२ मंसिर २०८१, आईतवार

माक्र्सवाद र समाजवादी शिक्षाको स्वरुप

0

         उमा सी ‘शिलु’

 

भूमिका
मानव जातिले प्रकृतिसँगको सङ्घर्षको क्रममा अथाह ज्ञान प्राप्त गर्दै आएको छ । वर्ग सङ्घर्ष सुरु भएपछि प्रविधि, औजार तथा सुरक्षासँग सम्बन्धित ज्ञान प्राप्त ग¥यो । दैनिक जीवन निर्वाहको लागि प्रकृतिसँगको सङ्घर्ष र पछि कृषि तथा पशुपालन युग हुँदै आजको युगमा आइपुग्दा अथाह ज्ञान प्राप्त भएको छ । ती सबै ज्ञानहरूको अध्ययन शिक्षाको विषय हो । सुरुमा ती ज्ञानहरू नयाँ पुस्ताले श्रुति परम्परा (पुरानोले नयाँलाई भन्दै ज्ञान नयाँमा सर्दै जाने परम्परा) को आधारमा ग्रहण गर्ने गरिन्थ्यो । चीनमा कागजको आविष्कार भयो । चीनमा नै छापाखानाको पनि आविष्कार भयो । त्यसपछि पुस्तक मार्फत ज्ञान फैलिन र संरक्षित हुन थाल्यो । आज त्यो काम तरङ्ग (Wave system) मा पुगेको छ । शिक्षामा युग अनुसार परिवर्तन र विकास पनि हुँदै आएको छ । यो लेखमा वैज्ञानिक समाजवादी क्रान्तिको चरण कस्तो हुने, यसको विकास प्रक्रिया के हो ? युगका विशेषता तथा चरित्र र आजको समाजवादी क्रान्तिको चरणमा हामीले लिनुपर्ने नीतिको विषयमा सङ्ंक्षिप्त चर्चा गरिनेछ ।
ऐतिहासिक पृष्ठभूमि
हामीले माथि नै उल्लेख गरेका छौँ कि शिक्षा भनेको ज्ञानका विभिन्न शाखाहरूको अध्ययन हो  । सुरुमा मान्छेले जीवन निर्वाह गर्न शिकार खेल्ने गथ्र्यो । फलफूल र कन्दमुल खोज्थ्यो । जङ्गली जनावर तथा शत्रुपक्षबाट सुरक्षित हुन प्रयोग हुने ढुङ्गा तथा काठे औजार र कलाको विकास हुँदै गयो । खाद्यान्नको विकास एकैपटक भएन । जङ्गली वस्तुहरू सेवन गर्दा हुने फाइदा र बेफाइदा भोग्दै शिक्षा लिँदै आयो । जस्तै, ब्राजिलका गोठालाहरूले कफीका दाना खाए । त्यसले फाइदा महसुस भएपछि आजको आधुनिक कफिसम्म पुग्यो । त्यस्ता कैयौँ वस्तु खाँदा ती प्राचीन अग्रजहरूको ज्यान गयो होला । यसरी हाम्रा अग्रजहरूले ठूलो बलिदान गरेर खाद्य पदार्थको आविष्कार गरेका थिए । त्यसमा विकास नयाँ पुस्ताले ग¥यो । नयाँ–नयाँ खाद्य पदार्थ पत्ता लाग्दै गए । आजको ठूलो जनसंख्यालाई धान्न वर्णशंकर (Hybrid) उत्पादन भएको छ ।
वर्ग सङ्घर्षको क्रममा शत्रुलाई पराजित गर्न र आफू सुरक्षित हुन सञ्चारको विकास भयो । हतियारहरू बने । धातुको आविष्कार भयो । सुरुमा औजारहरू युद्धमा प्रयोग गरिन्छ । नयाँ आविष्कार भएपछि बजारमा लगिन्छ । जस्तै, टेलिफोन वा दूरसञ्चार सेवा प्रारम्भमा फौजलाई मात्र उपलब्ध थियो । सञ्चारमा थप विकास भएपछि फोन बजारमा लगियो, टेलिफोन बजारमा लगियो । जनताले प्रयोग गर्न पाए । यही प्रक्रियामा ज्ञानको विस्तार भयो ।
वर्ग समाजमा शिक्षा वर्गीय भयो । शिक्षा सत्तारुढ वर्गको लागि र उसको सत्ता स्वार्थको लागि प्रयोग हुन्थ्यो । दास युगमा दास मालिकको लागि र सामन्ती युगमा सामन्त, राजा, रजौटाले मात्र अध्ययन, लेखन गर्न पाउँथे । अध्यात्मवाद (धर्म) मा आधारित शिक्षा भएकोले विज्ञानका विरुद्ध, सत्य–तथ्यको विरुद्ध हुन्थ्यो । आम जनताबिचका प्रतिभा कुण्ठित हुन्थ्यो । जसले गर्दा सामाजिक चेतना कमजोर हुन्थ्यो । जब पुँजीवादी युग आयो, पुँजीवादले शिक्षालाई नाफा कमाउने माध्यम बनायो । धन हुनेले मात्र पढ्न पाए । पुँजीवादले विज्ञानलाई प्रोत्साहित त ग¥यो तर त्यो आम जनतालाई भएन । मुठ्ठीभर व्यक्ति वा समूहमा केन्द्रित भयो । त्यो शोषणको औजार बन्यो । पुँजीवादी लुटपाट, युद्ध, अशान्तीलाई न्यायिक ठह¥याउने नीति लियो ।
समाजवादी शिक्षा प्रणालीले श्रमप्रति विश्वास र आस्था गर्ने नीति लियो । शोषणको विरोध ग¥यो र शोषणमा आधारित शासन व्यवस्था फेर्न सकिन्छ र फेर्नुपर्छ भन्ने विचार प्रचार ग¥यो । जसका कारण शिक्षित व्यक्तिहरू अन्याय, अत्याचारको विरुद्ध लाग्न थाले । विद्रोहको कारण बन्न थाल्यो । सामान्तवादी युगमा महिला, दलित र काला जातिहरू पढ्न पाउन्नथे । पुँजीवादी युगमा गरीबहरूले पढ्न पाएनन् । समाजवादले शिक्षामा धनी र गरीबबिचको विभेद अन्त्य गर्दछ । तसर्थ इतिहासका शिक्षा नीतिको अध्ययन र अबको शिक्षा नीति कस्तो हुनुपर्दछ भन्ने विषय नै हाम्रो अध्ययनको विषय हो ।
