३० आश्विन २०८१, बुधबार

सम्भावित वितण्डता र नेपाल

0

                  सुमनसिंह सी

 

 

अमेरिका बंगलादेशको भूमिमा सेन्ट मार्टिन टापु चाहन्थ्यो । सेन्ट मार्टीन टापुमा अमेरिकी सेनाको क्याम्प खडा गर्ने र त्यसमार्फत सैन्य हर्कत संचालन गर्ने उसको योजना थियो । यहि योजनालार्ई कार्यरुप दिन उक्त टापु मागेको अमेरिका, बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाको जवाफपछि हसिना विरुद्ध हात धोएर लाग्यो, उनलार्ई देश छोडेर भाग्न बाध्य पारियो । गत बैशाख महिनाको अन्त्य तिर हसिनाले बंगलादेश टुक्राउने धम्कि आएको खुलासा गरेकी थिइन् । आरक्षण कोटाको विषय त्यहाँको आन्तरिक कारण भएपनि त्यही मुद्दामा मिसिएर अमेरिकी षडयन्त्र आफ्नो सैन्य योजना कार्यन्वयन गर्ने स्तरबाट सतहमा प्रकट भैसकेको थियो । अमेरिका म्यानमार, बंगलादेश र भारतको भुगोल समेतलाई टुक्रयाएर इजरायल जस्तै छुट्टै क्रिश्चियन देश निर्माण गर्न चाहन्छ भन्ने विश्लेषण समेत हुने गरेका छन् । अमेरिका जहाँ जहाँ प्रवेश गर्छ त्यहाँ विध्वसं भएको छ, सम्भवतः मोहम्मद युनुस र युक्रेनी भ्लादिमिर जेलेन्स्की जस्तै कठपुतलीहरुको प्रयोग गर्दै नेपालमा अमेरिका अर्को भयानक षडयन्त्र गर्दैछ । यसलार्ई पुष्टि गर्ने पर्याप्त प्रमाणहरु विकसित घटनाक्रमहरुमा पाउन सकिन्छ ।

नेपालको आजको अन्तरविरोध, नेपाली समाजको मनोविज्ञान, विश्व भूराजनीतिक ध्रुविकरण र यसको प्रभाव, नेपाली दलहरुको भुमिका, सामाजिक अभियन्ताको नाममा उदाएका पात्रहरुको गतिविधि, समाजका बुद्धिजिवीहरुको बोली, संचारमाध्यमले बजाइरहेका समाचारहरु, शक्तिकेन्द्रबाट खटाइएका अधिकारी र तिनले गरेका भेटघाट, पार्टीहरुमा पैदा भएका आन्तरिक ध्रुविरणहरु, क्षेत्रिय स्तरमा देखा परेका जाती, धर्म लगायत जोडिएर भएका संघर्षहरु, एनजिओ— आइएनजिओ लगायत सबै क्षेत्रमा देखापरेका गतिविधिलार्ई मसिनो गरि हेर्न आवश्यक छ ।
नेपाल कम्युनिष्ट पार्टीले आजको नेपाल र यसको प्रधान अन्तरविरोधलाई किटान गर्दै अमेरिका र नेपाली जनता बिचको अन्तरविरोध नै आजको मुख्य अन्तरविरोध हो भनेको छ । मुख्य रोगको डाइग्नोसिस भएपछि नेपालमा भइरहेका आजका हरेक गतिविधि र असन्तुलनको पछाडि अमेरिकी हात रहेको कुरा छिपेको छैन । महासचिव विप्लवद्वारा प्रशिक्षित नेकपाका नेता कार्यकर्तालाई यो कुरा बुझ्न सजिलै भएपनि नेकपासंगै सिंगो नेपालले आजको प्रधान अन्तरविरोधबारे बुझ्न आवश्यक बनेको छ । अमेरिकी चलखेल र षडयन्त्र बुझेको नेकपा त्यसलार्ई चिर्ने गरि आफ्नो काम गर्दैछ भने सिंगो नेपाललार्ई यहि कुरा बुझाउँदै अमेरिकी षडयन्त्रलार्ई परास्त गर्ने आन्दोलनको मोर्चालार्ई फराकिलो पार्ने योजनामा खटिइरहेको छ । नेकपाले आफ्नो विश्लेषणहरुलार्ई प्रष्ट संग राख्दै आजको अन्तरविरोधको समाधान गर्न समयानुकूल कार्यनीतिहरुको विकास गर्दै आइरहेको छ ।
