३१ भाद्र २०८१, सोमबार

समाजवादको अभियानलाई नागरिक तहसम्म जोड्ने नेकपा घोराहीको निर्णय

0

घोराही । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर समितिले पार्टीले सञ्चालन गरेको समाजवाद प्राप्तिको अभियानलाई नागरिक तहसम्म जोड्ने निर्णय गरेको छ ।
बिहीबार घोराहीमा बसेको पार्टीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले पार्टीको जिल्ला समितिको बैठकले लिएका ऐतिहासिक एवम दूरगामी महत्वका निर्णयहरु अक्षरंस कार्यान्वयन गर्ने, पालिका ध्रुवीकरण अभियानलाई विशेष जोड दिने, कृषि उत्पादन कार्यलाई थप व्यवस्थित गर्ने, समाजवाद र स्वाधीनताको अभियानलाई नागरिक तहसम्म पुर्याउने निर्णय गरेको नेकपा घोराहीका इन्चार्ज विकास सीले जानकारी दिए ।

बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले प्रशिक्षण मन्तव्य राख्दै अब यो देशलाई समृद्धिको यात्रामा लैजाने हो भने नेकपाको नीति र नेतृत्वको विकल्प नरहेको जिकिर गरे ।

उनले भने – ‘नेपालको दलाल पुजीवादी संसदीय सत्ता पूर्णरुपले असफल भइसक्यो । हामीले भनिरहेका थियौँ कि यो सत्ता देश र जनताको जीवन बदल्न सक्दैन, ढिलोचाडो यो कुरा सत्य सावित भइसक्यो । यो सत्ता असफल मात्रै होइन पुरै गन्हायो, यसको दुर्गन्धले नागरिकमा बेचैनी छाएको छ तर निराश हुन जरुरी छैन, हामीले यसको समाधान दिएका छौँ । यो विकृत दलाल पुजीवादको विकल्प नेपाली विशेषताको समाजवाद हो ।अब सबै समाजवाद प्रप्तिको दिशामा दृढताका साथ अघि बढौँ । समाजवाद नेपाली जनताको चाहना हो त्यसको नेतृत्व अब नेकपाले गर्छ ।’

नेता सविनले नेकपाले सबै इमानदार क्रान्तिकारी, देशभक्त, प्रगतिशील, इमानदार माओवादी धारा, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीसंग सहकार्य गर्न तयार रहेको समेत बताए ।

नेकपा घोराहीका सेक्रेटरी महान सीको अध्यक्षता एवम सहजीकरणमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यता रहेको थियो ।

बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ निर्वाचन क्षेत्र नं.२ इन्चार्ज पाटन सी, पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चाकी इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी, पार्टीका केन्द्रीय प्रतिनिधि समिति सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकास सी तथा जिल्ला पार्टीका सल्लाहकार समितिका सदस्यहरुको आतिथ्यता रहेको थियो ।

बैठकमा उपस्थित उपमहानगर समितिका नेताकार्यकर्ताहरुले आ-आफ्नो कार्यक्षेत्रको राजनीतिक रिपोर्ट पेश गरेकाे जनाइएको छ ।

यस्तै बिहीबार नै नेकपा लमही र गढवाको पनि दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ ।

बैठकले समाजवादी राज्यसत्ताको विषयमा गाउँगाउँमा अभियान चलाउने निर्णय गरेको नेकपाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।