सामन्तवादी शिक्षा प्रणाली
शिक्षा सत्ताको उपरीसंरचन भएको कारण यसलाई सत्ताले आफ्नो आवश्यकताअनुसार व्यवस्था गर्दछ । सामान्ती सत्ताले हरेक विषयलाई अध्यात्मवादी चश्माले हेर्दछ । यसले जगत र जीवन गतिशील छ, परिवर्तनशील छ भन्ने कुरा मान्दैन । अलौकिक शक्तिद्वारा ब्रह्माण्डको रचना भएको हो र त्यही शक्तिको इच्छाअनुसार सबै घटना भइरहेको मान्दछ । जसअनुसार राजा, महाराजा, धनी, गरीब, मृत्यु, जीवन सबै हाम्रो इच्छाबाट स्वतन्त्र रुपले चलिरहन्छ भन्दछ । भौतिकवादले त्यो मान्दैन । संसार गतिमा भएकोले परिवर्तन अनिवार्य छ । त्यसो हुनाले व्यवस्था परिवर्तन गर्न सकिन्छ । धनी, गरिब, शान्ति, अशान्ति सबै बदल्न र आवश्यकताअनुसार निर्माण गर्न सकिन्छ । आफ्नो धारणा अनुसारको कारिन्दा उत्पादन गर्नेगरी शिक्षा नीति तयार गर्दछ ।
नेपालमा पञ्चायतकालमा नैतिक शिक्षाको नाममा सामान्ती नैतिकता पालन गर्ने जनशक्ति उत्पादन गर्ने नीति लिइएको थियो । त्यसैगरी देवभाषा भनिने संस्कृत भाषालाई अनिवार्य गरिएको थियो । जसको रोजगारी तथा दैनिक जीवन व्यवहारमा खासै महत्व थिएन । सत्तारुढ खास जाति र मनोविज्ञानलाई प्रश्रय दिने प्रयोजनको लागि संस्कृत भाषालाई अनिवार्य गरिएको थियो । त्यही विषयमा खास समुदायका धेरै विद्यार्थी अनुत्तिर्ण हुन्थे । उनीहरूको विकास अवरुद्ध हुन्थ्यो । २००७ सालसम्म त तीनधारा पाठशालामा विज्ञान, गणित, भूगोलजस्ता विषय अध्ययन गराइन्नथ्यो । इटालीका कम्युनिस्ट नेता अन्टोनियो ग्राम्सी (१८९१–१९३७) ले वैज्ञानिक शिक्षाको अभावमा मान्छे “लोकज्ञान र जादु–टुनामुनाको शिकार बन्दछ” भनेका छन् ।
नेपाली समाज अज्ञानको अँध्यारोमा फस्नुमा सामान्ती सत्ताको शिक्षा नीति जिम्मेवार छ । भूमण्डलमा विभिन्न चिजहरू अस्तित्वमा आउँछन् । तिनीहरू विकसित हुन्छन् र निश्चित समयमा विनास वा मृत्यु हुन्छन् । फेरि अर्को चिज अस्तित्वमा आउँछ । पदार्थको नास हुँदैन । तर त्यसको आकार र गुणमा परिवर्तन हुन्छ । तर सामान्तवादले जगत र जीवनको उल्टो वा मिथ्या ज्ञान प्रसार गर्दछ । पञ्चायतीकालमा भूगोल शिक्षकले विज्ञानसम्मत शिक्षा दिन्थे भने नैतिक वा सामाजिक शिक्षाका शिक्षकले रामायण, महाभारत, श्रवणकुमारको कथाजस्ता अलौकिक तथा आध्यात्मिक शिक्षा दिन्थे । विद्यार्थीको ज्ञानको स्रोत नै अन्यौलपूर्ण हुन्थ्यो । माओले जीव–विज्ञानको सन्दर्भमा रेशम किराको उदाहरण दिँदै भन्नु भएको छ, “रेशम किराको जीवनलाई लिनुहोस् । केवल अन्तमा मात्र त्यो मरेर जाँदैन । परन्तु त्यसको जीवनभरी त्यो विकासको चार चरण फुल, किरा, प्यूपा र पुतली भएर गुज्रिन्छ । रेशम किराले एक अवस्थाबाट अर्को अवस्थामा गुज्रनु पर्दछ । त्यो एउटामात्र अवस्थामा कहिल्यै पनि त्यो सुदृढ हुन सक्दैन” । सामन्ती समाज विज्ञान तथा भौतिकवादको विरुद्ध रहेको कारण यसले आम श्रमिक जनतालाई शिक्षा दिएन । बढ्दो दबावका कारण शैक्षिक संस्था खोलिए पनि शैक्षिक वातावरण सृजना गरेन । त्यसैले विगतमा हामीले ‘वैज्ञानिक र प्राविधिक शिक्षा’ को मागलाई मुख्य मागको रुपमा उठाउनु परेको थियो । सामान्तवादले श्रम नै सृजनाको मुहान हो भन्ने कुरा मान्दैन । त्यसैले शिक्षित व्यक्तिहरू श्रमजीवी नभएर श्रमचोर वा भ्रष्टाचारी तथा नोकरशाह बन्न पुग्दछन् । त्यसैले सामान्ती शिक्षा प्रणाली विकासको बाधक प्रणाली हो ।

पुँजीवादी शिक्षा प्रणाली

पुँजीवादी शिक्षा प्रणालीलाई बुझ्न पुँजीवादी युगका विभिन्न चरणहरूको अध्ययन आवश्यक हुन्छ । जति बढी उत्पादन ग¥यो, उत्ति नै नाफा हुने भएको कारण कम लागतमा धेरै उत्पादन गर्न उत्पादनका साधनको आधुनिकीकरण र उत्पादक शक्तिको विकास आवश्यक हुन्थ्यो । अदक्ष मजदुरले औजार चलाउन पनि सक्दैन्थ्यो । त्यसैले वैज्ञानिक र प्राविधिक शिक्षा पुँजीवादको विकासको लागि अनिवार्य बन्न गयो । व्यापक उत्पादनको लागि पुरुष श्रमिकले मात्र पर्याप्त भएन । अतिरिक्त श्रमको लागि महिलालाई घरबाट निकालेर श्रमबजारमा पु¥याउनु पर्ने भयो । त्यसक्रममा महिला श्रम, महिला शिक्षा र महिला अधिकारका विषय उठ्न थाले । यसैक्रममा बालश्रमको प्रश्न उठ्यो । पुँजीवादले बालश्रमलाई व्यापक बनायो । यी सबै विषय शिक्षा प्रणालीका विषय बन्न पुगे । तर सामान्तवाद विज्ञान र प्रविधिको विकासको बाधक थियो । त्यसकारण शिक्षा प्रणालीमा सामान्तवाद र पुँजीवादको बिचमा अन्तरविरोध पैदा भयो ।
