७ पुष २०८१, आईतवार

उत्तरी गोलार्धको गतिशील देश रसिया

0

            प्रकाश शाही

 

मार्च १ देखि ६ सम्म आयोजना गरिएको विश्व युवा महोत्सवमा भाग लिन हामी नेपालबाट फाल्गुन १५ गते साँझ ७ः१५ को फ्लाई दुबईबाट नेपाली प्रतिनीधि टोली रसियाका लागि प्रस्थान गर्याैँ, करिब ४ घण्टा बढिको यात्रापछि दुबई र त्यसपछिको ५ घण्टाको हवाई यात्रापछि हामी रसियाको राजधानी मस्को विमान स्थलमा झर्याैँ, लामो हवाई यात्राले हामी सबै थकित थियौं, तर नयाँ परिवेश र लेनिनको देश भएकाले तन थकित भए पनि मन उत्साहित थियो । प्रवेशाज्ञा प्रक्रिया आदिले हाम्रो विमानस्थल बसाई केही लामो भयो, हामी पुग्नु पर्ने थियो रसियाको दक्षिण पूर्वी क्षेत्र सोचीमा जहाँ विश्व युवा सम्मेलन हुँदै थियो, हाम्रो जहाजको उडान समय १ः२० को भएकाले हामी विमानस्थलमै थियौं । सम्मेलनकै चापले पनि होला, जहाजहरू अत्याधिक मात्रामा आउ–जाउ गर्दै थिए । विमानस्थल बाहिरको मौसम ऋणात्मक थियो, –७ डिग्री सेन्टीग्रेड । विमानस्थल हिउँले सेताम्मे थियो, यस्तो लाग्दै थियो कि मानौं हामी हिमालको काखमा आएका छौं वातावरण मनोरम थियो, मनभरि अनेक कुराहरू खेल्दथे । हामीले पढेको र पढाइएको विश्व सर्वहारा वर्गका महान् मान्छेहरू– लेनिन र स्तालिनको देशमा थियौं । बेला–बेला लाग्थ्यो यत्रो विशाल मुलुकमा आजभन्दा १०० वर्ष अगाडि कसरी संभव भयो होला क्रान्ति ? स्तालिनले दोस्रो विश्वयुद्धताका कसरी हिटलर तानाशाहविरुद्ध रसियन जनता सङ्गठित गरे होलान् ? यस्तो प्रतिकूल हावा पानीमा संसार हल्लाउने चमात्कारिक प्रगति कसरी संभव भयो होला ? यस्तैयस्तै अनेकन प्रश्न मनमा खेल्दाखेल्दै हामी सोचीका लागि उड्ने समय भयो, हाम्रो टोली सोचीका लागि उड्यो । करिब ४ घण्टाको मनोरम यात्रापछि हामी सुन्दर सहर सोचीमा उत्रियौं । सोची साँच्चै सुन्दर छ, सहरको तीनकुना नदी र समुन्द्रले घेरेको उत्तरमा पहाड अनि सेताम्मे हिमाल साँच्चैं अद्भुद देखिन्छ सोची सहर ।
विमानस्थलमा विमान र यात्रुको चाप उस्तै छ । यो उनीहरूको समाचारअनुसार विश्वभरका १९० मुलुकबाट विश्व युवा महोत्सवमा सहभागिताका लागि आएका युवाहरूका कारण हो भन्ने बुझ्न सकिन्थ्यो ।

त्यसो त सोची आफै पनि पर्यटकीय शहर भएकाले अन्य यात्रुहरू आउने–जाने गर्दा रहेछन् मानिसहरू । यो शहर हाम्रो पर्यटकीय नगरी पोखरासँग धेरै हदसम्म मिल्दोजुल्दो लाग्छ– हिमाल र तालको बिचमा पोखरा भए जस्तै सोची शहर पनि उत्तरमा हिमाल र दक्षिण ब्ल्याक सी समुन्द्रको बिचमा अवस्थित छ, हावा पानी र प्रकृति सबै दृष्टिले निकै नै अनूपम शहर हो सोची । उसैपनि यो शहर नयाँ बनाइएकाले पनि पूर्वाधारलगायत सबै कुराहरू व्यवस्थित देखिन्थ्यो । हामीलाई महोत्सवमा खटिएका स्वयम् सेवक साथीहरूले विमनस्थलमा न्यानो स्वागतसहित हामी बस्नका लागि तय गरिएको अल्फा सीरिजमा