७ माघ २०८१, सोमबार

नेकपा गण्डकीले १ बिघाको धान थ्रेसर लगाएर धन्क्यायाे, नेताहरु सबै खेतमा व्यस्त

0

पोखरा/ नेकपा गण्डकी प्रदेश कार्यालय पोखरा १४ छिनेडाडाको कार्यालय अगाडि खेतमा थ्रेसरले चर्को आवाजमा धान मडारिरहेको छ । पार्टीका नेता कार्यकर्ताहरु धानका पाजाँ ओसार्ने र कोहीले थ्रेसरमा धान हुल्ने गरिरहेका छन् । नेकपाले कार्यालय परिसरमा लगाएको जेठोबुढो जातको धान निकै राम्रो फलेको छ ।
पार्टीका स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज शिलु सीसहित पोलिट ब्युरो सदस्यद्वय आजाद सी र आस्था सीले धानका पाजाँहरू ओसारिरहेका थिए ।

पार्टीका केन्द्रीय सदस्य एवं कार्यालय सचिव विकिरण सी र स्याङजाका इन्चार्ज दुर्गा सीले धानलाई थ्रेसरमा हुल्दै थिए । धानका बोरा थाप्ने र थन्काउने काममा उत्पादन विभागका उषा सीसहितका युवा सङ्गठन, विद्यार्थी सङ्गठन लगायतका विभिन्न नेता कार्यकर्ताहरु लागिरहेका थिए ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय महासचिव विप्लवदेखि सम्पूर्ण पार्टी कार्यकर्ताहरुलाई यतिबेला खेतमा व्यस्त छन् । उनीहरुलाई सत्ता र सरकार हात कसरी पार्ने भन्नेबारे उत्ति धेरै चासो छैन, मुख्यत उत्पादनविना देश समृद्धि हुँदैन भन्ने कुराको निष्कर्षमा पुगेको नेकपाले वैज्ञानिक समाजवादमा उत्पादनको मोडालिटी बमोजिम यतिबेला हरेक जिल्लाले आत्मनिर्भर पार्टी आत्मनिर्भर कार्यकर्ता बनाउने अभियानमा जुटिरहेका छन् । कतै धान धन्काइरहेका छन् भने कतै आलू लगाउने तयारी गरिरहेका छन् ।
गण्डकी प्रदेशका सबै जिल्लाहरुमा धान लगायतका विभिन्न, तरकारीजन्य नगदेबालीहरु उत्पादन भैरहेका छ्न् । धेरै जिल्लाले धान काटेर धन्क्याइसकेका छन् भने केही जिल्लाहरुमा बाँकी रहेको प्रदेश इन्चार्ज शिलुले जानकारी दिइन् ।

यस्तै धान बाली धन्क्याए लगत्तै प्रदेश कार्यालयले झण्डै ५ रोपनी क्षेत्रफलमा आलू रोप्ने तयारी गरिरहेको छ । प्रदेश मातहतका अन्य जिल्लाहरुमा पनि आलू रोपिनेछ । आलू अहिले देशभर नेकपाले आफ्नो उत्पादनमा समेटेर लगाउने काम गरिरहेको छ । यसअघि नै नेकपाले आलू खरिद कम्पनीसङ्ग सम्झौतासमेत गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।