विज्ञान र प्रविधिमा आधारित उत्पादनले ठूलो मात्रामा उत्पादन ग¥यो, त्यसको लागि नयाँ बजार आवश्यक प¥यो । नयाँ उत्पादन उपभोग गर्न जान्ने उपभोक्ता आवश्यक भयो । त्यसैले बजार विस्तारको उद्देश्यले शिक्षामा लगानी बढायो र शिक्षा प्रचारमा बाधक रहेका सामन्ती राजतन्त्रमाथि दबाब दिन थाल्यो । जसको कारण विश्वमा पुँजीवादी सारतत्व भएका राजतन्त्र अथवा गणतन्त्रात्मक व्यवस्था स्थापित भएर गए । सामन्ती समाजमा सीमित कुलिन वर्गमा रहेको शिक्षा पुँजीवादी युगमा आम जनताको तहसम्म विस्तार भयो । शिक्षाको विकास पुँजीवादी प्रणालीको विकासको आधार बन्न गएको कारण राज्यले नै शिक्षामा लगानी बढायो । कम लागत, बढी उत्पादन, बजार कब्जा र धेरैभन्दा धेरै नाफा कमाउन आवश्यक पर्ने ढाँचामा शिक्षा प्रणाली ढाल्न थालियो । त्यसलाई नैतिक ठह¥याउने वैचारिकी निर्माण गरियो ।
पुँजीवादमा उत्पादन सामूहिक श्रमद्वारा गरिन्थ्यो तर त्यसको स्वामित्व मुट्ठीभर पुँजीपति वर्गको हुन थाल्यो । यो शिक्षा आम जनताको आवश्यकता, चाहना र दैनिक जीवन व्यवहार सञ्चालनमा सहयोगी भएन । बरु यो पुँजीपति वर्गको नाफा कमाउने, पुँजीवादी सत्ता टिकाउने औजार मात्र बन्न गयो । लेनिनले ‘युवा र शिक्षा’ शिर्षक लेखमा भन्नु भएको छ, “स्वभावतः पुरानो शिक्षा प्रणाली पूर्णतया वर्ग भावनाद्वारा लिप्त थियो । तसर्थ पुँजीवादी वर्गका केटाकेटीलाई मात्र ज्ञान प्रदान गर्दथ्यो । त्यसको हरेक शब्द पुँजीपति वर्गको हितानुकूल मोडिएको हुन्थ्यो । त्यस शिक्षा प्रणाली अन्तर्गत मजदुर तथा किसानहरूको युवा पुस्तालाई सुसंस्कृत बनाउनमा होइन कि पुँजीपतिवर्गको हितानुकूल उसलाई तालिम गर्नमा बढी ध्यान दिइन्थ्यो” । श्रमिक वर्ग र आम जनताको आवश्यकतासँग यसको सरोकार थिएन । व्यवहारिक जीवनका आवश्यकता र शिक्षाको बिचमा एकता हुँदैन । यस सम्बन्धमा लेनिन भन्नुहुन्छ, “पुरानो पुँजीवादी समाजले हामीलाई छोडेर गएको एउटा सबैभन्दा ठूलो अनिष्ट र दुर्भाग्य हो– व्यवहारिक जीवन र पुस्तकबिचको गहिरो खाडल । हामीसित यस्ता पुस्तकहरू थिए जसमा सारा कुरा ज्यादै दार्शनिक रुपमा उल्लेखित गरिएका हुन्थे । जसले पुँजीवादी समाजको गलत चित्रण गर्दथे” (उही) । पुरानो शिक्षा प्रणालीले अनुपयोगी, निर्जीव र दासत्वभाव सृजना गर्दछ । त्यसले विज्ञानलाई पुँजीपति वर्गको हितमा दुरुपयोग गर्दछ । शिक्षा प्रकृतिसँगको सङ्घर्षमा मानव जातिलाई विजय प्राप्त गर्ने साधन हुनुपथ्र्यो । तर विज्ञान र प्रविधिलाई वर्ग स्वार्थमा प्रयोग गरिरहेको छ । शिक्षा आर्जन र शैक्षिक ज्ञानको प्रयोग पुँजीपति वर्गको पक्षमा हुने प्रणाली निर्माण गरिएको छ । त्यसैले वर्गीय विभेद पुँजीवादी शैक्षिक प्रणालीको मुख्य समस्या हो ।
चीन, रुससहित समाजवादी शैक्षिक प्रणालीका अनुभवहरू
औद्योगिक क्रान्तिसँगै श्रम–शक्तिको व्यापक माग भयो । श्रम–शक्तिको बढ्दो मागलाई पूर्ति गर्न पुँजीपति वर्गले बालश्रम गराउन थाल्यो । एकातिर अमानवीय बाल–श्रम चलिरहेको थियो, अर्कोतिर बाल–श्रम निषेध गर्नुपर्ने बहस विश्वव्यापी बन्यो । त्यो बहसमा कार्ल माक्र्सले भन्नुभएको छ, “शिक्षकहरूसँग बुझ्दा कारखाना मालिकहरूले चाँडै के कुरा थाहा पाए भने, कारखानामा काम गर्ने बालबच्चालाई नियमित रुपमा विद्यालयमा पढ्ने बालबच्चालाई भन्दा आधा कम शिक्षा प्राप्त हुन्थ्यो । तर पनि उनीहरूले नियमित पढ्नेहरूको हाराहारीमा अझ उनीहरू भन्दा पनि बढी सिक्न सक्थे” । विद्यार्थीलाई शैक्षिक समयमध्ये आधा समय शिक्षा, आधा समय श्रम गर्ने बच्चाबच्चीहरू पुरै समय अध्ययन गर्ने भन्दा तिक्ष्ण हुन्छन् भन्ने माक्र्सको धारणा थियो । पुस्तक अध्ययन–अध्यापन सँगसँगै शिक्षालाई श्रमसँग एकाकार गर्नुपर्छ भन्ने धारणा आइरहेको थियो । ब्रिटेनका एकजना रेशम व्यवसायीले १८६५ मा ढुक्क भएर भनेका थिए, “मलाई पूर्ण