लगिंदै थियो । यात्राका लागि सफा बसहरू, फराकिला र चिटिक्क परेका बाटाहरू, नागबेली लाग्ने तलमाथीका लहरै पुलहरू, पर पहाडको छेउतिर रेल कुदिरहेको कुनै हलिउड फिल्ममा देखिने दृश्यहरू जस्तै लाग्दै थियो । करिब २५ मिनेटको बस यात्रा विशेष रह्यो । आखिर मानिसले बनाएर हुने त हो, मन स्वर–कल्पनामा कल्पियो । हामी एकछिनमै हामीलाई बस्नका लागि तोकिएको ठाउँमा पुग्यौँ । जहाँ हामीलगायत अन्य देशका पाहुनाहरूका पनि बासको बन्दोबस्त थियो । अब हामीलाई कार्यक्रम अवधिभर सहयोग र त्यहाँको जानकारीका लागि स्वयम् सेवक साथीका रुपमा विश्वविद्यालयकी आई.आर.की विद्यार्थी सोफिया, डायरालगायत खटाइएको रहेछ । हँसिलो मिजासकी सोफिया निकै चलाख र फूर्तिली थिइन् । हाम्रो बस्ने बन्दोबस्तको दर्ता प्रक्रिया सकिएपछि साथी मेगनाथ चापागाईको सहयोगमा हामीलाई सुरुवातमै
केही परको पी.सि.आर. परीक्षणका लागि हेल्थ केयर सेन्टरमा लगियो । विश्वभरबाट आउने युवाहरूको स्वास्थ्यबारे राज्य कति संवेदनशील छ भन्ने कुराको उदाहरण थियो त्यो । एउटा सानो फारम भरेर हामीले पी.सि.आर.का लागि स्वाब दियौं र अल्फा सीरिजमा फर्कियौं । थकाई अनि अबेर भएकाले हामी कोठा पुगेर नजिकको रेष्टुरेन्टमा हल्का खाजा खाएर आराम गरियो । हामीलाई प्रत्येक कोठामा २ जनाका हिसाबले राखिएको थियो । चिटिक्क र व्यवस्थित प्रत्येक कोठाहरू एयरकन्डिसन र अट्याच बाथरुमसहितका थिए । हामी विश्वभरबाट आएका करिब बीस हजार युवाहरूलाई त्यही सम्मेलन स्थलको आसपासमा यति व्यवस्थित गरेर राख्नु कुनै मजाक थिएन । २०१७ मा रसियाले आयोजना गरेको ओलम्पिक पनि त्यही स्थानमा भएको रहेछ । त्यतिबेला खेल प्रयोजनका लागि बनाइएका आलिसान अपार्टमेन्टले सबै सहभागीहरूलाई व्यवस्थित ढङ्गले राख्न सहयोग पुगेको थियो । आवासका लागि तोकिएको ठाँउ यति शान्त र हराभरा थियो कि हामी बसेको नजिकैबाट ब्ल्याक सीको सुन्दर दृश्य देख्न सकिन्थ्यो । समुन्द्र किनारमा त्यहाँ अरु ठूला पानीजहाजहरू पनि थिए तर ती करिब दुई सय वर्ष पुराना जहाजहरूलाई प्रर्दशनका लागि राखिएका थिए । ती जहाज त्यतिबेला बाँकी संसारलाई जोड्ने अभिन्न साधन थिए । जसले रसियालाई संसारभरी घुमायो र स्थापित गरायो । त्यसैले पनि सम्मानसाथ राखिएका थिए ती जहाजहरू ! हामी बिहानै ६ बजे नै हिड्नका लागि समुन्द्र किनारमा पुग्दा बल्छीले माछा मार्ने पचासौं जनाहरूको रमाईलो उपस्थिति देखिन्थ्यो । यसले हामी गाउँमा हुँदाको बालापन याद आयो । हामी सानोमा जङ्गल किनारका खोलाहरूमा बिहानै माछा मार्न जान्थ्यौं, सारै रमाइला थिए ती दिनहरू । ती दिनहरू सम्झिएँ मैले । माछा मार्ने मानिस चाँहि बुढा र पाका मान्छेहरू धेरै देखिन्थे । उनीहरू सबैजसोले प्रायः चुरोट तानिरहेका देखिन्थे । यो माछा मार्नु र चुरोट तान्नु (चिसोले पनि होला) संस्कृति जस्तै लाग्यो । रसियामा प्रायः युवायुवती धेरैले निःसङ्कोच खुल्ला ठाउँमा मजाले भेप (विद्युतीय चुरोट) तानेको देखिन्थ्यो । समुन्द्र किनारमा एकछिन टहलिएपछि हामी कोठामा फ्रेस भयौं र दिनभरका लागि तयार भएर विहानी खाजाका लागि साँझ नै हामीलाई तालिका दिइएको ठाउँमा गयौं । खाजाका लागि तोकिएको ठाउँमा हामीलाई दिइएको परिचय पत्र अनिवार्य थियो । त्यो कार्डले हाम्रो कोठादेखि खाजा–खानासम्मको काम गथ्र्यो, जुन हाम्रा लागि नयाँ जस्तो थियो । खाजाका लागि तोकिएको ठाउँमा खाना सजिलोका लागि आपूmले लगाएका ज्याकेट, कोट खोलेर राख्नेसम्मको व्यवस्था देख्दा हामीले हाम्रोमा गर्ने अभ्यासहरू याद आइरहेको थियो । खाजाका अनेक भेराइटी र आफुलाई मन लागेअनुसार कफीदेखि फलफूलसम्म मनग्य खानु भन्दा अलि अनौठो जस्तो लागे पनि केही नयाँ जस्तो अनुभुति भयो । विना रोकतोक साथीहरूले मजाले खाजा खायौं । अभाव र अनेक दबावले थिचिएका हामीलाई त्यो वातावरणले साँच्चीभन्दा पुनरताजगी बनाउँदै थियो । खाजापछि हामी पहिलो दिन सिम कार्डका लागि डब्लु वाई एफ ईन्टरन्यास्नल एयरपोर्ट गयौं, जहाँ संसारमै पहिलो पटक अन्तरिक्षमा पठाइएको विमान राखिएको थियो । यो हाम्रोलागि गजबको संयोग पनि थियो । हामीले फोटो–भिडियो बनायौं र सामाजिक संजालमा पोष्ट पनि गरियो । लाग्यो आफूले हेर्नुमात्र ठूलो कुरा होइन, साथीहरूलाई पनि देखाउनु पर्छ । भिडियोपछि हामीले सिम प्राप्त गर्यौं । त्यसपछि सम्मेलनको उद्घाटन हुने मुख्य स्थानमा गयौं । हामीसँगका स्वयमसेवक साथीहरूले विशेषगरी सोफियाले यी सबै काममा मद्दत गर्दै थिइन् दिनभरको रमाईलो पछि साँझ आज मार्च १ सम्मेलनको उद्घाटनको दिन पनि थियो । विशाल अडोटरियम हलमा धेरै औपचारिकता बीना नै भव्य उद्धघाटन सेरेमोनी गरियो, जहाँ रसियाको मौलिक गीत सङ्गीत ,कला, संस्कृतिका साथै पृथ्वीलाई मानिसले गरेको ज्यादति झल्कने निकै मार्मिक प्रस्तुतिहरू देखाइएको थियो जुन हाम्रा लागि ऐतिहासिक र अवस्मरणीय थियो । करिब चार घण्टाको कार्यक्रमपछि हामी अल्फा सीरिजमा फकियौं र विश्राम लियौं ।
दोस्रो दिन बिहानको खाजापछि हामी सबैले नेपालबाट लगिएको झण्डा अन्य देशका युवा साथीहरूलाई उपहार दिने योजनाअनुसार तयारि गरियो ।

सबैभन्दा पहिले हामीसँगै बसेका शारीरिक दुर्वलता भएका साथीहरूलाई झण्डा दिएर उपहार वितरण सुरुवात गरियो । उपहार पाउँदा सबै निकै खुशि हुन्छन् । अरुका मात्र लिने बानी परेका हामीलाई आजभने दिन पाउँदा सार्है खुशि लाग्दै थियो । हामीले कार्यक्रम अवधिभर करिब एक सय नेपालका झण्डा वितरण ग¥यौं । यो हेर्दा सामान्य उपहार भए पनि यो हाम्रो देशलाई अन्य मित्र देशमाझ चिनाउने माध्यमका रुपमा हामीले हाम्रो राष्ट्रिय झण्डा उपहार स्वरुप वितरण गरेका थियौं ।