रुस—युक्रेन युद्ध यता विश्व स्पष्ट रुपमा ध्रुविकृत हुन पुग्यो । नेपाल सरकारले पनि (घोषित/अघोषित) रुपमा युक्रेनको पक्ष लिएकै हो । अमेरिका, फ्रान्स, जर्मनी, ब्रिटेन लगायत देशहरुले त युक्रेनलार्ई सुरक्षाको बहानामा हतियार नै उपलब्ध गराए । यतिबेला अमेरिका लगायत युक्रेन सहयोगी देशहरुले रुस विरुद्ध आफ्ना हतियारमार्फत आक्रमणको अनुमति नै दिएका छन् । युक्रेनलाई नेटो समूहमा समावेश गर्ने र सोही मौकामा रुस विरुद्ध सैन्य दबाब बनाइराख्न अमेरिका युक्रेनमा शक्तिशालि हतियार र सेना उतार्न चाहन्थ्यो । अमेरिकी योजनाले युद्धको सामना गरिरहेको यो समय पुटिनको उत्तर कोरिया भ्रमण र रुस—उत्तर कोरिया विरुद्ध आक्रमण भए मिलेर प्रतिरोध गर्ने पुटिन—किम सहमतिले अमेरिका लगायत पश्चिमा शक्तिहरुलार्ई चुनौति थपिदिएको छ । पछिल्लो समय युक्रेनी सेनाहरु आक्रमक रुपमा रुसको भुमिमा प्रवेश गरेर आक्रमण गरिरहेका छन् । रुसले पछिल्लो आक्रमणहरुको अवस्था हेरेर यसमा नेटो सेनाको प्रत्यक्ष उपस्थिति रहेको बताउन थालेको छ । यस्तो अवस्थामा युद्ध ध्रुविकरण उत्कर्षमा पुग्ने संभावना देखिन्छ र यो विश्वयुद्धको रुप हुनेछ । यही मुद्दामा ध्रुविकरण समेत देखा पर्न थालेको छ ।
अमेरिका एशिया प्रशान्त क्षेत्रमार्फत चीन र रुस विरुद्ध घेराबन्दि गर्ने रणनीति बनाएर काम गरिरहेको छ । रुस पश्चिमा शक्ति विरोधी राष्ट्रहरुलार्ई एक ठाउँमा ल्याउन प्रयत्नशील छ । चीन, इरान, उत्तर कोरिया लगायत राष्ट्रहरु रुसको समुहमा देखिएका छन् । अमेरिकी समुहमा बेलायत, जर्मनी र फ्रान्स सहितका देशहरु देखा परेका छन् । एशिया प्रशान्त क्षेत्रमार्फत रुस चिन घेर्न अगि बढेको अमेरिका नेपाललाई एसिया प्रशान्त क्षेत्र अन्तर्गत राखेर एमसीसी सम्झौता गराउँदै स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) कार्यक्रम अघि बढाउने योजनामा कृयाशिल छ । भारतमा बसिरहेका दलाई लामालाई न्यान्सि पेलोसीले भेटेर लामाको उत्तराधिकारी चर्चा गर्नु, अमेरिकी संसदमार्फत स्वतन्त्र तिब्बतको पक्षमा उभिने बिल पास गर्नु र नेपालमा रातारात अमेरिकी सैन्य जहाज आउनु साथै जहाजबाट रहस्यमय सामाग्रीहरु अमेरिकी दुतावासमा लगिनुले अमेरिका नेपालमार्फत चिन विरुद्ध कस्ता तयारीहरु गर्दैछ सहजै अनुमान लगाउन सकिन्छ ।
