३१ भाद्र २०८१, सोमबार

नेकपा दाङले यसरी मनायो प्रत्येक महिना मनाइने ‘रचनात्मक डे’

0

दाङ । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले प्रत्येक महिनाको अन्तिम शुक्रबारलाई ‘रचनात्मक डे’को रुपमा मनाउने निर्णय गरेको छ ।
पार्टीको तेस्रो आवधिक योजनाको प्रथम पूर्ण बैठकले जिल्लाका प्रत्येक पालिका समितिले प्रत्येक महिनाको अन्तिम शुक्रबार सार्वजनिक स्थलमा सरसफाइ वा अन्य कुनै रचनात्मक काम गरेर ‘रचनात्मक डे’ मनाउने निर्णय गरेको हो ।

यस्तै यो श्रावण महिनाको अन्तिम शुक्रबारलाई नेकपाले जिल्लाका सबै पालिकामा यहाँको अनुकूलतामा ‘रचनात्मक डे’ मनाएको पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले जानकारी दिए ।

यस्तै नेकपा तुलसीपुर नगर समितिले तुलसीपुर -१९ मा रहेको माध्यमिक विद्यालय संक्राममा सरसफाइ गरि रचनात्मक डे मनाएको छ ।

पार्टीका नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागितामा विद्यालय सरसफाइ गरिएको हो ।

सोही अवसरमा पार्टीले सञ्चालन गरिरहेको ‘रचनात्मक डे’का बारेमा स्पष्ट पार्दै पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले पर्यावरणीय दृष्टिले अहिले विश्वभरी मानव जीवन गम्भीर संकटमा परेको बताए ।

उनले भने– ‘मानव जातिले नै आफ्नो फाइदाका लागी प्रकृतिको विनास गरिरहेको सन्दर्भमा यो अभियान सामान्य कुरा होइन । हामीले धेरै ठुला कुरा गरेका छैनौं आ-आफ्नो घर आँगन सफा गरौं, कम्तिमा सार्वजनिक स्थलहरु सफाइ गरौं, सक्दैनौं भने फोहोर गर्ने काम बन्द गरौं । हामीले यो देशको राजनीतिक दुर्गन्ध सफाई गर्ने अभियान पनि चलाइरहेका छौँ तर स्वास्थ्य र जनताको जिवनका दृष्टिले यो सरसफाइ अभियानको महत्व धेरै छ ।’

हामीले राजनीतिलाई उत्पादन र श्रमसंग जोडेका छौँ ।’, उनले भने, ‘ हामीले नेपालमा वैकल्पिक धारको नेतृत्व गरिरहेका छौँ । नेपालको राजनीति स्वाधिन नहुनुको एउटा कारण नेता र पार्टीहरु उत्पादनमा नजोडिनु हो, पराधिन हुनु हो । हाम्रो पार्टी आत्मनिर्भर उत्पादनको नीतिसहित अगाडि बढेको छ । हाम्रो लक्ष्य नेपालमा समाजवाद स्थापना गर्नु हो । अहिलेको दलाल पुजीवादी संसदीय सत्ताले नेपाल र नेपालीको जिवनलाई धरापमा पारेको छ । यो सत्ताले नेपाली जनताको वास्तविक प्रतिनिधित्व गर्न सकेन, यो केवल विदेशी साम्राज्यवादीहरुले खडा गरेका निश्चित दलालहरुको व्यवस्था हो । त्यसैले यो व्यवस्थाको एकमात्र विकल्प भनेको जनताको समाजवादी सत्ता हो । नेपालका निराश नागरिकलाई नयाँ जीवन दिने, मुलुकलाई समृद्ध बनाउने, यहाँका क्षमतालाई प्रयोग गर्दै शान्त, समृद्ध र स्वाधीन मुलुक समाजवादमा मात्रै सम्भव छ । समाजवादका पक्षमा तपाइँहरु सबैसंग हामी सहकार्य गर्न चाहेका छौँ ।’

यस्तै कार्यक्रममा संक्षिप्त मन्तव्य दिदै पार्टीका जिल्ला सल्लाहकार वंशिधर सीले पार्टीले राजनीतिका साथसाथै सामाजिक विकृति, विसंगतिका विरुद्ध लड्ने, पर्यावरणीय एवम वातावरणिय संरक्षणका पक्षमा यसप्रकारका काम गर्ने कुरा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सीले संसदीय फोहोर राजनीतिका साथसाथै सार्वजनिक स्थलहरुको फोहोर नेकपाले सफाइ गरिरहेकाले सबैले साथ, सहयोग र समर्थन गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा विद्यालयका पूर्व प्रअ एवम शिक्षक डिल्ली बहादुर खत्रीले विद्यालयको सरसफाइ मात्रै नभएर पार्टीले समाजमा भएका विकृति विसंगतिहरु, भ्रष्टाचारहरुका विरुद्ध लड्ने प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरेको बताए ।

नेकपाका केन्द्रीय सल्लाहकार सदस्य सुन्दर सीको प्रमुख संयोजन एवम आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका जिल्ला सेक्रेटरी तिलक सी, पार्टीका जिल्ला सल्लाहकार वंशिधर सी, विद्यालयका प्रअ एवम शिक्षक, शिक्षिकाहरु, नेकपाका जिल्ला कमिटीका सदस्यहरु, पार्टी निकट जवस एवम मोर्चाका केन्द्रीय सदस्य, जिल्लाका प्रमुखहरु लगाएतको आतिथ्यता तथा सहभागिता रहेको थियो ।

विद्यालयमा आयोजना गरिएको सरसफाइ कार्यक्रम गर्नुअघिको संक्षिप्त मन्तव्य दिने कार्यक्रमको सहजीकरण पार्टीका दाङ जिल्ला कार्यालय सदस्य एवम तुलसीपुर नगरका सेक्रेटरी रुद्र सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।