हाम्रो राष्ट्रिय झण्डा अरुको झण्डाभन्दा फरक भएकाले पनि हाम्रो झण्डा उपहारले साथीहरूलाई आकर्षित गरिरहेको थियो । हामी दिनभर अन्य महत्वपूर्ण कार्यक्रममा पनि सहभागी हुने अवसर मिल्यो । शिक्षासम्बन्धी महत्वपूर्ण डिवेटमा हामी सहभागी भयौं, जहाँ रसियन संसद– दुमाकी उपसभामुख, जिम्वाबेका शिक्षामन्त्री समेतको सहभागितामा आफ्ना देशका अनुभव र योजना आदान–प्रदान भइरहेको थियो । यो कुराले हामीलाई निकै ज्ञान दिइरहेको थियो । रसियन दुमाकी उपसभामुखले शिक्षामा महिला सहभागिताका बारेमा आफ्नो अनुभव सुनाउँदा निकै सान्दर्भिक लाग्यो भने जिम्वाबेका शिक्षामन्त्रीको कुराले धेरै प्रभावित ग¥यो । उनले शिक्षामा आफ्नो देशको अनुभवका साथै शिक्षाबारे महत्वपूर्ण धारणा राखेका थिए, उनले भने कि हामीले दिने शिक्षाको आफ्नो उद्देश्यमा हरेक देश स्पष्ट हुनुपर्दछ । हामी शिक्षा किन दिंदै छौं ? यसले जनतामा कस्तो प्रभाव पार्दछ ? यी विषय निकै अर्थपूर्ण हुने उनको धारणा थियो । उनले शिक्षाले मूलभूत रुपमा पाँच कुरा दिनुपर्नेमा जोडदिए । पहिलो, शिक्षाले मानिसको खानामा प्रभाव राख्नु पर्ने; दोस्रो पानीमा, तेस्रो शिक्षाले मानिसलाई उर्जा दिनु पर्ने, चौथो अनुसन्धान र पाँचौं उत्पादनमा सहयोगी हुनुपर्ने धारणा साच्चीकै विशेष छ । शिक्षाले आफ्नो देशको आवश्यकता र संभावना सारेमा काम गर्न सक्दैन भने त्यो शिक्षा अरुको अन्धनक्कल सिवाय केही हुँदैन भन्ने कुरा हाम्रो देश नेपालको अनुभवहरूले पनि देखाएको छ । हामीलाई त्यो बहसले आफ्नो देशको शिक्षाबारे तुलनात्मक अध्ययन गर्ने राम्रो अवसर मिल्यो ।
हामी युवा सम्मेलनमा संसारभरका युवाहरूसँग आफ्ना देशका राजनीति, शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक परिवेशबारे छोटा–छोटा अनुभवहरू आदान–प्रदान पनि गर्दै थियौं । अमेरिका, ब्राजिल, दक्षिण अफ्रिका, चीन, अर्जेन्टिना, नाइजेरिया, भियतनाम, इरानलगायतका तमाम देशका युवाहरूसँग एकल तथा सामूहिक भेटघाट गरियो जुन कुराले हामीलाई थप उत्साहित बनाएको मात्र थिएन, यस प्रकारका भेटघाटले हामीमा आगामी भविष्यको साझा धारणा बनाउन र हामीमा आत्मविशवास पैदा गर्ने काम गरिरहेको थियो । यी भेटघाट मध्ये विश्वका समाजवादी र कम्युनिस्ट युवा विद्यार्थीहरूसँगको भेटघाट र बैठक विशेष रह्यो । हामीले हाम्रो सङ्गठन र पार्टीका दस्तावेजहरू आदानप्रदान गरी विश्वभरका युवाहरूका साझा भविष्यबारे छलफल गर्ने काम पनि गरेका छौं । त्यो हाम्रा लागि सबैभन्दा महत्वपूर्ण विषय हो । जसले हामीलाई आगामी दिनमा विश्वभरका श्रमिक जनता र युवा विद्यार्थीहरूको बारे साझा मुद्दामा काम गर्न र आफ्ना अनुभव आदानप्रदान गर्न मद्दत मिल्नेछ ।