पछिल्लो समय नेपालमा अमेरिकी सकृयता ह्वात्तै बढेको छ । अमेरिकी विदेश मन्त्रालयमार्फत रिचर्ड राहुल वर्माले भर्खरै नेपाल आएर विभिन्न भेटघाट गरे । डोनाल्ड लु समेत नेपाल आएर विभिन्न भेटघाट र नेपालमा कसरी वितण्डता मच्चाउन सकिन्छ भन्ने तयारी गरेको बजार हल्ला छ । एमसीसी कार्यक्रम हेरिरहेका अधिकारीहरुको त लर्कै लागेको छ ।  उनीहरु नेपालमा आफ्नो काम गर्ने बफादार कारिन्दाहरुलार्ई सत्ताको नेतृत्वमा ल्याउन चाहन्छन् । प्रचण्ड सरकार गिराएर बनेको केपी, कांग्रेस सरकार अमेरिकी योजना अनुसार नै बनेको कुरा छिपेको छैन । उनीहरु नेपालमा नयाँ आवरणमा उनीहरुका कारिन्दालार्ई चुनावमार्फत नै सत्तामा ल्याउन चाहन्थे तर उनीहरुले खडा गरेका पात्रहरु सबै बद्नाम बन्न पुगे । अमेरिका केपी सरकारमार्फत नै एसपीपी सम्झौता गराउने र केपी अर्थात एमालेको आवरणमा रहेको इमान्दार कम्युनिष्ट समाजवादी जनमतलार्ई तितर–बितर पार्ने योजनामा छ । उसले नेपालमा हिसांत्मक वितण्डताको सुरुवात गर्ने समेत संभावना देखिन्छ । नेपालमा हिंसा मच्चाउने र हिंसा व्यवस्थापनको नाममा कार्यकारी प्रमुखको एजेण्डामा दलहरुलार्ई सहमत गराउँदै सत्ता परिर्वतनमार्फत आफ्ना असली कारिन्दालाई सत्तामा ल्याउने अमेरिकी योजना हुनसक्ने देखिन्छ । भूराजनीतिक ध्रुविकरण प्यालेस्टाइन र इजरायल युद्ध, बंगलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार हुँदै भारतमा समेत देखा परेको छ । भारतको चुनावपछि मोदी सरकार विरुद्ध अमेरिकाले नयाँ प्रकारको प्रोक्सी घेराबन्दि सुरु गरेको छ । हिन्द प्रशान्त क्षेत्रको अशान्त आकाशमाथि मडारिएको अमेरिकी षडयन्त्र र उसले जारी राखेका कामहरुले एमसीसी सम्झौता भइसकेको नेपालमा त्यसको प्रभाव कति परिरहेको छ भन्ने कुरा सहजै भन्न सकिन्छ ।
नेपालमा विभिन्न मुद्दाहरुलाई सतहमा खडा गरिएको छ । राजावादीहरुको आन्दोलनभित्र राष्ट्रवादको. नारा दिने तर त्यसको अन्तर्यमा अमेरिकी योजना नै हुने देखिन्छ । नेपालमा रहेको देशभक्तहरुको मनोविज्ञानलार्ई भ्रमित पार्न राप्रपा भन्ने पार्टीलाई प्रयोग गरिएको छ । सामाजिक अभियन्ताको मंचमार्फत राप्रपा प्रवेश गरेका ज्ञानेन्द्र शाही, बिबिसी सेवामा लामो समय खटिएका रविन्द्र मिश्र, र राप्रपाको पक्षमा खुलेर उत्रिएकी अभिनेत्री मनिषा कोइरालाहरुको सम्बन्ध र सरोकार अमेरिकी योजना मुताबिक छ । राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिंङदेनको कामहरुले त्यहि संकेत गर्छ । नेपालका