११ श्रावण २०८१, शनिबार

टिकापुरका सुकुम्बासीहरु लालपूर्जा पाउनुपर्ने माग गर्दै काठमाडौंमा

0

काठमाडौं । कैलालीको टिकापुरका सुकुम्बासीहरु लालपूर्जा पाउनु पर्ने माग गर्दै सरकारलाई झक्झकाउन काठमाडौ पुगेको १ हप्ता भयो । उनीहरुलाई प्रधानमन्त्रीदेखि मन्त्रीहरुलाई भेट्न निकै सकस भयो । सुकुम्बासीहरुले जेनतेन जेठ २१ गते उर्जा, खानेपानी र भूमि सुधार मन्त्रीलाई भेट्न सफल भएपनि प्रधानमन्त्रीलाई भेट्न निकै गाह्रो भयो ।
मन्त्रीहरुसंग आफ्ना माग राखेका पीडितहरुले प्रधानमन्त्रीसंग पनि आफ्नो ज्ञापनपत्रसहित माग राख्न चाहेका थिए तर पीडितहरुका लागि समय मिलाई दिने कोही पनि भएन ।
हैरान भएका पीडितहरु जेठ २५ गते नेकपाका प्रवक्ता प्रकाण्डसंग भेट गर्न पुगे । पीडितहरुले नेकपाले पनि समस्या समाधानमा पहल गर्न र प्रधानमन्त्रीसंग भेट गर्ने वातावरण मिलाईदिन आग्रह गरे ।
नेकपाका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी सरकारमा नभएपनि समस्या समाधानमा पहल गर्ने विश्वास दिलाउदै ठाउँको ठाउँबाट फोन गरेर प्रधानमन्त्रीलाई भेट गर्ने समय मिलाई दिए ।
त्यसपछि पीडितहरुले जेठ २५ गते नै प्रधानमन्त्री प्रचण्डलाई भेटेर आफ्ना मागहरु राखेका छन् ।
सुकुम्बासीहरुले जेठ २६ गते नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंंग भेटेर पनि समस्या समाधानमा सहयोग गर्न आग्रह गरेका छन् ।
१ हप्ताको डेलिकेसन ल्याएर काठमाडौं आएका सुकुम्बासीसंगै वाढी पीडित, पूर्व कर्मचारी, मुक्तकमैया, लगायतका विभिन्न क्षेत्रका पीडितहरुको सहभागिता छ ।
तर उनीहरु सबैको एउटै स्वर छ ‘३० औं बर्षदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा पास गरी लालपूर्जा दिईहोस् र जमिन नहुनेहरुलाई जमिन दिएर पूर्नस्थापना गरिहोस् ।’
टिकापुरको एकतानगर, विशालनगर, एकतापुर, पूर्वकमैया, शिवनगर, चमेलीपुर, शक्तिनगर र पूर्वकर्मचारी टोलगरी ९ बटा बस्तीहरुमा बसोबास गर्ने पीडितहरु सरकारलाई दबाब दिन डेलिकेसन ल्याएर काठमाडौँ आएका हुन् ।
उनीहरुले प्रधानमन्त्री, मन्त्री र नेताहरुले समस्या समाधान गर्ने आश्वास दिएपनि कार्यान्वयन नहुँदासम्म विश्वस्त हुने आधार नभएको बताएका छन् ।
शनिबार पीडितहरुले रिपोर्ट क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो लालपूर्जा पाउने माग राज्यले पुरा नगरे र मुक्त कमैयाको पूर्नस्थापना नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सुकुम्बासी आन्दोलनका अगुवा चन्द्र भण्डारीले ३० औं वर्ष जमिनमा कुर्दा पनि लालपूर्जा नपाउनु अभागी भएको दुखेसो पोखे ।
उनले भने ‘भारतमा छोरा छोरी मजदुरी गर्न पठाएर त्यहाँबाट आएको पैसा खर्च गर्न काठमाडौँ आएका छौँ, ऋणको डोको बोकेर आएका हौं,यो रहर होइन,हाम्रो लागि बाध्यता भयो, सरकार ३० बर्षसम्म कानमा तेल हालेर सुत्यो, झक्झकाउन काठमाडौँ पुगेका छौँ, हामीलाई लालपूर्जा चाहियो ।’
उनले गणतन्त्र स्थापना पछि विभिन्न सरकार आएको भएपनि आफ्नो समस्या कसैले सुनुवाई नगरेको गुनाासो पोखे । पत्रकार सम्मेलनमा आन्दोलनमा सहभागी सितादेवी चौधरीले सरकारले टिकापुरबासीको माग सुनुवाई नगरे सशक्त आन्दोलन गर्ने चेतावनी दिइन् ।
टिकापुरको ९ वटा बस्तीमा ४ हजार ७ सय २१ वटा घरधुरी छन् । त्यसमा झण्डै १५ हजार सुकुम्बासी, मुक्तकमैया, पूर्व कर्मचारी र वाढी पीडितहरुको बसोबास छ । स्थानीय सरकारले उनीहरु बसेको स्थानलाई वनक्षेत्र भित्र परेको, विद्यालयको लागि जग्गा चाहिने आदि वाहना बनाएर उठाउन खोजेको छ ।
अहिले काठमाडौँमा ९ वटै बस्तीको प्रतिनिधित्व गरेर २९ जना पीडितहरु आन्दोलनमा आएका छन् । पीडित आन्दोलनकर्मीले आफूहरु लालपूर्जा पाउने ग्यारेण्टी नहुँदासम्म घर नफर्किने अडान लिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।