त्यसैगरि, हामीले एसियायुरोप सम्वादमा सहभागी प्रतिनीधिहरू बाट उदाउँदो एसियाबारे  भारत, पाकिस्तान, इरान र अफगानी वक्ताहरूबाट आफ्ना देशका शिक्षा, स्वास्थ्य र रोजगारबारेका अनुभव र संभावनाका कुरा र युरोपका हङ्गेरीलगायतका प्रतिनीधिहरूको शिक्षाका अनुभव र युरोपको विकासमा रसियाको भूमिकाबारे राखेका विषयहरू हाम्रोजस्तो विकाशोन्मुख देशका हामी युवाहरूका लागि निकै नै शिक्षाप्रद रह्यो । यूरोपीयन र एसीयनहरूको सोच्ने तरिकाहरूबारे पनि बुझ्ने अवसर थियो त्यो । हामीले महोत्सवका प्रदर्शनीमा प्रर्दशनका लागि राखिएका विज्ञान–प्रविधि र शिक्षाबारेका उच्चस्तरका जानकारीहरू साथै विश्व साम्राज्यवादको इशारामा चलिरहेको साम्राज्यवादी सेनाहरूको अन्तर्राष्ट्रिय सङ्गठन नाटोे (NATO) ले संसारभर गरेको ज्यादतीबारेको भिडियो, फोटोहरू र रसियन कलाकारहरूले बनाएका चित्रहरू मार्पmत् महत्वपूर्ण जानकारी लिने अवसर मिल्यो । साथै, अहिले साम्राज्यवादी मिडियाले आवश्यकताभन्दा बढि हल्ला मच्चाइएको रुस–यूक्रेन युद्धबारेको डकुमेन्ट्री बारे विश्वविद्यालयका प्रोफेसरबाट यथार्थ बुझ्ने राम्रो मौका मिल्यो । उनका अनुसार गोर्भाचोवले सोभियत विघटन गर्नुअघि सन् १९९२ मा विघटित राज्यहरूमा नाटोले सदस्यता नदिने पूर्वसर्त अहिले अमेरिका, बेलायतलगायतका देशहरूले उल्लङ्घन गरी युक्रेनलाई उचालेको र युक्रेनका राष्ट्रपति जेलेन्स्कीले पश्चिमाहरूका उक्साहटमा रसियन जनताको स्वाधिनता विरुद्ध षड्यन्त्रमा लागेको कारण रसियाले आफ्नो स्वाधिनताका लागि पनि युक्रेनमा लडिरहेको कुरा गरे । समग्रमा साम्राज्यवादी मुलुकहरूले रसियालाई कमजोर पार्ने र पुटिनको सत्ताविरुद्ध आफ्ना दलालहरू तयार गर्ने उद्देश्यअनुसार नै षडयन्त्र गरेर अप्रत्यक्ष रुपमा साम्राज्यवादीहरू नै लडाई गरिरहेको भनाई जायज देखिन्थ्यो । किनभने अमेरिकी साम्राज्यवादले संसारभर आफ्नो स्वार्थका लागि कमजोर राष्ट्रको स्वाधिनता र जनताविरुद्ध हस्तक्षेप र ज्यादती गरिरहेको हामीले देख्दै र भोग्दै आइरहेका छौं, यसको पछिल्लो उदाहरण नेपालमा चीन घेर्ने रणनीति अन्तर्गत थोपरिएको एम.सि.सि. (MCC) सम्झौतालाई लिन सकिन्छ । हाम्रो जस्तो अल्पविकशित देशका परजीवि सत्ता सञ्चालकहरूले साम्राज्यवादका त्यस्ता सर्तहरू स्वीकारे पनि रसिया जस्तो विकसित र भिटो शक्तिले त्यो किसिमको हस्तक्षेप स्वीकार गर्ने विषय नभएकाले पनि रुस–युक्रेन युद्ध अझै लम्बिने देखिन्छ । यसले विश्वभर खाद्य, उर्जालगायत तमाम कुरामा सङ्कट पर्ने देखिन्छ । यसमा विश्वका सबै सचेत रहनु पर्ने कुरा हामीले प्रोफेसरसँग राख्यौं । रसियामा एउटा गजबको बुझाई रहेछ । त्यहाँ हामी कम्युनिस्टहरूले मार्ग निर्देशक सिद्धान्त मान्ने लेनिनवादका शिर्षगुरु लेनिनलाई भन्दा स्तालिनलाई मान्दा रहेछन् । हामीलाई जिज्ञासा भयो र हामीले सोध्यौं किन यस्तो ? जवाफमा रसियन युवा विद्यार्थीहरू भन्दै थिए कि लेनिनले क्रान्तिपछि सत्ता स्वार्थका लागि गरेको सन्धीमा रसियाले युक्रेनलगायत कतिपय भू-भाग गुमाएको थियो भने स्तालिनले दोस्रो विश्वयुद्धमा