नेपालको सडक यात्रा अत्यन्त असुरक्षित रहेको छ । त्यसमा अझ २०७२ सालको ‘महा–भूकम्प’ले जमिन भित्रभित्रै चिरा–चिरा परेको छ । भूगर्वविद्हरूका अनुसार तिब्बत, नेपाल, भुटानसहितमा पर्ने यो हिमाल–पहाड पृथ्वीको कान्छो पहाड हो । टेथिस सागर विनास भएर बनेको यो भूभाग राम्ररी बलियो बनिसकेको छैन । त्यसमा अझ डोजरे विकास नामको अन्धो र लापरवाहीपूर्ण कामले अझ समस्या थपेको छ । गत असार २८ गते चितवन, सिमलतालमा भएको भयानक दूर्घटनामा ६५ जनाको ज्यान गयो । त्यस घटनाले हाम्रो नीतिगत र विकास आयोजनामा थुप्रै त्रुटीहरू रहेको प्रष्ट हुन्छ । सो घटनामा माथिल्लो तटमा सडक खन्दा निस्केको ढुङ्गा–गिट्टी व्यवस्थापन नगरी त्यसै फालिएको र पानीले त्यो सबै बगाएर ल्याउँदा लेदोसहितको पानीले दुईवटा सवारी साधन बगाएको देखिन्छ । अर्कोतिर सडकको माथिल्लो भागमा पैरो–लेदो नियन्त्रण गर्ने सुरक्षा कवच अथवा ‘ग्रेभेलिङ वाल’ नै नभएको देखिन्छ । समयमा नै त्यसतर्फ सरकारको ध्यान गएको देखिएन । त्यसैगरी वर्षात्को समयमा रात्री यातायात जोखिपूर्ण रहन्छ । तर दूर्घटना भएपछि मात्र हाम्रो घैंटोमा घाम लाग्ने पुरानै रोग दोहोरिएको छ ।
वर्षात्सँगै पहिरोमा परेर गार्खा, स्याङ्जा, कास्की, तनहुँलगायत जिल्लामा दर्जनौं नागरिकको ज्यान गएको छ । तर सरकारले हवाई यात्राका मध्यम तथा कूलिन वर्गका यात्रुको ज्यान जाँदा राष्ट्रिय शोक नै घोषणा ग¥यो । तर सौर्य एअरमाभन्दा चार गुणा धेरै नागरिकको ज्यान गएको र अझैसम्म कैयौं बेपत्ता भएको घटनाका मृतक र पीडित परिवारप्रति समान संवेदना र महत्व दिन आवश्यक ठानेन । राज्यले आफ्नो पक्षधरतामा वर्गीय भेद गर्नु लोकतान्त्रिक आचरण होइन ।
विकास आयोजनाको प्राविधिक पक्षमा दक्ष जनशक्तिको अभाव अब नेपालमा छैन । ३० वर्ष अगाडि चिलिमे जलविद्युत आयोजना निर्माण गर्दा नेपाली श्रम, सिप र पुँजी प्रस्ताव गर्दा डम्बर नेपालीलाई ‘पागल’ भन्ने जमाना आज छैन । ३२ मेगावाटको चिलिमे आयोजनाबाट तामाकोसीसम्म पुग्दा ४०० मेगावाटमा नेपाली इञ्जिनियरको कुशलता भनिरहनु पर्दैन । जहाँसम्म सडक यातायातको प्रश्न छ, एकजना मन्त्रीसहित कैयौं यात्रुको ज्यान लिएको चितवन–धादिङ सीमाक्षेत्रमा रहेको कृष्णभीरको ताजा नजिर हाम्रो सामु रहेको छ । कृष्णभीरको पहिरो नियन्त्रण गर्न दाताहरूले दाबि गरेको रकम जुटाउन सरकार असक्षम भएपछि नेपाली प्राविधिहरूसँग भएको छलफलपश्चात् गरिएको प्रयोग आज विश्वकै लागि नयाँ अन्वेषण र प्रयोग भएको छ भन्न लाज मान्नु पर्दैन । बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबाको पहिरो नियन्त्रणमा पनि कृष्णभीरको अनुभव प्रभावकारी हुनसक्छ । त्यसैगरी मुग्लिन–नारायणगढ सडक खण्डमा पनि पहिरो नियन्त्रण गर्न प्रभावकारी हुनसक्छ । बर्दिबास–सिन्धुली–धुलिखेल सडक पनि एउटा सफल प्रयोग हो । सडक सुरक्षाको सन्दर्भमा उपर्युक्त असफल–सफल अनुभवहरूबाट समयमा नै शिक्षा लिनु पर्दछ ।
असुरक्षित यात्रामध्ये कर्णाली राजमार्ग अग्रस्थानमा रहेको छ । सो राजमार्गको यात्रा जोखिमपूर्ण हुुनुमा भू–बनोटभन्दा सडकको स्तर, ट्राफिक व्यवस्थापन र यातायात व्यवस्थापन तथा सञ्चालन प्रणाली मुख्य जिम्मेवार छन् । त्यसो त हिमाल, पहाड तथा चट्टान आजको युगमा यातायात सञ्चालनको लागि बाधक हुँदैन ।
तसर्थ हाम्रा आफ्नै अनुभवबाट शिक्षा लिएर हाम्रो सडक यात्रालाई सुरक्षित बनाउनु पर्दछ । सडक स्तरोन्नती गर्नुपर्दछ । विकास आयोजना सञ्चालन गर्दा माथिल्लो तथा तल्लो तटीय सुरक्षामा ख्याल गर्नुपर्दछ । त्यसका लागि ‘एकीकृत सडक सुरक्षा संरचना’ आवश्यक छ । यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जाओस् !
जनपत्रिका मासिक १३ अङ्क