्यक्रम मिल्ने माओवादी धाराको साथीहरुसँग एकता गर्नुपर्छ । हाम्रो स्पष्ट दृष्टिकोण यो छ । तर एकता गर्दाखेरी अहिलेसम्म प्रयोग भएका विचार, नीति, नेतृत्व सबैको स्वच्छ विश्लेषणसहित गर्नुपर्छ । काम गर्ने वातावरणसहित एकता गर्नुपर्छ भन्ने एउटा कुरा छ । दोश्रो कुरा नेपालका कम्युनिस्ट, समाजवादी र देशभक्त, गणतन्त्रवादीहरुसहित मोर्चा बनाएर सहकार्य गर्नुपर्छ भन्ने छ । तेश्रो कुरा, हामीले अन्तराष्ट्रिय क्षेत्रमा समाजवादी धारासँग साम्राज्यवाद र एकाधिकारवाद विरोधी, एकध्रुवीय मानसिकता विरुद्ध संगठित भएर संघर्ष गर्दै अगाडि बढ्नुपर्छ भन्ने निश्कर्ष हाम्रो छ ।

१०) अन्त्यमा केही भन्नुहुन्छ ।
– नेपालको युवा पुस्ता, हाम्रो छोराछोरीहरु, विद्यार्थी, नयाँ पुस्ता, श्रमिक जनता, देशभक्त बुद्धिजीविहरु, व्यवसायीहरु, प्रशासकहरु, सेनाका कमाण्डरहरु, प्रहरीका अफिसरहरु सबैलाई अपिल के छ भने, ‘नेपाल अलिकति अफ्ठ्यारोमा छ तर निरासै हुनुपर्ने र हामी खतमै भयौं भनेर सोच्नुपर्दैन । नेपालमा दुई वटा प्रवृत्तिका बिचमा संघर्ष छ । एउटा पश्चगमन र अर्को अग्रगमन । अग्रगामी धार भनेको प्रगतिशील धार हो, नेपाल र नेपाली जनताको हित अग्रगामी धारासितै छ । त्यसकारण एकचोटी राम्रोसँग मिलेर गरौं । तपाईं हामीले देशलाई अगाडि बढाउने गरेर सोचौं । देशलाई अगाडि बढाउन सकिन्छ, विदेशीको दबाबमा लोभ–प्रलोभनका पर्नु हुँदैन, देशभित्र पनि हामी सबैले प्रगतिशील भएर सोच्नुपर्छ । जनपत्रिकामार्फत सिंगो देशलाई यहि अपिल गर्न चाहन्छु ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।