आफ्नो जमिन र स्वाधिनताका लागि करोडौँको बलिदानसहित लडेका थिए । त्यसकारण पनि युवा विद्यार्थीहरूमाझ स्तालिन स्थापित हुनुहुँदो रहेछ । यो हाम्रा लागि नयाँ विषय थियो । आज पनि रसियामा कम्युनिस्टहरू त छन् तर प्रभावहिन जस्ता । उनीहरूका युवा सङ्गठन कम्सामोलका साथीहरूसँग पनि हाम्रो भेटघाट भयो । तर त्यो औपचारिकता जस्तो मात्र उनीहरूका अगाडि आफ्नो ठोस एजेण्डा नभए जस्तो देखिन्छ वा भएपनि उनीहरूका मुद्दा कमजोर छन् भन्ने बुझ्न सकिन्छ । रसियामा अहिले राष्ट्रपतिसमेत रहेका भ्लादिमीर पुटिन राष्ट्रवादी नेता हुन्, उनीहरूले राष्ट्रियताको विषयलाई मुख्य बनाएर रसियन जनताहरूलाई एकीकृत गरेको देखिन्छ । व्यवस्थामा पुँजीवादीहरू जस्तै देखिए पनि पुटिन प्रशासनले करिब ६ महिना जस्तो बरफमा रहने देशलाई सदाबहार न्यानोमात्र पारेका छैनन्, उनले शिक्षा, स्वास्थ्य, आवास र रोजगार जस्ता आधारभूत विषयलाई राज्यको दायित्वमात्र ठानेको होइन कि बरु त्यसलाई कडाइपूर्वक लागू पनि गरेका छन् भन्ने कुरा हामीसँग भेट भएका विद्यार्थीहरू र कम्युनिस्ट युवाहरूसमेतले स्वीकार गर्दछन् । यसबाट पनि हामीले बुझ्न जरुरी छ कि शासकहरूले आफ्ना जनता र देशलाई सङ्गठित गर्नसके बाहिरी विश्वले गर्ने हल्लाले केही फरक पार्दैन भन्ने कुराको जीवित उदाहरण हो रसिया, जो आफ्नो स्वाधिनता र हितका लागि साम्राज्यवादसँग जस्तोसुकै मूल्य चुकाउन तयार छ । के हामीले पनि खोजेको शासक त्यस्तै होइन र ? जो आफ्नो देश र जनताको हितमा सतीशाल बन्न सकोस् । यो मामलामा पुटिन प्रशासन सक्षम देखिन्छ ।
अर्को दिन बिहानै खाजापछि हामी पुनः कार्यक्रमस्थल तर्फ नै गयौं । हामीलाई हाम्री सहयोगी साथी सोफियाले हामीले हेर्न खोजेका विषयहरू सकेसम्म देखाउन प्रयत्न गरिरहिन् । यस बिचमा साथीहरू संस्कृतिसम्बन्धी छलफलमा भाग लिन पुग्नुभएको रहेछ । भारतका सहभागी वक्ताले बुद्ध भारतमा जन्मिएका हुन् भनेछन् । त्यसको विरोधमा वाइसीएलका सचिव, हाम्रा मित्र हरि ढकाललगायतका साथीहरूले नारा लगाएपछि वक्ताले आफ्नो भनाई फिर्ता लिएर बुद्धत्व प्राप्त गरेको कुरा गर्न खाेजेको भनेर विषयान्तर गरेछन् । योबाट के बुझ्न सकिन्छ भने भारतले हामी सहभागी नभएका त्यस्ता धेरै अन्तर्राष्ट्रिय मञ्चहरूमा बुद्ध, सगरमाथालगायतलाई आफ्नो भनेर भ्रम छरिरहेको छ । योे हाम्रो देशमाथी उसको योजनाबद्ध हस्तक्षेप हो भन्ने बुझ्न सकिन्छ । यस्ता देशसँग जोडिएका सवालमा राज्यका जिम्मेवार निकायले भारतसँग दह्रो रुपमा कुरा गर्नु पर्दछ ।
