२० बैशाख २०८१, बिहीबार

अखिल (समाजवादी) द्वारा त्रिविमा भएको दबाब, हस्तक्षेप र भागभण्डाविरुद्ध संघर्षको घोषणा

0

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले त्रिविमा भएको दबाब, हस्तक्षेप र भागभण्डाका विरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । संगठनका अध्यक्ष नरेन्द्र सीले आज एक विज्ञप्ति जारी गर्दै त्रिविमा भएको दबाब, हस्तक्षेप र भागभण्डाका विरुद्ध संघर्ष घाेषणा गरेको बताएका छन् ।
अध्यक्ष नरेन्द्र सीले त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनीतिक तहबाट भागभण्डाका निम्ति दबाब दिनु दुखद र खेदजनक भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा भनिएको छ,-‘हामी तत्काल उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरुलाई नियुक्ती दिन र राजनीतिक हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दछौँ । साथै त्रिविलाई दिइएको दबाब, हस्तक्षेप र भागभण्डाका विरुद्ध निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ ।’

संघर्षका कार्यक्रम अन्तर्गत चैत्र २६ गते सोमबार विहान ११ बजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन गर्ने, २७ गते मंगलबार विहान ११ बजे काठमाडौँमा त्रिवि उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन गर्ने रहेको बताइएको छ ।

प्रेस विज्ञप्तिकाे पूरा पाठ-

नेपालको शिक्षा प्रणालीमा आमुल रुपान्तरणका लागि हाम्रो गौरवशाली संगठन निरन्तर संघर्षमा छ । उच्च शिक्षामा देशकै ८० प्रतिशत विद्यार्थीहरु अध्ययन गर्ने त्रिवि लामो समय असफल र दलाल चरित्रका राजनीतिक पार्टीहरुको भागभण्डा र हस्तक्षेपबाट थिलोथिलो र संकटग्रस्त बनिरहेको छ । हामी निरन्तर त्रिविको शैक्षिक र प्रशासनिक सुधारका लागि संघर्षमा छौँ ।
पछिल्लो समय त्रिविमा उपकुलपति प्रा.डा. केशर जंग बरालको प्रतिस्पर्धात्मक रुपमा नियुक्ति भएको डेढ महिना बितेको छ । उहाँले प्रतिस्पर्दाको आधारमा रजिष्ट्रार, रेक्टर लगायतका पदहरुमा नियुक्ती गर्न प्रधानमन्त्री समक्ष नाम पेश गरिसकेको अवस्थामा देशका ठुला भनिने राजनीतिक पार्टीका शिर्ष नेताहरु र तिनका भातृ संगठनहरुले बाहिर राजनीतिक भागभण्डाको अन्त्यको नक्कली नारा लगाएर नथाक्ने तर वास्तविक चरित्रमा आफ्ना भातृ संगठनका मान्छेहरुलाई नियुक्त गर्न दवाव दिनुले उनीहरुको असली चरित्र पर्दाफास भएको छ । अहिले नवनियुक्त उपकुलपति प्रा.डा. बरालमाथी विभिन्न क्षेत्रबाट अनावश्यक दबाब दिइएको पाइएको छ । यहि कारणले विश्वविद्यालयका नियमित कामहरु प्रभावित भइरहेको अवस्था छ । यो दुखद अवस्था हो ।
त्रिविको सुधारका लागि केही सकारात्मक प्रयासहरु हुन लागेको अवस्थामा उच्च राजनीतिक तहबाट भागभण्डाका निम्ति दबाब दिनु दुखद र खेदजनक छ । हामी तत्काल उपकुलपतिले सिफारिस गरेका व्यक्तिहरुलाई नियुक्ती दिन र राजनीतिक हस्तक्षेप तत्काल बन्द गर्न माग गर्दछौँ । साथै त्रिविलाई दिइएको दबाब, हस्तक्षेप र भागभण्डाका विरुद्ध निम्न संघर्षका कार्यक्रमहरु घोषणा गर्दछौँ
संघर्षका कार्यक्रम
१) २०८० चैत्र २६ गते सोमबार विहान ११ बजे देशभरिका त्रिविका आंगिक क्याम्पसमा विरोध प्रदर्शन
२) २०८० चैत्र २७ गते मंगलबार विहान ११ बजे काठमाडौँमा त्रिवि उपकुलपति कार्यालय अगाडि विरोध प्रदर्शन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।