१७ बैशाख २०८१, सोमबार

त्रि.वि.को रजिष्ट्रार र रेक्टर नियुक्तिमा दलीय हस्तक्षेप रोक्न माग गर्दै चितवनमा प्रदर्शन

0

चितवन । त्रिभुवन विश्वविद्यालयको रेक्टर र रजिष्ट्रार नियुक्तिमा भइरहेको दलीय हस्तक्षेपको विरोध गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (समाजवादी) ले चितवनमा प्रदर्शन गरेको  छ ।

सहभागीहरूले ‘रजिष्ट्रार नियुक्तिमा राजनीतिक हस्तक्षेप बन्द गर’, ‘खुला प्रतिस्पर्धाबाट नियुक्ति गर’, ‘समाजवादी शिक्षा नीति लागू गर’, ‘उत्तर पुस्तिका हराउनेमाथि कारबाही गर’, ‘परीक्षाको नतिजा समयमै प्रकाशित गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपछि भएको कोणसभामा बोल्दै अखिल (समाजवादी) का केन्द्रीय सदस्य महेश सीले  उपकुलपति प्रा.डा. केशरजंग बरालले रेक्टर र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिलाई रोकेर प्रधानमन्त्रीले दलीय भागबन्डामा नियुक्त गर्न चलखेल गर्नु आपत्तिजनक भएको बताए ।

त्रिभुवन विश्वविद्यालय २०८० पुस १२ गतेदेखि रजिष्ट्रारविहीन छ । रजिष्ट्रार पेशल दाहालको कार्यकाल पूरा भएपछि सरकारले डा. कृष्णप्रसाद बस्याललाई निमित्त रजिष्ट्रार तोकेको छ ।

त्रिविका उपकुलपतिले रजिष्ट्रार र रेक्टर पद रिक्त भएपछि चैत ६ गते सूचना जारी गर्दै ७ दिनभित्र बायोडाटा बुझाउन आवेदन माग गरेका थिए ।

सोहीअनुसार उपकुलपति प्रा.डा केशरजंग बरालले चैत १५ मा रेक्टरमा प्रा.डा. खड्ग केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजालको नाम त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष सिफारिश गरेका छन् । तर नियुक्ति प्रक्रिया अघि बढेको छैन ।

गत शुक्रबार प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र उपकुलपति बरालबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा एमाले अध्यक्ष ओलीले प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष प्रा.डा. बेदराज केसीलाई रजिष्ट्रार नियुक्त गर्नुपर्ने अडान लिएका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले नियुक्तिबारे पुनर्विचार गर्न त्रिवि उपकुलपति बराललाई निर्देशन दिएका थिए । तर सिफारिस भएकालाई नै नियुक्ति हुनुपर्ने अडान त्रिवि उपकुलपति बरालको छ ।

प्रा.डा. केसीमाथि एमालेको राजनीतिमा सक्रिय रहेको आरोप छ । उनी २०७८ चैत २५ र २६ चैतमा काठमाडौंमा सम्पन्न संगठनको दशौं राष्ट्रिय सम्मेलनमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको अध्यक्षमा निर्वाचित भएका थिए ।

उपकुलपति बरालले भने खुला प्रतिस्पर्धाबाट योग्य व्यक्ति नियुक्त हुनुपर्ने माग गर्दै आएका छन् । उनले आफ्नो टिम बनाउन अधिकार पाउनुपर्ने पनि बताएका छन् । कोणसभाको संचालन केन्द्रिय सदस्य रुजित सी ले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।