३१ भाद्र २०८१, सोमबार

एकीकृत जनक्रान्तिका सहिद महानको सपना पूरा गर्नैपर्छ : तिलक सी

0

हापुरे । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम दाङ जिल्ला सचिव तिलक सीले सहिद महानको सपना पूरा गर्नैपर्ने धारणा व्यक्त गरेका छन् ।
आइतबार पार्टीको बबई गाउँ कमिटीको बैठकमा प्रशिक्षण मन्तव्य व्यक्त गर्दै उक्त धारणा राखेका हुन् ।

बैठकमा उपस्थित नेताकार्यकर्तालाई प्रशिक्षित गर्दै नेता तिलक सीले भने– ‘हामीले नेपालमा क्रान्ति गरिरहेका छौँ । नेपालको दलाल पुजीवादी सत्ताले नेपालका बहुसंख्यक जनतालाई दास बनाइरहेको छ, लुटिरहेको छ, हाम्रो खुनपसिना चुसिरहेको छ । यो व्यवस्था सिमित मुठ्ठीभर दलालहरुको व्यवस्था हो । यो व्यवस्थाका विरुद्धमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपालमा समाजवाद स्थापना गर्न खोजिरहेका छौँ । यो कार्यदिशा लागू गर्ने सन्दर्भमा बबईले पनि बलिदान गरेको छ, रगत बगाएको छ । यहीँ ठाउँका होनहार योद्धा महानलाई हामीले गुमाएका छौँ । हामीले कुनैपनि मूल्य चुकाएर सहिद महानको सपना पूरा गर्ने दायित्वबोध गरेका छौँ । महानको सपना भनेको नेपालको दलाल पुजीवादी सत्ताको विघटन गर्नु हो, त्यो हामी कुनैपनि मूल्य चुकाएर पूरा गर्न चाहन्छौँ ।’

हाम्रो क्रान्तिका विरुद्धमा जो कोहि आएपनि प्रतिरोध गर्नुहोस्’, बैठकमा बोल्दै उनले भने, ‘हामी जनताको पक्षमा नेपालमा दुखकष्ट गर्दै क्रान्ति चलाइरहेका छौँ । हाम्रो क्रान्तिका विरुद्ध जो कोहि आएपनि प्रतिरोध गर्नुहोस् । त्यो मात्रै होइन पार्टीका विरुद्ध जो कोहिले विरोध गर्छन् भने मुखतोड जवाफ दिनुस् । यो जवाफ दिनैपर्छ किनभने हामीले अपराध गरेका छैनौं, भ्रष्टाचार गरेका छैनौं, कमिसन खाएका छैनौं बरु हामीले असली जनताको राजनीति गरिरहेका छौँ । यो कुरा केही दलाललाई मात्रै मन नपरेको हो, बहुसंख्यक नेपाली जनतालाई हाम्रो राजनीति मन परेको छ । हामीले जनताको सेवा सबैतिरबाट गर्न तयार हुनुपर्दछ । नेपालको दलाल पुजीवादी सत्ताले देश र जनतामाथि गरेको अपराधका विरुद्ध लड्न गाउँगाउँमा श्रमिक जनतालाई संगठित गर्ने बेला आइसकेको छ ।’

नेता तिलकले जुझारु संगठनबिना नेपालको दलाल पुजीवादी सत्तालाई विघटन गर्न कठिन हुने भएकाले संगठनलाई सुदृढ गर्न विशेष निर्देशन दिए ।

प्रचण्डहरु सच्चिएपछि मात्रै एकता हुन्छ’,उनले थप भने, ‘अहिले राजनीतिक वृतमा प्रचण्ड र विप्लव एक हुँदैछन् भन्ने हल्लाले बजार, चोक, गल्लीहरु तातिएका छन् । यो आंशिक सत्य मात्रै हो । प्रचण्डहरुसंग मात्रै होइन हामीले विचार मिल्नेहरु सबैसंग एकता गर्ने निर्णय गरेका छौँ भने मुद्दा र एजेन्डा मिल्नेहरुसंग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्दै अगाडि बढ्ने नीति बनाएका छौँ । अहिलेको चर्चा बढी प्रचण्ड नेतृत्वको पार्टी र विप्लव नेतृत्वको पार्टी एकताको प्रसंग जोडतोडले चलेको छ । प्रचण्डहरु संसदीय सत्तामा भासिएपछि कांग्रेस-एमालेलाई समेत मात दिनेगरी बिग्रेका छन्, पहिले उनीहरु सुध्रिनुपर्छ । पार्टीका एकता सत्ताका लागि हुने होइन, यो विचार, राजनीति, कार्यक्रम, कार्यदिशा मिलेपछि हुने हो । विचार, कार्यदिशा, कार्यक्रम, नेतृत्वको विषय मिल्यो भने एकता सामान्य विषय हो । हाम्रो पार्टीले स्पष्ट रुपमा भनेको छ नेपालका इमानदार माओवादी, समाजवादी, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग सहकार्यको नीति अघि बढाएका छौँ ।’

नेता तिलक सीले नेपाली जनताले एकपटक विप्लवको नेतृत्वमा देश चलेको हेर्ने इच्छा बेजोड ढंगले अघि सारेकाले अब तल्लो तहदेखि नेताकार्यकर्ताले जनतासंग निकट सम्बन्धलाई जोड दिनुपर्ने सुझाव दिए ।

यस्तै नेकपा बबई गाउँ कमिटीको तेस्रो आवधिक योजनाको दोस्रो बैठकले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माण कार्यलाई अबिलम्ब सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले पालिका कमिटी पुनर्गठन गर्ने, वडा कमिटीहरु पुनर्गठन गर्ने, पालिकामा एउटा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, उत्पादन कार्यलाई व्यवस्थित गर्ने, लेबिलाई नियमित गर्ने निर्णय गरेको छ भने एमसीसी विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।

नेकपा बबईका सेक्रेटरी उज्वल सीको अध्यक्षता एवम सञ्चालनमा बसेको बैठकमा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम जिल्ला सचिव तिलक सीको प्रमुख आतिथ्यता रहेको थियो ।

यस्तै शनिबार नै नेकपा शान्तिनगर गाउँकमिटीको दोस्रो बैठक सम्पन्न भएको जनाइएको छ ।

शान्तिनगर गाउँ कमिटीका सेक्रेटरी मनोज सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.३ इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको छ ।

बैठकले एकीकृत जनक्रान्तिका सहिद महानको शालिक निर्माणका लागि पार्टी जिल्ला कार्यालयलाई सहयोग गर्ने, पालिकामा क्रान्तिकारी, प्रगतिशील, देशभक्त, समाजवादीहरु एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरुसंग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

बैठकले सामाजिक विभेद, विकृति, विसंगतिका विरुद्ध जनपरिचालन गर्ने, लघुवित्तीय संस्थाहरुको ज्यादतीका विरुद्धमा संघर्ष गर्ने, एमसीसी परियोजनाका विरुद्धमा विरोध प्रदर्शन गर्ने लगाएतका निर्णयहरु गरिएको नेकपा शान्तिनगरले जनाएको छ ।

पार्टीले चलाएको आत्मनिर्भर उत्पादन कार्यले पार्टी जनताका बिचमा आकर्षणको केन्द्र बन्दै गइरहेकाले यसलाई अझै व्यवस्थित गर्दै जाने समेत बैठकबाट निर्णय गरिएको जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।