८ कार्तिक २०८१, बिहीबार

अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषद दाङमा उद्घाटन

0

दाङ । अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदको उद्घाटन सत्र सुरु भएको छ ।
मंगलबार नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य विषम सीले राप्ती गाउँपालिकाको सभाहलमा तीन वटा मैनबत्ती बालेर परिषदको उद्घाटन गरेका हुन् ।

अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै नेता विषमले संगठनमा आवद्ध शिक्षकहरुले आफ्नो पेशाप्रति इमानदार भएर नमुना कार्य गर्न सके पार्टी जनतामा स्थापित हुने बताए ।

उनले भने– ‘तपाईहरु आफ्नो पेशाप्रति प्रतिबद्ध भएर लाग्नुस्, परिणाम निकाल्नुस्, नयाँ र नमुना कार्य गर्नुस्।शिक्षकको पहिलो कार्य विद्यार्थीलाई पढाउने हो । तपाईंले आफू कार्यरत विद्यालयलाई नमुना विद्यालय बनाउनुस्, यदि त्यसो गर्न सक्नुभयो भने जनतामा तपाईंले राजनीतिक कुरा गर्नैपर्दैन, तपाईंको कार्यका कारणले जनताले वैचारिक समर्थन बुझे भने पार्टी जनतामा स्थापित हुन्छ ।’

‘हामीले विचारमा नयाँ विकास गरेका छौँ । राजनीतिक अर्थशास्त्र, नयाँ अर्थनीति, वैज्ञानिक समाजवादका बारेमा हामीले नयाँ विकास गरेका छौँ । तपाइँ शिक्षक मित्रहरुले ती नयाँ संश्लेषण पढ्नुपर्छ । संगठनलाई विचारले निर्देशित गर्ने हो । अध्यारोमा छामछुम गरेजस्तो गरि संगठन चल्दैन । शिक्षकका पेशागत हकहित र अधिकारका लागि यो संगठन सधैँ तत्पर भएर लाग्नुपर्दछ । यो संगठनको गौरवशाली विरासत भएकाले यसको मूल मर्मको साथीहरुले ख्याल गर्नुपर्दछ,’ उनले भने ।

हामी साम्यवादसम्म पुग्न चाहने क्रान्तिका यात्री हौं, नेता विषमले भने, ‘म पनि पहिले शिक्षक नै थिए । तपाइँहरु जत्तिकै शिक्षण पेशामा आवद्ध नभएपनि मैले ५ वर्षको स्थायी जागिर छाडेर राजनीतिमा आएको हुँ । विश्व नयाँ परिस्थिति गइरहेको अवस्थामा नेपालका संसदीय दलहरु साम्राज्यवादीको दलालीमा तिब्र प्रतिस्पर्धा गरिरहेका छन् । तर हामी आजपनि जनताको सेवा गरिरहेका छौँ । प्रचण्डमा विचलन आउँदा माओवादीहरु मोडिएका हुन् । पार्टी विभाजन भएको हो । प्रचण्डहरु रुपान्तरण भएर आउँछन् भने एकता हुन्छ भनेका छौँ तर हल्का ढंगले एकता हुँदैन । एकता हुनका लागि महान बहस चल्न जरुरी हुन्छ ।’

नेता विषमले सम्पूर्ण माओवादी, देशभक्त, प्रगतिशील, वामपन्थी एवम सच्चा लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरु एकताबद्ध भएर अहिलेको गिजोलिएको राजनीतिलाई निकास दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

यस्तै अखिल नेपाल शिक्षक संगठनको तेस्रो राष्ट्रिय परिषदमा मन्तव्य व्यक्त गर्दै नेकपाका पिबिएम एवम संगठनका फ्र्याक्सन इन्चार्ज भेषराज सीले दलाल पुजीवाद साम्राज्यवाद र सामन्तवादको अवैध सन्तान भएको बताए ।

उनले भने– ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई दलाल पुजीवादले कब्जा गरेको छ । दलाल पुजीवाद साम्राज्यवाद र सामन्तवादको अवैध सन्तान हो । ५-१०% को हातमा सम्पूर्ण राज्यसत्ता कब्जामा छ । जनयुद्धपछि सत्ता राष्ट्रिय पुँजिपती, किसान, मजदुरको हातमा आएन, उल्टै दलाल पुजीवादले कब्जा गर्यो । उत्पादनका साधनमाथीको स्वामित्व परिवर्तन नहुँदासम्म राज्यसत्ताको स्वरुप परिवर्तन हुँदैन ।’

‘नायकहरुमा वैचारिक विचलनता आएपछि शिक्षकहरुले विद्रोह गरेका हुन् । विचारविहिन यात्राले टुँगोमा पुगिदैन।हामीले वैचारिक विचलनता रोक्न सकेनौं । संगठन विचारद्वारा निर्देशित हुनुपर्दछ । शिक्षक संगठनकै साथीहरु पटकपटक मन्त्री हुँदासम्म शिक्षा ऐन २०२८ कै किन छ? मुख्य कुरा यहाँ हो । यो कुरासंग हामीले वैचारिक विचलनता देखेका छौँ । यो शासनमा शिक्षामा आमूल परिवर्तन सम्भव छैन, त्यसका लागि समाजवादी व्यवस्था अपरिहार्य हो ।’