महत्वपूर्ण व्यक्तित्वहरुलाई भिसा नदिने अमेरिकामा राप्रपा भन्ने पार्टीका नेताहरु लर्को लागेर पालैपालो धाइरहेका छन् । आजकल उनीहरु युरोपको गल्लिहरुमा समेत समूह समूह नै रमाइरहेको समेत पाईन्छ । बजार हल्ला त यस्तो पनि छ, पारस पुत्र हृदयेन्द्रलाई अमेरिकाले सैन्य तालिम प्रदान गरिरहेको छ, फाइटर जेट उडाउने सम्मको तालिम दिंदैछ । अर्थात राजावाद—राष्ट्रवादलाई एउटै हो भन्ने भाष्य बनाउने दौरा सुरुवाल, ढाका टोपीको आवरणवालाहरु सांच्चिकै देशभक्त हुन् कि नेपाली देशभक्त जनतालाई भ्रमित गर्ने अमेरिकी प्यादा ? प्रश्न गर्नु पर्ने समय अब पैदा भएको छ ।
सत्ता गुमेपछि बहुलाएको राजसंस्था र त्यसलाई भजाएर गुजारा गर्ने नेपाली तुच्छ दलालहरुले आफ्नो अनुहार प्रष्ट देखाउनु पर्दैन ? राष्ट्रवादको खोल ओडेर देशभक्त जनतालाई भ्रमित गर्ने प्रयत्न गर्नु राम्रो हुन्छ ? राप्रपा पार्टीमा कमल थापा बलियो हुंदाहुंदै उनलाई पराजित गराइयो । कमल थापामा तुलनात्मक रुपमा देशप्रति केहि इमान्दारिता देखिएकै कारण उनलाई चुनावमार्फत खुइल्याइयो । कमल थापा भारतीय पक्ष भएको कारण पनि उनले पराजय व्यहोर्नु पर्यो भन्ने बुझाइ कतिपयमा छ । राप्रपाकै कतिपय नेताहरु कमल थापा देशभक्त भएकोले उनलाई पराजित गराएर विदेशीले राजेन्द्र लिङ्देनलार्ई पार्टी नेतृत्वमा ल्याएको बताउँछन् । किनकी लिङ्देन एमसिसि विरुद्ध कहिल्यै खुल्न सकेनन् । यतिबेला नेपालमार्फत अमेरिका भारत विरुद्ध पनि आएको छ । संभवतः भारतमा पनि वितण्डता सृजना गर्ने काममा अमेरिका सकृय छ । भारत पनि अब अमेरिकी षडयन्त्रको खतरनाक जोखिममा छ । राहुल गान्धीहरुलाई सत्तामा उतारेर भारतलाई आफू अनूकुल बनाउने खेलोमेलोमा अमेरिका रहेको देख्न सकिन्छ ।
नेपालको पुर्वी क्षेत्रमा दुर्गा प्रसाई जस्तो व्यापारी पात्रलाई खडा गरिएको छ । बजारिया आवाराहरुले यतिबेला रोजगारी पाएका छन् । सुन्दा सबै जनताकै मुद्दा भएपनि व्यवहारतः गतिविधिले देशभक्त र अग्रगामी जनतालाई भ्रमित पार्ने उदेश्य अनुरुप नै छ भन्ने देखिन्छ । किनभने कसले कसको विरोध गर्दै छ, त्यो कुन शक्ति संग सम्बन्धित छ र अमेरिकी योजनाले नेपालमा कुन रुप लिएको बेला यो हुंदैछ भन्ने कोणबाट बुझ्न चाहदा उनीहरुको भुमिका थाहा हुन्छ । नेपाल दोहन गरिरहेको मारवाडी पूँजी नेपालको आर्थिक सत्ताको मुख्य हिस्सा हो, यसलाई निस्तेज गर्न आवश्यक छ । तर, यसको निर्वाध विरोध अमेरिकी कृपा नभएको भए के नेपालमा संभव हुन्थ्यो होला त ? प्रसाई लगातार मारवाडी सत्ता विरुद्ध लागिरहेका छन् । नेपाल मामलामा