
वीरगञ्ज– नेपाल कम्युनिष्ट पार्टी पर्सा जिल्ला समितिको आयोजनामा बिन्दबासिनी गाउँपालिका २ बहुआरबामा भएको सुकुम्बासीमाथिको ज्यादतीविरुद्ध जिल्ला प्रशासन कार्यालय वीरगञ्ज अगाडि प्रदर्शन भएको छ ।
केहीदिन अघि नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अनिल सीले लोसपाबाट निर्वाचित मेयर प्रमोद तिवारीको नेतृत्वको टिमले बहुअर्वामा रहेको साठी घर सुकुम्बासीमाथि डोजर चलाएर दमन गरेकोप्रति भत्सर्ना गर्दै सोही स्थानमा नै पुगेर प्रदर्शन गरेका थिए ।
सुक्रबार पनि मेयरको ज्यादतीविरुद्धको प्रदर्शनको कोणसभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अखिल समाजवादीका सचिव अटल सीले यो सरकार संविधानमा समाजवाद उन्मुख संविधान र व्यवहारमा गरिब उत्पीडित समुदायको घर भत्काउने काम गरेकोप्रति निन्दा गरेका थिए ।
उनले अहिलेको युगमा मानिसको घर भत्काउने कार्य क्रुर र अमानवीय भएको भन्दै उक्त कार्यको विरुद्ध बोल्नका निम्ति सबै सरोकारवाला, मानवअधिकारवादी र राजनीतिक दललाई अपिल समेत गरे।
नेता अटलले रसियाले युक्रेनमाथि आक्रमण गर्दा माइतीघरमा आएर चिच्याउने मानव अधिकारवादीहरुलाई गरिबको घर भत्काएको किन नदेखेको भनेर प्रश्न समेत गरे । उनले मेयर प्रमोद तिवारीलाई यस्तो कुकर्मको लागि जनता समक्ष माफी माग्दै यस्तो कार्य नदोहोर्याउन चेतावनी समेत दिए ।
त्यस्तै कोणसभालाई नेपाल कम्युनिष्ट पार्टी वीरगञ्ज जिल्ला सेक्रेटरी फिरोज सीले मैथली भाषामा सम्बोधन गर्दै उक्त क्षेत्रका स्थानीयहरूलाई सरकारको रवैया विरुद्ध प्रतिरोध गर्न अपिल गरेका थिए । उनले यदि सरकारले यो बारेमा उपयुक्त पहल नलिए सुकुम्बासीहरूको पक्षमा नेपाल कम्युनिष्ट पार्टीले कदम चाल्ने प्रतिबद्धतासमेत जनाएका थिए ।
र्यालीमा बहुअर्वाका सयौं सुकुम्बासीहरु र नेकपाका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । नेकपा वीरगञ्जका अनुसार घण्टाघरबाट निस्केको र्याली वीरगञ्ज बजार परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।
विरोध प्रदर्शनमा सुकुम्बासीमाथिको ज्यादती बन्द गर!, नेपाल कम्युनिष्ट पार्टी जिन्दावाद!, वैज्ञानिक समाजवाद-जिन्दावाद!, सुकुम्बासीलाई न्याय दे!, गरिब मार्न पाइँदैन जस्ता नाराहरु लगाइएको थियो ।