३१ भाद्र २०८१, सोमबार

एमसीसी र एसपीपी विरुद्ध नुवाकोटमा मसाल जुलुस प्रदर्शन

0

नुवाकोट/ अमेरिकी परियोजना एमसीसी र एसपीपी विरुद्ध विगतदेखि नै संघर्ष गर्दै आइरहेको नेत्रविक्रम सी ’विप्लव’ नेतृत्वको नेकपाले नुवाकोटमा विरोध प्रदर्शन गरेको छ । एमसीसी परियोजना अन्तर्गत बन्न लागेको विद्युत सबस्टेशन स्थलसमेत रहेको नुवाकोटमा नेकपाका नेता कार्यकर्ताहरुले यसको कार्यान्वयन नेपालको हितमा नहुने भन्दै यसको अबिलम्ब खारेजीको मागसहित मसाल जुलुस प्रदर्शन गरेका हुन् ।  

करिब एकसय जनाको संख्यामा रहेका नेकपा कार्यकर्ता तथा समर्थकहरुले सोमबार साँझ सदरमुकाम विदुरमा मसाल जुलुस गर्दै एमसीसी र सैन्य रणनीति अन्तर्गतको एसपीपी राष्ट्रघाती सम्झौता भएको भन्दै यसको चर्को विरोध गरेका थिए । नेकपा निकट नेपाल युवा संगठननेपालको आयोजनामा भएको प्रदर्शनमा प्रहरीलाई समेत अन्यौलमा पार्दै सम्भावित अवरोध र धरपकटलाई पन्छाउँदै विरोध कार्यक्रम गर्न सफल भएका उनीहरुले देशको राष्ट्रियता नै संकटमा पर्ने र देशी विदेशी शक्तिको क्रिडास्थल बन्न नदिने उद्घोष गरेका छन् । 

नेकपा नुवाकोटका जिल्ला इन्चार्ज महेन्द्र सीले नेपाली स्वाभिमान र राष्ट्रिय स्वाधिनता नै लिलामी गर्नेगरी ल्याइएको एमसीसी र एसपीपी परियोजनालाई असफल पारिछाड्ने र त्यसका निम्ति नेपाली जनताको साथ लिएर जस्तोसुकै संघर्ष र बलिदानी गर्ने चेतावनी दिए । ‘साम्राज्यवादी शक्तिले नेपाली भूमिलाई सैन्य अखडा बनाउने स्वार्थबाट एमसीसी लागू गर्ने सपना देखेको छ’, मसाल जुलुसपछिको विरोध सभालाई सम्बोधन गर्दै इन्चार्ज महेन्द्रले भने-‘त्यसलाई हामी कदापी पूरा हुन दिने छैनौँ ।’ देश बचाउने यो अभियानमा सबै जनतालाई गोलबन्द हुनसमेत उनले अपिल गरेका छन् । 

यसैगरी, नेकपाका जिल्ला सेक्रेटरी आरपी नेपालले नेपालका मुख्य राजनीतिक दलका नेताहरु साम्राज्यवादी अमेरिकाको प्रभाव र प्रलोभनमा सिंगो मुलुकलाई दाउमा राखेर एमसीसीजस्तो हानिकारक परियोजनामार्फत् नेपाल र नेपाली जनतामाथि अत्याचार लाद्न लागिपरेको आरोप लगाए । ‘साम्राज्यवादीहरुको गोटी बनेर यो सरकार र ठूला राजनीतिक दलहरुले राष्ट्रघात र दलाली गरेका छन् । हामी यस्तो षड्यन्त्रबाट देशलाई मुक्त राख्न चाहन्छौँ’, सेक्रेटरी नेपालले भने ।  

युवा संगठन नेपाल नुवाकोटका इन्चार्ज तथा केन्द्रिय सचिवालय सदस्य बासु सीले यो सरकारले राष्ट्रघाती परियोजना एमसीसी र एसपीपी कार्यान्वयन गर्ने मुर्खता नगरोस् भन्दै सरकारविरुद्ध खबरदारी गरे । ‘एमसीसीलाई नेपालबाट हटाउनुपर्छ । यो भनेको सिंगो देशलाई साम्राज्यवादीहरुको पञ्जाबाट सधैंको लागी मुक्त गराउनु हो’, उनले भने । 

 नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य शंकर सीले श्रमजीवी जनताको विपक्षमा र स्वाधीनता प्राप्त गर्न नदिन एमसीसी र एसपीपीका नाममा साम्राज्यवाद भित्रिएको उनको दावी थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।