सुमनसिंह सी
हामी सानैदेखि कम्युनिष्ट आन्दोलनमा चाखपूर्वक सहभागी भयौं । आफ्नो वरिपरी विद्यमान अत्याचारलाई निमिट्यान्न पार्ने काम कम्युनिष्ट आन्दोलनबाट मात्र सम्भव छ भन्ने बुझ्यौं र यो साँचो कुरा आजपनि मृगतृष्णाको रुपमा रहेको छ ।
मेरो मात्र होइन उस्तै हालत मनकुमार तामाङको पनि छ । उनले पनि कम्युनिष्ट सत्ताको अभिलासा पछ्याइरहेका छन् ७७ बर्षे उमेरसम्म । धर्मप्रसाद ढकालको सफाया गरेर १८ बर्ष जेल जिवन बिताएका, झण्डै ६५ बर्ष कम्युनिष्ट भएर बिताएका उनीसँग हाम्रो तुलना होइन तर उनी भन्दा ४३ वर्षपछि जन्मिएको मैले पनि त्यहि सपना देखेको छु, त्यही दु:ख भोगिरहेको छु । जुन सपना आजको दिनसम्म पूरा हुन सकेको छैन ।
नेपालका कम्युनिष्ट पार्टीहरुले सपनाको खेती गरेका हुन् वा साच्चिकै सपना पुूरा गर्ने यात्रामै लागेका हुन् यो प्रश्न मेरी आमाको पनि छ र छिमेकी काकाको पनि, कहिलेसम्म यस्तै र यसरी नै लडिरहने ? उनीहरु हिजो पनि यस्तै कुरा गर्थे, आज सबै ठग बने । यतिबेला नेपालका कम्युनिष्ट नेता पार्टी र आन्दोलनकै बदनाम हुने गरि प्रतिकृयावादीहरुसँग घाटी जोडेर हिंडिरहेका छन् । तिमीहरु पनि उस्तै त हौला ? झापा बिद्रोहका योद्धा हुन् वा जनयुद्धका ति सबैको जिवन हेर त कति कष्टकर छ ? शहिद परिवारलाइ हेर त कस्तो हालतमा उनीहरु बाँचिरहेका छन् ? घाइते अपाङ्गलाई हेर उनीहरुको छटपटाहट कस्तो छ ? सानो दुर्गा अधिकारीको धुलाबारीको धुले घर र उनको बिजोगको चर्चा उत्तिकै छ । हर्क खड्का हराएको हराएै भए ।
कम्युनिष्टहरुले धेरै पटक सरकारको नेतृत्व गरिसके । अझ झापा बिद्रोहको योद्धा केपी ओलीले लामो समयसम्म सरकारको नेतृत्व गर्ने अवस्था बन्यो तर कहिल्यै पनि आन्दोलनका क्रममा योगदान गरेका योद्धाहरुको जिवनलाई सहज बनाउने प्रयत्न गरेको पाइएन । मनमोहन अधिकारीदेखि आजको समयमा प्रचण्डले नेतृत्व गरिरहेको कुनैपनि सरकारले घाइते योद्धा, शहिद परिवार वा जेल जिवनका कष्टकर समयहरुमा सँगै दु:ख गरेका कमरेडहरुको जिवनलाई व्यवस्थित गर्न सहयोग गरेको पाइएन । के उनीहरुले नचाहेर हो ? या नजानेर हो ? यदि यसो होइन भने उनीहरुलाई अपठ्यारो कहाँ परेको छ ? आज किन मानकुमार तामाङ हुन् वा सिक्सम या यस्ता हज्जारौं पात्रहरु सहयोगको याचना गर्दै, चन्दा मागेर औषधि खाने अवस्थामा पुगे ? प्रश्नै प्रश्न छ तर जवाफ कसैले दिन चाहेका छैनन् । त्यसैले वर्गवैरीहरुले निराशाको खेती गर्ने अवसर पाएका छन् ।
