काठमाडौं/ झण्डै ११ वर्ष अघि मोहन वैद्यको नेतृत्वमा रहेको पार्टीबाट अलग भएपछि बनेको नयाँ पार्टीको नेतृत्व ‘विप्लव’ले गरे । संसदीय व्यवस्थाले र शान्तिपूर्ण चुनावले कुनै निकास दिँदैन, र यो संविधान सभाबाट राम्रो संविधान बन्दैन भन्नेमा यो पङ्ति प्रष्ट थियोे त्यसैले विप्लव नेतृत्वको नेकपाले विद्रोहमै जोड दियो । यही प्रक्रियाका बिचमा नेकपाले देशभरका ठूला र नामुद भ्रष्टहरूलाई कारबाही अगाडि बढाउँदै थियोे तर तत्कालीन केपी ओली सरकारले नेकपामाथि प्रतिबन्ध लगायो । देशभरका नेता–कार्यकर्ता पक्राउ गर्ने, झुठा मुद्दा लगाउने जस्ता गतिविधि पछि पार्टी नेतृत्व सरकारी तवरले भूमिगत जस्तो देखियो/रह्यो । खुल्ला र अर्धभुमिगत रहेर नेकपा झण्डै ११ वर्ष विभिन्न गतिविधि गर्दै जनताका बिचमा रहिरहेको थियोे ।
पार्टीले कम्युनिस्ट सरकारबाटै प्रतिबन्धको सामना पनि ग¥यो । देशी–विदेशी चलखेल र षड्यन्त्रको शिकार हुँदै एमसीसीको आन्दोलनसम्म आउँदा पार्टी विभाजनको तहसम्म पु¥याउने षड्यन्त्र गरियो । तर ठूलो पङ्ति मूलप्रवाहमा रहँदा विभाजनले ठूलो गणितीय असर भने गरेन ।
यता पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी चुनावी राजनीतिमा फर्किएको बहस भइरहेको छ । संसदीय दलहरूले ‘मिसन ०८४’ भन्दै अभियान चलाएका बेला नेकपाले ‘मिसन समाजवाद– ०८४’ चलाएको छ । कम्युनिस्ट आन्दोलनमा चुनावलाई हेर्ने जुन दृष्टिकोणहरू छन्, त्यो अबको २१ औं शताब्दीमा अपूर्ण भएको बहस गरिएको छ ।
२१ औं शताब्दीमा जसरी नयाँ अर्थसम्बन्ध, नयाँ वर्गहरूको विकास भएको छ, नयाँ राजनीतिक विशेषताहरू देखापरेका छन्, विश्वमा प्राविधिक र सूचना क्षेत्रहरू नयाँ बनेका छन् । योबाट चुनावलाई हेर्ने दृष्टिकोण र गर्ने व्याख्या नयाँ बनाउनुपर्छ भन्ने विश्लेषण नेकपाभित्र हुँदै आएको देखिन्छ ।
नेपालको राजनीति निकै संवेदनशील ठाउँमा आइपुगेको छ । साम्राज्यवादीहरूको हस्तक्षेप चरम चूलीमा छ, यहाँ राज्य र जनताबिचको अन्तरविरोध पनि नयाँ ठाउँमा पुगेको छ । यो बेलामा नेकपाले विचार र साङ्गठनिक संरचना नयाँ बनाएरमात्रै विकसित परिस्थितिमा लड्न सकिन्छ भन्ने बुझाई बनाएको छ । चुनावबारे फरक दृष्टिकोण अपनाउन जरुरी छ । किनकी यो कम्युनिस्ट आन्दोलनसँग पनि सम्बन्धित भएर आएको छ र तात्कालीक राजनीति पनि नयाँ ठाउँमा देखापरेको निष्कर्ष नेकपाको छ । यसकारण चुनावी रणनीतिलाई हामीले प्रयोग गर्न खोजेको नेकपाले बताउँदै आएको छ ।
पछिल्लो घटनाक्रमलाई नयाँ विकासका रुपमा लिएर यसलाई कार्यनीति र रणनीति तथा बहिस्कार र उपयोगको आँखाले मात्रै हेर्नु र बुझ्नु नहुने बुझाई पार्टीभित्र लिइन्छ । राजनीतिको एउटा अनिवार्य मोर्चा जस्तो बन्न गएको छ चुनाव । रणनीति कि कार्यनीति भन्ने शब्दमा अलमलिएर अहिलेको विशेषतामा त्यसलाई पकड्न सकिँदैन भन्ने निष्कर्षका साथ सङ्घर्षको एउटा अपरिहार्य मोर्चाको रुपमा चुनावलाई लिनुपर्छ । चुनावसम्बन्धी दृष्टिकोण नै नयाँ बनाउनुपर्छ । विप्लवले भनेका छन्– “२० औं शताब्दीको व्याख्याबाट गर्ने हो भने प्रयोगै प्रयोगमा गएर संसदवादमा, पुँजीवादमा गएर विसर्जन हुने देखियो । कि त बहिस्कारै