कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी र दलालहरुको सबै प्रकारका षड्यन्त्रहरु तोडेर समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी कालिकोटको नवौं पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सोमवार जिल्लाको सी गाँउ माल्कोटमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्ड सीले साम्राज्यवादी र दलालहरुको सबै प्रकारका षड्यन्त्र तोडेर समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न निर्देशन दिएका हुन् ।
उनले भने ‘देश निकै संकटमा छ, साम्राज्यवादी र देशभित्रका दलालहरुले जनताका विरुद्ध विभिन्न षड्यन्त्र गरिरहेका छन्, उनीहरुका सबै प्रकारका षड्यन्त्रहरु तोड्नु होस् र समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्नुहोस् ।’
उनले कालिकोट जिल्ला जनयुद्ध र एकीकृत जनक्रान्तिको लागि आधार इलाका भएको टिप्पणी गर्दै देशी विदेशी साम्राज्यवादी तथा दलालहरुको षडयन्त्र तोड्ने दायित्व पनि सबै भन्दा बढी कालिकोटको हुने जिकिर गरे ।
पार्टी संगठनलाई सुदृढ तथा विस्तार गरी पार्टीलाई जनताको सेवाका काममा लगाउन आग्रह गर्दै प्रवक्ता प्रकाण्डले भने ‘समाजवादी क्रान्ति विना देश र जनताको जीवन छैन, नेपाल कम्युनिष्ट पार्टीको जीवन पनि छैन, हामीले पार्टीलाई जनतातिर फर्काएर समाजवादी क्रान्ति गर्नु पर्छ ।’
उनले नेपालमा अहिलेको संकटको बैज्ञानिक निकास असफल संसदीय व्यवस्थाको रक्षा गरेर नभई वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादबाट मात्र हुने ठोकुवा गरे ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज विवेक सी, सेक्रेटर बलवान सी, केन्द्रीय सदस्य अर्जुन सी, कलम सी, रणदिप सी, अविचल सी, दिनेश सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
बैठकले जिल्लामा संगठन सुदृढ तथा विस्तारका लागि जनतासम्म पुग्ने,जनसेवा तथा निर्माणका कामहरु गर्ने, त्यसका लागि केन्द्रीय सदस्य अविचल सीको नेतृत्वमा जनसेवा तथा निर्माण विभाग बनाउने लगायतका निर्णयहरु गरेको छ । बैठकमा जिल्लाका सबै जिल्ला सदस्यहरुले आ–आफ्नो कार्यक्षेत्रको काम तथा जनताको अवस्थाका बारे रिर्पोट पेश गरेका थिए ।
बैठक पार्टीका जिल्ला सेक्रेटरी बलवान सीको अध्यक्षतामा बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्