देश र जनता भनेर उनीहरु यत्रो लडे, त्याग गरे, जिवनको अमुल्य समय आन्दोलनमा खर्च गरे तर हेर उनीहरुको जिवनको दुर्दशा । तिमीहरुको हालत पनि यस्तै त हुने हो, त्यसैले भयो छोड केहि हुँदैन भन्ने भाष्य समाजमा स्थापित गर्ने प्रयत्न भएको छ । यो निराशाको नियोजित खेती हो । यो खेतीमा कम्युनिष्ट आन्दोलनलाई ध्वस्त गर्ने, समाजको अग्रगामी धारालाई निरुत्साहित गर्ने, बलिदानसहित उठेको साम्राज्यवाद विरोधी सपनाको हत्या गर्ने, युवा विद्यार्थी र नौजवानहरुले पुंजिवादको लुटखसोट विरुद्ध नयाँ आन्दोललाई पुनर्संगठित नगरुन् भन्ने योजनाको बिशाल वृक्षलाई हुर्काइएको छ । अहिले यहि निराशा फलाइरहेको वृक्षको शितलतामा बलियो बन्दैछ आजको पुंजिवाद, आजको साम्राज्यवाद ।
यो सबै नियोजित छ र यो निराशा फैलाउन प्रयोग भइरहेका कम्युनिष्ट भनिनेहरु कतै प्रायेजित त छैनन् ? यी प्रश्नहरु तथ्यहरुले अवश्य जन्माएका छन् । त्यसैले प्रतिगामी, यथास्थितिवादी र विभिन्न आवरणमा काम गरिरहेका पुंजिवादका कठपुतलीहरुले सल्बलाउने अवसर पाएका छन् । उनीहरु जोडजोडले झापा बिद्रोह, जनयुद्ध वा अन्य न्यायपूर्ण आन्दोलन विरुद्ध बोल्न थालेका छन् । झापा बिद्रोहका योद्धाहरुलाई हत्यारा भन्ने, सुखानीमा स्थापित शहिदको शालिक ढाल्छौं भन्ने, जनयुद्धलाई अपराधिकरण गर्ने, संघर्षकालिन मुद्धाहरु ब्युंताउनेसम्मका कार्यहरु भैरहेका छन् तर झापा बिद्रोह वा जनयुद्ध यसको नेतृत्वकर्ताहरु मौन छन्, उनीहरुको आवाजमा कुनै दम छैन । न्यायपूर्ण आन्दोलन विरुद्ध, योद्धाहरु विरुद्ध, शहिद र उनका परिवार विरुद्ध हर्कत हुँदा मौनता साध्ने त छँदैछ, आन्दोलनका योद्धा, शहिद, उनका परिवार सबै यो राज्यबाट अपहेलित छन् । यसले कम्युनिष्ट नेताहरु विरुद्ध गंभिर प्रश्न जन्माएको छ । सुन्दर सपना बोकेको कम्युनिष्ट आन्दोलनमाथि यहि प्रश्न उठाउन पुंजिवादले यो चाल चल्यो र यसको मतियारी गरे कम्युनिष्ट नेताहरुले ।
आजको विश्व पुंजिवाद संकटहरुको पहाडले किचिए पनि आफ्ना विरोधीहरुलाई फुटाउन, कमजोर पार्न, निराशाको खेतीमा खेल्न सफल भैरहेको छ । शोषणको सत्ता चलाएर जिउदो बनेको पुंजिवाद आफ्नो विरोधी सत्ता, विचार, आन्दोलन वैज्ञानिक समाजवादसंग हर समय कांपिरहेको छ । मार्क्सवादी आन्दोलनलाई उसले चुनौतिको रुपमा देखिरहेको छ र यो आन्दोलनको जवरजस्त प्रभाव र सम्भावना नेपालमा छ । नेपालमा कम्युनिष्ट जनमत ठुलो छ । समाजवादीहरुको जनमत ठुलो छ । कम्युनिष्ट आन्दोलनलाई बदनाम बनाएर सकिन्छ वा सकियो भनेर उसले ठाने पनि क्रान्तिकारीहरुको सचेत पहलकदमीले उसको योजनालाई फिक्का सावित गरिदिएको छ । नेपालमा केपी ओली र प्रचण्डलाई पुंजिवादको टाङमुनि आत्मसमर्पण गराइयो र त्यो आन्दोलनलाई ध्वस्त गरियो भन्ने ठानेको पुंजिवाद नेपाल कम्युनिष्ट पार्टीका महासचिव कमरेड विप्लव सीको पहल र प्रयत्नसंगै झस्किएको छ र कमरेड विप्लव र आगामी आन्दोलनलाई कमजोर पार्न विभिन्न षड्यन्त्र गरिरहेको छ । कम्युनिष्ट र समाजवादी शक्तिहरुलाई भिडाउने पश्मि बंगाल मोडेलमा समेत लाने प्रयत्न भएको छ । यद्यपि नेपालमा विद्यमान जवरजस्त कम्युनिष्ट आन्दोलन, समाजवादी जनता र सचेत पहलको निरन्तरताले पुंजिवाद विजयी हुन सकेको छैन तर निराशाको खेती लगाउने काम जारी छ ।