दुई शक्ति देश अमेरिका र भारत बिच एमसिसि अनुमोदनको प्रकृयादेखि आजको दिनसम्म लगातार एकप्रकारको संघर्ष चलिरहेको छ । नेपालमा आफू अनूकुलको सत्ता बनाउन भारत र अमेरिका कृयाशिल छन् । भारत अनुकुल सत्ता बनाउन र नेपाल दोहन गर्न नेपालमा मारवाडीहरु महत्वपुर्ण शक्ति हुन् । त्यसकारण अमेरिकी योजनामा प्रसाई मारवाडी विरुद्ध खनिएका छन् । दुर्गा प्रसाइद्वारा पैदा भइरहेको भ्रमपनि अमेरिकी भ्रम नै हो । एउटा कार्यक्रममा त प्रसाईले डोनाल्ड ट्रम्प सत्तामा आएपछि म देखांउछु भन्दै कुर्लिए ।
हामीले आजको भूराजनीतिमा भारत विरुद्ध मात्रै भएर पुग्ने देखिन्न, बरु भारतलाई पनि सन्तुलनमा राखेर नेपालीहरुले प्रधान दुश्मन विरुद्ध लड्नु पर्ने समय आएको छ । हिन्द प्रशान्त क्षेत्रका देशहरुमा देखा परेका क्षेत्रीय ध्रुविकरणहरुलाई पनि हामीले नेपालको हितमा परिचालन गर्न आवश्यक बनेको छ ।
यतिबेला सबै दलहरुमा विभाजनका चर्चाहरु चलेका छन् । नेपाली संचारमाध्यमलाई हेर्ने हो भने सबै पार्टीमा विवाद सुरु भएको र सबै पार्टी ध्रुविकरण तर्फ गएको देख्न सकिन्छ । यो अन्तर पार्टी ध्रुविकरण पनि भूराजनीनितक ध्रुविकरणकै प्रभाव हो । संसदवादी पार्टीहरुभित्र अमेरिकी दलालहरुको घुसपैठ र उनीहरुकै योजना हावी भैरहेको परिस्थितिमा अमेरिका विरोधी धारा सशक्त र सकृय बन्न थालेको देखिन्छ । यो बाहिर खुल्दा त्यसरी खुलेको छैन तर अमेरिकी कठपुतलीहरु विरुद्धका स्वरहरु अलिकति बलियो बन्न खोजेको प्रतित हुन्छ । यद्यपि अमेरिकीहरु नेपालको सत्तामा बलियो बनिरहेका छन् । यस्तो अवस्थामा हामीले कम्युनिष्ट, समाजवादी, देशभक्त र गणतन्त्रवादीहरुलाई एकिकृत गर्न र अग्रगमन र स्वाधिनताको लडाइमा परिचालन गर्न आवश्यक छ ।
पूर्वमा पहिचानको मुद्दालाई बोकेर जातीय मनोविज्ञानलाई बिस्फोटक बनाउने काममा अमेरिकी परियोजनाहरु सक्रिय भैरहेका छन् । धर्मको बिषयहरु पनि पूर्वमा अतिवादको रुपमा विकास हुंदै गएका छन् । कतिपय अतिवादीहरुले त पूर्वलाई छुट्टै देशको रुपमा माग राखेर हिंसात्मक युद्ध नै गर्ने समेतका चर्चाहरु चलाएको बुझिन्छ । खास गरेर हिन्दु धर्मको कुरामा भारतीय पक्षको कृयाशिलता देखिन्छ भने ख्रिश्चियन धर्म लगायत अन्य धर्महरुभित्र अमेरिका खेलिरहेको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टीले समाजवादी संघियतामार्फत पहिचानको विषयलाई सुनिश्चित गर्ने कुरा बताएको छ । शक्ति केन्द्रहरुले नेपालमा जे जस्ता संकटहरु खडा गर्दै गएका छन् ति संकटहरुको समाधान नेकपाले दिंदै गएको छ ।