युवा सम्मेलनको अन्तिम दिन हामी बिहानदेखि नै विविध कार्यक्रममा सहभागी भयौं । यस मध्ये महत्वपूर्ण– रसियाले विज्ञान प्रविधिमा गरेका प्रगति देखाउन राखेको प्रर्दशनीमा भाग लियौं जहाँ रसियाले बनाएको पहिलो स्याटलाइट विमान, युरि गागरिनसहित चन्द्रमा पुगेको विमान हे¥र्यौं । अन्य सैन्य हातहतियार, ड्रोन, पनडुबीलगायतका अन्य प्रविधिका सामाग्रीको अवलोकन गर्ने काम भयो । यसमा किसानलाई आवश्यक पर्ने कुटानी–पिसानी मिलदेखि लिएर AI का आधुनिक प्रविधिका सामानहरूले आज विश्व विज्ञान प्रविधिमा कुन उचाइ हाँसिल गरिरहेको छ भन्ने बुझ्न हामीलाई मद्दत मिल्यो । रसियाले विज्ञान प्रविधिमा यो सफलता पाउनुमा उसका वैज्ञानिकहरूले निःस्वार्थ रुपमा गरेको मेहनत साँच्चै सह्रानीय छ । विशेष गरी सोभियत युनियनका बेला त्यो समयका नेतृत्व र जनताले गरेको त्याग, मेहनतको जगमा भ्लादिमीर पुटिनको विलक्षण नेतृत्व क्षमता र जनताको जुझारु एकता र हौसलाका कारण आज रसिया विश्वको सुपर–पावर बनेको छ । विशेष गरी सैन्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान र साम्राज्यवादलाई ललकार्दै दोस्रो ध्रुवको नेतृत्व गरिरहेको परिवेश छ, जुन सामान्य छैन ।
आज मार्च ६ युवा महोत्सवको अन्तिम दिन पनि भएकाले हामी छुटेका अन्य विषय हेर्न लालयित थियौं । हामी रक क्लाइमिङदेखि रसियन लोक संस्कृतिका गीतहरूमा रसियन साथीहरूसँगै झुम्यौं । साँझ रसियन राष्ट्रपति भ्लादिमीर पुटिनले विश्व युवा महोत्सवको समापन गर्ने तालिकाबारे हामीलाई अघिल्लो दिन नै जानकारी थियो । तर हल प्रवेशमा टिकट सीमित भएकाले हाम्रो के हुन्छ भन्ने चिन्ता थियो । हामीलाई भनेर आएका सीमित टिकटहरू बिहानै बाँडिएको रहेछ । हामीले पछिमात्र थाहा पायौं, साह्रै नमिठो लाग्यो । हामीले पुटिनको सम्बोधनलाई प्रत्यक्ष हेर्न चाहन्थ्यौं, तर संभव भएन । हामीले प्रत्यक्ष प्रशारणमार्फत पुटिनले विश्वका युवाहरूलाई गरेको सम्बोधन हेरियो । उनी बिना तामझाम सामान्य तरिकाले भव्य समारोहमा प्रवेश गरे र धेरै औपचारिकता बिना नै युवाहरूको गड्गडाहट तालिका बिच आठ मिनेटको निकै संक्षिप्त सम्बोधन गरे । उनले विश्वभरका युवाहरूलाई आफ्नो देशमा राष्ट्र प्रमुखको तर्फबाट सबैलाई स्वागत गरे, उनले आफ्नो सम्बोधनमा विश्व युवा महोत्सवले विश्वभरका युवाहरूका बिचमा स्वतन्त्रता, रचनात्मकता र मित्रताको अवस्था सिर्जना गरेकोमा सबै सहभागीहरूलाई विशेष धन्यवाद दिए र आफ्नो देशको परम्परा, मूल्य–मान्यता र आफ्नो देशको अस्तित्वका बारेमा गहन विषयहरू मर्मका साथ राखे । उनले विश्वमा विविधता रहेको, हामी
रुपरङ्गमा फरक रहेपनि समान रहेको र विश्वमा कसैले आफूलाई विशेष ठान्नु र घमण्ड गर्नु हुँदैन भन्दै महोत्सव हललाई भावुक बनाए । उनले ८ मार्चको चर्चा गर्दै महिलाहरूको सबैले सम्मान गर्नुपर्ने कुरा राख्दा हल तालिको गडगडाहटले गुञ्जयमान भएको थियो । अर्को फरक प्रसङ्गमा पुटिनले भने कि तपाईहरूले मलाई सोध्नुभयो कि सबैका लागि बाँच्न र समान परिस्थितिमा बढ्नका लागि के गर्न सकिन्छ ? यसमा मेरो भन्नु यो छ कि आफ्ना प्रियजनहरू, उनीहरूका परिवार, उनीहरूको देश र सम्भवत समग्र मानवताको फाइदाका लागि हामीले आफ्नो तर्फबाट प्रयास गर्नुपर्दछ । यसप्रकारका प्रयास गरेर मात्र हामीले संसारलाई थप पारदर्शी, न्यायपूर्ण, लोकतान्त्रिक, दिगो, सन्तुलित र सुरक्षित बनाउन सकिन्छ र अन्त्यमा उनले विश्व युवा महोत्सवको विभिन्न नाराहरू मध्येको महत्वपूर्ण नारा ‘हामी सँगै भविष्यको सुरुवात गर्छौं ।’ भन्दै विश्व चुनावको कुरा गर्छौं, हामी भविष्य निर्माण गर्ने कुरा गर्छौं भन्दै ‘स्पासीवा’ भने, यसको अर्थ हो धन्यवाद ! राष्ट्रपति पुटिनले अत्यन्त सटिक शब्दहरूमा आफ्नो विषयहरू सक्काए । यसबाट हामीले सिक्ने कुरो भनेको विषय लामो होइन तर महत्वपूर्ण हुनु पर्दछ । करिब चार घण्टाको यात्रा गरेर आठ मिनेट मात्र बोलेका पुटिनको भाषणमा आफ्नो इतिहासको गौरव, वर्तमानको नेतृत्व गर्ने अठोट र सुन्दर भविष्यको लागि साझा प्रतिवद्धता देखिन्थ्यो । फेरि एकपटक हामी सबै साँच्ची उत्साहित भयौं ।
बाहिरी दुनियाँमा माछा मार्दै, कहिले साइवेरियामा स्वीमिङ गर्दै गरेका देखिने तेक्वान्दोका ब्लाकबेल्ट ७१ वर्षीया हँसमुख भ्यादिमीर पुटिनमा उस्तै जोसजाँगर देखिन्थ्यो जुन हामीले वषौंदेखि देख्दै आएको छौँ । फेसनमा सौखिन बताइने पुटिन कोट–पाइन्ट र कालो टाईमा अत्यन्त आकर्षक देखिएका थिए । उनी बोलीमात्र रहेका थिएनन्, उनले यो दुई दशकमा विघटित अवस्थामा रहेको रसियालाई एउटा उचाई दिलाएका छन् र विश्व साम्राज्यवादका नाइके अमेरिका र बेलायतलाई टक्कर दिइरहेका छन् । उनले सोभियत युनियनको विघटनपछि एक ध्रुविय बनेको अमेरिकी साम्राज्यवादलाई चुनौति दिंदै विश्वलाई बहुध्रवको युगमा प्रवेश गराएका मात्र छैनन् बरु आफ्नो स्वाधिनता विरुद्ध आउने जो कोहीलाई पनि पाठ सिकाउने उदाहरण दिएका छन् र आगामी दशकहरूमा समाजवादका केही अवशेष रहेका देशहरू– रसिया, चीनले बाँकी विश्वको नेतृत्व गर्ने गरी कामहरू गरिरहेका पनि छन् । यो आलेख तयार पार्दाको समयसम्ममा– मार्च १५ मा रसियामा राष्ट्रपतिको निर्वाचन भएको छ, पुटिन पाँचौं कार्यकालका लागि निर्वाचित भएका छन् । हामीलाई त्यहाँका विश्वविद्यालयका पढ्ने युवा विद्यार्थी स्वयम्सेवक साथीहरूले भने अनुसार रसियाको एकता र साम्राज्यवाद विरुद्ध बाह्य विश्वको नेतृत्वका लागि पनि पुटिन अतिआवश्यक रहेको बताउँछन् । यसरी राष्ट्रपति भ्लादिमीर पुटिनले उत्तरी गोलार्धको गतिशिल रसियाको नेतृत्व गरिरहेका मात्र छैनन्, बरु विश्व व्यवस्थालाई न्याय, समानता र मानवताको नयाँ युगमा पनि लैजाँदै छन् । मित्रराष्ट्र रसियाबाट हामी र हाम्रो देशले सिक्नलायक हजारौं विषयहरू छन्, जसमा शिक्षा, स्वास्थ्य, उर्जा र विज्ञान प्रविधिमा हामी साझा सहकार्य गरौं, यसको नेतृत्व रसियाले गरोस् । धन्यवाद !
७ चैत २०८०, काठमाडौं

स्राेत: जनपत्रिका मासिक १२ अङ्क


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।