विश्वास छ कि सुदक्ष मजदुर तयार गर्ने सही युक्ति यो हो कि बचपनदेखि नै शिक्षा र श्रमलाई जोडियोस् । स्पष्ट छ कि काम धेरै कठिन, अरोचक र स्वास्थ्य प्रतिकूल हुनुहुँदैन । तर शिक्षा र श्रमको मिलाप लाभदायक हुने सम्बन्धमा मलाई अलिकति पनि शङ्का छैन” । अर्थशास्त्री जोन बेलर्सले “जीवनको दियोमा श्रमले दियोका काम गर्दछ र चिन्तनले त्यसलाई प्रज्वलित गर्दछ” भनेका छन् । अध्ययन, श्रम र खेलकुद (मनोरञ्जन) तीनवटा आयामलाई समायोजन गर्नु पर्ने धारणाको विकास भयो । त्यसप्रकारको धारणा प्रतिपादन गर्ने प्रथम व्यक्ति काल्पनिक समाजवादी रोबर्ट ओबेन (१७७१–१८५८) थिए । सन् १८६६ सेप्टेम्बरमा जेनेभामा भएको प्रथम अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनद्वारा पारित प्रस्ताव “अस्थायी केन्द्रीय परिषदका प्रतिनिधिहरूका लागि फरक प्रश्नका बारेमा निर्देशन–१८६७” मा तीनवटा अवधारणा प्रस्तुत गरिएको छ :
१) बौद्धिक शिक्षा (Intellectual education)
२) शारीरिक शिक्षा (Physical education)
३) बहु–प्राविधिक शिक्षा (Multi-technical education)

कार्ल माक्र्सले आफ्नो चर्चित कृति ‘गोथा कार्यक्रमको आलोचना’ मा शिक्षा र शारीरिक स्वास्थ्यमा नकारात्मक नहुनेगरी बालश्रम (उत्पादन श्रम) लाई शिक्षासँग एकाकार गर्नुपर्ने बताउनु भएको छ । पहिलो समाजवादी व्यवस्था र लेनिनले समाजवादी शिक्षा लागू गर्नुभयो । नझेज्दा क्रुप्सकाया र अर्का रुसी शिक्षाविद अनातोली लुनाचास्कीले समाजवादी शिक्षा प्रणालीको जग बसाएका थिए । बुर्जुवा वर्गले शिक्षालाई राजनीतिबाट अलग राखेर समाजसेवामा लगाउनु पर्ने दावि गर्छन् । तर आफ्नो सत्ता टिकाउन र चलाउन आवश्यक आज्ञाकारी र सक्षम कारिन्दा उत्पादन गर्छन् । त्यो नै उनीहरूको नैतिकता हुन्छ । लेनिनले त्यसप्रकारको दाबिलाई ‘निकृष्ट प्रचारबाजी’ भन्नु भएको छ । उहाँले ‘जीवन र राजनीतिबाट कटेको शिक्षालाई पाखण्ड र ढोंग’ भन्नुभएको छ । उहाँले व्यवहारिक जीवन र पुस्तकबिचको अन्तर पुँजीवादी शिक्षाको यथार्थ हो भन्नुभयो । लेनिनको उक्त निर्देशन अनुसार समाजवादी शिक्षा प्रणालीको आधार निर्माण भएको हो ।
सोभियत संघकी शिक्षामन्त्री, नेता तथा शिक्षाविद् नदेज्दा क्रुुप्सकायाले बुर्जुवा शिक्षा आम जनतामाथि वैचारिक दासता थुपार्ने साधन भएको बताइन । उनले ‘समाजवादी विद्यालयको प्रश्नमाथि केही विचार’ लेखमा भनिन्, “बुर्जुवा वर्गले विद्यालयगत शिक्षा पद्धति बनाउँदा आफ्ना हितहरूलाई, आफ्नो वर्ग प्रभुत्व कायम राख्ने आवश्यकतालाई मात्र ध्यानमा राख्दथ्यो । न कि व्यक्ति र समाजका हितहरूलाई ।” बुर्जुवा शिक्षाले सबैलाई होइन कि श्रम–शक्तिमध्ये उत्कृष्टलाई छानेर आफ्नो सेवामा लगाउने र बाँकीलाई सडकमा फाल्ने गरी नीति तर्जुमा गर्दछ । बुर्जुवा वर्गले आफ्ना बालबच्चालाई भौतिक सुविधा, सम्पन्न वातावरण, महत्व, स्रोतको प्रचुरता र कुलिन संस्कृतिद्वारा बुर्जुवाकरण गर्दछ । त्यसप्रकारको तालिम दिन्छ । त्यसरी स्वार्थलम्पट जनशक्तिमा बदल्छ । जनता, देश, गरिबी, शोषण, उत्पीडन, भाइचारा जस्ता विषय बुझ्नै दिँदैन । त्यसरी एउटा बुर्जुवा शासक र कारिन्दा तयार गरिन्छ । नदेज्दा क्रुप्सकाया भन्छिन्, “बुर्जुवा विद्यालयहरूको कार्यभार विद्यार्थीहरूलाई बुर्जुवा नैतिकतामा सिपालु बनाउने, वर्गीय चेतनाबाट विमुख राख्ने र उनीहरूलाई यस्तो भिडमा बदल्ने, जसमाथि बडो सजिलोसँग शासन चलाउन सकियोस् भन्ने नै हो” । विद्यालयको प्रारम्भिक शिक्षादेखि नै विद्यार्थीहरूको दृष्टि, श्रवण र स्पर्श शक्तिलाई जागृत गर्नुपर्दछ । यी बाह्य इन्द्रिय जागृत भएपछि मात्र उनीहरूले जगतको ज्ञान प्राप्त गर्न सक्दछन् । व्यक्तिको ‘बोध क्षमता र विविधता’ अथवा विषय बुझ्ने क्षमता र सृजनशीलता उसका इन्द्रियहरूको संवेदनशीलता र विकासको स्तरमा भर पर्दछ । इटालीका शिक्षाविद् मारिया मोन्टेसोरी (१८७०–१९५२) ले कलिला विद्यार्थीको लागि ज्ञानेन्द्रिय र सन्तुलित विकासको पद्धती तयार गरिन् । पुरानो विचारधारा उक्त पद्धतीको विरुद्ध थियो । विद्यालय शिक्षाको यो पद्धतीको प्रारम्भिक विकास भने जर्मन शिक्षाविद् फ्रेडरिक फ्रेबेल (१७८–१८५२) ले गरेका थिए ।