मधेसमा सिके राउतहरुको पृथकताको कुरा आधारभूत रुपमा सकृय छ । उनीहरुले जनमत वा विद्रोहमार्फत मधेस अलग हुने कुरालाई अहिले पनि उत्तिकै चलाईरहेका छन्, त्यो पार्टी यहि एजेण्डामा टिकिरहेको छ । पश्चिम थारुहटमा रेशम चौधरीहरुको आन्दोलनले आफ्नो आन्दोलनको स्वरहरुलाई दब्न दिएको छैन । काठमाण्डौंका बुद्धिजीवि भनिएका व्यक्तिहरु, रास्वपाका केहि नेता रवि, स्वर्णिमहरु, कांग्रेसका गगन, विश्व, आरजु, मानवअधिकारकर्मी भनिएका केही डलर बुझ्नेहरु, कानुनी क्षेत्रमा काम गर्ने केहि मान्छेहरु (यि सबैको नामहरु एक एक गरेर खुलासा गर्न आवश्यक बनेको छ) यस्ता पात्र र प्रवृति र उचालिएका मुद्दाहरुको कारण देश जतिबेला पनि हिंसा र द्वन्द्वमा जान सक्ने खतरा छ । र यहि हिंसामार्फत अमेरिकाले आफ्नो योजनाको सत्तालाई सुदृढ गर्ने संभावना छ ।
नेपालका सबै मामिला र मुद्दाहरुमा खेलिरहेको अमेरिका नेपालको भुमिलाई प्रयोग गरेर नेपालबाट कम्युनिष्ट, समाजवादी, देशभक्त, अग्रगामी शक्तिलाई ध्वस्त गर्न चाहन्छ र योसंगै चिन विरुद्ध आफ्नो सैन्य कार्यक्रम लागु गर्न चाहन्छ । नेपाललाई युक्रेन जस्तो बनाउने, एसपिपि कार्यक्रम लागु गर्दै प्रकारान्तरमा नेपाललाई समेत नेटो समूहमा तानेर तिब्बत मुद्दामा नेपाललाई चिन विरुद्ध लडाइमा उतार्न सक्ने स्थिति बन्न सक्छ । बंगलादेशको सेन्ट मार्टिन टापुको माग गरे जस्तै अमेरिकाले आफ्नो योजनालाई मूर्तरुप दिन नेपालमा निर्वाध सैन्य गतिविधि गर्ने वातावरण खोजिरहेको छ । यसको निम्ति एसपिपि टेबलमा छ र यो सम्झौत केपी ओलीमार्फत नै गर्ने र उनलाई संधैको निम्ति सिध्याउने योजना मुताविक काम भैरहेको छ ।  नेपालमा हिंसात्मक वितण्डता मच्चाएर राजनैतिक सत्ता परिवर्तनको निम्ति कार्यकारी राष्ट्रपतिमा सहमत गराएर बालेन शाहहरु जस्ता पात्रलाई राष्ट्रपतिमा ल्याउन सक्ने संभावना पनि नेपालमा छ, यसो गरेर अमेरिकाले नेपाललाई नियन्त्रणमा लिन सक्छ । बालेन शाहको गतिविधि र परिणाम र अमेरिकाले बनाउन सक्ने नयाँ कठपुतली सत्ताको चरित्र कतिपय कुरामा मिल्दै गएको हो कि भन्ने शंसय पंक्तिकारलाई छ ।
परिस्थिति पेचिलो छ । नेपाल कम्युनिष्ट पार्टीले आजको अन्तरविरोधलाई शुत्रबद्ध गर्ने काम गरेको छ र अमेरिकी षडयन्त्रलाई कसरी परास्त गर्न सकिन्छ भन्ने हिसाबले कार्यनीतिको विकास गरेको छ । चार मित्र शक्ति — कम्युनिष्ट, समाजवादी, लोकतान्त्रिक गणतन्त्रवादी र देशभक्त । चार मित्र वर्ग— मजदुर, किसान, मध्यम वर्ग र राष्ट्रिय पूँजीपति वर्ग र पाँच मित्र समुदाय— खसआर्य, जनजाति, मधेशी, श्रमिक