पुंजिवादले पैदा गरिरहेको निराशासंग अनेकौं विकल्पहरुलाई जोड्ने र जनतालाई भड्काउने प्रयत्न भैरहेको छ । प्रतिगामी, पश्चगामी तत्वहरु विभिन्न अनुहारमा रातारात तयार गरेर प्रस्तुत गरिएको छ । उनीहरुको मञ्चबाट कम्युनिष्टहरु विरुद्ध निरन्तर बमबार्ड भैरहेको छ । आज नेपालका कम्युनिष्टहरुले यो बुझ्न जरुरी भएको छ कि पुंजिवाद समाजको अग्रगामी निकास विरुद्ध, वैज्ञानिक समाजवाद स्थापना गर्ने संभावना विरुद्ध एकदमै नजिकबाट हमला गरिरहेको छ । त्यो हमला निराशाको मञ्च खडा गरेर त्यसमार्फत भैरहेको छ । आन्दोलन र त्यससंग जोडिएका योद्धाहरु शहिद परिवारहरुलाई बेप्रवाह छोडेर, बिजोग बनाएर, रुवाएर नयाँ पुस्तालाई आन्दोलनमा सहभागी हुन निरुत्साहित गर्ने कार्य भइरहेको छ । पुंजिवादले यो कुरा बुझेको छ कम्युनिष्ट आन्दोलनलाई एकैपटक खाने गल्ती गरेर आफ्नो असलियत सार्वजानिक गर्नु प्रत्युत्पादक हुन जान्छ । नेपालमा जारी कम्युनिष्ट आन्दोलनलाई पुंजिवाद टुक्रा टुक्रामा नष्ट गर्ने योजनासहित सफल हुंदै गइरहेको छ ।
त्यसैले उसले सुखानीमा शालिक बनाउन छुट दिन्छ तर त्यही सुखानी हत्या काण्डमा बँचेका योद्धा मानकुमार तामाङको जिवनलाई बिजोग पार्छ । नौजवानहरुलाई शालिकमार्फत आन्दोलनको इतिहास दर्शाउंछ र वर्तमानमा बिजोग अवस्थामा रहेका योद्धाहरुमार्फत इतिहास, बलिदान र यसको आजको सान्दर्भिकताप्रति बितृष्णा फैलाउदै निराशाको व्यापार गर्छ । इतिहासलाई निम्छरो सावित गर्न वर्तमानमा नेतृत्व गरिरहेका नेताहरुलाई विकृत पार्छ, जनविरोधी कार्यमा सहभागी गराउछ, परिवर्तन विरोधी कार्यको मतियारी गराउछ । पार्टी, आन्दोलनलाई सबै कोणबाट खत्तम गर्ने योजनामा पुंजिवाद सफल हुंदै गएको छ तर यो सफलता नै उसको सम्पूर्ण सफलता होइन । नेपालबाट कम्युनिष्टहरुलाई सम्पूर्ण रुपले नष्ट गर्न सकेमात्र उसको अभिष्ट पूरा हुने छ । तर यो संभव छैन ।
के यस्तो गंभिर विषय केपी, प्रचण्डहरुले बुझ्न सकेनन् वा साच्चिकै उनीहरु पुंजिवादको दलाली गरिरहेका छन् त ? उनीहरुले पक्कै बुझेका छन् तर उनीहरु पुंजिवादीहरुको कब्जामा परिसकेका छन् । पुंजिवादी कब्जा धेरै डरलाग्दो छ तर त्यसलाई तोड्न सकिन्छ त्यसको निम्ति बलिदान गर्ने हिम्मत चाहिन्छ । आज निराशाको खेती जसरी जारी छ यसलाई तोड्न विगतका आन्दोलनसंग जोडिएका सपनाहरुलाई चम्काउन जरुरी छ । आज देश गंभिर संकटमा छटपटाएको यो समय देशलाई निकास प्रदान गर्न नेपालको कम्युनिष्ट आन्दोलनले सचेत प्रयत्न गर्न आवश्यक बनेको छ । नौजवान युवा विद्यार्थीहरुलाई आन्दोलनमा सहभागी गराउन निराशा होइन आशा उत्साह र विश्वासको खेती लगाउन नेपालका कम्युनिष्ट नेताहरुले मिहेनत गनुपर्छ ।