पुँजीपति वर्गले समान शिक्षाको वकालत गर्दछ । तर समाजको आर्थिक र चेतनास्तर दुवै असमान छ । असमान अवस्था रहिरहेको अवस्थामा समान शिक्षाको अवसर र अधिकार आफैमा असमानता वा विभेद गर्नु हो । रुसी शिक्षाशास्त्री तथा सौन्दर्य चिन्तक अनातोली लुनाचास्र्की कार्ल माक्र्सको सन्दर्भसहित भन्छन्, “घोषित समान राजनीतिक अधिकारको दृष्टिले बुर्जुवा जनवाद कम्तीमा समान योग्यता भएका बालबच्चालाई समान शिक्षाको समान अधिकार दिनु कर्तव्यनिष्ट हुनुपर्ने हो । तर बुर्जुवा जनवाद, जसलाई माक्र्सले साह्रै वृहद रुपमा देखाएका छन् कि काल्पनिक राजनीतिक समानता तथा वास्तविक आर्थिक असमानताबिचको अन्तरविरोध सँधै क्षयग्रस्त हुन्छ” । लुनाचास्कीले समाजवादी शिक्षाका दुईवटा प्रमुख कार्यभार बताएका छन् । पहिलो, नयाँ विज्ञान, नयाँ संस्कृति, सर्वहारा विज्ञान, माक्र्सवाद, सर्वहारा सङ्गठन, कम्युनिस्ट विचारमा जोड दिँदै इतिहासमा मानवजातिले आर्जेका सम्पूर्ण ज्ञान हस्तान्तरण गर्नु, दोस्रो, पुराना विचार नयाँ पुस्तामा पुग्नबाट रोक्नु, जसको विरुद्ध हामी लडिरहेका हुन्छौँ । समाज विज्ञान र प्रकृति विज्ञानको एउटा शाखा र अर्को शाखाको बिचमा अन्तरविरोधी होइन, सामन्जस्य कायम गरिन्छ । उत्पादनका साधनले मान्छेले प्रकृतिमाथि विजय प्राप्त ग¥यो । तर त्यही साधनले वर्गीय समाज बनायो र मानव समाज पराधीन भयो । उत्पादनका साधनलाई समाजको नियन्त्रणमा ल्याएर पराधीनताको अन्त्य गर्न सक्षम जनशक्ति निर्माण गर्नु समाजवादी शिक्षाको लक्ष्य हो । लुनाचास्र्कीको दाबि छ कि प्रकृति विज्ञानमा पुँजीपतिवर्गले गरेको योगदानले समाजवादको विजारोपण गरेको छ र पुँजीवाद त्रसित छ । त्यसलाई रोक्न बेचैन छ । पुँजीपति वर्गलाई डर छ कि प्राकृतिक विज्ञानभित्र ‘माक्र्सवादको फूल नफुलोस्’ लुनाचास्की पुँजीवादको पश्चगामी धारणा प्रकट गर्छन् । त्यसैगरी राम्रो विद्यार्थी भनेको क्रान्तिकारी विचार, तन्दुरुस्त शरीर, आवश्यक गुण र योग्यता भएको विद्यार्थी हो भन्ने धारणा कोरियाली नेता किम इल सुङको रहेको छ ।
चीनमा श्रम–शिक्षा र शारीरिक शिक्षा दुवैलाई महत्वपूर्ण स्थान दिइएको थियो । मानव सिद्धान्त (The doctrine of men) मा कन्फ्युसियसले नैतिक शिक्षा र बौद्धिक शिक्षामात्र पर्याप्त नहुने तर्क गरेका छन् । कन्फ्युसियसले उत्कृष्ट शिक्षा (The great learning) रचनामा शारीरिक शिक्षा दिएपछि मात्र अरु शिक्षामा प्रवेश गराउनु पर्ने बताएका छन् । माओले विद्यार्थीलाई देश र समाजका विशेषता अध्ययन गर्न प्रेरित गर्नु र सोभियतकालीन समाजवादी शिक्षालाई थप समृद्ध गर्नुभयो । चीनमा व्यवहारिक शिक्षामा मुख्य जोड थियो । माओ भन्नुहुन्छ, “सिङगुवा विश्वविद्यालयमा विज्ञान र इन्जिनियरिङ संकायसँगै कारखानालाई जोडिएको छ । किनभने विद्यार्थीहरूले किताब र काम दुवैबाट सिक्नुपर्छ । तर हामी कला संकायका लागि भने साहित्य कारखाना, इतिहास कारखाना, अर्थशास्त्र कारखाना, उपन्यास कारखाना बनाउन सक्दैनौं । यी विभागहरूका लागि सम्पूर्ण समाज नै कारखाना हो” । अन्तर्वस्तु र विधि वा व्यवहार दुवै दृष्टिले क्रान्तिकारी र श्रमजीवि जनशक्ति निर्माण गर्नु समाजवादी शिक्षाको लक्ष्य हो । शिक्षाले व्यवहारिक जीवनलाई सजिलो र भ्रममुक्त पार्नुपर्छ । शिक्षाको विकास नै व्यवहारिक समस्या समाधान गर्ने प्रक्रियामा भएको हो । समाजवादी शिक्षाको अन्तरवस्तु निम्न छन् :
क) राजनीतिक र विचारधारात्मक शिक्षा
ख) वैज्ञानिक र प्राविधिक शिक्षा
ग) शारीरिक शिक्षा
समाजवादी शिक्षा प्रणाली लागू गर्ने निश्चित् विधिहरू प्रयोगमा ल्याइएका छन् । ती विधिहरू निम्न छन् :
क) अनुसन्धानात्मक शिक्षण
ख) सैद्धान्तिक शिक्षालाई व्यवहार र उत्पादक श्रमसँग जोड्ने
ग) सङ्गठित जीवन र सामाजिक तथा राजनीतिक क्रियाकलापलाई सुदृढ बनाउने
घ) विद्यालय र समाजलाई जोड्ने
ङ) पूर्व–विद्यालय, विद्यालय र प्रौढ–शिक्षालाई जोड्ने
देशमा कस्तो शिक्षा प्रणाली भयो भने समाजवादी शिक्षा भन्ने त ? सारतत्व र विधिबारे माथि उल्लेख गरिसकिएको छ । अब हामी चीनको व्यवहारिक शिक्षाका गुणहरू हेरौँ :