समुदाय र मुश्लिम । नेकपाले पार्टीले उल्लेखित मित्र शक्ति, मित्र वर्ग, मित्र समुदाय लाई देशलाई आजको संकटबाट मुक्त गरेर अगाडि बढाउन एकाकार हुन अपिल गरेको छ । यसले आजको नेपालमा पैदा भएको संकटबाट मुक्ति चाहने न्यायप्रेमी नेपाली जनताहरुमा आशा संचारित गराउने काम गरेको छ । यद्यपि यो जनस्तरसम्म व्यापक बहसमा लैजान र सोहि मुताविक मोर्चाहरुको विकास गर्न आवश्यक छ ।
यतिबेला बंगलादेशको सत्तापलट हुँदै नेपालमा भइरहेको अमेरिकी सकृयता हेर्दा र भूराजनीतिक ध्रुविकरणलाई ध्यानमा राख्दा नेपाललाई चांडै नै वितण्डताको केन्द्र बनाउन सकिने अवस्था देखा परेको छ । यस्तोबेला नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी साम्राज्यवादको षडयन्त्रलाई परास्त गर्ने आन्दोलनको विकास गर्नु र त्यसको नेतृत्व गर्न सक्षम पार्टी बनाइराख्नु पर्ने कार्यभार नेकपामाथि आएको छ । अन्तर्राष्ट्रिय काम, सबै दल र क्षेत्रमा देखापरेको ध्रुविकरणलाई परिचालन गर्ने काम, नेपाल कम्युनिष्ट पार्टीलाई बलिदान गर्ने स्तरमा उठाउने कामलाई तिब्रतामा लैजान आवश्यक छ । आन्दोलनको मोर्चा होस् या अन्य शान्तिपूर्ण चुनावी मोर्चा नै किन नहोस् मैदानमा दर्बिलो गरि उभिने पार्टी पंक्ति भयो भने जस्तोसुकै र जत्रोसुकै षडयन्त्रहरु परास्त गर्ने आन्दोलनको निर्माण गर्न सकिने छ । आजको विश्व, नेपाली समाज सबैलाई हेर्दा वस्तुगत परिस्थिति आन्दोलनको निम्ति परिपक्क छ र आजको समयमा दर्बिलो गरि जनता र देशको मुद्दा बोक्ने पार्टी नेकपा र नेतृत्व महासचिव विप्लव भएपछि आत्मगत अवस्था पनि बलियो मान्न सकिन्छ । बलियो यसकारण कि नेपालमा अहिले स्वयम् अमेरिकाले नै पनि नेकपाका जस्तो बलिदान गरेर लड्ने आफ्नो पंक्ति खडा गर्न सक्दैन । लामो संघर्षबाट आएको पार्टी, नेता कार्यकर्ता र निरन्ततरको सशक्त आन्दोलन अहिलेको वस्तुगत अनूकुलतालाई परिचालन गर्दै सडकमा उंभिदा देशको नेतृत्व गर्न सक्ने आत्मगत अवस्थामा हामीसंग छ । हामी नेपालीले जित्न सक्छौं । आजको चौतर्फी भ्रम, षडयन्त्र र संभावित दुर्घटनाहरुको आंकलन गरेर गम्भिर नबन्ने हो र फराकिलो छाती बनाएर एकता, मोर्चा र सहकार्यमा अग्रगामीहरु तयार नबन्ने हो भने आजको पुस्ता अफगानिस्तानको तालिवानीहरु जस्तै लामो समय युद्धमा फस्ने निश्चित छ ।
सल्लाह गर्दागर्दै सात गाउँ डुबेको माझीको कथा जस्तै नेपाल डुबाउने छुट हामीलाई छैन । नेपाल कम्युनिष्ट पार्टी अन्तिमसम्म लड्छ तर अपराधको साक्षी बस्न सक्दैन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।