एउटा युवाले मोहनचन्द्र अधिकारीलाई हेरेर नभनोस् जिवनको उर्जाशिल समय कम्युनिष्ट आन्दोलनमा खर्च गर्ने, १८ बर्ष जेल बस्ने मोहनचन्द्र आज कम्युनिष्टहरुलाई गाली गर्दै बसेका छन्, उनले के पाए ? दुर्गा अधिकारी, हर्क खड्का, मनकुमार तामाङ आदी थुप्रै योद्धाहहरुको जिवनलाई हेरेर नभनोस् ! हेर संगै लडेकाहरु सत्तामा मोज गरिरहेका छन्, तर संगै लड्ने योद्धाहरुको जिवनको दुर्दशा कति दयनिय छ । शहिद परिवार, घाइते योद्धाको अवस्था हेरेर आज संगठित गर्नु पर्ने आन्दोलनमा भर्ति हुने युवाले नभनोस् आखिरमा हुने यस्तै त होला किन लड्ने ? लड्न जरुरी भयो, तर लड्ने उत्साह मर्दै गयो । लाखौं युवाहरु विदेशका गल्लिहरुमा रुदै भौतारिनु परेको छ । यो देशमा केहि हुन्न भन्ने निराशाको खेती लाग्यो । यसलाई फस्टाउन सहयोगी भुमिकामा सरकारको नेतृत्व गरेका कम्युनिष्ट नेताहरु रहन पुगे यो दुखद छ ।
हामीले अब निराशा विरुद्ध आशाको खेती लगाऔं । आजसम्म कम्युनिष्ट आन्दोलनमा लागेका हुन् वा नेपालका परिवर्तनकामी आन्दोलनमा लागेका सबै योद्धाहरु सहज जिवनको सुनिश्चतता गरौं । शहिद परिवार, घाइते अपाङ्ग योद्धाको संरक्षण गरौं । परिवर्तनकामी आन्दोलननमा लागेका वयोवृद्ध योद्धाहरुको जिवनका अनुभवहरुलाई व्यवस्थित गरौं । उनीहरुको बस्ने, खाने, स्वास्थ्य, सुरक्षा, मनोरन्जन आदि जुनसुकै आवश्यकताको पूर्ति गर्ने काम गरौं । शहिदहरुको मुल्यलाई उचाइमा उठाउनु भनेको जनताको सपना बुलन्द हुनु हो, शहिदहरुको समाधिस्थल, बलिदान स्थलहरुको संरक्षण प्रर्वद्धन गरौं । परिर्वतनकामी आन्दोलनमा लागेबापत पिडा वा दु:ख होइन कमसेकम जिवनले इज्जत प्राप्त गर्छ, न्युनतम आवश्यकताहरु पूरा गर्ने सुनिश्चतता रहन्छ भन्ने विषयलाई कार्यरुप प्रदान गरौं । आजको साम्राज्यवाद नेपालमा कम्युनिष्ट आन्दोलनलाई चौतर्फी हमला गर्दै आफ्ना स्वार्थहरु पूरा गर्न नेपालमा एमसीसीको हतियार लिएर आएको छ । यो अझ डरलाग्दो रुपले अगाडि बढ्ने अवस्था रहेको छ ।
यस्तोबेला नेपालका परिवर्तनकामी, कम्युनिष्ट, अग्रगामी एजेण्डा बोक्नेहरुले साम्राज्यवादले फैलाइरहेको निराशा विरुद्ध एक हुन र सोहि अनुसार योजनाहरु बनाउन आवश्यक बनेको छ । आजको संकटबाट देशलाई मुक्त गर्न आन्दोलन अपरिहार्य बनेको यो समय हरेकले आशावादी बन्ने स्थितिको सृजना गरौं । हरेक युवाहरुले गौरवानुभूति गरुन्, जनताले विश्वास गर्ने अवस्था बनोस्, विगत आन्दोलनका योद्धाहरुले विश्वास गर्ने र गौरव गर्ने अवस्था बनोस् । यसको निम्ति नेपालका सबै प्रगतिशीलहरु भूमिका खेल्न आवश्यक छ । हामी निराश होइन आशावादी बनौं । नेपालबाट पुंजिवादलाई पछार्न र धुलोमा मिलाउन सम्भव छ । जनताको सत्ता बनाउन सम्भव छ ।
०२ फागुन २०८०, झापा