क) अनिवार्य शिक्षा प्रणाली
ख) निःशुल्क शिक्षा व्यवस्था
ग) अध्ययन र काम सँगसँगै गर्ने शिक्षा
घ) लालनपालन र शिक्षा दुवै राज्यको दायित्व भएको शिक्षा प्रणाली
चीनमा १९५६ मा प्राथमिक विद्यालयको शिक्षा अनिवार्य गरियो । १९५८ मा माध्यमिक शिक्षा र १९६६ मा प्राविधिक शिक्षालाई अनिवार्य गरियो । १९७२ मा मात्र सम्पूर्ण शिक्षा (कुनै एउटा विषय) मा अनिवार्य अध्ययन गर्नुपर्ने नीति लिइयो । अध्ययन नगर्नु राज्यको लागि बोझ हुन्थ्यो र त्यो गैरकानुनी कार्य सरह हुन्थ्यो । शारीरिक र बौद्धिक श्रमबिचको अन्तरविरोध हटाउन अनिवार्य उच्च शिक्षाको नीति लिइयो । सम्पूर्ण समाजलाई बौद्धिककृत (Intellectualize) गर्नु समाजवादी शिक्षा प्रणालीको लक्ष्य हो ।

नेपालको शिक्षा प्रणाली– प्रवृत्तिगत समस्या

जनता शिक्षित भए भने आफ्नो निरंकुश शासन चल्ने छैन भन्ने बुझेका राणाहरूले शैक्षिक संस्था खोलेनन् । ब्रह्माण समुदाय र पानी चल्ने समुदायका दरबारीयाका बच्चाहरूको लागि गुरुकुल शिक्षा दिइन्थ्यो । काठमाडौको तीनधारा पाठशालामा धार्मिक ग्रन्थमात्र अध्यापन गराइन्थ्यो । जहाँ २००५ सालमा गणित, विज्ञान र भूगोल अध्ययन गर्न पाउनुपर्ने मागसहित विरोध प्रदर्शन भएको थियो । त्यसको नारा ‘जयन्तु संस्कृतम्’ थियो । शिक्षाप्रेमी राणा देवशमशेरले वि.सं. १९११ मा राणा खलक, राजदरबार र उच्च तहका कर्मचारीका छोराछोरी पढाउन दरबार हाइस्कुल (हालको भानु माध्यामिक विद्यालय, रानीपोखरी) स्थापना गरे । श्री ३ चन्द्रशमशेर बेलायत भ्रमण जाँदा त्यहाँका सञ्चारकर्मी र कुटनीतिज्ञसँग नेपालमा एउटा उच्चशिक्षालय भएको बताए । तर नेपालमा एउटा पनि उच्च शिक्षालय थिएन । नेपाल फर्केपछि आफ्नो भण्डाफोर नहोस् भनेर त्रिचन्द्र क्याम्पस स्थापना गरे । भनिन्छ त्रिचन्द्र कलेज स्थापना गरेको दिन ‘मैले आफ्नो गोडामा आफै बन्चरो हानेँ’ भन्दै रोएका थिए । शैक्षिक जागरणले निरंकुश शासन रहन्न भन्ने उनीहरूको विश्वास थियो । राणा शासनको अन्त्यतिर काठमाडौं, ललितपुर, सप्तरी र भोजपुर जिल्लामा एक–दुई शैक्षिक संस्था खोलिएका थिए । त्यसैमा पनि सरकारी लगानी थिएन । मध्यमा वा प्रवेशिका परीक्षा (SLC) को बोर्ड परीक्षा दिन बनारस पुग्नु पर्दथ्यो । राणाकाल शैक्षिक दृष्टिले अन्धकार युग थियो ।
२००७ सालको राजनीतिक परिवर्तनपछि शिक्षामा सरकारी लगानी र प्रोत्साहन सुरुभयो । देशका अरु क्षेत्रमा जसरी नै शिक्षामा भारतीय प्रभाव प¥यो । भारतमा ब्रिटिश शिक्षा नीतिको प्रभाव थियो र नेपालमा ब्रिटिश शिक्षा नीति र प्रणाली अनुसरण गरियो । विद्यालयका पाठ्यक्रम ब्रिटिश शिक्षा नीतिको अन्ध–नक्कल थियो ।
२००७ सालपछि नेपालमा अमेरिकी प्रभाव सुरु भयो । ‘पिसकोर नेपाल’, युनाइटेड मिशन टु नेपाल, पूर्वी राप्ती विकास परियोजना, औलो उन्मुलन परियोजना जस्ता गैरसरकारी संस्था ९ल्न्इरक्ष्ल्न्इ० र विकासे संस्थामार्फत अमेरिकाको प्रभाव राजनीतिक क्षेत्रमा व्यापक बन्दै गएको थियो । विश्व राजनीतिमा ब्रिटेनको ओरालो यात्रा र अमेरिकाको उदय भइरहेको थियो । त्यसक्रममा २०२८ साल (तदनुसार सन् १९७१) मा नेपालमा पुरानो शिक्षा प्रणाली र पाठ्यक्रम खारेज भयो । नयाँ शिक्षा योजनाको नाममा शिक्षा प्रणालीलाई अमेरिकी ढाँचामा ढालियो । पुरानो शिक्षा प्रणाली र कथित नयाँ शिक्षा प्रणालीबिचको अन्तरविरोध विश्व शक्तिको दृष्टिले संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य बेलायतबिचको टक्कर थियो । अर्थ–राजनीतिक दृष्टिकोणले सामान्तवाद र उदयीमान पुँजीवाद (दलाल पुँजीवाद) बिचको शक्ति सङ्घर्षको परिणाम थियो । कथित नयाँ शिक्षाको विरुद्धको सङ्घर्षमा २०२८ सालमा जनकपुर, यदुकुहामा विद्यार्थीहरू कामेश्वर यादव र कुशेश्वर यादवको हत्या गरिएको थियो ।
२०४६ सालपछि सरकारले दाताहरू विश्व बैंक (WB), एशियाली विकास बैंक (ADB) र अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) को दबावमा उदारवादी आर्थिक नीति अवलम्वन ग¥यो ।