‘पाठ्यक्रमको एउटा पाठ समेत नेपालले बदल्न सक्दैन ।हरेक शिक्षा वर्गीय पक्षधरतामा आधारित हुन्छ त्यही अनुसार पाठ्यक्रम विकास हुन्छ । अहिलेको शिक्षा यहीँ वर्गीय पक्षधरता र चरित्रमा आधारित छ । यो शिक्षाले वैज्ञानिक र जिवन्त संस्कृतिलाई अगाडि बढाउन सक्दैन ।’

नेता भेषराजले रुपान्तरणसहितको माओवादी एकताको आवश्यकता रहेको बताए ।
उनले भने– ‘संसदीय व्यवस्थाका लागि माओवादीको एकता होइन । एकताका लागि गन्तव्य, गन्तव्यमा पुग्ने साधन र समय मिल्नुपर्दछ । एकताका राजनीतिमा सिद्धान्त, विचार, भावना मिल्नुपर्दछ । हल्का तरिकाले एकता गरेर निहुँ खोजेर फुटने होइन गम्भीर छलफल गरेर गर्ने हो । अहिले परिस्थिति बदलियो, अन्योलता गहिराइमा छ, साम्राज्यवाद अनेक अस्त्रमा नेपाल आएको छ । त्यसैले यो बेलामा सबै कम्युनिस्ट, माओवादीहरु, देशभक्त शक्ति, वामपन्थी, सच्चा लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट भएर निकास दिनको लागि एकतावद्ध हुनैपर्दछ । अमेरिकाले मानवता विरुद्ध हिंस्रक, नैतिकहिन, अराजक ढंगले संसारभरी नरसंहार मच्चाइरहेको छ । यहाँका सत्ताधारीहरु साम्राज्यवादको दलालीमा रातदिन समय खर्च गरिरहेका छन्, यिनलाई देश र जनताको कुनै मतलब छैन ।’

नेता भेषराजले पार्टी कमजोर भएर शिक्षक संगठन बलियो नहुने तर्क गर्दै पार्टीका नयाँ विचारहरु शिक्षक वर्गले अध्ययन गरि नयाँ बहस छेड्न आवश्यक रहेको समेत उद्घोष गरेका थिए ।

यस्तै उद्घाटन सत्रमा बोल्दै संगठनका सल्लाहकार घनश्याम पाठकले विगतको समिक्षाबिना अगाडि बढ्न नसकिने बताए ।

उनले भने– ‘गफाडीहरुको जमातले राज्यसत्ता सञ्चालन गरिरहेको छ । शिक्षालाई अस्तव्यस्त र दिशाहिन बनाइरहेको छ । शिक्षालाई सुधार गरिएन भने भाबी पुस्ताले दुख पाउँछ । हामीले हामी शिक्षक हो भन्ने कुरा भुल्नु हुँदैन । हाम्रो दायित्व व्यथिति, विसंगति, कुसंस्कार, कुरितीका विरुद्ध लड्ने जनशक्ति उत्पादन गर्नु हो । त्यसैले पेशागत हकहित र समाजको दायित्व पूरा गर्नका लागि शिक्षकहरु एकतावद्ध हुनैपर्दछ ।’

यस्तै उद्घाटन सत्रमा शुभकामना मन्तव्य व्यक्त गर्दै एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष निम बहादुर केसीले माओवादीहरु एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए ।

परिषदको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी कँडेलले शिक्षामा लगानी गर्न राज्य इच्छुक नभएको र विद्यार्थी विदेश पलायन रोक्न राम्रो शिक्षा हुनुपर्ने बताएका थिए ।

अखिल नेपाल शिक्षक संगठनका सह-अध्यक्ष गुणाकर भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य विषम सीको विशेष आतिथ्यता रहेको थियो भने पार्टीका पिबिएम एवम संगठनका फ्याक्सन इन्चार्ज भेषराज सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम १ नं. निर्वाचन क्षेत्र इन्चार्ज विक्रम सी, पार्टीका दाङ जिल्ला सेक्रेटरी तिलक सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम राप्ती गाउँपालिका इन्चार्ज सुरज सी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष निम बहादुर केसी, अखिल नेपाल शिक्षक संघका महासचिव चक्रपाणी कँडेलको आतिथ्यता रहेको थियो ।

संगठनका महासचिव मदनराज जोशीले सञ्चालन गरेको उद्घाटन सत्रको अध्यक्षता संगठनका अध्यक्ष लछिराम ढकालले गरेका थिए ।

यस्तै उद्घाटन सत्रको समापनपछि बन्द सत्र सुरु भएको संगठनले जनाएको छ । बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमाथि सुझाव राख्ने काम भोलि बिहानदेखि सुरु हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।