बहिस्कार गरेर यान्त्रिक ढङ्गले जडसूत्रीय ढङ्गले विसर्जन हुने देखियो । जनता कहाँ छ के चाहिरहेको छ ? आन्दोलन कहाँ पुगेको छ ? सङ्घर्ष कहाँ उठेको छ भन्ने कुरालाई हेरेर आवश्यकताअनुसार प्रयोग गर्ने र आवश्यकता अनुसार बहिस्कार गर्ने हो । राजनीतिक आन्दोलनको दिशा त्यसको उचाइ कहाँ छ भन्नेबाट हामील हेर्नुपर्छ र अहिलेको स्थितिमा हामीले यो मोर्चा छोड्न हुँदैन । जनतालाई सँगै लिएर जाने मोर्चाका रुपमा यसलाई प्रयोग गर्नुपर्छ भन्ने हाम्रो धारणा छ ।” विप्लवले भनेका छन्– “नेपालको कम्युनिस्ट आन्दोलनमा, मेरै जीवनकालमा, जनयुद्धसम्म एकचोटी बैठक बसे पुग्थ्यो । छिटोमा ६ महिनामा निर्णय ग¥यो अनि दस्तावेज बोकेर गाउँतिर हिँडेपछि एक वर्षपछि भेट्दा पनि ताजै हुन्थ्यो । धेरै ठूला चिज सोच्नु पर्दैनथ्यो । अन्तर्राष्ट्रिय सम्बन्धको विशेषता पनि त्यस्तै थियो । तर आज हरेक घण्टा, हरेक मिनेट संसारलाई, जनतालाई जवाफ दिनुपर्ने भइसक्यो । एक्लै बस्छु भन्यो भने जनताबाट आफैं एक्लै पर्ने मात्रै हो, जनता र समाज त्यहाँ चाहिँ बस्दैन अहिले । अन्तर्राष्ट्रिय सम्बन्ध यति तीब्र र निकट भएर गइराखेको छ कि त्यसबाट हामीले नयाँ तरिकाले सोच्नैपर्छ । हाम्रा निर्णयहरू अन्तर्राष्ट्रिय परिवेशले यति छिटो परिवर्तन गरिदिन्छ कि त्यसमा हामी रहन सक्दैनौं । तुरुन्तै हामीले नयाँ ढङ्गले सोच्नुपर्ने हुन्छ । त्यसकारण हाम्रो आन्तरिक छलफल मात्रै निर्णायक र मुख्य हुँदैन । यसलाई कम्युनिस्टहरूले गम्भीरतापूर्वक हेर्नैपर्छ ।” १६ औं शताब्दीमा शुरु भएका पुँजीवाद उस्तै लाग्छ, ब्रिटेनमा शुरु भएको संसद उस्तै लाग्छ, चार–पाँच सय वर्ष पुरानो संसद जस्तै लाग्छ, फ्रान्सेली गणतन्त्र पनि यहाँको गणतन्त्र जस्तो लाग्छ ।
तर त्यस्तो होइन, आजको पुँजीवाद समाजवादको असफलता पछिको हो । हिजोको पुँजीवाद समाजवादसँग हारेको पुँजिवाद हो । चुनाव त चुनावै हो, पुँजीवाद अन्तर्गत हुने चुनाव नै हो । तर बुझाइहरू समाजका विशेषता, वर्गहरूको सम्बन्ध, नयाँ वर्गको उदय भइसक्यो । अहिले एक प्रकारले राजनीतिमा निर्णायक प्रभाव पार्ने शक्तिशाली वर्गका रुपमा मध्यम वर्गको विकास भइरहेको छ । यसलाई कम्युनष्टिहरूले राम्रोसँग ग्रहण गर्न सकिरहेको छैन । यहाँ त यसलाई जनतामाझ भन्न नसकेको देखिन्छ । भन्यो भने माक्र्सवाद विरोधी भइन्छ भनेर हिच्किचाउने गरिन्छ । तर समाज नयाँ ठाउँमा आइसकेको छ । चुनाव त उही नै हो तर हामीले बुझ्ने कुरामा धेरै विकास गर्नुपर्छ । एउटै शब्दले पनि आनको तान फरक पार्छ । उनले भन्छन्– “आधारभूत कुरा एउटै फरक छ र त्यो महत्वपूर्ण कुरा हो । सांसद र मन्त्रीको लागि मात्रै हामीले २०८४ को चुनावको कुरा गरेका छैनौं । २०८४ को चुनावलाई समाजवादी अभियानका रुपमा लिएर जानुपर्छ । नेपालमा १८ वर्षको प्रयोगलाई दलाल पुँजीवादी सत्ता भनेका छौं, जनताको हातमा सत्ता आउन सकेको छैन र सत्ता दलाल पुँजीपतिहरूको मुठ्ठीमा पर्दै गएको छ । त्यसलाई रुपान्तरण नगरेसम्म हुँदैन । चाहे नयाँ पार्टीलाई दिनुस् या अर्को पार्टीलाई दिनुस्, आधारभूत रुपमा यो सत्ताको चरित्रलाई बदल्नुपर्छ र त्यो भनेको समाजवाद हो । त्यसैले समाजवादमा जाने अभियानको रुपमा चुनावलाई प्रयोग गर्ने हो ।”