अमेरिकी प्रभुत्वलाई विश्वव्यापी गराउने उद्देश्यले अमेरिकाले १९८९ मा वासिङ्गटन सहमती १९८९ (Washington Consensus-1989) अघि सा¥यो । यसको चुरो विषय निजीकरण र भूमण्डलीकरण थियो । यसको नकारात्मक प्रभाव शिक्षा प्रणालीमा सबैभन्दा बढी प¥यो । दाताहरूले शिक्षामा सरकारी लगानी कटौति गर्न दबाव दिए । जसको कारण आङ्गिक (सरकारी व्यवस्थापन) कलेजहरू खुलेनन् । छात्रावास र भान्छाघर (क्याफ्टेरिया) बन्द भए । अनुसन्धान, तालिम र पाठ्यक्रम विकास अवरुद्ध भएर गए । कम आय भएका जनताको शैक्षिक अधिकार र अवसर अवरुद्ध भयो । निजी स्तरमा व्यापारिक प्रयोजनका शैक्षिक संस्थाहरू खोल्न नीतिगत निर्णय गरियो । दाताहरूले त्यसमा लगानी गरे । तब शिक्षा राष्ट्रिय आवश्यकता र सरकारको दायित्व भएन र व्यापारिक नाफा–घाटाको विषय बनाइयो । देशभित्र र बाहिरका शैक्षिक दलालको प्रवेश खुला गरियो । शैक्षिक परामर्शदाता (Educational consultancy) को नाममा शैक्षिक जनशक्ति बेचबिखन वैधानिक रुपमा मौलाएको छ । आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकमा शैक्षिक अनुमती–पत्र (No objection letter) लिने विद्यार्थी संख्या १ लाख १० हजार २१७ पुगेको छ । शिक्षा युवा पलायनको माध्यम, विदेशी मुद्रा सञ्चिती घटाउने माध्यम बनेको छ । श्रमिक वर्गका व्यक्तिले निजी संस्थामा पढाउन नसक्ने, सरकारले लगानी नगर्ने अवस्थाको कारण धनी र गरीबबिचको खाडल चुलिएर गयो । यसले भयानक द्वन्द्वतिर समाजलाई डो¥याउन सक्छ ।
नेपालमा अहिले वैज्ञानिक र जनवादी (पुँजीवादी जनवादी) शिक्षा विद्यमान छ । यद्यपि सामान्तवादले पुरानो चरित्रतिर फर्काउने प्रयास गरिरहन्छ । अहिले पुँजीपति वर्ग र श्रमिक वर्गको लागि अलगअलग शैक्षिक संस्था र उच्चशिक्षा छन् । साधन नभएका श्रमिक वर्गको उच्च शिक्षासम्म पहुँच छैन । गुणस्तर र साधन–श्रोत छैन । त्यसकारण असमान शैक्षिक अवसर छ । शिक्षा प्रणालीमा वर्गीय विभेद उत्कर्षमा पुगेको छ । तसर्थ शैक्षिक क्षेत्रमा वर्गीय विभेदको अन्त्य समाजवादी शैक्षिक आन्दोलनको मुख्य कार्यभार भएको छ ।

समाजवादी शिक्षा प्रणाली

समाजवादी समाजको लागि आवश्यक जनशक्ति उत्पादन गर्ने र समाजवादी सिद्धान्तअनुसार चल्ने शिक्षालाई समाजवादी शिक्षा प्रणाली भनिन्छ । सोभियत संघ, चीनसहित समाजवादी देशहरूले अवलम्वन गरेको शैक्षिक प्रणालीका कमजोरीहरू हटाउने, त्यसका सकारात्मक पक्षहरू अवलम्बन गर्ने र नेपाली समाजको विशेषताअनुसार लागु गर्ने शैक्षिक प्रणाली नै ‘समाजवादी शिक्षा प्रणाली’ हो । समाजवादी प्रणालीमा प्रयोग गरिएका मुख्यमुख्य विषय माथि नै उल्लेख गरिएको छ । श्रम विभाजनले उत्पादन वृद्धि भयो । एकातिर एउटा पक्षमा क्रियाशीलता बढायो । तर त्यसको मूल्यमा अर्कोतिर अरु सम्पूर्ण शारीरिक र मानिसिक क्षमताहरूको बलि चढाइयो । श्रम विभाजनले समाजलाई शहर र गाउँ (जनपथ र नगर) मा मात्र विभाजन गरेन, गाउँको बौद्धिक विकास र शहरको शारीरिक विकासलाई अवरोध ग¥यो । आजको उत्पादन प्रकृया सामूहिक हुन्छ तर स्वामित्व निजी हुन्छ । त्यसलाई सामूहिक स्वामित्वमा बदल्नु समाजवादको मुख्य कार्यभार हो । त्यो विचार र कार्यभार लागु गर्ने गरी शिक्षा नीति निर्माण हुनेछ । नेकपाका महासचिव विप्लव भन्नुहुन्छ, “वैज्ञानिक समाजवादले प्रथमतः राज्यसत्तालाई शोषक वर्गको हातबाट श्रमिक एवम् बौद्धिक वर्गको हातमा सारिदिन्छ । सत्तामा पुँजीपति वर्गको बर्चस्व नरहेर आम श्रमिक जनता, मजदुर, किसान, महिला, दलित, सेना, उत्पीडित समुदायको समान र समानुपातिक प्रतिनिधित्व रहन्छ । सबै जनताको लागि राजनीतिक स्वतन्त्रता, जनअधिकार, शिक्षा, स्वास्थ्य, सूचना, यातायातका अधिकारहरू सुनिश्चित हुन्छन् । राज्यले जनता विरुद्ध कुनै पनि तानाशाही, निरंकुश दमन चलाउँदैन । त्यसैगरी विश्वमा पुँजीवादी हस्तक्षेप अतिक्रमण रहँदासम्म राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विश्वका श्रमिक वर्गको पक्षमा उभ्याउँछ” । समाजवादी शिक्षा नीतिले क्रान्तिपूर्व समाजवादी क्रान्तिको आधार निर्माण गर्नु र क्रान्ति सम्पन्न भएपछि समाजवादी व्यवस्थाको लागि आवश्यक श्रम–शक्ति उत्पादन गर्नु तथा त्यसको रक्षा गर्न सक्ने जनमत निर्माण गर्नु हुनेछ ।
