३१ भाद्र २०८१, सोमबार

विप्लव र माधव नेपालबीच पार्टी एकताका आधारबारे छलफल

0

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव र नेकपा  एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच कम्युनिस्ट पार्टी एकताका आधारबारे छलफल भएको छ । शनिबार एकीकृत समाजवादीको केन्द्रिय कार्यालय काठमाडौँमा भएको भेटघाटको क्रममा दुई पार्टीले अंगीकार गरेका विचार, राजनीति र संगठनका विषयमा द्विपक्षीय  कुराकानी भएको हो ।

नेपालमा वामपंथी एवम् कम्युनिस्ट पार्टीहरुवीच एकता, ध्रुवीकरण र सहकार्यको चर्चा हुने गरेको भएपनि कम्युनिस्ट पार्टीहरु विभिन्न खेमामा विभक्त रहेको बेला नेपाल कम्युनिस्ट पार्टी र एकीकृत समाजवादीबीचको छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेबाट विद्रोह गरेर माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठित एकीकृत समाजवादीले नेपाली समाजको आर्थिक चरित्र दलाल पुजीवादी रहेको, जनताको बहुदलीय जनवादको कार्यक्रम अब असान्दर्भिक भैसकेको, २०६२/०६३ को आन्दोलन र राजतन्त्रको अन्त्यपछि नेपालमा जनवादी क्रान्ति पूरा भएकोले नेपालको आगामी राजनीतिक कार्यक्रम समाजवाद हुने निष्कर्ष निकालिसकेको छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले वैज्ञानिक समाजवादको उदेश्यसहित नेपाली विशेषताको समाजवाद निर्माणका लागि अगाडि बढ्नुपर्ने, क्रान्तिको कार्यदिशा एकीकृत क्रान्ति हुने, अहिले पश्चिमा शक्ति र भूमण्डलीकृत साम्राज्यवादसङ्ग नेपाली जनता र देशको प्रधान अन्तरविरोध भएकोले देशको सार्वभौमसत्ताको रक्षा र समाजवादी कार्यक्रमको कार्यान्वयनका लागि कम्युनिस्ट शक्तिबीच एकता  र ध्रुवीकरण गर्नुपर्ने, एकता हुन नसक्ने शक्तिबीच पनि मुद्दा अनुसार सहकार्यको लागि पहल गर्ने नीति लिएको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीले कम्युनिस्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिकसहित चार मित्र शक्ति, मजदुर, किसान, मध्यमवर्ग र राष्ट्रिय पुजीपती सम्मीलित चार आधार वर्ग र खसआर्य, मधेसी, मुस्लिम, जनजाति, श्रमिक समुदाय र महिला गरि ६ समुदायलाई नेपाली समाजको मुख्य आधार शक्ति मान्दै समाजवादको दिशामा अघि बढ्ने निष्कर्ष निकालेको छ ।

नेकपा महासचिव विप्लव र माधव नेपालबीचको कुराकानीमा  समाजवादी मोर्चालाई सकृय बनाउने र वर्तमान राजनीतिक घटनाक्रम एवम्  परिस्थितिका विषयमा समेत छलफल भएको बुझिएको छ भने भेटघाटमा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल र गङ्गालाल तुलाधर समेत सहभागी रहेका थिए । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।