दलाल पुँजीवादका नयाँ कारिन्दाहरूले २०८४ लाई देशको अवस्था बदल्ने नारा दिइरहेको बेला देशको व्यवस्था नफेरिकन अवस्था नबदलिने भन्दै २०८४ को निर्वाचनलाई समाजवादको आधार बनाउन आवश्यक रहेको बताएको छ नेकपाले ।
विप्लवले बताउदै आएका छन् कि तर्क दशभारी गर्ने, साँझ घर जाँदा भातको लागि पनि रुने कम्युनिस्टहरूको विगतलाई क्रमभङ्ग गर्नु र रुढीवादलाई पूरै तोड्न यो रणनीति वैज्ञानिक हुन्छ । विप्लव भन्छन्– “कुनै पनि रुढीवाद मानव जातिको लागि बन्धन हो । पुँजीवाद पनि हरेक दिन क्रान्ति गरेर बाँच्छ भनेर माक्र्सले भन्नुभएको छ । पुँजीवादमाथि हावी हुन भने उसले एउटा क्रान्ति गर्दा कम्युनिस्टहरूले २ वटा क्रान्ति गर्नुपर्छ । अनि मात्रै क्रान्ति हुन्छ । कम्युनिस्टहरूले सामूहिक–सामूहिक भन्छन् । तर कसैले प्रयोग गरेको देख्नुभएको छ ? सरकारमा गएको नेता होस् कि सडकमा भएको नेता, न उसले परिवारलाई भन्नसक्छ न उसले प्रयोग गर्नसक्छ । अर्कालाई आलोचना मात्रै गर्न उठाउने सामूहिकता असफल भइसक्यो ।”
नेकपा पहिलोपटक प्रदेश संरचनामा
केन्द्रीय समितिको बैठकपछि बनेको नयाँ संरचना निर्माणसँगै महासचिवलगायत स्थायी समितिका नेताहरू देश दौडाहमा लागेका छन् । पार्टीको नवप्रस्तावित प्रदेश संरचनादेखि विभिन्न विभागहरूको बैठक, प्रशिक्षणलगायतका कार्यक्रमहरू चलिरहेका छन् । प्रदेश संरचनामा बागमती प्रदेशको ईन्चार्जमा पार्टी प्रवक्तासमेत रहेका प्रकाण्डलाई जिम्मेवारी तोकिएको छ भने लुम्बिनी प्रदेशको ईन्चार्जमा विषम सी, मधेस प्रदेशको ईन्चार्जमा प्रचार तथा प्रकाशन विभागका प्रमुखसमेत रहेका अनिल सी, गण्डकी प्रदेशको ईन्चार्जमा उमा सी ‘शिलु’, सुदुर–पश्चिम प्रदेश ईन्चार्जमा भरत सी, कर्णाली प्रदेश ईन्चार्जमा कर्णजीत सी ‘सुशिल’ र कोशी प्रदेश ईन्चार्जमा दिपेस सीलाई जिम्मेवारी तोकिएको छ ।
केन्द्रीय समितिको जिम्मेवारी बाँडफाँडपछि नेताहरू प्रदेशका बैठक, प्रशिक्षण र नयाँ विकसित राजनीतिक परिस्थितिअनुसार छलफल र बहसमा समेत लागेका छन् । प्रदेश संरचनाको बैठक र प्रशिक्षण सकिएपछि जिल्ला र स्थानीय तहका बैठक, प्रशिक्षण तथा जनताका मुद्दामा केन्द्रीकृत हुनेगरी योजना बनाएको देखिन्छ ।
यता समाजवादी मोर्चाको संयोजकसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव देशका विभिन्न भागमा प्रशिक्षण तथा उच्चस्तरीय भेटघाटमा लागिरहेका छन् । पूर्वी नेपालको धरानमा आयोजित प्रशिक्षण कार्यक्रममा समेत महासचिव पुगेका थिए ।
गत बैसाख २० गते धरानको लाङ्घाली सामुदायिक वनमा हुने प्रदेश १ स्तरिय प्रशिक्षण कार्यक्रम र भेटघाटमा सहभागी हुन विप्लव सी धरान पुगेका थिए ।
महासचिवको दौडधुपसँगै नेकपा स्थायी समिति सदस्य विषम सी, अनिल सी, शिलु सी, भरत सी, सुशिल सी पनि देश दौडाहमा निक्लिएका छन् । प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा बैठक, प्रशिक्षण सञ्चालन भइरहेका छन् । पार्टीसाथै जनवर्गीय संगठनहरूको बैठक तथा प्रशिक्षणमा समेत नेताहरूको सक्रियता बढेको छ ।
स्राेत: जनपत्रिका मासिक १२ अङ्क