समाजवादी शिक्षामा वर्गीय तथा सबै प्रकारका विभेदहरूको अन्त्य हुनेछ । शिक्षा राज्यको दायित्वभित्र आउनेछ । नोकरशाह होइन श्रमिक वा अर्काको श्रम खाने श्रमचोर श्रम–शक्ति उत्पादन गर्नबाट रोक्नेछ । आदर्श समाज निर्माण गर्ने भूमिका निर्वाह गर्नेछ । श्रम बाध्यकारी नभएर सबै सृजनाको मुहान हो भन्ने धारणालाई व्यवहारिक बनाउनेछ । समाजको बौद्धिकीकरण समाजवादी शिक्षाको अनिवार्य शर्त हुनेछ । भि.आई लेनिन भन्नुहुन्छ, “अनपढ मानिसहरू विद्युतीकरणका लागि योग्य हुन सक्दैनन् भन्ने कुरा तपाईहरूलाई राम्रोसित थाहा छ । यो कामको लागि केवल साक्षरता मात्र पनि पर्याप्त हुँदैन । विद्युत भनेको के हो भन्ने ज्ञान भएर मात्र पुग्दैन । बरु प्राविधिक ढङ्गले उद्योग र कृषिमा, त्यसका विभिन्न शाखाहरूमा विद्युतको उपभोग कसरी गर्न सकिन्छ भन्ने पनि जान्नु पर्दछ” । लेनिनले समाजवाद भनेको रुसको विद्युतीकरण गर्नु हो भन्नु भएको थियो । जनताको दैनिक जीवनमा सहजता ल्याउन आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नै समाजवादी शिक्षा हो । कानुन संकायका विद्यार्थीले अपराधको स्रोत के हो ? अपराध कसरी भइरहेका छन् भन्ने जान्र्दैनन् भने ती सफल विद्यार्थी हुँदैनन भन्ने लेनिनको भनाइ छ । कानुनको कारखाना बनाएर तालिम पनि दिन सकिन्न । त्यसैले समाजको गहिरो अध्ययन, समाजका विशिष्टता र मनोविज्ञानको ज्ञान नै उनीहरूको तािलम लिने कारखाना हो । समाजवादी शिक्षाको विशेषताबारे विप्लव सी भन्नुहुन्छ , “१) राज्यले शिक्षालाई आफ्नो दायित्व मान्नेछ वर्गीय विभेद र असमानता हटाउँछ, एकरुपता र समानता ल्याउँछ । २) सबै तहको शिक्षा निःशुल्क र आधारभूत शिक्षा लालन–पालनसहित अनिवार्य हुनेछ । ३) वैज्ञानिक बहुप्राविधिक जीवन उपयोगी र राष्ट्रिय आवश्यकताअनुसार बेरोजगार नुहने गरी श्रमशक्ति उत्पादन गर्ने नीति हुनेछ” ।
समाजवादी शिक्षा प्रणालीले केही नयाँ विशेषता पनि संशोधन गर्नुपर्नेछ । क्रान्तिको रक्षा, पर्यावरणको सुरक्षा र प्रविधिको क्षेत्रमा नयाँ प्रश्नहरू अवसर र चुनौतिको रुपमा आएका छन् । समय र समाजको आवश्यकताअनुसार समाज निर्माण गर्नु नै समाजवादी शिक्षा प्रणालीको कार्यभार हो ।

निष्कर्ष
हरेक युगको शिक्षा प्रणाली समाज व्यवस्थाको जीवन दर्शन र सत्तासिन वर्गको हितअनुसार निर्माण गरिएको हुन्छ । सत्ताधारी वर्गको विचारलाई नैतिक र अकण्टक बनाउने कार्यमा भूमिका खेल्नसक्ने श्रमशक्ति उत्पादन गर्ने प्रकृतिको हुन्छ । सामान्ती समाज र आजको पुँजीवादी समाजमा पनि त्यही हुँदै आएका छ । समाजवादी क्रान्तिको चरणमा समाजवादी क्रान्तिको आधार निर्माण गर्ने, जनविरोधी चिन्तनको दुष्प्रभाव हटाउने, श्रमिक वर्ग उत्पादन गर्ने नोकरशाह तथा कामचोर वर्ग उत्पादन हुन नदिने हुन्छ । समाजवादी व्यवस्थालाई आवश्यक श्रमशक्ति उत्पादन गर्नु नै समाजवादी शिक्षा प्रणालीको कार्यभार हुनेछ । साम्राज्यवाद, युद्ध, उत्पीडन, शोषणको विरुद्ध स्वतन्त्र र शोषणरहित समाज निर्माण यसको आदर्श हो । समाजका आवश्यकता र स्थितिहरू निरन्तर गतिमा हुन्छन्, परिवर्तनशीलन हुन्छन् । त्यसो भएको हुनाले समाजवादी शिक्षा–प्रणाली पनि कुनै स्थिर विषय होइन । समय र समाज (श्रमिक वर्ग) को हित तथा आवश्यकता अनुसारको शिक्षा प्रणाली नै समाजवादी शिक्षा प्रणाली हो ।
सन्दर्भ सामग्रीहरु
१) अन्टोनियो ग्राम्सी, साँस्कृतिक और राजनीतिक चिन्तनके बुनियादी सरोकार
२) माओ त्से तुङ, सोभियत पाठ्यपुसतक ‘राजनीतिक अर्थशास्त्र’को आलोचनात्मक अध्ययन, भाग १, अनुवादक– युवराज पन्थी, विविध पुस्तक भण्डार
३) लेनिन, शिक्षामा माक्र्सवादी चिन्तन, सम्पादक÷ अनुवाद– भोगिराज चाम्लिङ, खोजी प्रकाशन गृह, काठमाडौं, २०६६
४) कार्ल माक्र्स, वैज्ञानिक शिक्षा प्रणालीको रुपरेखा, अनुवाद– रमेश सुनुवार, दीपक प्रकाशन, २०६१
५) विप्लव, पुँजीवाद कि वैज्ञानिक समाजवाद ?,
केन्द्रीय प्रकाशन तथा प्रचार विभाग, नेकपा, २०७४
२०८० कात्तिक, काठमाडौं

स्राेत: जनपत्रिका मासिक १२ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।