२२ भाद्र २०८१, शनिबार

नेपालमा दलाल पुँजीवादका कारण सरकार र अर्थतन्त्र अस्थिर भयो : प्रकाण्ड सी

0

दैलेख । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादका कारण नेपालको सरकार र अर्थतन्त्र अस्थिर भएको बताएका छन् ।
नेकपा दैलेखले जिल्लाको राकम कर्णालीमा बिहीबार विहान आयोजना गरेको स्थानीय जनतासंगको ‘भेटघाट कार्यक्रम’लाई सम्बाेधन गर्दै नेकपाका प्रवक्ता प्रकाण्ड सीले नेपालमा दलाल पुँजीवादका कारण सरकार र अर्थतन्त्र अस्थिर भएको बताएका हुन् ।
उनले भने ‘नेपाली जनताको मुख्य दुश्मन दलाल पुँजीवाद हो । दलाल पुँजीवादी सत्ताका कारण देशको स्थिति राम्रो छैन । सरकार ढाल्ने खेल मात्र छ । अर्थतन्त्र डामाडोल र अस्थिर छ । यति ठुलो संकट देशमा कहिल्यै आएको थिएन ।’
‘दलाल पुँजीवादी सत्ताको जनविरोधी नीतिका कारण देशमा अर्थतन्त्र संकटमा गएको छ कुर्सीका लागि अपराध बढेको छ’ उनले भने, ‘यो भ्रष्टाचारी जोगाउने र कमिशन खाने सरकार हो । यो सरकारले हत्या, आत्महत्या, बलात्कारका घटनाहरु नियन्त्रण गर्न सक्दैन । दिनप्रति दिन दुर्घटनाहरु भइरहेका छन् । यसको नियन्त्रणको योजना छैन । यो जनतातिर फर्किएको सरकार नै होइन ।’
बाँकेमा धान रोपाई गरेर कालिकोटको मान्म जाने क्रममा नेकपाका प्रवक्ता प्रकाण्ड सीले स्थानीय व्यापारी, कर्मचारी, राजनैतिक दलका नेता कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन् । उनले भेटघाटमा नेपालका दलालहरु विदेशीहरुका एजेण्ड भएको आरोप लगाए । उनले प्रचण्ड नेतृत्वको सरकार भारतीय साम्राज्यवादका नाइके मोदीले ढालेको पनि खुलासा गरे ।
उनले दलाल पुँजीवादी सत्ताले नेपालमा कुनै पनि जनताको पक्षमा विकास निमार्णका कामहरु गर्न नसक्ने ठोकुवा गरे । प्रवक्ता प्रकाण्डले भने, ‘नेपालमा आफ्नै संसद भवन समेत छैन,राज्यले जनताको लागि के विकास र निर्माण गर्न सक्छ ? श्रम गर्ने जनताको सत्ता आएको छैन, यो दलाल पुँजीवादी शासकहरुको सत्ता हो । यो सत्ताबाट जनताको विकासको कल्पना गर्नु वाईजात हो । जनताको सत्ता ल्याउने अभियानमा साँटघाट गरियो र जनताले धोका पाए । धोका पाएका जनताको सपना हामीले पुरा गर्छौ । एक मात्र जनताको क्रान्तिकारी पार्टी नेकपा हो ।’
उनले दैलेखी जनताले महान जनयुद्ध र क्रान्तिकारी नेतालाई जहिले पनि नजिकबाट साथ र सहयोग गरेको स्मरण गरे । प्रवक्ता प्रकाण्डले अबको देशको संकटको निकास बैज्ञानिक समाजवाद मात्र भएको जिकिर गरे ।
उनले भने ‘अबको राज्य समाजवादी राज्य हो । त्यो नेपाली जनताले ल्याउनु पर्छ । त्यसका लागि सम्पूर्ण कम्युनिष्ट, समाजवादी, देशभक्त र लोकतान्त्रिक शक्ति एक हुनु पर्छ । देशमा नेकपाको नेतृत्वमा समाजवादी व्यवस्था बनाउनु पर्छ ।’
भेटघाटमा सहभागी स्थानीय व्यापारी, बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधिहरुले नेकपाले उठाएको मुद्धा सहि भएको भन्दै आफूहरु एकपटक साथ दिन तयार भएको बताए । उनीहरुले नेकपाले पनि विगतमा बेला –बेला जनतालाई विभिन्न नेता तथा पार्टीबाट खानु परेका धोकाहरु नदोहोर्याउन सुझाव दिएका थिए ।
भेटघाटमा नेकपाका केन्द्रीय सदस्य विवेक सी, युवा संगठन नेपालका अध्यक्ष दिनेश सी र केन्द्रीय सदस्य अर्जुन सी लगायतका नेताहरुको पनि उपस्थिति रहेको थियो । भेट्घाटको सहजीकरण नेकपाका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज कलम सीले गरेका थिए । भेटघाट अघि प्रवक्ता प्रकाण्डलाई स्थानीयवासीले भव्य स्वागत समेत गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।